नेपाली भाषाको ‘धन्यवाद’ शब्दमा हाम्रो सांस्कृतिक प्रतिविम्व
भाषा र संस्कृति एक अर्काका प्रतिविम्व हुन् । यहाँनिर संस्कृति भन्नाले कुनै समाजमा बसोबास गर्ने मानिसको रहनसहन, लवाइखवाइ र अन्य अन्य प्रकारका दैनिक व्यवहार भनेर बुझ्नुपर्ने हुन्छ, जुन परिवर्तनशील पनि हुन्छ । त्यस प्रकारको सामाजिक संस्कार भाषाको माध्यमबाट नै सबैभन्दा बढी प्रतिविम्वित भइरहेको हुन्छ । उदाहरणको लागि भाषाशास्त्रीहरुले पछिल्लो पटक विभिन्न देशमा सहानुभूति प्रकट गर्ने तरिकादेखि शब्दको लम्बाइले मानव संस्कृति कति प्रतिविम्वित गर्छ भनेर अध्ययन गरेका छन् । भाषा विचारकहरु सुसन गल र जुदिथ इर्भिनले आफ्नो एउटा अनुसन्धानमुलक लेखमा भनेका छन् “कुनै पनि व्यक्तिले प्रयोग गर्ने भाषाको भाषिक रुपले उसको सामाजिक पहिचान र उसको समग्र सामाजिक व्यवहारलाई प्रतिविम्वित गर्न सक्छ ।”
यसै सिद्धान्तको मातहत रहेर यस आलेखमा म नेपाली भाषाको ‘धन्यवाद’ शब्दको सिलवल (शब्दांश)संग अंग्रेजी र चाइनिज शब्दको सिलवल संख्याको तुलना गर्ने छु र ती भाषामा भएका सिलवल संख्याले कसरी ती समाजमा कृतज्ञता प्रकट गर्ने सामाजिक प्रचलनलाई प्रतिविम्वित गरेको हुन सक्छन् भनेर विश्लेषण पनि पेश गर्ने छु ।
मैले चाइनिजहरुलाई नेपाली पढाउँदा सबै भन्दा पहिले सिकाउने र चाइनिजहरुले पनि सिक्न चाहने शब्द भनेकै ‘धन्यवाद’ हो । तर उक्त शब्द उच्चारण गर्न चाइनिजहरुलाई तुलनात्मक रुपमा धेरै नै सकस परेको मैले देख्ने गर्छु । चाइनिज भाषा र नेपाली भाषाबीच टाइपलजिकल (अक्षर) फरकपनका कारणले पनि त्यसो भएको हुन सक्छ, अर्थात नेपाली भाषा अल्फावेटिकल भाषा हो भने चाइनिज भाषा टोनेमिक । नेपाली भाषामा शब्दको वा सिलवलको उच्चारण गर्दा कथंकदाचित स्वर फरक पर्न गए पनि उक्त शब्दको तात्विक अर्थमा फरक पर्दैन । तर चाइनिज भाषामा एउटै शब्द फरक फरक स्वरमा उच्चारण गर्दा फरक खालको अर्थ लाग्न जान्छ । उदाहरणको रुपमा क्यान्टोनिजको ‘काउ’ भन्ने एउटा शब्दलाई फरक फरक स्वरमा उच्चारण गर्दा ९ वटासम्म अर्थ लाग्छ । चाइनिजहरुलाई ‘धन्यवाद’ भन्ने शब्द उच्चारण गर्न त्यस कारणले पनि कठीन भाको हो कि भन्ने एउटा अनुमान कायमै छ ।
