• लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध

    credit: goal.com
  • अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ।

    मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो। खेल प्रतिबन्धसँगै मेस्सीलाई ५० हजार अमेरिकी डलर जरिवाना तोकिएको अधिकारीहरुले जनाएका छन् ।

    अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि मेस्सीले मैदान छोड्नु परेको थियो।

    बार्सिलोनाबाट खेल्दै आएका ३२ वर्षीय मेस्सीले त्यतिबेला “प्रतियोगिताको कप ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको” टिप्पणी गरेका थिए। दक्षिण अमेरिकी फुटबल संघको निर्णयविरूद्ध अपिल गर्न मेस्सीसँग एक हप्ताको समय छ।

    प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा मेस्सी सहभागी हुने छैनन्। सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनौट खेल अर्जेन्टिनाले सन् २०२० को मार्च महिनाबाट शुरू गर्दैछ।

    कोपा अमेरिका प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलसँग २–० को अन्तरले पराजित भएपछि अर्जेन्टिनाको फुटबल संघले उक्त खेलमा ’रेफ्रिले गम्भीर त्रुटि गरेको’ गुनासो गरेको थियो।

    दक्षिण अमेरिकी फुटबल संघले आफ्नो निष्ठामाथि लगाइएको आरोप ’निराधार’ रहेको टिप्पणी गरेको थियो। चिलीका ग्यारी मेडलसँग मेस्सी भिडेपछि खेलको ३७ औं मिनेटमा दुवै जनालाई रातो कार्ड देखाइएको थियो ।

  • कमेन्ट गर्नुहोस्