• लेकसाइड व्यवसायीको विवाद अदालत पुग्यो

    Boats on Lake Phewa
  • पर्यटकीय शहर पोखराको लेकसाइड २४ सै घण्टा खुलाउने रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले प्रयास गरिरहेको छ। तर होटल सङ्घ यसमा सहमत छैन । लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्रलगायत होटल व्यवसायी डान्स बार, क्याबिन रेष्टुराँ, दोहोरी साँझ, गजल, स्पा, डिस्को, क्लब बन्द गर्नुपर्ने माग लिएर अदालत पुगेका छन्।

    पश्चिमाञ्चल होटल सङ्घ (हान)का अध्यक्ष विकल तुलाचन, पूर्वअध्यक्ष गोविन्दराज पहारीसहित ४२ जनाले स्थानीय बासिन्दा र पर्यटकलाई समेत लेकसाइडमा बस्न असहज भएको बताए। उनीहरूले तत्कालका लागि त्यस्ता व्यवसाय बन्द गराउन अदालतको अन्तरिम आदेश माग्दै रिट दायर गरेपछि व्यवसायीबीच वैचारिक द्वन्द्व सुरू भएको छ ।

    राति ९ बजेपछि बिहान ४ बजेसम्म सञ्चालन हुने रेष्टुराँ र डान्स क्लबको होहल्लाले स्थानीय बासिन्दा र होटलमा बस्ने पाहुनालाई प्रत्यक्ष असर परेकोले त्यस्ता व्यवसाय तत्काल बन्द गर्न माग गरिएको छ । पर्यटन व्यवसाय व्यवस्थित बनाउने उद्देश्यले प्रशासनलाई दबाब दिएको हान अध्यक्ष तुलाचनले बताए । उनी यस विषयमा निर्देशिका बनाएर पर्यटन व्यवसाय व्यवस्थित गर्ने पक्षमा छन् ।

    पर्यटनलाई आर्थिक समृद्धिको आधार भनिरहँदा यसलाई व्यवस्थित गरेर अघि बढ्नुको विकल्प नभएको रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले बताए। भुजेलले अर्बौं लगानी भएको क्षेत्रलाई साँघुरो घेराभित्र राखेर अवरोध सिर्जना गर्न नहुने बताएका छन् । समस्या न्यूनीकरणका लागि सरकार, व्यवसायी र स्थानीयसहित छलफल गरेर उचित निकासबाट अघि बढ्नु पर्ने रेबानको धारणा रहेको उनले बताए ।  

    कारण देखाऊ आदेश

    रात्रिकालीन व्यवसायविरूद्ध परेको रिटमा उच्च अदालत पोखराले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको इजलासले बिहीबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। थप छलफलका लागि दुवै पक्षलाई साउन २० गते बोलाइएको छ। रिटमा प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय बैदामसहित १० जनालाई विपक्षी बनाइएको छ। अवान्छित र गैरकानूनी क्रियाकलाप हुन नदिनेलगायत शान्ति सुरक्षाको उचित प्रबन्ध गरी प्रहरीको गस्ती बढाउन अदालतले जिल्ला प्रशासन कार्यालय कास्कीलाई आदेशसमेत दिएको छ ।

  • कमेन्ट गर्नुहोस्