• गिरिजाबाट नफर्किएको त्यो बन्दुक

  •  

    नेपाली माटोका लागि ज्यान अर्पित गर्ने सहिद भीमनारायण श्रेष्ठको नाम सुनौलो अक्षरले नेपाली इतिहासमा कोरिएको छ । उनीजस्ता सहिदहरुको उत्सर्गमा पोखिएको रातो रगतले नेपालको पूर्वक्षितिज पनि रातो भएर आयो । तर त्यहीँ उज्यालोमा नेपाली राजनीतिका अनेक कालो बादल मडारियो । भीमनारायणहरुको सपनामा तुषारापात भयो ।

    धनकुटा बजारको श्रेष्ठ नारायण खलकमा जन्म भएको हो, भीमनारायण श्रेष्ठको । उनी वि.सं. १९९४ साल असार २४ गते जन्मेका हुन् । उनलाई २०३५ माघ २६ गते कोशी नदीको किनारमा लगेर गोली दागी मृत्यूदण्ड दिइयो ।

    यस अघि उनलाई २०३३ फागुन ६ गते बिहीबार सर्वोच्च अदालतका तत्कालिन न्यायाधीशहरु बासुदेव शर्मा र झपटसिंह रावलले भीमनारायणलाई राजगद्दि ताकेको र श्री ५ माथि आक्रमण गर्न खोजेको अभियोग लगाई पञ्चायती कानुनको राजकाजको (अपराध र सजाय) ऐन २०१९ दफा १६ तथा राजगद्दि ऐन २०१५ दफा १६ अनुसार मृत्युदण्डको फैसला सुनाएको थियो । केन्द्रीय कारागारको गोलघरमा थुनी फैसलाको २३ महिनासम्म मृत्यु पर्खाएर उनको ज्यान हरण गर्ने काम तत्कालिन पञ्चायति व्यवस्थाले गर्यो ।

    यस अघि २०३० साल चैत्र ३ गते बिराटनगरको कोशी अञ्चल अस्पताल अगाडी बम विस्फोटन भएको थियो । त्यहा रामकृष्ण श्रेष्ठ नामका नेविसंघका एक सक्रिय कार्यकर्तालगायत पचासौं घाइते भए । विस्फोटमा परेका नगेन्द्रप्रसाद पराजुली नामका एक सर्वसाधारणको घटनास्थलमै मृत्यू भयो । सख्त घाइते रामकृष्णको पनि उपचारका क्रममा मृत्यू भयो । घाइते भीमनारायण श्रेष्ठमाथि विस्फोटको सम्पूर्ण आरोप आइलाग्यो ।

    विस्फोटका दिन तत्कालिन राजा वीरेन्द्रको बिराटनगर भ्रमण थियो । त्यो दिन उनको भ्रमण समीक्षालयतिर हुँदै थियो । सवारी हेर्न भनी रामकृष्णको पछि लागेर भीमनारायण त्यसतर्फ जाँदै थिए । आमाको लागि औषधी किन्न भनेर रामकृष्ण अस्पताल परिसरतिर जाँदै गर्दा विस्फोट भयो । त्यो बम राजालाई नै ताकेर हानेको आरोप भीमनारायणले खेप्नुप¥यो र आफ्नो ज्यान प्रजातन्त्रका लागि बलिबेदीमा चढाउनु पर्यो ।

    विस्फोटमा भीमनारायणको संलग्नता

    यो विस्फोटमा आफू निर्दोष रहेको इन्कारी बयान त भीमनारायणले दिए । अन्ततः यातना सहन नसकेर उनले साविति बयान दिई घटनाको जिम्मेवारी लिए । ज्यानको माया सबैलाई हुन्छ । त्यसैले भीमनारायणले पनि सुरुमा इन्कारी बयान दिनु त्योबेला स्वभाविकै थियो ।

    फेरि भर्खरै अर्थात् २०३० फागुन २६ गते मात्रै बिराटनगरमा उनका भाइ वीरेन्द्रनारायणको विवाह भएको थियो । विवाह सामग्रीका लागि पटकपटक भीमनारायण भारतीय बजार फारवेशगञ्ज गएका थिए । तर एउटा सल किन्न छुटेछ । त्यो किन्न उनी एक्लै फारवेशगञ्ज पुगेका थिए ।

    त्यहाँ पुग्दा उनको पुरानो चिनारु पूर्व सैनिक अफिसर यज्ञबहादुर थापासँग भेट भयो । ओखलढुङ्गा काण्डका नायक थापा नेपाली काँग्रेसतिर आस्थावान भई फारवेशगञ्जमा निर्वासित थिए । उनैले कागजमा पोको पारिएको एउटा गह्रौं वस्तु फलानोलाई दिनु है भनी पठाएका थिए । गोप्य तरिकाले सिमा कटाई उनैले ल्याएको त्यो वस्तु रामकृष्ण श्रेष्ठलाई बुझाए । त्यो वस्तु ३६ नं. ग्रिनेट थियो । त्यहीँ ग्रिनेट विस्फोट भयो । र, भीमनारायणले राजाको गद्दि ताकेको आरोप खेपी ज्यान अर्पण गर्नु पर्यो ।