अध्यापनका क्रममा जुन बेला म नेपाली शब्दहरु मेरा चाइनिज विद्यार्थीहरुलाई सिकाउनको लागि उच्चारण गर्थें उनीहरु मैलै जस्तै गरी उस्तै टोनमा उच्चारण गर्थे र प्रत्येक सिलवलमा धर्का दिएर चिन्ह लगाउँथे । त्यस क्रममा नेपाली भाषाको ‘धन्यवाद’ भन्ने शब्दलाई उनीहरुले तीनवटा सिलवलमा छुट्टयाएको पाएँ । किन कि उक्त शब्द एक घण्टाको कक्षामा नै धेरै पटक उच्चारण गर्नु पर्ने हुन्छ । उनीहरुका लागि अध्ययन सामग्री वितरण गर्दा होस् वा उनीहरुले सोधेको प्रश्नको मैले उत्तर दिंदा होस्, उनीहरु प्रत्येक पटक ‘धन्यवाद’ शब्द उच्चारण गर्न चाहान्थे । र सोही अनुरुप म पनि उच्चारण गरिरहेको हुन्थेँ । यस प्रक्रियामा नेपाली भाषाको ‘धन्यवाद’ शब्दसंग मैले अंग्रेजी शब्दको ‘थ्याङ्क यु’ शब्दको उच्चारण र चाइनिज भाषामा ‘तोचे’ वा ‘हमकोइ’ (क्यान्टोनिज) वा ‘सिसे’ (पुतुङ्ह्वा) भन्ने शब्दको सिलवललाई तुलना गर्ने प्रयत्न गरेँ । अंग्रेजीको ‘थ्याङ्क यु’ वाक्यमा दुईवटा शब्द भए पनि सिलवल पनि दुईवटा मात्र छन् । नजिकको मान्छेलाई अंग्रेजीमा दुई सेलविक ‘थ्याङ्क यु’ भन्नुको सट्टा एक सेलेविक ‘थ्याङ्क्स’ मात्र भन्ने चलन पनि छ । अर्थात अंग्रेजी र चाइनजि भाषामा धन्यवाद भन्नुपर्दा दुईवटा वा एउटा मात्र सिलवल उच्चारण गरे पुग्छ भने नेपाली भाषामा धन्यवाद भन्नु पर्दा तीन वटा सिलवल उच्चारण गर्नुपर्ने हुन्छ । त्यति मात्र होइन, अंग्रेजी भाषाको ‘थ्याङ्क क्यु’ र चाइनिज भाषाका ‘तोचे’, ‘हमकइ’ वा ‘सिसे’ले पूर्ण वाक्यांशको अर्थ दिन्छन् भने नेपाली भाषाको ‘धन्यवाद’ले एउटा शब्द मात्र जत्लाएको भान हुन्छ । पूरा वाक्यांश बन्नको लागि नेपालीमा ‘धन्यवाद छ’ वा ‘तपाईंलाई धन्यवाद छ’ भन्नु पर्ने हुन्छ । जुन अति नै लामो वाक्य बन्न पुग्छ ।
तर नेपाली भाषाको ‘धन्यवाद’ शब्दको तीनवटा सिलवल हुनु र अंग्रेजी वा चाइनिज भाषामा भन्दा नेपाली भाषामा उक्त शब्द उच्चारण गर्न लामो समय लाग्नुले केही हदसम्म नेपाली समाजको समग्र साँस्कृतिक पहिचान प्रतिविम्वित गरेको मान्न सकिन्छ । उदाहरणको लागि नेपालका गाउँघरमा सानातिना काम गर्दा आम रुपमा विभिन्न वर्ग, लिङ्ग, उमेर र समुदायका मानिसले अरुको सहयोगप्रति खुलेर धन्यवाद भनेको एकाध बाहेक पाइंदैन । संस्कार त्यस्तो हुंदो हो त उक्त शब्द शिक्षित वा अशिक्षित सबैको मुखबाट हरदम प्रस्फुटित भइरहेको हुनुपर्ने थियो । तर हङकङमा भने जो कोहीलाई पनि जो कोहीले सानो तिनो सहयोग गर्यो भने पनि ‘हमकोइ’ नभनेको विरलै पाइन्छ । भवनहरुमा वा प्लाजाहरुमा वृद्धहरुको लागि अलिकति ढोका खोलिदियो भने वा लिफ्ट एक छिन भए पनि रोकेर राखिदियो भने उनीहरु कैयन पटक हमकोइ हमकोइ भनेको देखिन्छ । विदेशीले त्यसरी सानो पनि सहयोग गर्यो भने उसलाई ‘थ्याङ्क यु’ भनेको पाइन्छ । अर्थात कृतज्ञताका ती शब्दहरु चिनियाँहरुले बाटो घाटो, बजार, घर, विद्यालय, बस, रेल वा पार्क जहाँतहीँ मौका पर्नासाथ हरदम उच्चारण गरिरहेका पाइन्छन् । विदेशीहरुको मुखमा हरेक पल्ट उच्चारण गरिने पहिलो शब्द हो ‘थ्याङ्क यु’ वा ‘थ्याङ्क्स’ । कारण ती दुवै भाषामा ‘धन्यवाद’का भावानुदित शब्दहरु दुई सिलवलमा टुंगिन्छन् र नेपाली शब्दको तुलनामा उच्चारण गर्न पनि छिटो र सजिलो लाग्छ ।
वास्तवमा उक्त शब्दको बनावट वा रुपसंग कुनै न कुनै रुपमा समाजका विभिन्न वर्गहरुबीचको समन्वय, एक–अर्काबीचको सरसहयोग र सहयोगदाताप्रति समाजले अपनाएका कृतज्ञताका संस्कार गाँसिएको देखिन्छ । र त्यस प्रकारको संस्कारले मानव समाजको विकासमा कुनै न कुनै रुपमा प्रभाव पारेका हुन सक्छन् । मैले हङकङ आएपछि थाहा पाएँ, यहाँका बहुसंख्यक सरकारी विद्यालयहरु र अस्पतालहरु धनाढ्यहरुले आफ्ना नाममा खोलेका रहेछन् । ती विद्यालयहरुबाट यहाँ लाखौं विद्यार्थीहरुले शिक्षा हासिल गरेका छन् । अस्पतालबाट लाखौंले उपचार सेवा लिइरहेका छन् । हङकङका सबैभन्दा धनाढ्य व्यक्ति ली का सिङको नाममा त हङकङ विश्वविद्यालयमा मेडिकल फ्याकल्टी नै राखिएको छ किनकि उक्त फ्याकल्टीको बिल्डिङ बनाउनेदेखि अन्य सम्पूर्ण खर्च उनले व्यहोरेका छन् । विश्वविद्यालयले आफ्नो एउटा फ्याकल्टीको नाम नै ली का सिङको नाममा राख्नुले एकातर्फ हङकङको समाज विकासमा पैसावालहरुको असिमिति योगदान भएको नमूना झल्काउछ भने अर्कोतर्फ यहाँ यस प्रकारका सहयोगको बदलामा प्रकट हुने कृतज्ञताको संस्कार पनि झल्काउँछ ।
तर हाम्रो नेपालमा यस्तो विरलै देख्न पाइन्छ । गाउँघरमा अलि हुने खाने व्यक्ति र परिवारलाई शोषक, फटाहा भनेर एक्लो बनाउँने र तिनीहरुसंग भएको अतिरिक्त पूँजी तिनलाई खुशी बनाएर समाज विकासमा प्रयोग गर्नुको साटो तिनको खेदो खन्ने चलन छ । विशेष गरी विगतमा नेपालका कम्यूनिष्ट खेमाका मानिसहरुले गाउँघरतिर भएका एकाध हुने खानेहरु र पैसावालहरुलाई सामाजिक कलंकको रुपमा पेश गर्ने अभियान नै चलाए । नेपालका गाउँगाउँमा धेरथोर सम्पत्ति भएका मानिसलाई कृतज्ञता प्रकट सहित धन्यवाद भनेर उनीहरुको अतिरिक्त पूँजि निःशुल्क शिक्षा र स्वास्थ्यमा लगाउन सकेको भए नेपाल शायद धेरै अघि विकसित भइसकेको हुन्थ्यो होला ।
