• कोरोना कहर : हङकङका नेपालीमा असर

  •  

    कोरोनाभाइरस (कोभिड–१९) विश्वभर फैलिएको छ र यसले महामारीको रुप लिएको छ । अहिले आधा विश्व लकडाउनमा रहेको छ । कोभिड–१९ को प्रभावबाट अधिकांश मुलुक प्रभावित रहेको छ र हरेक क्षेत्रमा असर परेको छ । हङकङमा जातीय अल्पसंख्यकको रुपमा रहेका नेपाली पनि यसबाट अछुतो रहेको छैन ।

    सन् २०११ मा ७१ लाख र सन् २०१६ मा ७३ लाखको वरिपरि रहेको आधारमा हाल करिव ७५ लाख जनसंख्या रहेको हङकङको लगभग ८ प्रतिशत जातीय अल्पसंख्यक रहेका छन् । त्यसमध्ये सन् २०१६ को जनगणना अनुसार नेपालीको जनसंख्या २५ हजारको हाराहारीमा रहेको छ । सन् २०११ को जनगणनामा नेपालीको संख्या १७ हजारको हाराहारीमा रहेको आधारमा अहिले यो संख्या ३० हजारको वरिपरि रहेको अनुमान गर्न सकिन्छ । यो भनेको ०.३ प्रतिशत र जातीय अल्पसंख्यकमध्ये पाँचौं ठूलो जनसंख्या हो ।

    शुरुवातमा युनलङ, काम्तिन, जोर्डन, याउमाते, वानचाई र चुनवान केन्द्रित नेपाली बसोबास समय क्रमसंगै सामसुइपो, छेङसावान, हुङहाम, सेङवानसम्म फैलिएको पाइन्छ । सरकारी आवास सुविधा लिने क्रम बढेसंगै नेपालीको बसाइ तिनसुइवाइ, चुनमुन, तुङचुङ, क्वाइचुङ, मावनसान लगायतका क्षेत्रसम्म तन्किएको हो । सरकारको होम अनरसिप स्किम अन्तर्गत र खुल्ला बजारमार्फत प्राइभेट घर किन्ने क्रम बढेसंगै नेपालीको बसाइ नामच्योङ, मुइवो, हुङहाम, चुनक्वानवो, लोहास पार्कसम्म पुगेको छ ।

    हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटेका नेपाली सुरक्षाकर्मीहरू ।

    यहाँका नेपाली पेशागत रुपले हेर्ने हो भने सबै भन्दा बढी निर्माण क्षेत्रमा कार्यरत रहेका छन् । त्यसपछि सेक्युरिटि गार्ड र वडिगार्डको रुपमा रहेका छन् । रेष्टुरेण्ट, बार, पब, होटलमा कार्यरतको पनि ठूलो संख्या रहेको छ । सेलुन, व्युटि पार्लर, स्पा, मसाज सेन्टरमा काम गर्नेहरु पनि रहेका छन् । हाउस किपिङ पनि नेपाली कामदारका लागि प्रमुख क्षेत्र रहेको छ ।

    निजी कम्पनी तथा गैर–सरकारी संस्थाहरुमा कार्यालय सम्बन्धी काम गर्नेहरु केही रहेका छन् । शिक्षक, प्रशिक्षक लगायतका पेशामा आवद्धहरुको संख्या न्युन रहेको छ । नयाँ पुस्ता, जो यहीँ जन्मेर हुर्किरहेका छन्, सरकारी जागिरमा पनि संलग्न हुन थालेका छन् । प्रहरीमा फाट्टफुट्ट भर्ना हुन थालेको पाइन्छ ।

    स्वरोजगार र व्यापार–व्यवसाय

    स्वरोजगारलगायत व्यापार, व्यवसायमा लाग्ने नेपालीको संख्या दिन प्रतिदिन वृद्धि भइरहेको छ । समुदाय लक्षित खुद्रा पसल दर्जनौ खुलेका छन् । नेपाली बसोबास रहेका अधिकांश क्षेत्रमा खुलेका ती पसलका मालिकहरु स्वरोजगार छन् । नेपालीको घना बसोबास रहेका जोर्डन, युनलङ, वानचाइ, चुनवानमा सेलुन, व्यटि पार्लर, बुटिक, गेस्ट हाउस, फास्टफुड र रेष्टुरेण्टहरु रहेका छन् ।

