• मदन भण्डारीका लागि दुलहीको खोजी

  •  

    साँझको खाना खाने बेला भयो । दिदीहरुले खासखुस गर्न थाले, ‘अब यहाँ ठूला मान्छेहरु आएर खाना खान्छन् ।’ उनीहरुका लागि हाम्रो घरको आँगन जोडिएको एक छिमेकीको घरमा साँझ बिहानको खानाको प्रबन्ध गरिएको थियो । उनीहरुको बासको व्यवस्था हाम्रो घरमा गरिएको थियो । दिनभर उनीहरु छलफल गर्थे । पहिले पहिले साँस्कृतिक कार्यक्रमले गुञ्जयमान हाम्रो घर केही दिन सुनसान भयो । ती नयाँ मानिस मात्र त्यो घरमा रातभर दिनभर रहन्थे । दाइहरु बाहिर यताउता छरिएर पहरा दिइरहेका जस्ता देखिन्थे ।

    म पनि ती ‘ठूला मानिसहरु’ले खाना खाएको दृश्य हेर्न छिमेकीको घरमा पसेँ । चार–पाँच जना थिए । उनीहरुले खाना खानुअघि एकापसमा हात मिलाए र मुठ्ठी उचालेर सलाम ठोके । त्यसपछि टुकीको उज्यालोमा चुपचाप खाना खाए । खानापछि उनीहरुले आफूले खाएको थाल आफै माझे । घरमित्र पसेर माझिएको थाल बुझाए, र फेरि खाना खानुअघि गरेजस्तै मुठ्ठी उचालेको हातले एकापसमा सलाम गरे । अनि हामीले दिएको घरतिर लागे ।

    २०३८ सालको कुरा हो, यो । कक्षा ३ मा पढ्थेँ । यसरी आएका पाहुनाहरुमा मदन भण्डारी, अशोक राई, चित्र निरौला र राजेश बान्तवा थिए । पछि मैले राजेश बान्तवालाई सोधेर थाहा पाउँदा त्यो बेला त्यहाँ पार्टीको कोशी अञ्चल क्षेत्रीय कमिटीको बैठक बसेको रहेछ ।
    त्यो बेलाको एउटा आदर्श आस्थालाई प्रत्यक्ष रुपमा देख्न पाएको एउटा क्षण जसरी मेरो लागि गौरवको विषय हो, अहिलेको कोरोनाभन्दा पनि डरलाग्दो स्खलनको संक्रमणले ग्रस्त राजनीतिक परिदृश्यमा त्यो गौरव गाथा गाउनु भनेको भैंसीलाई बिन बजाएसरह हुन पुगेको छ ।

    कहिलेकाहिँ मनमा कुरा खेल्छ, उनै मदन भण्डारी अहिलेसम्म जिवित भएका भए, अहिलेको राजनीति कस्तो हुनेथियो होला ?

    जनवाद भन्ने शब्दको तत्व अहिले धनवाद हुँदै हनुमानवादमा फेला पार्न सकिन्छ । त्यसैले सिद्धान्त, दर्शन र शास्त्रहरु भर्चुअल्ली हनुमान चालिसा गुञ्जयमान छन् ।

    वामपन्थ, दक्षिणपन्थ आदि पन्थहरु पहिले सुनिन्थ्यो, अहिले गणेशपन्थले फले फुलेको अवस्थामा छ । सिन्को भाँच्नु नपर्ने, नेतृत्वको वरिपरि छुनुमुनु गर्दा अनेकन अवसर र पारितोषिकहरु मिल्ने अवस्था छ । केवल नेतृत्वको भर्चुअल्ली महिमागान गरेर उनीहरुलाई सामाजिक सञ्जालमा भए पनि देवत्वकरण गर्नुपर्ने अवस्था आएको छ ।

    तर नेतृत्वलाई थाहा छैन, अहिले मौलाएको यो परिपाटीले उनीहरुलाई धृतराष्ट्रबाहेक केही बनाउने छैन ।