पछिल्लो समय नेपालतिर शिक्षित जमातले कसैको सहयोगको बदलामा ‘धन्यवाद’ वा ‘थ्याङ्क्यु’ भन्ने चलन शुरु गरेको छ । तर त्यो आम संस्कारको रुपमा नभइ आयातित चलन अपनाउन औपचारिकतामा सिमित भएको जस्तो देखिन्छ । नेपाली समाजमा अरुको सहयोगप्रति कृतज्ञ बन्ने चलनको अभाव छ भन्ने कुरा नेपालको राजनीतिक र कर्मचारीवृत्तका व्यवहार नियाल्दा पनि थाहा हुन्छ ।
केही वर्ष पहिले चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल हङकङ आएको समयमा नेपाली महावाणिज्यदूतावासले एउटा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । राजदूत, नेपाल सरकारको उच्च पदमा पुगिसकेका एकजना वरिष्ठ कर्मचारीसंग सबैखाले विषयवस्तुमा प्रश्नहरु र राय राख्ने काम भइरहेको थियो । यतिकैमा नेपालमा धेरै भन्दा धेरै पर्यटक नेपाल भित्राउन के गर्नु पर्ला भनेर छलफल भइरहेको थियो । मैले वर्षेनी नेपाल भ्रमणमा जाने हङकङ विश्वविद्यालयका विद्यार्थीहरु, जसलाई मैले नै कैयौं पटक ब्रिफिङ दिएको छु, उनीहरुले भनेको कुरा सम्झेँ । उनीहरुले भनेका थिए “नेपालको काठमाण्डौंमा कहीं पनि गतिलो सार्वजनिक शौचालय समेत छैन ।” मैले सोही कुरा लिलामणि पौड्याललाई जत्लाएँ ।
नेपाली मात्र बोलाइएको उक्त कार्यक्रममा मेरो उक्त कुरा सुनेर लिलामणि जंगिए । अनि सारा विदेशिएका नेपालीलाई गाली गर्न थाले । अष्ट्रेलियाको एक जना नेपालीलाई पनि त्यसरी नै थर्काको छु मैले भन्दै थिए उनी । “मुलाहरु, पैसाको लागि विदेश आको होइन ? पैसाको लागि विदेशिनेले नेपालको बारेमा टिकाटिप्पणी गर्ने अधिकार छैन । राम्रो कुरा मात्रै भन्नुस् । नराम्रो कुरा हामी सुन्नै चाहंदैनौं ।” उनले भने ।
मैले सोंचेको थिएँ त्यस्तो ओहदाका अधिकारीले हामीले दिएको सुझाव सहज रुपमा ग्रहण गर्नेछन् र सुझावको लागि धन्यवाद दिएर नेपालमा परिवर्तनको लागि पहल गर्नेछन् । तर त्यसो भएन । लिलामणिको उक्त आक्रोस नेपालभित्रका कर्मचारीतन्त्रमा मात्र व्याप्त असहिष्णुता र अकृतज्ञताको उदाहरण नभइ सिंगो नेपाली संस्कारको प्रतिविम्व हो भनेर भन्न सकिन्छ ।
अरुबाट प्राप्त हुने कुनै पनि प्रकारको सहयोग, हेरचाहदेखि विभिन्न प्रकारका सल्लाह सुझावप्रति कृतज्ञ हुन नजान्ने वा नचाहने संस्कार मुलतः भारतीय र नेपाली समाजमा भएको सामाजिक संरचनाको प्रमुख उपज हो भन्ने अनुमान लगाउन सकिन्छ । र यस्तो संस्कारले हाम्रो समग्र विकासमा बाधा अडचन खडा गरेको देखिन्छ ।
