• अशोक राई र सुशीला श्रेष्ठको विवाह

  •  

    चार दशकअघिको क्षणको सम्झना हुन्छ, वर्तमान नेपालको अनुहार हेर्दा । त्यो बेला भूमिगत रुपमा सपना बाँडेर हिड्नेहरु अहिले सत्तामा छन् । कोरोना भाइरसको महामारीले विश्वनै आक्रान्त बनिरहेको बेला हाम्रो देशमा व्याप्त कोरोनाभन्दा खतरानाक कमिसन, लुट, धोकेवाजी, गुटबन्दी, लुछाचुडी देख्दा चार दशकअघिको त्यो सपना क्षतविक्षत भएको अनुभूति हुन्छ ।

    कुनै बेला निरङ्कुशताविरुद्ध पौठेजारी खेल्दै मेरा अग्रज पुस्ता हाम्रै घरमा विविध भूमिगत गतिविधि गरेको देखिरहेको त्यो समय म बालकै थिएँ । तिनै सपनाका सारथीहरुसँगै परिवर्तन, समानता र समृद्धिलगायतका सपनाको डोरोमा म पनि डोरिएको थिएँ । तर अचम्म, थाहा पत्तो नपाई त्यो डोरो त कता चुडिएछ कता ? धागो चुडिएको चङ्गाजस्तै लाग्न थालेको छ, आज त्यो सपना ।

    पञ्चायतकालिन सङ्गीन घडीमा आफूले खाईनखाई भूमिगत नेताहरुका लागि गाँस र बासमात्रै होइन, उनीहरुको सुरक्षा प्रवन्धका लागि समेत पूर्ण समर्पित हाम्रो घर परिवारले कहिल्यै पनि लाभ र हानीको विषयमा सोचेन । त्यही घरमा पार्टी गतिविधि चलाउने मूलपात्र डम्बर सुब्बा चार दशकभन्दा बढि बामपन्थी झण्डा उचालेरै कडा रोगसँग मुकाविला गर्न नसकी २०७७ सालको अनुहार देख्नै नपाई असामयिक रुपमा समाधिस्त भए । नेतृत्व वर्ग यतिको छाडा र गफडा हुन्छ भनेर सोच्नसम्म सकिएको थिएन । हिजो पार्टी दुब्लो पातलो हुँदा कार्यकर्तालाई हम्मेहम्मे भई जोगाउने यत्न स्वरुप म्याऊँ म्याऊँ गर्ने नेताहरु आज दुई तिहाइको मत्ता हात्ति भएका छन् । उनीहरुको मनबाट हिजोको गाह«ो अफ्ठ्यारोको बेला पार्टी काममा मरिमेट्ने कार्यकर्ताहरु आज पूर्ण रुपमा विस्मृत छन् । कठै ! पार्टी कति दिनसम्म चल्ला यसरी, हुक्के र चमरेहरुको भारदारी भरमा ?

    हो, यहाँ नसोचेको कुरा देख्न र भोग्न पाइएको छ । यस्तो बेला कवि सन्तोष थेवेको एउटा कविताको अंश उद्धृत गर्न मन लाग्छः

    सतिले सरापेर हो कि
    सहिदले मुतेर हो
    यो देशमा आलु रोपे पिडालु फल्छ…

    भूमिगत समयमा फलामे अनुशासन थियो । तर आज पार्टीमा तलदेखि माथिसम्मका कतिपय कमरेडहरुकै असली साँस्कृतिक चरित्रको पर्दा च्यातिएर उदाङ्गो भइरहेछ । यस्तो दृश्य हाम्रा आँखाले अझै कति देख्नुपर्ने हो, थाहा छैन । यो क्रम रोकिने छाँटकाँट पनि देखिदैन ।
    भूमिगत समयमा कार्यकर्ताहरु कति कडा अनुशासनमा थिए भने विवाह त के प्रेमसम्बन्ध कायम गर्न पनि पार्टीको स्वीकृति लिनुपथ्र्यो । वर्तमान भर्चुअल दुनियाँका कमरेडहरुलाई यस्तो घटना सुन्दा एकादेशको दन्त्यकथाजस्तै लाग्छ । तर त्यही दन्त्यकथाजस्तो लाग्ने तत्कालिन एक जना नेता र नेतृको प्रेम र विवाहको इतिहासबारे यहाँ प्रकाश पारिएको छ ।