    कोरोनाजस्तो विश्वव्यापी महासङ्कटविरुद्ध सबै जना एकजुट भएर जुरुक्कै उठ्नुपर्ने समयमा अर्काको घर भाँडेर आफ्नै परिवारका सदस्यलाई सेकताप गर्नेसम्मको दुस्प्रयत्नको प्रपञ्च पनि यही जुनीमा देख्न पाइयो । त्यसैले हिजो भूमिगतकालमा मीठो सपना बाँड्दै हिड्ने नेतृत्व वर्ग आज धृतराष्ट्रमा परिणत भएर दिनदिनै आत्मघातको एम्बुसमा पर्दै गइरहेको छ । यसबारे थाहा पाउन दुई सातायताको सञ्चारमाध्यम र सामाजिक सञ्जाल हेरे पुग्छ । तिनै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उठेको जनमतको स्वरले जनता जनार्दनबाट चुनिएर पठाइएका प्रतिनिधि पात्रहरुलाई पशुहाटमा जसरी विक्रीका लागि पठाउने षडयन्त्र कसोकसो तत्काललाई टरेर गएको छ ।

    यहाँनेर पृथ्वीनारायण शाहकालिन एउटा इतिहास पनि जोडेर हेर्न मन लाग्छ । वि.सं. १८१४ मा दहचोकमा रहेर आफ्ना सेनापति, भारदारलाई कीर्तिपुरविरुद्ध युद्धका लागि तयार रहन भन्दै ज्योतिष कुलानन्द ढकाललाई युद्धको साइत हेर्न आदेश दिए, महाराजले । तर उनका दूरदर्शी सेनापति कालु पाँडेले कीर्तिपुरमा आक्रमण गर्ने बेला यो होइन भनी महाराजसमक्ष बिन्ति बिसाए । तर महाराजले कालुलाई हप्काउँदै उल्टै प्रश्न सोधे, ‘काले, तलाईं मर्न डर लाग्यो ?’

    त्यसपछि जबजस्त कुलानन्द ढकाललाई युद्धको साइत निकाल्न आदेश दिए । कुलानन्द हच्किए । दहचोक कुरेर बसेका भारदार हरिवंश उपाध्यायले पनि कीर्तिपुर हान्ने बेला भएको छैन भनी के बिन्ति बिसाएका थिए, कुलानन्द र उनलाई एकै घानमा हालेर महाराज गर्जिए, ‘तिमीहरु दुवै कालेमा मुतमा बगेका रहेछौ, के तिमीहरुजस्तै जैसी र मन्त्री गोरखा दरबारमा दोस्रो अरु छैनन् ?’

    त्यसपछि उनले बालकृष्ण जैसीलाई साइत निकाल्न लगाए । फेरि कुलानन्दले बिन्ति बिसाए, ‘बालकृष्ण त मेरो हिसाबमा केटाकेटी हो । त्यसले साइत हेर्ला र हजुर काम पनि गरिबक्सला ! केटाकेटी आए गुलेली खेलाए भनेजस्तो होला । कीर्तिपुर अहिले फुट्दैन ।’
    पृथ्वीनारायण शाहले जबरजस्ती दहचोकबाट आफ्नो सैनिक कीर्तिपुरविरुद्ध युद्ध मैदानमा ओह्राले । युद्धका सेनापति कालु पाँडेसहित चार सय गोरखालीको मात्रै ज्यान गएन, उनकै ज्यान जोखिममा परेको थियो । पुतुवारहरुको पिठ्यू चढेर उनी दहचोक पुगे । त्यहाँ पनि असुरक्षित महसुस गरेर नुवाकोट पुगी महाराजले दम लिएको थाहा पाउन पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या २२ (२०२९ माघः११–१२) पढे पुग्छ ।

    अहिले हाम्रा शासकको समकालिन हालत र १८१४ सालका पृथ्वीनारायण शाहको हालतसँग एकापसमा ठ्याक्कै मेल खान पुगेको छ ।

    त्यसैले मनमा कहिलेकाहिँ कुरा खेल्छ, यतिखेर मदन भण्डारी भएको भए कस्तो अवस्था हुने थियो होला ?