    भीमनारायण नेपाली काँग्रेसप्रति आस्थावान थिए । उनी २०१५ को आमनिर्वाचनमा काँग्रेसको प्रचार समितिमा रही सक्रिय थिए । यही सक्रियताको क्रम र धनकुटामा गुल्मपति भएर बसेका बखत कप्तान यज्ञबहादुर थापासँग उनको परिचय थियो । व्यापारको शिलशिलामा उनी फारवेशगञ्ज ओहोरदोहोर गर्दा यज्ञबहादुरलाई केही खर्च छाड्ने गर्थे ।

    कोइराला परिवारसँगको सम्बन्ध

    २०४६ सालको परिवर्तनपछि सहिद परिवारकातर्फबाट भीमनारायण श्रेष्ठका कान्छा छोरा मनोहरनारायण श्रेष्ठ राजनीतिमा सक्रिय भए । तर उनी कोइराला परिवारसँग त्यति नजिक कहिल्यै देखिएनन् । बरु उनी देउवा समूहबाट कोइराला समूहलाई चुनौति दिदै नेपाली काँग्रेस, धनकुटा जिल्ला समितिको सभापतिमा विजयी भए । देउवा जता, उनी पनि त्यतै भइरहे । संविधान सभा सदस्य पनि त्यही समूहबाट भए । पछिल्लो समय उनी नेपाली काँग्रेसको आमन्त्रित सदस्यका रुपमा केन्द्रीय समितिमा पुगेका छन् ।

    सायद यो परिवारलाई विभिन्न कारण कोइराला परिवार मन नपर्नुको कारणमध्ये धनकुटाबाट अधिकाँश क्षेत्रीय कार्यालयहरु गिरिजाप्रसाद कोइरालाको समयमा उनकै गृहनगरमा सारिनु एउटा हुन सक्छ ।

    अर्को कुरा जहाँ रामकृष्ण श्रेष्ठसहित भीमनारायणले राजाको भ्रमणस्थलनेर वीरता देखाए, त्यो ठाउँ कोइराला निवासदेखि असाध्यै कम दूरीमा रहेको छ । उसै त बिराटनगर कोइरालाको गृहनगर । सम्भवतः एउटा सहिद परिवारलाई खास कुनै वास्ता कोइराला परिवारले गरेन वा धनकुटाको पनि अरु कसैको घेरामा कोइराला परिवार प¥यो, र सहिद परिवार चाहिँ कोइराला परिवारको नजरबाट टाढा हुनुपर्यो ।

    त्यो आँसुको सागर

    ४१ वर्ष भयो, भीमनारायण श्रेष्ठले यज्ञबहादुर थापासँगै सहादत प्राप्त गरेको । दुई महिनाअघि आमाको उपचारका क्रममा बिराटनगर जाँदा भीमनारायणका जेठा छोरा मनोजनारायणले आफ्ना काका वीरेन्द्रनारायणसँग आपना बुवा घाइते भई छटपटाएको स्थल देखाइमागे ।

    वीरेन्द्रनारायणले सबै देखाइदिए । त्यतिले मात्र चित्त नबुझी मनोजनारायणले काकासँग आफ्ना बुबालाई गोली दागिएको ठाउँ पनि देखाइमागे । त्यसबेला दाजुको शव बुझ्न गएका वीरेन्द्रनारायणले अनुमानको भरमा त्यस ठाउँ देखाइदिए । यसअघि त्यस्ता ठाउँको खोजी गर्न मनले आँट गर्न नसकेका मनोजनाराणको आँखा फेरि सानै उमेरमा पितृवात्सल्यबाट विमुख हुनु पुगेको पीडामा छपक्कै आँसुले भिज्यो ।

    भीमनारायण श्रेष्ठ विस्फोटमा परेका, पक्राउ परेका, राजद्रोहका साथ दोषी करार भएका र मृत्युदण्ड पाएकोसम्मका घटनाक्रमहरुमा यो परिवारले पाएको पीडा बयान गरिसाध्यै छैन ।