    इमिग्रेसन तथा लिगल कन्सल्टेन्सी एक दर्जन रहेका छन् । ज्वेलरी, ट्राभल एजेन्सी, फाइनान्स, मनि एक्सचेन्ज र रेमिटेन्स पनि पनि खुलेका छन् । ती व्यापार–व्यवसायले समुदायका लागि रोजगार सिर्जना गरेको छ । निर्माण तथा सेक्युरिटि क्षेत्रमा कामदार उपलब्ध गराउने कम्पनीहरु दुई दर्जन रहेका छन् । ती कम्पनीहरुले नेपाली कामदारहरुलाई प्राथमिकता दिने गरेका छन् ।

    नेपाली तथा भारतीय परिकारका साना एकल र दुई–तीन जनासम्मको साझेदारीमा शुरु भएको रेष्टुरेन्ट व्यवसाय अहिले ठूलो लगानीमा सामुहिक कम्पनीमार्फत सञ्चालन भइरहेको पाइन्छ । पछिल्लो समय इटाली, मेक्सिकन, थाई, कोरियनलगायत कन्टिनेन्टल परिकारका ठूला रेष्टुरेन्टहरु नेपालीले सञ्चालन गरिरहेका छन् ।

    सबै भन्दा लोभलाग्दो गरी नेपालीको व्यापार–व्यावसाय नाइट लाइफको लागि कहलिएका लन्क्वाइफोङ, सोहो, वानचाइ र चिमसाचुइमा फस्टाएको पाइन्छ । ती क्षेत्रमा नेपालीका बार, पव र रेष्टुरेण्ट उल्लेखनीय संख्यामा रहेका छन् । उक्त क्षेत्रका व्यापारी–व्यवसायीमा जातीय अल्पसंख्यकबाट नेपाली पहिलो नम्बरमा रहेको छ ।

    अंकलरस कफीका वाईबी राई कामदारका साथ । तस्बिर: अराउण्डडीबी ।

    त्यसो त हङकङको पहिलो कफी सप भनेर चिनिने ‘अंकल रस’ ब्राण्ड पनि नेपालीको स्वामित्वमा रहेको छ । सन् १९९२ मा शुरु भएको ‘अंकल रस’को डिस्कवरी बे र हङकङ आइल्याण्डका विभिन्न ठाउँमा गरी सातवटा शाखाहरु रहेका छन् ।

    रोजगारमा असर

    सन् २०१९ को अप्रिल पहिलो साता विधायिका परिषद्मा सुपुर्दगी ऐन सम्बन्धी अध्यादेश पेश गरिएपछि शुरु भएको विरोध प्रदर्शन र त्यसबाट उत्पन्न राजनैतिक अवस्थाका कारण हङकङ अशान्त बनेको छ । प्रदर्शनका कारण लाखौं जनता सडकमा ओर्लिएका छन् ।
    शुरुवातमा शान्तिपूर्ण रहेको आन्दोलन समयक्रममा हिंसात्मक बनेको छ । आन्दोलनकारीहरुले विधायिका परिषद् भवनलगायत प्रहरी प्रधान कार्यालयलगायत चौकीहरु तोडफोड गरेका छन् । आन्दोलनका कारण पर्यटकीय क्षेत्रलगायत मुख्य–मुख्य ठाउँ प्रभावित हुने गरेको छ ।

    आन्दोलनकै कारण यहाँको व्यापार–व्यवसायमा असर परेको त थियो नै सन् २०२० को शुरुवातदेखि नै कोरोनाभाइरस (कोभिड–१९)का कारण धरायशी बनेको छ । ग्राहकको अभावमा कारोवार कम भइरहेको व्यापार–व्यवसायमा सामाजिक दूरी कायम गर्नु पर्ने र सार्वजनिक कार्यक्रमको आयोजना र सार्वजनिक स्थलको भेलामा प्रतिबन्धले चौपट बनेको छ ।

    लकडाउनको स्थिति नभए पनि मूलभूमि चीनसंगको नाका बन्द रहेको छ । खुला रहेका सेन्झेन बे र मकाउ–जुहाई नाकाबाट दैनिक उपभोग्य सामानलगायत प्रवेश खुला गरिए पनि आवात–जावत ठप्प रहेको छ ।