    यस्तै अवस्थामा जीवन र जगतलाई क्रान्तिसँग जोड्न मदन भण्डारीले आफ्ना कमरेडहरुसँग लिएको परामर्श र उनीहरुको परामर्शको अनुशरण गरेको घटना अहिलेको अवस्थामा कम महत्वको छैन । मदन भण्डारीसँग एउटै कमिटीमा रहेर उनलाई नजिकबाट चिन्ने मात्र होइन, उनको निजी जीवनमा पनि सल्लाह र सरसहयोग गर्ने राजेश बान्तवा र चित्र निरौलाका शब्दहरु सापट मागेर यहाँ इतिहास भइसकेका केही सन्दर्भ उल्लेख गरिएको छ ।
    ………………………………………………………………
    विराटनगरलाई पार्टी कामको आधार क्षेत्र बनाएर मदन भण्डारी भूमिगत रुपमा सक्रिय थिए, कोशी अञ्चल क्षेत्रीय कमिटीको सचिवको हैसियतले । पार्टी कामको सिलसिलामा उनी २०३७ को सुरुआतमा भोजपुर पुगेका थिए । त्यहाँ कमरेडहरुसँगको अनौपचारिक कुराकानीमा जीवन र जगतलाई क्रान्तिसँग जोड्ने कुरा भयो । यसको आशय हो, क्रान्तिसम्म पुग्न साथ दिने महिला कमरेडसँग सहजीवन अर्थात् विवाह ।

    मदनको सहजीवनका लागि उपयुक्त कमरेडको खोजी भयो । यसका लागि एक जना कमरेडले लमीको भूमिका खेले ।

    त्यतिबेला बासु नेपाल (प्रदीप नेपालका जेठा दाजु) भोजपुर क्याम्पसमा लाइब्रेरियन पदमा कार्यरत थिए । उनकी एक छोरी भोजपुर क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । बासुका भाइ मञ्जुलले त्यतिखेरदेखि नै कवि तथा जनकलाकारका रुपमा नाम कमाइसकेका थिए । प्रदीप राम्रै जिम्मेवारीमा भूमिगत भइसकेका थिए । जीवन र जगत क्रान्तिसँग जोड्न यो परिवार उपयुक्त छ भनेरै कमरेडहरुले मदनका लागि त्यतैतिर सम्बन्ध गाँस्न सुझाए ।

    तर एउटा ब्रिफिङमा लमी कमरेडले मदनका लागि हेरिएको पात्रले घरायसी परिस्थितिका कारण तत्काल आफूले विवाह गर्न नसक्ने जवाफ दिएको बताए । बासुसँग पहिले यो विषयमा कुराकानी भएछ । उनले लमीलाई भनेछन्, ‘यस विषयमा निर्णय गर्न छोरी स्वतन्त्र छिन् । उनको जो विचार ।’

    तर छोरीले विरामी भएका कारण आमाको स्याहारसुसारमा समय दिनुपर्ने भएकोले तत्काल आफू विवाहको लागि तयार नभएको बताइन् । त्यो विवाह टरेर गयो ।
    लमीको भूमिकामा चाहिँ पार्टीका तत्कालिन भोजपुर जिल्ला सचिव अशोक राई थिए ।
    ………………………………………………………………

    चित्र निरौला, विधादेवी पाण्डे र सुशीला श्रेष्ठ बायाँबाट क्रमश:।

    यो विवाह तत्काललाई टर्यो । त्यतिखेर एक जना महिला कमरेडलाई अनेरास्ववियू र महिला फाँट दुवैमा सक्रिय गराउन पार्टीले भोजपुरबाट विराटनगर ल्याउने निर्णय पार्टीभित्र भयो । त्यसका लागि मानेभञ्ज्याङकी विद्या पाण्डेलाई तयार पारियो । उनले भर्खरै प्रमाणपत्र तहको अध्ययन सकेकी थिइन् । पार्टी कामका लागि घरमा खासै अनुकुलता थिएन ।