    वामपन्थी चहलपहल हुने ठाउँको नाममा धरान उसबेलैदेखि चर्चित थियो । सुनसरीमा पार्टीको अर्को गतिविधि हुने ठाउँ थियो, मधेली । धरानपछिको पार्टीको आधारस्थल मधेली थियो । कोशी अञ्चल क्षेत्रीय कमिटीको बैठक मधेलीमा भएको थियो । २०३६ को असोज महिनाको कुरो । त्यसबेला क्षेत्रीय कमिटीको सचिव जीवन (मदन भण्डारी) र उपसचिव चाहिँ राजेश (राजेश बान्तवा) । तीमध्ये जीवन क्षेत्रीय कमिटीको नेतृत्व गर्दै मोरङको जिम्मेवार थिए भने राजेश चाहिँ सुनसरीको ।

    पार्टीको बैठकका एजेण्डामध्ये एक थियो, दुई जना कमरेडबीच प्रेम सम्बन्ध । यसलाई अनुमोदनका लागि प्रस्ताव गरियो । कमरेडहरुले ताली बजाएर यो प्रस्तावमा स्वीकृति प्रदान गरे । प्रेमजोडी थिए, कमरेड नीलकण्ठ र सिर्जना अर्थात् अशोक राई र सुशीला श्रेष्ठ ।
    अशोक त्यतिखेर हात्तिसार क्याम्पस, धरानमा आइएस्सी पढ्दै थिए । उनी एकजना विद्यार्थी थिए । तर राजेश बान्तवा चाहिँ पार्टीको सम्पर्कबाट एक क्रान्तिकारी कमरेड भइसकेका थिए । उनी बेलाबेलामा पार्टीको दस्तावेजहरु पुर्याउन अशोककहाँ जान्थे ।

    आईएससी पास गरिसकेपछि अशोक अध्ययन अगाडी बढाउन काठमाडौं हानिए । त्यहीँ बेला उनले खानी विभागमा जागिर पनि पाए ।

    यता पार्टीको कार्यकर्ता भनेर पहिचान पाउँदै गएका राजेश बान्तवालाई भने अध्ययनको शिलशिलामा दुःखको भुक्तमान खेप्दै जान पर्यो । उनलाई महेन्द्र बहुमुखी क्याम्पसमा टिकिखान दिइएन । त्यसपछि पढ्नका लागि उनी विराटनगर पुगे । त्यहाँ पनि सास्ती दिइयो । त्यसपछि उनी भारतको विहारस्थित बद्नाहा भन्ने ठाउँको देवघर कलेजमा पुग्न पर्यो पढ्नलाई ।

    खानी विभागमा जागिर गर्दै गर्दा तत्कालिन कोअर्डिनेशन कमिटीका नेताहरु विवेक (माधवकुमार नेपाल) र श्याम (अमृतकुमार बोहरा)सँग अशोकको सम्पर्क भयो । त्यतिखेरै ताप्लेजुङबाट सुशिला नर्सिङ पढ्न काठमाडौं आएकी थिइन् । दुवै पार्टीमा आवद्ध भई बेलाबेलाको भेटघाटपछि यी दुईमा प्रेम अङ्कुरण भएछ ।

    माओ जयन्तीको साइत पारेर २०३५ साल पुस ११ गते मोरङमा एक गोप्य सम्मेलनबाट कोअर्डिनेसन कमिटी, मुक्ति मोर्चा, सन्देश समूह लगायतका वामपन्थी दलहरुको एकता हुँदै तत्कालिन नेकपा (माले) गठन भयो । सीपी मैनाली महासचिव चयन भए । मुक्ति मोर्चाबाट मदन भण्डारी, जीवराज आश्रितहरु र सन्देश समूहबाट बामदेव गौतमहरु मालेमा एकिकृत भए । चित्र निरौला, गोपाल गुरागाईहरु रातो झण्डा समूहबाट त्यहाँ मिसिए ।

    त्यसपछि अशोकको काँधमा पार्टी नेतृत्वको जिम्मेवारी आयो । उनलाई विराटनगर हुँदै भोजपुर पठाइयो, जिल्ला पार्टी सचिवको जिम्मेवारीमा ।

    त्यसबेला इलाम जिल्लाको पार्टी सचिव हुँदै मेची अञ्चललाई पनि रेखदेख गर्नुपर्ने जिम्मेवारी रत्नकुमार बान्तवाको काँधमा थियो । उनी पार्टीको केन्द्रीय कमिटीका सदस्य पनि थिए । उनले पार्टी केन्द्रमा एउटा प्रस्ताव राखे, “हामीकहाँ महिला फाँटमा काम गर्ने एक कमरेडको खाँचो छ ।”

    त्यसपछि सुशीलालाई मेची अञ्चलको पहाडी क्षेत्रको महिला फाँट सम्हाल्ने जिम्मेवारी दिएर पार्टीले रत्नको साथ पठाउने निर्णय गर्यो । खटाएको क्षेत्रतिर सुशिला रमाना भई पार्टीको सम्पर्कमा आइन् ।