    चीनसंगको नाका बन्दको कारण नेपालीको प्रमुख रोजगार क्षेत्र निर्माणको काममा असर परेको छ । निर्माण क्षेत्रको कच्चापदार्थ तथा सामग्रीको अभावमा कतिपय योजनाका काम बन्द रहेका छन् ।

    हवाई उडानमा व्यापक कटौती भएको कारण विमानस्थल प्राय सुनसान रहेको छ । सुपुर्दगी सम्बन्धी आन्दोलन सुरु भएपछि सयौं नेपालीले आकर्षक तलबसहित विमानस्थलमा सेक्युरिटि गार्डको जागिर पाएका थिए । त्यहाँ कार्यरत नरेन्द्र शेर्पाका अनुसार फेब्रुअरीको मध्यदेखि कटौती सुरु भएको क्रम मार्चको अन्तमा सकिएको छ । अहिले त्यहाँ कोही पनि नेपाली सेक्युरिटी गार्डको रुपमा कार्यरत रहेको छैन ।

    कोरोना महामारीअघि यस ठाउँमा नेपाली सुरक्षाकर्मीहरु कार्यरत रहेका थिए, अहिले सबैलाई कामबाट निकालिएको छ ।

    विमानस्थल बन्दको कारण क्याटरिङमा कार्यरत सैयौं नेपालीले रोजगार गुमाएका छन् । विशेष गरेर महिलाहरु कार्यरत उक्त क्षेत्र ठप्प रहेको छ । क्याथे प्यासफिक कम्पनी अन्तर्गत कार्यरत पार्वती मगरका अनुसार पछि काम सुरु भएपछि पुनः काम दिने भन्दै सबैलाई विदा गरिएको छ ।

    पर्यटकको अभावमा अधिकांश होटल बन्द रहेका छन् । यही मौकामा कतिपय होटल मर्मत–सम्भार र पुनर्निर्माणका लागि बन्द गरिएका छन् । यसबाट पनि ठूलो संख्यामा नेपालीहरुले रोजगार गुमाएका छन् । चिमसाचुई स्थित इन्टरकन्टिनेन्टल होटलमा कार्यरत रिना गुरुङ (नाम परिवर्तन)ले मर्मत–सम्भारका लागि बन्द गरिएको बताइन् ।

    चिम्साचुईस्थित इन्टरकन्टिनेन्टल होटल कोराेनापछि मर्मत-सम्भारका लागि बन्द गरिएको छ ।

    रेष्टुरेन्ट र फास्टफुडमा कार्यरत अधिकांश कामदारहरुको समय कम गरिएको छ । अरु बेला साताका एक–दुई दिन विदा पाइने रेष्टुरेन्टहरुमा अहिले मुस्किलले साताको तीन­–चार दिन काम गर्नु पर्ने हुन्छ । लि गार्कोन साइगोन रेष्टुरेण्टमा कार्यरत निकिसा राईका अनुसार कामदारहरुलाई पालैपालो विना तलवका विदा (नो पे डे अफ) दिइने गरिएको छ ।

    नट्सफोर्ड टेरेसस्थित कालियन्ते रेष्टुरेन्टका जेनेरल म्यानेजर अम्बर पुनले कोरोनाका कारण ९० प्रतिशतसम्म व्यापार कम भएको जानकारी गराए । उनका अनुसार अहिले सुधार हुने क्रम रहेको छ । १० प्रतिशतमात्र व्यापार हुने स्थितिबाट सुधार भएर ३० प्रतिशतसम्म पुगेको छ । व्यापार कम भएकै कारणले स्टाफहरुलाई नो पे लिभ दिइएको उनले बताए ।

    कालियन्ते रेष्टुरेन्टका जेनेरल म्यानेजर अम्बर पुन ।

    सामाजिक दूरी (सोसियल डिस्टेन्स) कायमको प्रावधानसंगै बार र पबलगायतलाई सरकारले बन्द गर्न लगाएको छ । शुरुवातमा सोसियल डिस्टेन्स बार, पबलगायतका लागि भए पनि अहिले स्पा, व्यटि पार्लर, मसाज सेन्टरलगायतलाई पनि लागू गरिएको छ । यसले ती क्षेत्रमा काम गर्नेहरुले रोजगारी गुमाएका छन् ।