    त्यसैले उनी घरबाट एक प्रकारले भागेरै भए पनि विराटनगर जान उत्सुक भइन् । धरान हुँदै विराटनगर सुरक्षित रुपमा पुर्याउनु पर्ने थियो । पार्टीका कोशी अञ्चल क्षेत्रीय कमिटीका सदस्य चित्र निरौला र सुशीला श्रेष्ठले एस्कर्टिङ गर्दै विद्यालाई भोजपुरबाट विराटनगर पुर्याए । त्यसबेला विद्या अनेरास्ववियूको कार्यकर्ता थिइन् ।

    पार्टीले सुम्पिएको अभिभारा वहन गर्न खटिएको संस्मरण व्यक्त गर्ने क्रममा चित्रले भनेका छन्, ‘वि ह्याड टु एस्कर्ट हर फ्रम भोजपुर टू विराटनगर विकज मदनजी ह्याड फलन इन लभ एट फस्र्ट साइट ह्वेन ही भिजिटेड भोजपुर इन द पार्टी वर्क ।’
    त्यसबेलाका साक्षीले व्यक्त गरेको यस्तो सम्झना अनुसार पार्टी कामको सिलसिलामा मदन भोजपुर पुग्दा विद्यासँगको पहिलो नजरमै पग्लिएका रहेछन् । प्रेममा परेका रहेछन् ।
    ………………………………………………………………
    विद्या पार्टीको काम गर्ने गरी विराटनगर आएपछि मदन आफैले उनीसँग जीवन र जगतलाई क्रान्तिसँग जोड्ने गरी सहजीवनका लागि प्रस्ताव राखे । एक वर्षपछि विद्याले स्वीकृति जनाइन् र उनीहरुबीच विराटनगरको तीनटोलियाको एउटा सेल्टरमा जनवादी विवाह भयो । विवाहमा राजेश बान्तवा, चित्र निरौला, डिल्ली मैनाली, सुनिता उपनामकी एक जना कमरेड लगायत १५ जना जति जम्मा भएका थिए । भोजमा खसीको मासु र भात चलाइएको थियो । २०३९ सालमा यो जनवादी विवाह भएको थियो । केही क्षण नाचगान पनि चल्यो ।

    सौन्दर्यको हिसाबले पनि महेन्द्र मोरङ आदर्श क्याम्पसका युवा विद्यार्थी कार्यकर्ताहरु विद्यासँग आकर्षित थिए । तर जिम्मेवार विद्यार्थी नेताहरु विद्याको विवाहबारे जानकार थिए ।

    त्यसैले मदन र विद्याबीचको सहजीवनपछि विद्यार्थी नेताहरु भित्रभित्रै दिल्लगी (कतिपय इर्ष्या) गर्दै मदनलाई त्यतिखेर चलेको हिन्दी फिल्मको खलपात्र ‘मलखान सिंह’सँग तुलना गरेर हाँस्थे । फिल्मका खलपात्र मलखान सिंह यति शक्तिशाली कि सबै आफ्नो पक्षमा सोहोरपटार गर्न सक्ने । त्यसबेला पनि त्यस्तै भयो । मदन एक जिम्मेवार र शक्तिशाली नेता, आकर्षक व्यक्तित्व र त्यस्तै किसिमको तर्कशील वाकपटुता । त्यही माथि आकर्षक सौन्दर्यसमेतकी विद्यार्थी कार्यकर्तासँग उनको विवाह । यही थियो जिम्मेवार विद्यार्थी नेताले दिल्लगी गर्दै मदनलाई ‘मलखान सिंह’ भन्दै हास्नुपरेको घटना ।

    अहिले उनै विद्या देशमा दोहोर्याएर राष्ट्रपति जस्तो सर्वोच्च पदमा आसिन छिन् । कहिलेकाहिँ मनमा कुरा खेल्छ, मदन भण्डारी भएको भए यो देशको राजनीतिक कता जान्थ्यो होला, देशको अवस्था कस्तो हुन्थ्यो होला ?

    तस्बिर सौजन्य: राजेश बान्तवा र चित्र निरौला ।

  • कमेन्ट गर्नुहोस्