    त्यो दिन उनीहरु पार्टी कामकै सिलसिलामा ताप्लेजुङ जाँदै थिए । यात्रामा रत्नका साथै सुशीला र स्थानीय कार्यकर्ता राममाया राई थिइन् । उनीहरुलाई बाटैमा हतियारधारी प्रहरीले घेरिहाल्यो । प्रहरीबाट मूलरुपमा लक्षित गरिएको शिकारका रुपमा रत्नकुमार बान्तवालाई समातिहाल्यो । उनीसँग खुकुरी त थियो । यदि मर्नै परे अन्तिम समयमा सकेको दुई चारजनालाई छप्काएर उनी मर्ने थिए होलान् । तर उनले खुकुरी दापबाट झिक्ने अवसर नै पाएनन् ।

    रत्नले प्रहरीको पञ्जाबाट आफूलाई सक्दो फुत्काउने प्रयास त गरे । त्यसैबीच सुशीला र राममायाले रत्नलाई प्रहरीको पञ्जाबाट फुत्काउन आआफ्नो साथमा भएको लौरोले प्रहार गरे । त्यसैबेला राममायालाई थला बस्ने गरी प्रहरीले प्रहार ग¥यो । उनी केही नलाग्ने रहेछ भनेर ज्यान बचाउन त्यहाँबाट कुलेलम ठोकिन् । स्थानीय भएकोले उनलाई लोकेसन थाहा थियो र भाग्न पनि सजिलै थियो । उनलाई निशाना बनाएर प्रहरीबाट प्रहार भएको गोली लागेर उल्टै एक प्रहरी घाइते भए । अर्को प्रहार रत्नको छातीमा बज्रिन पुग्यो । यसरी रत्नले २०३५ साल चैत २७ गते इलाम जिल्लाको इभाङमा शहादत प्राप्त गरे । सुशीला प्रहरी पञ्जामा परिन् ।

    रत्नको शवलाई तत्कालिन कानुनी र कागजी प्रक्रिया पूरा गर्न सदरमुकाम लैजादै गर्दा सुशीलालाई एक बन्धक रुपमा प्रहरीसँगै त्यसतर्फ जाँदै थिए । देउमाई खोला तरेर प्रहरी टोली बारुङ भन्ने ठाउँमा खानपिनका लागि अडियो । खाना खाइसकेपछि सुशीलाले आफूलाई शौच आएको बताइन् । प्रहरी कमाण्डरले एक जना सिपाहीलाई उनको पछि लागेर जान आदेश दिदा सुशिलाले भनिन्, “तपाईंहरुले गुहु खाने गर्नुभएको छ कि क्या हो र मेरो पछि कसैलाई लगाउँदै हुुनुहुन्छ ?”

    त्यसपछि कमाण्डरले उनलाई एक्लै शौच गर्न एकान्तमा जान दिए । महिला हुन्, भागिजाने आँट् के गर्दिहुन् वा भागे पनि कहाँ पो पुग्लिन् र ? भन्ठाने होलान्, प्रहरी कमाण्डरले । तर उनी शौच जाने निहुँमा त्यहाँबाट जङ्गलै जङ्गल कुलेलम ठोकिन् । यता प्रहरी टोलीमा हल्लीखल्ली मच्चिने नै भयो । प्रहरीले ठूलो माछाको शिकार गरिसकेकै थियो, जालमा परिसकेको अलि सानो माछा चाहिँ फुत्केको अवस्था थियो ।

    उनलाई सकेसम्म जिउँदै समात्न, नसके त्यहीँ सिध्याउन उनी भागी लुकेको आशङ्का गरिएको जङ्गलमा आगो लगाइयो । तर त्यो आगोको लप्काले सुशीलालाई छुन सकेन । कष्टकर जङगल यात्रा १२–१५ घण्टामा पूरा गरेर उनी भोक र थकाईले क्लान्त भई एउटा गाउँमा पुगिन् ।

    रत्नलाई मारिएको र दुई महिला कार्यकर्ता प्रहरी पञ्जाबाट उम्कन सफल भएको खबर नेता तथा कार्यकर्तामा पुगिसकेको थियो । सुशीलाको पार्टीसँग सम्पर्क भएपछि २०३६ वैशाख १ गते पार्टीको बैठक बस्यो, त्यहाँ पनि प्रहरीले घेरा हाल्यो । उनीहरु प्रहरी घेरा तोडेर भाग्न सफल भए ।