    व्यापार–व्यवसायमा असर
    कामदारका रुपमा नेपाली कार्यरत क्षेत्रको स्थितिले नै हरेक व्यापार–व्यवासाय प्रभावित भएको उजागर हुन्छ । जसरी कामदारहरु प्रभावित भएका छन् त्यसरी नै नेपाली व्यापारी–व्यवसायीहरुलाई असर परेको छ ।

    सबैभन्दा बढी बार र पब सञ्चालक नेपालीहरु पीडित बनेका छन् । यस क्षेत्रमा नेपालीले ठूलो लगानी गरेका छन् । पर्यटकीय क्षेत्रका बङ्लो, चाइना, गुर्खा, ग्राफिट्टी, टबू, ब्रिसोला, बिग ट्रीजस्ता ठूला र नाम चलेका बार तथा पबका संचालकहरु नेपाली रहेका छन् । नेष्ट, फङ्की–मङ्की, डे–नाइटलगायतजस्ता साना पनि नेपालीले नै संचालन गरिरहेका छन् ।

    साँझ पर्दा–नपर्दै गुलजार हुने लन्क्वाइफोङ सुनसान रहने गरेको छ । मान्छेको भिडले खुट्टा टेक्ने ठाउँ नपाइने सडक खालि देखिने गरेका छन् । डीजे र लाइभ म्युजिकका गुञ्जन पोखाउने भवनका सटरहरु बन्द रहेका छन् ।

    कोरोनाको कारण बन्द रहेका गुर्खा र द चाइना बार ।

    लन्क्वाइफोङ र चिमसाचुइमा रहेका चाइना बारका रवि श्रेष्ठले कोरोनाका कारण आफूहरुलाई ठूलो घाटा लागेको बताएका छन् । उनले भने, “प्रोटेस्टकै बेलादेखि हामीलाई असर परेको थियो, त्यही माथि कोरोनाले थला नै पारेको छ । सोसियल डिस्नेन्ट मेन्टेन गर्ने नोटिसपछि बन्द भएको बार दुई हप्ता बन्दपछि फेरि समय थपिएको छ, कहिले खुल्ने हो थाहा छैन ।”

    बङ्लोका चक्र रानाले पनि बार बन्द गर्नु परेकोले निकै असर परेको बताए । नेष्ट बार एण्ड रेष्टुरेन्टका प्रदीप कन्दङ्वाका अनुसार फुड याक्ट्रि वा लाइट रिफ्रेसमेन्टको मात्र लाइसेन्ससहितको बार बन्द गर्नु पर्ने सूचना रहेको छ ।

    रेष्टुरेन्टको व्यापार दयनीय रहेको छ । साँझ परेपछि ग्राहक भिडभाड हुने सोहोस्थित नेपाल रेष्टुरेण्टका टेबलहरु प्राय खालि रहने गरेका छन् । सन् १९९६ मा खुलेको नेपाल रेष्टुरेण्टले सोहोको पहिलो रेष्टुरेण्ट भनेर दावी गर्ने गरेको छ । सञ्चालक भीम कालेका अनुसार पर्यटकीय क्षेत्र भए पनि त्यहाँ, क्युरियो, डेकोरेसनलगायतका पसलमात्र थिए । नेपाल रेष्टुरेण्ट खुलेपछि अन्य रेष्टुरेन्ट र बार खुलेका हुन् । अहिले त्यो क्षेत्र ‘डाइन र वाइन’का लागि प्रसिद्ध रहेको छ ।

    युनलङका श्रीङ्खला रेष्टुरेन्टका कृष्ण खड्का अनुसार फेब्रुअरीदेखि घरभाडा उठाउन पनि हम्मे परेको छ । परिवार नै कर्मचारीको रुपमा कार्यरत रहेकोले केही राहत पुगेको छ ।

    कोरोनाको कारण बन्द रहेको नेष्ट बार ।

    गेष्ट हाउस सञ्चालकहरुको स्थिति दयनीय रहेको हिमालय गेष्टहाउसका सञ्चालक खेम गुरुङ बताउँछन् । उनका अनुसार चुङकिङ मेन्सनमा करिब आधा दर्जन गेष्ट हाउस सञ्चालक नेपालीको व्यापार चौपट भएको छ ।

    इमिग्रेसन र लिगल कन्सलटेन्सी सञ्चालकहरु पनि मार परेको बताउँछन् । एक्युट कन्सल्टेन्सीका डासु राम पराजुलीका अनुसार दैनिक इमिग्रेसनबाट आउने पत्र यदाकदा आउने गरेको छ । फ्रुटफुल कन्सल्टेन्सीका हेजेन राई इमिग्रेसन र अन्य डिपार्टमेन्ट जाने काम कम भएको र व्यवसायमा असर परेको बताउँछन् ।

    यस विषम परिस्थितिबाट फाइनान्स कम्पनी पनि अछुतो नरहेको नेपाल फाइनान्सका कार्यकारी प्रमुख धिरज साम्पाङले बताए । उनका अनुसार रकम जम्मा गर्ने घटेका छन् भने रिन लिने बढेका छन् । किस्ता जम्मा हुनेमा पनि सामान्य समस्या देखिएको छ ।

    ग्राहक कमीका कारण
    व्यापार–व्यवसायमा ग्राहक कमी हुनुमा रोग सर्ने भय मात्र नभएर अन्य कारण पनि रहेका छन् । इमेज सेलुनकी पारु गुरुङले ‘जब’ नभएपछि मान्छेको इन्कम घटेको कारणले ग्राहक घटेको अनुभव सुनाइन् । काम बन्द भएपछि छुट्टि मनाउन नेपाल जानेहरुका कारण पनि ग्राहक घटेको उनले अनुमान गरिन् ।

    ग्राहक नभएपछि सुनसान इमेज सेलुन ।

    सार्वजनिक स्थल बन्द र सामाजिक दूरी कायम गर्नु पर्ने कारणले पार्टी, भेटघाट, सामाजिक कार्यक्रम नहुने भएकोले पनि आनो व्यापारमा असर परेको सामसाम बुटिककी सम्झना लिम्बू बताउछिन् । प्रोटेस्टको कारण ओरालो लागेको पार्टीवेयरको व्यापार कोरोनाले थला परेको दुःखेसो उनले पोखिन् ।

    रेष्टुरेन्ट व्यावसाय पनि प्रोटेस्टकै समयदेखि प्रभावित बनेको ब्लु ओसियन रेष्टुरेन्टका म्यानेजर राजन फोम्बोको अनुभव रहेको छ । शनिबार, आइतबार र पब्लिक होलिडेमा हुने पार्टी ठप्प भएका छन् । एउटै पार्टीबाट एक–डेढदेखि दुई–चार लाखसम्मको व्यापार गरेको उनको दावी रहेको छ ।

    इकिमा व्युटीकी शोभा मगर पनि बेरोजगारीका कारण आफ्नो व्यापारमा असर परेको अनुभव सुनाउँछिन् । प्रोटेस्ट र कोरोनाका कारण उनका कतिपय नियमित ग्राहक जबलेस भएका छन् । आयश्रोत नभएपछि विलासिताका खर्च घटाउन बाध्य हुने, जसले व्युटि पार्लर, सेलुन, बुटिकजस्ता व्यवसायमा असर पर्ने उनी बताउँछिन् ।

    लकडाउनको प्रभाव

    नेपाल र भारतमा भएको लकडाउनले पनि व्यापार–व्यावसायमा असर परेको गोर्खा स्टोरका रामली राईको कथन रहेको छ । लकडाउनको कारण ग्रोसरी सपमा सामानको अभाव हुन थालेको छ । उनको कार्गो­–पार्सलको व्यापार लकडाउनले ठप्प भएको छ ।

    लकडाउनको कारण ग्रोसरी र कार्गो–पार्सलमात्र नभएर ज्वेलरी, बुटिक, ट्राभल, रेमिटेन्सलगायतलाई पनि असर परेको छ । नमस्ते ज्वेलरीकी मेनुका राई र बराह ज्वेलरीकी सोनु सुब्बाका अनुसार अर्डरका सामान ल्याउन लकडाउनले रोकेको छ ।

    सुनसान गोर्खा स्टोरमा सन्चालक रामली राई ।

    हिमालय ट्राभल्सका रत्न काफ्लेले नेपाल, भारत, बेलायत, अमेरिकालगायतको लकडाउनले ट्राभल एण्ड टुर्सको व्यापार जिरो भएको छ ।

    लकडाउनबाट प्रभावित क्षेत्र रेमिटेन्स र मनि एक्सचेन्ज पनि रहेको छ । अल्फा रेमिटका ललित आङबुहाङ यहाँबाट नेपाल पैसा पठाउँन चाहे पनि नेपालमा भुक्तानी दिन समस्या रहेको बताउँछन् ।

    लिङदेन कन्सलटेन्सीका सन्जिप लिङदेन घरेलु कामदार सम्बन्धी कागजपत्र ल्याउन र पठाउँन भारतको लकडाउनले असर परेको अनुभव सुनाउँछन् ।

    लकडाउनको कारण विदामा र काम विशेषले नेपाल गएकाहरुले रोजगारी गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ । लकडाउनमा परेकी गैर–आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ बिदा सकिएकाहरु चाडो फर्कने व्यवस्था मिलाउनका लागि फोन गर्नेको संख्या सय भन्दा बढी रहेको बताउँछिन् ।

    राहत, अनुदान र रिन

    राजनीतिक आन्दोलनका कारण प्रभावित व्यापार–व्यवसायलाई धनाढ्य ली का–सिङले आनै नामको फाउण्डेसनमार्पmत राहतको प्याकेज घोषणा गरेका थिए । ट्राभल, रेष्टुरेण्ट, खुद्रा व्यापारीलगायतलाई भाग्यशाली चिठ्ठामार्फत उनले ३० र ६० हजार डलर वितरण गरेका थिए ।

    कोरोना प्रभावित स्थायी परिचयपत्रवाहकलाई राहत स्वरुप प्रति व्यक्ति १० हजार डलर दिने सरकारले घोषणा गरेको छ । त्यसैगरी ट्राभललाई २ लाख र रेष्टुरेन्ट, क्लव, बार, पबलाई ८० हजारदेखि २ लाख डलरसम्म अनुदान प्रदान गरिसकेको छ । लाइट फुड, फुड फ्याक्ट्रि र क्लवका लाइसेन्स हुनेलाई ८० हजार र जेनेरल फुड लाइसेन्स भएकालाई २ लाख डलर प्रदान गरिएको छ ।

    खुद्रा व्यापारीलाई ८० हजारका दरले अनुदानका लागि आवेदन लिइसकेको छ भने व्यटि पार्लर, स्पा र मसाज सेन्टरलाई ५० हजारका दरले अनुदान दिने घोषणा गरिएको छ । एसएमई (साना तथा मझौला व्यवसायी)लाई २० लाखसम्म सहुलियत रिन दिने पनि सरकारी घोषणामा रहेको छ ।

    सोहोमा खुलेको पहिलो रेष्टुरेण्ट नेपाल रेष्टुरेण्ट ।

    सरकारले कुनै पनि कामदारलाई ननिकाल्न अनुरोध गर्दै रोजगार दातालाई बढीमा ६ महिनासम्म प्रत्येक कामदारका लागि तलबको ५० प्रतिशत बढीमा मासिक ९ हजारसम्म रकम प्रदान गर्ने घोषणा गरेको छ ।

    अंकल रसका वाईबी राईले सरकारी अनुदानले व्यापार–व्यवसायीलाई मनोवैज्ञानिक उत्साह मिलेको बताए । उनका अनुसार केही भयो भने पनि सरकारले सहयोग गर्छ है भन्ने भावना सृजना भएको छ, जसले हतोत्साहित हुनबाट रोकेको छ ।

    सरकारी अनुदान व्यवहारिक नभएको ब्लु ओसनका राजन फोम्बो आरोप लगाउछन् । लगानीको हिसाबले सानो ठूलो सबैलाई एउटै रकम दिइएकोमा उनको असन्तुष्टि रहेको छ । उनले लगानी अनुसार राहत रकम हुनु पथ्र्यो भन्ने विचार व्यक्त गरे ।

    बिग ट्री पवका सरुन शेरचन सरकारी अनुदान नयाँ व्यवसायीलाई प्रदान नगरिएकोमा खिन्नता प्रकट गर्छन् । सरकारी अनुदानका लागि सन् २०१९ भित्र दर्ता भइसकेको हुन पर्ने प्रावधान रहेको छ । उनले व्यवसायको तयारी शुरु गरेदेखि नै कोरोनाको प्रभाव देखिएको थियो । घर एग्रिमेन्टलगायतमा लगानी भइसकेको अवस्थामा उनले व्यवसाय रोक्न सकेनन् र मार्चदेखि शुरु गरेका छन् ।

    याक एण्ड यती रेष्टुरेण्टकी इन्दू लिम्बू राहत प्राप्त गरे पनि कुनै न कुनै रुपमा सरकारले फिर्ता लिने कुराले चिन्तित हुन्छन् । त्यसैगरी चाइना बारका रवि श्रेष्ठ सरकार ग्यारेन्टर बसे पनि बैंकले सहज तरिकाले रिन दिनेमा आशंका व्यक्त गर्छन् ।

    नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डासु राम पराजुली ।

    नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डासु राम पराजुली भने सरकारले ग्यारेन्टी दिने भएपछि बैंकबाट रिन लिनमा समस्या नहुने दावी गर्छन् । उनका अनुसार रिन बैंकबाट प्रवाह हुने भए पनि उक्त रकम सरकारको हो । सरकारले व्यापारीसंग प्रत्यक्ष अनुदान रकम फिर्ता नलिने विश्वास व्यक्त गर्छन् ।

    नेपाली साहस र योजना

    कोरोनाको कारण विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरुले बताएका छन् । २० प्रतिशतसम्म आर्थिक वृद्धि दर घट्ने प्रक्षेपण गरिएको छ । यस विषम परिस्थितिमा कतिपय व्यापार–व्यवसाय बन्द भएका छन् । नेपाली समुदायसंग नजिक इन्डियनहरुले ठूला रेष्टुरेन्टहरु बन्द गरेका छन् ।

    शाखासहितका खानाखजना, स्पाइस, पाल्की, लेजेन्ड अफ इन्डियाजस्ता रेष्टुरेण्ट बन्द भएका छन् । तर अधिकांश नेपालीहरु साहसका साथ व्यापार–व्यवसायलाई निरन्तरता दिन नयाँ योजना बनाउँनमा तल्लिन छन् ।

    जाेर्डनस्थित ब्लु ओसन रेष्टुरेण्ट ।

    ब्लु ओसन रेष्टुरेण्टका संचालकमध्येका सुरेश इस्बो सरकारी लोन नभए नेपालको घर–खेत बेचेर भए पनि कम्तिमा ६ महिना धानेर भए पनि निरन्तरता दिने योजना बनाइरहेका छन् ।

    चाइना बारका रवि श्रेष्ठका अनुसार पनि घाटा सहेर पनि व्यवसायलाई निरन्तरता दिनुको विकल्प रहेको छैन । सार्सको बेला यस्तो समस्या ब्यहोरी सकेका उनी यो पटक पनि व्यापार–व्यवसायले पुनर्जीवन पाउनेमा आशावादी छन् ।

    कङ्गन रेष्टुरेण्टका कमल पौड्याल इन्डियनहरु एक भन्दा बढी व्यापारमा संलग्न भएका कारण उनीहरुले रेष्टुरेन्ट बन्द गरेको बताउँछन् । नेपालीहरु प्राय एउटै व्यापारमा रहेका कारण त्यसैलाई जसरी हुन्छ अगाडि बढाउँन पर्ने बाध्यता रहेको छ ।

    स्केप बारका इश्वर राई यस विषम परिस्थितिमा कर्मचारी निकाल्ने योजना नभएको बताउछन् । उनका अनुसार केही घाटा सहेर भए पनि कर्मचारीलाई राहत दिने योजनामा छन् । सरकारले अनुदान दिइरहेको र अरु पनि दिने घोषणा गरेकोले त्यसबाट सहयोग हुने आशा व्यक्त गर्छन् ।

    सरकार पनि महामारीलगायतले थिलथिलो भएको व्यापारी, व्यवसायीलगायतलाई विभिन्न राहत र अनुदान प्रदान गरेर आर्थिक पुनरोत्थानका लागि प्रयासरत रहेको छ । आशा गरौं सरकार र जनताको संयुक्त प्रयासले महाविपत्तिबाट हङकङले पार पाउने छ ।

  • कमेन्ट गर्नुहोस्