• उनीहरु हङकङ ध्वस्त बनाउन चाहन्छन्

  •  

    विगत १२ हप्तादेखि चलेको सुपुर्दगी विधेयकको आन्दोलनले हिंसात्मक रुप लिदै गर्दा हङकङको आकाश माथि कालो बादल मडारिएको छ । हङकङका सडकहरुमा लाखौका संख्यामा प्रदर्शनकारीहरुले विधेयकको विरोध गरेपछि कार्यकारी प्रमुख क्यारी लामले विधेयक निलम्वन मात्र गरेनन् उनले विधेयकको मृत्यु नै भैसकेको घोषणा “bill is dead” गरिन् । माग सम्बोधन भैसकेपछि सडकमा आन्दोलन रोकिनुको सट्टा झन् बढेर गयो। हालसम्म यही सिजनमा २३ वटा भन्दा बढी सडक प्रदर्शन भैसकेका छन् । प्रदर्शनकारीहरुले मागहरु थप्दै लगेका छन । सुपुर्दगी विधेयक फिर्ता गर,भन्ने माग लिएर सुरु भएको माग अहिले ५ वटा भएर आएको छ । ती मागहरु कतिपय अहिले पूरा हुन नसक्ने पनि छन् । जस्तो कार्यकारी प्रमुख वालिग मताधिकार( Universal suffrage)को आधारमा चुन्न पाउनु पर्ने । जुन माग हङकङ सरकार एक्लैले पूरा गर्नै सक्दैन । गएको हप्ताको आन्दोलनमा प्रदर्शनकारीहरुले बढी उपद्रव मच्चाए । प्रहरीलाई ढुङ्गा हान्ने, कुट्पिट गर्ने, पेट्रोल बम हान्नेदेखि लिएर सार्वजनिक सवारी साधनहरु जबरजस्ती रोक्नेसम्म काम गरे । आत्मारक्षाको लागि एकजना प्रहरीले चुनवानमा हवाई फायर गरे । आधा दर्जन भन्दा बढी प्रहरीले आत्मरक्षाको लागि बन्दुक निकाले । प्रहरी वृत्तबाट हालसम्म अनुमोदित बल प्रयोगले दङ्गा नियन्त्रण गर्न सकिँदैन भन्ने निष्कर्ष निकालेको छ । प्रदर्शनकारीहरुको समानान्तर बल प्रयोग गर्न पाउनुपर्ने विचार प्रहरीबाट आएको छ । यसबाट प्रदर्शन झन् हिंसात्मक हुँदै गएकोछ पुष्टि हुन्छ । यो आन्दोलन सन् २०१४ को पहेलो छाते आन्दोलन (Yellow umbrella movement ) भन्दा लामो चलिसकेको छ । वालिग मत्ताधिकारको लागि चलेको छाते आन्दोलन ७९ दिन पछि विना उपलब्धि सकिएको थियो।

    यो आन्दोलनले मोड लिएको छ

    सुपुर्दगी विधेयक खारेजीको लागि सुरु भएको आन्दोलन अब त्यसमा मात्र सीमित छैन भन्ने कुरा विधेयक मरिसकेको घोषणा भैसकेपछि पनि ५ वटा माग राखेर आन्दोलनलाई निरन्तरता दिइरहनुले स्पष्ट पार्दछ । यो आन्दोलन धमिलो पानीमा माछा मार्ने माझीहरुको हातमा गैसकेको महसुस सर्वत्र गरिदैछ । मुख्य भूमि चीन सरकारले यो आन्दोलन रङ्गिन आन्दोलन “colour revolution”को संज्ञा दिएको छ । (पूर्वी युरोपमा भएको स्वतन्त्र (independent) राज्यहरु निर्माणको लागि भएका शान्तिपूर्ण आन्दोलनलाई रङ्गिन आन्दोलन  भनिनछ )। गत हप्ता प्रर्शनकारीहरुले “Hong Kong Way” भन्दै ४६ किलोमिटर लामो मानव साङला बनाए । जुन सन्केतिक रुपमा स्वतन्त्रताको माग हो भन्ने अर्थ धेरैले लगाएकाछन। सोभियत सङ्घबाट बाल्टिक गणराज्यहरु( लात्भिया,लिथुनिया र ईस्टोनिया) छुटाउने संघर्षको बेला “Baltic Way” भन्दै २३ अगस्त १९८९ बेलुकी तीनवटै गणराज्य छुने गरि ६७५ किमि लामो २० लाख जनाले मानव साङ्ला बनाएका थिए ।स्मरण रहोस “Hong Kong Way ” पनि बाल्टिक गणराज्यहरुले मानव साङ्ला बनाएकै रात अर्थात २३ अगस्तकै रात निर्माण गरेका छन् ।

    एकातिर हङकङको अर्थतन्त्र चौपट हुन लागेको छ । पर्यटन व्यवसाय आधाले घटेको अबस्था छ । क्याथे प्यासफिक लगायतका रोजगार दाताहरुले कामदार घटाइसकेका छन । होटल र रेष्टुरेण्ट व्यापार मुस्किलले श्वास फेरिरहेको अवस्था छ। अर्कोतिर प्रदर्शन मत्थर हुनुको सट्टा हिंसात्मक हुँदै गएको छ । प्रदर्शनकारीका मागहरु थपिदै गएका छन् । सङ्घर्षका आगामी कार्यक्रमहरु बन्दै गएका छन् । यो अवस्थालाई सामान्य भन्न सकिन्न ।

    मुल जरो

    विश्वको नयाँ आर्थिक तथा सामरिक शक्तिको रुपमा उदाउदै गरेको बेला हरेक हिसाबले चीनलाई त्यो उचाईमा पुग्न नदिन अमेरिका,जापान, ताईवान र युरोपियन युनियनले टाउको जुधाई रहेकाछन् । अमेरिकाले विगत एक वर्षदेखि चीनसङ्ग व्यापार युद्ध गरिरहेको छ । यति नै बेला South China Sea को विवाद चरम चुलीमा पुर्याउदै फिलिपिन्स र भियतनाम जस्ता छिमेकी राष्ट्रहरुलाई चीन विरुद्ध अमेरिकाले उक्साइ रहेको छ । ताईवानलाई हातहतियार बेचेर अमेरिकाले चीन विरुद्धको गतिविधि बढाइरहेको छ । भर्खरै फ्रान्समा सम्पन्न G7 को बैठकमा हङकङको आन्दोलनको कुरा उठाएर  चीनलाई आलोचना गर्न लगाइयो  । त्यति मात्र नभएर बेलायत र पश्चिमाहरुले हङकङ फिर्ता सम्बन्धमा भएको चीन र बेलायतको संयुक्त घोषणापत्र (Joint Declaration)को समेत कुरा उठाई चीनलाई आलोचना गरिरहेका छन् ।प्रत्यक्ष बल प्रयोग गरेर हङकङ चीनबाट खोस्न सक्ने कुनै विरोधी शक्तिको तागत छैन । तसर्थ  विदेशी शक्तिहरु स्थानीय विरोधी शक्ति प्रयोग गरेर चीनलाई सिध्याउन हङकङ भूमिलाई प्रयोग गर्न चाहन्छन् । एक देश दुई प्रणाली शासन अन्तर्गत देशी विदेशीहरुलाई चीन विरुद्ध खुलम खुल्ला गतिविधि गर्न छुट छ हङकङमा । तसर्थ हङकङलाई सीआईए एशिया शाखा (Asian Division of CIA) पनि भन्ने गरिन्छ । छाते आन्दोलन होस् वा २००३ को सुरक्षा विधेयेक आन्दोलन, कुनै न कुनै रुपमा विदेशी शक्ति यसको पछाडि रहेको चीनले अड्कल गरिरहेको छ ।

    सुपुर्दगी आन्दोलन चलिरहेकै बेला हङकङ स्वतन्त्र पक्षधर मार्टिन ली,नाथन ल, जिम्मी लाई, आन्सान चेन जस्ता नेता-नेतृहरुलाई अमेरिकी महावाणिज्यदूतका प्रतिनिधिले भेटेका छन् । केही प्यान डेमोक्रेटिकहरु र मार्टिन ली विधेयक विषयमा छलफल गर्न अमेरिका नै पुगेका छन् । यस बाहेक धमिलो पानीमा माछा मार्ने थुप्रै राष्ट्रीय तथा अन्तराष्ट्रीय व्यक्ति तथा संस्थाहरु छन् । Hong Kong Human Rights Front, National Endowment for Democracy जस्ता पानी धमिलो बनाउने थुप्रै NGO हरु पनि सक्रीय छन् । ताईवानले हङकङका प्रदर्शनकारीहरुलाई शरण दिने घोषणा गरेबाट ताईवानी पृथकतावादीहरुले पनि धमिलो पानीमा हात डुबाएको अडकल लगाउन मुस्किल हुदैन । आन्दोलनकारीहरुले चीनको झण्डा समुद्रमा फाल्ने, सरकारी लोगोमा कालो पोत्ने र चिनियाँ सम्पर्क कार्यालयमा ढुङ्गा मुढा गरेका छन् । जुलुसमा अमेरिका र बेलायतको झण्डा बारम्बार फहराएको मात्र नभै “ट्रम्प आउ हङकङ मुक्त गर” भन्ने नारा लेखिएका प्लेकार्डहरु बारम्बार देख्न सकिन्छ । यसबाट पनि यो आन्दोलनमा अराष्ट्रीय तत्त्वहरुको घुसपैठ छर्लङ्ग देख्न सकिन्छ ।

    सुरुमा यो आन्दोलन स्वस्फुर्त उठेको थियो। सुपुर्दगी विधेयेककै विरुद्ध उठेको थियो । दिनहरु बित्दै जादा देशी बिदेशी शक्तिहरुसंग मिलेर कट्टरपन्थीहरुले आन्दोलनको लगाम तान्न थाले । “हङकङ ढलेपछि खेल समाप्त हुन्छ ” कट्टरपन्थी विद्यार्थी समूहको घोषणापत्रको उदृत गर्दै साउथ चाइना मर्निङ पोष्टका स्तम्भकार आलेक्स होले अगस्त २९ को स्तम्भमा लेखेका छन् । आन्दोलनकरीहरुको असली मक्सद खुल्दै गइरहेकोछ । चीनको व्यापारिक ढोकाको रुपमा रहेको हङकङ चिनियाँ अर्थतन्त्रको एक महत्वपूर्ण लाईफ लाईन हो ।हङकङलाई ध्वत पार्न सके चीनको आर्थतन्त्रमा गहिरो चोट पुर्याउन सकिन्छ भन्ने अनुमान कट्टरपन्थीहरुले गरिसकेका छन् । Progress STU भन्न्ने कट्टरपन्थी विद्यार्थी समूहले हङकङ ध्वस्त पार्ने घोषणापत्र जारी गरिसकेको स्तम्भकार हो लेख्छन् । उनीहरुले हङकङ ध्वस्त भएपछि मात्र चिनियाँ कम्युनिष्ट पार्टी ढल्ने भन्दै हङकङलाई पहिले ध्वस्त पार्ने बताएका छन् । त्यो योजना मुतािवक “self destruct together” “आफैसंग ध्वंस होऔ ” भन्ने नारा अगाडि सारेका छन् हो लेख्छन् । आन्दोलन हिंसात्मक हुँदै जानु र कट्टरपन्थीहरुले यस्तो घोषणा गर्नु अवश्य संयोग मात्र होइन ।

    यो योजना विदेशीहरुकै इशारा आएको अनुमान गर्न सकिन्छ । किनभने हङकङ विध्वंस हुदैमा चिनियाँ कम्युनिष्ट पार्टी खतम हुने छैन । हङकङ विध्वंस गर्न खोज्नु भनेको  केन्द्रीय सरकारको हस्तक्षेप निमत्याउनु हो। हङकङ विध्वंस हुन लागेमा अगावै चिनियाँ मुक्ती सेना वा सशस्त्र प्रहरीले हस्तक्षेप गर्ने छ ।सार्वभौमसता रक्षाको लागि चीनले नचाहेर पनि हङकङको समृद्धिलाई अवश्य जुवा खेल्नेछ । जुन अत्यन्तै दुर्भाग्यपूर्ण हुनेछ हङकङ र मुख्यभूमि चीन दुवैलाई । चिनियाँ सेना/सशस्त्र बल हङकङका सडकहरुमा परेड खेलेसंगै अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले ‘एक देश दुई व्यवस्था’ समाप्त भएको घोषणा गर्ने छन्। हङकङसंग भएका व्यापारिक सन्धी सम्झौताबाट उनीहरुले हात झिक्ने निहु पाउनेछन् । व्यापारिक कार्यालय लगायत आर्थिक लगानी अन्यत्र सारिनेछ । हङकङको अर्थतन्त्र चौपट हुनेछ । यहाँ बेरोजगारको संख्यामा वृद्धि हुनेछ, जीडीपी घटेसंगै ज्याला पनि घटने छ । चीनको अर्थतन्त्रमा गहिरो चोट लाग्ने छ । हङकङको जनजीवन अस्त व्यस्त हुनेछ। मुख्यभूमि चीन र हङकङ दुवैले हार्नेछन् । केवल विदेशी शक्तिहरुको जित हुनेछ । आन्दोलनकारी चाहिँ उहीँ खस्रे भ्यागुता। “कुइरो लाग्यो जाडो भो, बतास चल्यो हुरुरु, भतेर खायो भान्छेले, फर्के जन्ति लुरुरु” भन्ने बालगीत जस्तै ।

  • कमेन्ट गर्नुहोस्