    जब बीबीसीको हिन्दी सेवाले त्यो बेला भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई मृत्युदण्ड दिएको समाचार प्रशारण गर्यो, तब भीमनारायणको घरका पुरेत बासुदेव पोखरेल डरले मरणासन्न भएछन् । उनी हत्त न पत्त अर्का पुरेत शिवप्रसादको घरमा पुगेर भनेछन्, ‘दाजु, म यो काजक्रिया उठाउन सक्दिनँ ।’ शिवप्रसादले भनेछन्, ‘तेरो काम पनि मै गरिदिऊँला । हदै भए हामी दुईलाई जेल लग्लान्, त्यहाँ हामी दुवै बसौंला, तँ भात पकाउन जानिहाल्छस् ।’

    यसरी दुई पुरेत मिलेर भीमनारायणको काजक्रिया सम्पन्न भयो ।

    त्यस घरमा जान मानिसहरु डराउँथे । नजिकका नातागोताहरु गोप्य रुपमा भेट्थे । पीडामाथि पीडा थियो । परिवार आँसुको आहालमा डुवेको थियो । तर प्रजातन्त्रको सुन्दर बिहानी ल्याउन भीमनारायण चाहिँ तारा बनी अस्ताएका थिए । त्यो बिहानी आयो । तर भीमनारायणले जस्तो नेपाली अनुहारमा अपेक्षित हाँसो भने छाउन सकेन ।

    गिरिजाले फर्काएनन् बन्दुक

    २००७ को क्रान्तिताका सशस्त्र सङ्घर्षको समयमा नेपाली काँग्रेसले माथि उल्लेखित सहिद परिवारबाट एउटा बन्दुक लगेको थियो । क्रान्ति सकिएपछि फिर्ता गर्ने कबोल गरिएको थियो । तर त्यो कबोल भने पूरा गरिएन ।

    बन्दुक धरानबाट बुझेको देखिन्छ । धरान जुद्धनगरका जयनारायण श्रेष्ठको घरबाट ५ फायर गर्न सक्ने बन्दुक बुझ्ने चाहिँ नेपाली काँग्रेसका तत्कालिन पोलिटिकल कमिसनर गिरिजाप्रसाद कोइराला हुन् ।

    सहिद भीमनारायण श्रेष्ठकोे सहादतको नालीबेली खोजी गर्ने क्रममा सहिद निवासमा आजभन्दा २२ वर्षअघि यो लेखक पुग्दा भीमनारायण श्रेष्ठका पिता सूर्यनारायण श्रेष्ठ (हालः दिवंगत)को हातमा एउटा चिर्कटो देख्ने अवसर पाएको थियो । उहाँले पनि मलाई उत्सुकतापूर्वक त्यो देखाउनुभयो ।

    त्यो चिर्कटो भर्पाइको कागज हो । त्यहाँ स्पष्ट रुपमा गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन् । त्यहाँ यस्तो लेखिएको छः

    ००७/९/२५ मा
    धरान जुद्धनगर बस्ने श्री जयनारायण श्रेष्ठको ५ फायर मार्जर धं गौ.नं. मोगो नं. बन्दुक थान एक र त्यस्को टोटा गोटा २५ एस काँग्रेस अफिस (बिराटनगर)मा दाखिल भयो । जनक्रान्तिको समयमा लडाईको निम्ति प्राप्त भयो । क्रांतीपछि यो बन्दूक तपाईलाई फिर्ता दिइने छ ।
    गिरिजाप्रसाद कोइराला
    पोलिटिकल कमिशनर

    माथि उल्लेख भएको जुद्धनगर भन्ने ठाउँ चाहिँ हालको पुतलीबजार हो । जयनारायण चाहिँ भीमनारायणका ठूलो बुबा हुन् ।

    यस लेखकलाई सहिद परिवारको तर्फबाट प्राप्त बन्दुकको लाइसेन्सको फोटोकपि अनुसार यस बन्दुकको खास हकदार चाहिँ सूर्यनारायण देखिन्छन् । उनैको नाममा यो बन्दुकको लाइसेन्स २००५ साल वैशाख २९ गते मंगलबार धनकुटा गौंडाबाट जारी गरिएको छ ।

    लाइसेन्समा भने बन्दुक ६ फायरको भनिएको छ । यसको नविकरण पनि त्यहीँबाट सूर्यनारायणकै नाममा दुई वर्षका लागि २००७ साल वैशाख २५ गते शुक्रबार गरिएको छ । यस अनुसार २००९ साल वैशाख २८ गते पूर्वसर्त अनुसार लाइसेन्सको नविकरण गर्नुपर्ने थियो । न बन्दूक नै फिर्ता भयो, न त यो बन्दूकको लाइसेन्स नविकरण भयो ।

    माथि उल्लेख गरिएका जयनारायण सूर्यनारायण श्रेष्ठका दाजु हुन् । जयनारायणका छोराहरुमध्ये दिप श्रेष्ठले गायक बनेर नाम कमाए भने सूर्यनारायणका छोरा भीमनारायण सहिद बनेर चम्किए ।

  • कमेन्ट गर्नुहोस्