कहिलेकाहीं नेपालभित्र बस्ने र बाहिर बस्ने नेपालीबीच देश विकासको लागि कसले कति योगदान गरेको छ र कहाँ बस्नेले नेपालको बारेमा वा नेपाली राजनीतिक तौरतरिकाको बारेमा कस्तो सवाल गर्न पाइन्छ वा पाइंदैन भनेर चर्काचर्की परेको देखिन्छ । यदि नेपाली संस्कारमा यस प्रकारको असहष्णिु र अकृतज्ञ चलन नहुँदो हो त हरेकले नेपालको विकासको लागि गरेको योगदान र त्यागको प्रशंसा गर्दै एक अर्काको बहसको गहिराइमा पुग्ने कोसिस गथ्र्यो होला । आम रुपमा जो जहाँ बसे पनि जो कोहीले नेपालको बारे टिकाटिप्पणी गर्छ भने उसले नेपाललाई माया गर्छ, उसको टिकाटिप्पणीमा महत्वपर्ण ज्ञान लुकेको हुन सक्छ भन्ने सम्भावनातर्फ र तिनीहरुले गर्ने आलोचना वा व्यक्त गर्ने विचारको लागि उनीहरुलाई धन्यवाद दिनुपर्छ भन्नेतर्फ शायदै कसैले सोच्ने गर्दछ ।
विदेशमा बस्ने नेपालीले पठाएको रेमिट्यान्सले नै आजको नेपालमा राजनीतिक नेता, कार्यकर्ता, कर्मचारी, व्यापारीहरुदेखि समग्र नेपालीको बिहान बेलुकाको भान्सा पाक्छ भन्ने कुरा बुझ्दाबुझ्दै पनि उनीहरु विदेशका नेपालीप्रति कृतज्ञ बन्न चाहंदैनन् । यसको अर्थ नेपाली भाषाको ‘धन्यवाद’ शब्दमा भएका तीनवटा सिलवलले हाम्रो त्यस प्रकारको संस्कारलाई प्रतिविम्वित गरेको छ भनेर दावी गर्ने यथेष्ट आधार देखिन्छ ।
कसैको सहयोगप्रति कृतज्ञ बन्नु र ‘धन्यवाद’ भन्नु सामाजिक सहअस्तित्वको सिद्धान्त अनुरुप पनि महत्वपूर्ण छ । अर्थात सबै मानिसलाई समाजमा बस्नको लागि, संघर्ष गर्नको लागि र बाँच्नको लागि विविध खाले ज्ञान, सीपदेखि लिएर विविध प्रकारका भौतिक र अभौतिक सरसहयोगको आवश्यकता पर्छन् र त्यसको लागि हामी सबैले सबैको अस्तित्वलाई स्वीकार गर्दै तिनको सरसहयोगको उचित कदर पनि गर्न सक्नुपर्छ भन्ने मान्यता पनि यसमा लुकेको छ ।
यसको अर्थ सबै नेपालीहरु कसैको सहयोगप्रति कृतज्ञ बन्दैनन् वा अरुको सहयोगको कदर गर्दैनन् भन्ने होइन । तर हाम्रो आम सामाजिक संरचनाले वा चालचलनले कृतज्ञता प्रकट गर्नमा कन्जुस्याइँ देखाएको हो कि भन्न खोजिएको हो । साथै परिवर्तित राजनीतिक परिस्थितिमा नेपालका सबै समुदायका विद्धानहरुले यस विश्लेषणमा सहमति नराख्न सक्छन् । यसर्थ यसको बारेमा थप अनुसन्धान र विश्लेषण भयो भने समग्र नेपालको सामाजिक संस्कार र हाम्रो बदलिंदो सामाजिक संरचनाको प्रतिविम्व बुझ्न मद्दत पुग्नेछ । र यस खाले विश्लेषणबाट विशेष गरी नेपालको शिक्षा नीति, पाठ्यक्रम र शिक्षण विधिको विकासमा मात्र होइन, समग्र राजनीतिक र प्रशासनिक आचरणमा सुधार ल्याउनको लागि महत्वपूर्ण योगदान हुन सक्छ ।
नोट: इन्टरनेटबाट लिइएको चित्र सन्दर्भको लागि प्रयोग गरिएको हो ।