• तामाङ लेख्न पनि नपाइने त्यो समय

  •  

    जो आज आफूलाई ‘तामाङ’ भनी गौरव गर्छन्, उनीहरुले विगतमा तामाङ लेख्न पाउँदैनथे । पुराना अर्थात् खासगरी शाहकालिन अभिलेखहरु हेर्दा हालका तामाङहरुलाई ‘मुर्मी भोट्या’ भनिएको पाइन्छ । यसैगरी उनीहरुलाई ती अभिलेखहरुमा ‘मासिन्या’ जातको कोटीमा राखिएको छ ।
    ‘मासिन्या’ जात भनेको मार्न वा दासदासी बनाउन सकिने जात हो ।
    नेपालका आदिवासीमध्ये दोस्रो ठूलो यो जनसङ्ख्या भएको तामाङहरुले विगतमा खेप्नु परेको भुक्तमान अनेक छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार यो जातिको जनसङ्ख्या १५ लाख ३९ हजार आठ ३३ रहेको छ ।

    हतियार बोक्नै नपाउने जाति

    युद्धको बेला वा अन्य बेला सैन्य प्रयोजनमा भारी बोक्ने वा बस्दोबस्तीका लागि पीपा गोश्वारामा तामाङलाई नै अधिकतम भर्ना गर्ने चलन चलाइयो । विक्रम सम्वत १८५० मा तामाङहरुले ठूलो विद्रोह मच्चाएको उनीहरुको इतिहास छ । यो विद्रोहमा एक हजार तामाङले ज्यान गुमाउनु परेको थियो । यसैगरी उपत्यका वरिपरि उनीहरुको आवाद भएका कारण सशस्त्र रुपमा सैन्य क्षेत्रमा जागिर दिइए पनि सम्भावित सशस्त्र विद्रोह टार्न उनीहरुलाई हातहतियार बोक्न पाउने जागिरबाट वञ्चित गरियो । त्यसैले कतिपय तामाङहरु जात ढाँटेर गुरुङ बनेर लाहुर (भर्ती) गएको पाइन्छ । पोखरामा गुरुङ भई भर्ती ( लाहुर) गएका कतिपय तामाङ रहेका छन् । पहिले तामाङलाई पीपा गोश्वाराबाहेक सशस्त्र सैन्यमा भर्ना लिइदैनथ्यो नै, उनीहरुलाई भर्ती जानबाट समेत वञ्चित गरिएको थियो ।
    तामाङहरुले विक्रम सम्वत १९८९ देखि मात्रै जात थरमा ‘तामाङ’ लेख्न पाउने स्वीकृति प्राप्त गरे । यसका लागि तत्कालिन श्री ३ महाराज भीमशम्शेरले एक इस्तिहार जारी गरिदिए । आफूहरुले ‘तामाङ’ लेख्न पाउनुपर्ने माग गर्ने अघिसरा सरदार जङ्गवीर हुन् ।
    जंगवीरले भारतको आसामबाट नेपाल आई यस्तो माग गरेका थिए । उनको पुख्र्यौली थलो नेपालको संखुवासभा रहेको थियो । उनी बाल्यकालमै आफ्ना बाबुको साथ लागेर भारततिर गएका र दार्जिलिङमा पढेका शिक्षित व्यक्ति थिए । उनले ब्रिटिश भारतीय सेनामा पनि काम गरेका थिए । उनी मोक्तान थरका तामाङ हुन् ।