    यो घटनापछि मेची अञ्चलको पहाडी जिल्लामा काम गर्ने उद्देश्यले त्यसतर्फ खटिएकी सुशीलालाई त्यहाँ असुरक्षा भएपछि भोजपुर खटाइयो । उनलाई त्यहाँ पुरै भोजपुर र आधा संखुवासभा हेर्ने गरी खटाइएको थियो । भोजपुरमा पार्टी सचिवका रुपमा अशोक खटिइरहेका थिए । त्यहाँ भएको भेट र पार्टी कामकाबीच उनीहरुबीच काठमाडौंमा अङ्कुराएको प्रेम झन प्रगाढ भयो । र त्यहीँ प्रेमलाई उनीहरुले सुनसरीको मधेलीमा भएको क्षेत्रीय कमिटीको बैठकमा सर्वसम्मत रुपमा अनुमोदन गराए ।

    अशोक र सुशीलाको प्रेम प्रगाढ र परिपक्व भएपछि उनीहरुले विवाहको लागि अनुमति मागे । त्यसबेलाको परम्पराअनुसार जनवादी विवाह हुन्थ्यो, कमरेडहरुको । भोजपुरको याङटाङमा भूमिगत रुपमा विवाह समारोहको आयोजना गरिएको थियो । यो ठाउँ दावाँ र छिनामखुबीचमा पर्छ । विवाह समारोहमा कोशी र मेची अञ्चलका जिम्मेवार नेताहरु सहभागी थिए ।

    क्षेत्रीय कमिटीको उपसचिवको हैसियतले राजेश बान्तवा सबैभन्दा ठूला नेता थिए, सहभागीमध्ये । उनी विवाह समारोहका प्रमुख अतिथि । विवाहमा झापाबाट डिल्ली मैनाली, सुनसरीबाट राजेशकासाथ चित्र निरौला र विराटनगरबाट विद्या पाण्डे (हालः राष्ट्रपति विद्यादेवी भण्डारी) सहभागी थिए । समारोहमा दिङ्ला, साम्पाङ, होम्ताङबाट पनि सहभागिता थियो । विवाह समारोहमा १५-१६ जना सहभागी थिए । स्थानीय स्तरबाट सौभाग्य राई (भोजपुरका पूर्व जिविस सभापति शशिभुषण किरातकी जीवनसाथी)बाट नव दम्पतीलाई बधाई तथा शुभकामना प्राप्त भएको थियो ।

    दुलाहालाई फूलको माला दुलहीको तर्फबाट पहिराइयो । दुवैले स्काफ लगाएका थिए । यस्तो स्काफ त्यो बेला पार्टीको सदस्यताको प्रतिक थियो । यस्ता स्काफ राजेश बान्तवाकी जीवन साथी शारदा श्रेष्ठले धरानमा उत्पादन गर्नुहुन्थ्यो । स्काफको रङ नीलोे हुन्थ्यो ।
    २०३९ भदौ असोजतिर अशोक र सुशीलाको विवाह भएको हो । एक जना राईको घरमा यो समारोह भएको थियो । ती व्यक्ति ओभरसियर थिए । सरकारी जागिरमा थिए । त्यसैले उनी पार्टी गतिविधिमा देखा पर्दैनथे । उनकी जीवनसंगिनीले आश्रयदाताको हैसियतले सहयोग पुर्याएकी थिइन् । विवाह भोजमा सुँगुरको मासु, आलु, बोडीको तरकारी, तामाको अचार र भातको व्यवस्था गरिएको थियो ।

    त्यसबेला विवाह समारोहमा कमरेडहरु केही साङ्केतिक शब्दहरु बोल्थे । ती शब्द थिए, ‘रिमझिम’ र अर्को ‘झिलिक मिलिक’ । अघिल्लो शब्दको अर्थ थियो, सिमित सुरापान पनि गर्ने कि ! दोस्रो शब्दको अर्थ थियो, फोटो पनि खिच्ने कि ! अशोक र सुशीलाको विवाहमा रिमझिम चलाइएन, झिलिक मिलिक मात्र चलाइयो । त्यसबेला चित्र निरौलासँग निजी क्यामेरा थियो । उनी पण्डित लाहुरेका छोरा हुन् ।

    विवाह समारोहमा पार्टीका तर्फबाट चित्र निरौलाबाट ओजिलो मन्तव्य व्यक्त भएको थियो । प्रमुख अतिथि राजेश बान्तवाबाट विवाहको मूलपुरोहितको हैसियतले जनवादी पुरेत्याईंमार्फत विवाह समारोह समापन भएको थियो ।

    हिजोको कठीन अवस्थामा पार्टीको जीवन बचाउने र पार्टीलाई यस अवस्थासम्म ल्याउन ज्यानको बाजी थाप्ने उनै अशोक, सुशीला, राजेश र चित्र चारै जना आज पुरानो पार्टीमा छैनन् ।

    (पुराना वामपन्थी नेता राजेश बान्तवा र वृत्तचित्र ‘सेक्रिफाइस नेभर डाइज’का निर्देशक जसकुमार राईसँगको वार्तामा आधारित । तस्बिरः चित्र निरौला र राजेश बान्तवा) ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad