• नन–परमानेन्टले पनि दश हजार पाउने तर …

    श्रम तथा कल्याण सचिव चि–क्वोङ ल । तस्बिरः एससीएमपी ।
  •  

    मार्च ३ । हङकङका १८ वर्ष पुगेका पर्मानेन्ट रेसिडेन्टलाई नगद १० हजार दिने घोषणा गरेको सरकारका श्रम तथा कल्याण सचिव चि–क्वोङ लले नन–परमानेन्टलाई पनि उक्त सहायता रकम दिइने बताएका छन् ।

    आज एक रेडियो अन्तर्वार्ताको क्रममा लले उक्त कुरा बताएका हुन् । उनका अनुसार भर्खरै हङकङ आइपुगेका जसको आय कम छ, उनीहरुलाई उक्त रकम प्रदान गरिने छ । कम्युनिटि केयर फण्डमार्फत उक्त सहायता दिइने छ । सोही फण्डमार्फत गत वर्ष १८ पुगेका जोकोही रेसिडेन्टलाई ४ हजार डलर प्रदान गरिएको थियो ।

    अन्तर्वार्ताको क्रममा लले भने, ‘सहायता तिनिहरुका लागि हुनेछ जो सात वर्ष यहाँ बसेका छैनन् तर अध्ययनका लागि वा आयातित कामदार भन्दा स्थायी बासिन्दा बन्न चाहन्छन् ।’

    लको भनाइ अनुसार सहायता रकमका लागि मापदण्ड रहने भए पनि कस्तो भन्ने स्पष्ट  छैन । किन कि सन् २०११ मा प्रदान गरिएको ६ हजार डलरका लागि व्यक्तिगत मासिक आय ७ हजार ३ सय भन्दा कम वा ६ जनासम्म सदस्य भएकाको पारिवारिक आय ३७ हजार ३ सय भन्दा कम भन्ने मापदण्ड रहेको थियो ।

    अर्थ सचिव पौल चानले गत बुधबार बजेट भाषणमार्फत घोषणा गरेको सहायता रकम जुलाईदेखि प्रदान गरिने भए पनि लले भनेको रकम कहिले प्रदान गरिने हो उल्लेख गरिएको छैन । सन् २०११ मा पनि त्यस किसिमको रकम ६ महिनापछि प्रदान गरिएको थियो ।

    आयको मापदण्ड तोकिएमा चीनबाट आएका लगभग ३ लाख ७ हजारमध्ये केहीले उक्त सहायता प्राप्त गर्न सक्ने भए पनि नेपाली उक्त मापदण्डभित्र पर्न सक्ने संभावना कम रहेको छ । अधिकांश नेपाली कार्यरत निर्माण, सुरक्षा, रेष्टुरेण्ट, सेलुनलगायतका क्षेत्रमा तलव बढी रहेको छ ।

    गत वर्ष प्रदान गरिएको ४ हजारका लागि पनि आयकर तथा सम्पत्तिकर नतिरेको हुन पर्ने मापदण्डले धेरै नेपाली बञ्चित भएका थिए । आकर्षक तलब र फ्लाट किन्ने लहरका कारण धेरै नेपालीले कर तिरिरहेका छन् ।

  • कमेन्ट गर्नुहोस्