    तामाङ शब्दको अर्थ
    तिब्बती भाषामा ‘तामाङ’ शब्दको अर्थ खुलाउँदा ‘ता’को अर्थ घोडा ‘माङ’को अर्थ व्यापारी वा धनी हुन्छ । उनीहरुलाई ‘घोडचडी’ पनि भन्ने गरेको पाइन्छ । कसैले श्रङचङ गम्पोको घोडचढीका रुपमा हालको आवाद क्षेत्रमा भित्रिएको भनिदिंदा उनीहरुको चित्त दुख्छ ।
    भाषाशास्त्रीय आधारमा ‘ताम’ भनेको कुरा अर्थात् भाषा र ‘पाङ’ भनेको बोल्नु हो । यसरी ‘ताम’ र ‘पाङ’ मिलेर तामाङ भएको हो । यसको अर्थ कुराको पहल गर्ने वा भाषाको उत्पति गर्ने भन्ने लाग्छ । यो धारणा भाषाशास्त्री अमृत योञ्जन तामाङले व्यक्त गर्नु भएको हो ।
    तामाङ शब्द भन्दा अघि प्रचलित ‘मूर्मी’ शब्दको प्रयोग खासगरी सरकारी अभिलेखहरुमा पाइएको छ । तामाङ समाजमा प्रचलित पुरानो परम्परागत सामाजिक संस्थामा महत्वपूर्ण भूमिका खेल्ने ‘मुल्मी’बाट आएको भन्ने तर्क पनि छ । तामाङहरुको पुरानो सामाजिक संगठन आठ सदस्यीय हुन्थ्यो । उनीहरुमा योहो (अध्यक्ष), मुल्मी (गाउँको मुखिया), ङाप्ता (पुरोहित), बोन्पो (धामी), डोप्ता (साधु), आला (ठालु), ताम्वा (वंशावली जान्ने लेखक) र गुरमी गडाई (सचिव) रहन्थे भन्ने धारणा जनकलाल शर्मा ‘हाम्रो समाज एक अध्ययन (२०३९ः३६६–३६७)’को रहेको छ ।
    तीमध्ये मुल्मीको काम गाउँमा शान्ति–सुरक्षा कायम गर्ने, राजश्व उठाउने बन–जङ्गलको सुरक्षा गर्ने हुन्थ्यो । यस समाजसेवा वापत मुल्मीले वर्षको एक दिन वेठवेगारी पाउने व्यवस्था थियो । २००७ सम्म मुल्मीको भूमिका महत्वपूर्ण थियो । बाहिरिया मानिसले मुल्मी भन्दाभन्दै अप्रभंश भई मुर्मी हुनपुग्यो (शर्मा, उही) ।
    तर तामाङहरुले आफूलाई समुर्मी’ र त्यो सँगै ‘भोट्या’ अर्थात् ‘मुर्मी भोट्या’ भनी सम्बोधन गरेको मन पराएनन् र तामाङ लेख्न तत्कालिन शासकसमक्ष जाहेर गरे र त्यसमा स्वीकृति पनि प्राप्त गरे ।

    सीता वडामहारानीको भूमिका

    जेठी पत्नीको मृत्यूपछि पाँचौं राणा प्रधानमन्त्री श्री ३ भीम समशेरले २४ वर्षकी कान्छी दिलकुमारीलाई वडामहारानी पद प्रदान गरी सीता वडामहारानी नामाकरण गरे । त्यसपछि टङ्गाल दरबारमा एउटा विशेष समारोह आयोजना गरी मुख्तियारदेखि तल्लो दर्जाका अफिसरसम्मलाई हाजिर गराई वडामहारानीलाई दाम राख्न लगाएको इतिहास प्रमोद समशेर राणाको पुस्तक ‘राणाशासनको वृत्तान्त’ (२०६५ः२३७–२४३) मा पढ्न पाइन्छ ।
    यताबाट नियाल्दा भीम समशेरको सीता वडामहारानीप्रति निक्कै ठूलो प्रेम थियो भन्ने देखिन्छ । यस पक्षलाई अझ बलशाली बनाउने अर्को पक्ष पनि छ । त्यो हो, भीम समशेरले सीता वडामहारानी पट्टिका दुई वर्षकी छोरी पिताम्बरी राज्यलक्ष्मी र अर्की चार वर्षकी नातिनी दिव्य राज्यलक्ष्मीसमेत दुई नावालिका कन्याको विवाह तत्कालिन युवराज महेन्द्रसँग गर्न भीम समशेरको राजा त्रिभुवनसमक्ष प्रस्ताव । भीम समशेरको चर्को दवावमा परेका राजा त्रिभुवनले नाई भन्न नसकी स्वीकृतिका लागि लालमोहर पनि गरिसकेका थिए । सन् १९३३ को मार्चमा विवाह सम्पन्न हुने निश्चित भएको थियो तर सन् १९३२ को सेप्टेम्बरमै भीम समशेरको निधन भएकोले पूर्वनिश्चित विवाह कागजमै सिमित हुन पुग्यो (राणा उही) ।
    सन् १९३२ सेप्टेम्बर १ तद्अनुसार विक्रम सम्वत् १९८९ भदौ १७ गते भीम समशेरको निधन भयो । उनको मृत्यु हुँदा खोपीमा पसी दरबारका नातिनी बुहारीहरुले महाराजको ढुकुटी खोली लुटपाट मच्चाए । भर्खरै विधवा बनेकी सीता वडामहारानीको कम्मरमा रहेको साँचोको झुप्पा खोसी यसरी लुटपाट मच्चाइयो । त्यतिखेरको भीम समशेरको शवको दुईतिर बाँडिएर दुई गुँडका छोराहरु नयाँ महाराजबाट शव उठाउने आदेशको प्रतिक्षा गरिरहेका थिए (राणा, उही) ।
    सीता वडामहारानी सुरुमा सुसारेका रुपमा दरबार पसेकी थिइन् । उनी भोजपुर सिम्पानेकी ब्लोन थरकी तामाङ हुन् । उनको वास्तविक नाम दिलकुमारी ब्लोन हो ।
    सीता वडामहारानीका लागि काठमाडौंको नक्सालमा ‘सीता भवन’ बनाइएको थियो । यो भवनमा हाल बालमन्दिर रहेको छ ।
    राणा शासनको इतिहासमा दिवंगत महाराजको खोपीभित्रै पसेर विधवा रानीकै कम्मरबाट नातिनी बुहारीहरुबाट साँचोको झुप्पा खोसेर ढुकुटी फोडी बहुमूल्य वस्तु लुटपाट गरेको यो वाहेक अरु इतिहास पाइदैन ।
    यसबाट एक सुसारे पदबाट दरबार प्रवेश गरी महाराजको नजरमा परी वडामहारानी पदसम्म पुग्न सफल एक तामाङ चेलीप्रतिको यो ठूलो अपमान थियो भन्न कुनै कठिनाई छैन ।
    हिजोसम्म मासिने जातको रुपमा रहेका समुदायबाट आएकी चेलीले दरबारमा वडामहारानी पद पाउँदा कथित उच्च जातीय अभिमान बोकेका राणा पुरुष तथा महिलालाई पाच्य हुने कुरा पक्कै पनि थिएन । तामाङकी छोरीलाई दरबारमा वडामहारानी पदबाट मन नलागी नलागी मान सम्मान गर्नुपर्दा उनीहरु मुर्मिमुरिइरहेका थिए ।
    तर महाराजको मन पगालेकी सीता वडामहारानीले आफ्ना माइती खलकलाई हिजो जसरी ‘मासिन्या, मूर्मी, भोट्या जाति’ भनी सम्बोधन नगरियोस् र उनीहरुलाई त्यसबाट मुक्ति दिइयोस् भनी दरबारभित्र पक्कै पनि भूमिका खेलेकी थिइन् भन्ने अनुमान गर्न सकिन्छ । यसो हुन सफलता प्राप्त भएकैले भीम समशेरले ‘अबदेखि भोट्या होइन, तामाङ लेख्नु’ भनी स्वीकृतिका लागि इस्तिहार जारी गरे ।
    तर यस्तो इस्तिहार जारी गरिएको ११ दिन पछि नै भीम समशेर परलोक भए ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad