• जताततै असर छ कोरोनाको

  •  

    डासुराम पराजुली कन्सल्टेन्सी र ट्राभलका व्यापारव्यवसायी हुन् । उनी नेपाल चेम्बर अफ कमर्श, हङकङका अध्यक्ष रहेका छन् । उनै पराजुली र सम्पादक किसन राईबीच कोरोनाभाइरस (कोभिड१९)का कारण हङकङका नेपाली व्यापारीव्यवसायीमा परेको असरलगायतका विषयमा भएको कुराकानी प्रश्नोत्तरको रूपमा प्रस्तुत गरिएको छ ।

    कोरोनाको कारण हङकङका नेपाली व्यापारव्यावसायीलाई कस्तो असर परेको छ ?

    व्यापार व्यवसाय चौपट छ । गतवर्षको सडक आन्दोलनले पनि केही रेष्टुरेण्ट, बारहरु बन्द हुने अवस्थामा पुगे । फेरि यो वर्षको शुरुवातदेखि कोरोनाको प्रभाव परेसँग व्यापार खस्कँदै गएर अहिले त ठप्पजस्तै नै छ । भाडा तिर्न, कर्मचारीलाई तलब दिन पनि एकदमै धौं–धौंको अवस्थामा छन् रेष्टुरेण्टहरु । फुड एण्ड वेभरेज (एफएनबी) आफैंमा टुरिजम, खुला बजार, मान्छेहरुको चहल–पहल आदिको आधारमा चल्ने व्यवसाय हो । त्यसैले, यो अहिलेको अवस्थामा एकदमै धराशायी अवस्थामा छ ।

    सरकारले पनि ट्राभल एण्ड टुरिजमलाई ‘हार्ड हिट’ क्षेत्रको रुपमा राखेको छ । अन्तर्राष्ट्रिय उडान यतिखेर ठप्पै भएको कारणले पनि टुरिजम क्षेत्र मर्कामा छ । ट्राभल एजेन्सीहरु त ‘जिरो इनकम’मा छन् यतिखेर । कतिपयले आफ्नै खल्तीको पैसा तिरेर अफिससम्म धानेका छन् ।

    यो त भयो एफएनबी, ट्राभल एण्ड टुर्सको कुरा । नेपाली रिटेलर (खुद्रा पसल)हरु धेरै छन् । यिनको अवस्था कस्तो छ ?

    तुलनात्मक रुपमा रिटेलरमा त्यति असर देखिदैंन । तैपनि असर नै नदेखिने भन्ने त हुँदैन । मानिसहरुको आय कम हुँदै गएको, रोजगारी नै गुमेको अहिलेको अवस्थामा पक्कै पनि ग्राहक त घटेकै छन् । ग्राहकहरु जाने, सामानहरु किन्ने त गरेका छन् तैपनि पहिलेको जस्तो अवस्था चाहिं छैन ।

    रिटेल पसलको कुरा गर्नुपर्दा, मुख्य आयत नेपाल र भारतबाट नै हुने गर्छ । यी दुवै देश लामो समयदेखि लकडाउनमा छन् । उताबाट निर्यात नहुँदा यहाँका ‘रिटेल सप’लाई असर परेकोजस्तो लाग्दैन तपाईंलाई ?

    त्यो अवश्य पनि छ । जति पहिले पसलहरु भरी देखिन्थे, त्यो अवस्था अहिले छैन । पहिले नै आएको र गोदाममा स्टक रहेका सामानहरु बेचिरहेका छन् । यदि लकडाउन लामै समयसम्म रहिरह्यो भने चाहिं समस्या उत्पन्न हुन्छ । यतिखेर कम मात्रामा पाइएको छ भने त्यतिबेला पाइनै छोड्छ । र, रिटेलहरुको आम्दानी पनि अवश्य नै घटेर जान्छ ।

    कन्सलटेन्सी क्षेत्रमा के छ ?

    यहाँ त सोझै असर पर्ने भयो किनभने इमिग्रेसन करिब करिब हाल्फडाउनमा छ । यो भन्दा अघिल्लो महिनामा फुलडाउन नै थियो । अहिले पनि कतिपय कामहरु सरकारी कार्यालयहरुले घरबाट गर्ने भन्ने छ । केही डोमेस्टिक र एक्सटेन्सन सेक्टरहरु मात्र खुलेका छन्, किनभने मान्छेहरु ओभरस्टे भइदिने समस्या आउँछ । त्यसैले केही मात्रामा मात्र काम खुलेको छ, एकदमै न्यून स्तरमा । यो भइसकेपछि कन्सलटेन्सीमा पनि चिठीपत्र न्यून आउने भए । पहिले दिनमा २०-३० वटा चिठी आउने गर्थे भने अहिले मुश्किलले २-४ वटा मात्र आउँछन् । यसको मतलब सरकारी क्षेत्रमा वा भनौं इमिग्रेसनमा पनि एकदमै फोर्सले काम गरेको देखिदैंन ।

    यो विषम परिस्थितिमा हङकङको विभिन्न क्षेत्र र सरकारबाट सब्सिडी’ (अनुदान)को कुरा आइरहेको छ । यसमा अलिकति स्पष्ट पारिदिनुस् न ?

    हङकङ सरकारको ‘सब्सिडी’ प्रति मानिसहरुमा राम्रै रेस्पोन्स पाइन्छ । गतवर्षको आन्दोलनमा सबैभन्दा धेरै व्यवसायीलाई असर पर्यो भनेर यहाँको धनाढ्य ली का–सिङले १ विलियन हङकङ डलर टुरिजम र एफएनबी सेक्टरलाई दिएका थिए । टुरिजमले ५० हजार वान अफ र एफएनबीले ६० हजार वान अफको रुपमा त्यो पैसा पाए ।

    त्यस्तै, चाइना–यूएसको ट्रेड वारले व्यवसायीहरुलाई धेरै असर परेको हुनाले हङकङ सरकारले २ विलियन दिने घोषणा गर्यो ।

    ट्राभल एजेन्सीले ८० हजारका दरले पाए । रेष्टुरेण्ट, बारहरुले ८० हजारदेखि २ लाखसम्म पाए । त्यसपछि आएको हो रिटेल सप सब्सिडी । त्यसमा सबैले निवेदन दिएर ८० हजार पाउने भनेर घोषणा भयो । त्यसपछि फेरि ८० विलियनको प्याकेज अन्तर्गत सबै रोजगारदाताले आफ्ना कामदार-कर्मचारीलाई ६ महिनासम्मको तलब सरकारबाट सब्सिडी पाउने भन्ने प्याकेज आयो । कानूनी प्रावधान चाहिं जति तलब छ त्यसको आधा पाउने भन्ने छ । जस्तो; अधिकतम १८ हजार तलब स्केल भएको कर्मचारीले ९ हजार पाउने भयो । तलबको निर्धारण चाहिं कम्पनीले कामदारको एमपीएफ काटेको आधारमा गरिने भनिएको छ ।

    त्यसपछि फेरि एफएनबीमा अर्को अवसर आएको छ । २ लाख ५० हजारदेखि २.२ मिलियनसम्म अपरेसन साइजअनुसारको सब्सिडी प्याकेज ल्याएको छ । ‘एन्टी एपिडेमिक’ सब्सिडी भनेको छ । महामारीविरुद्धको राहत । टुरिजम सेक्टरले २० हजारदेखि २ लाखसम्म पाउने अर्को सब्सिडी छ । रजिष्टर कन्स्ट्रसन वर्करहरुको खातामा सिधै ७,५०० आउने प्रावधान यसमा छ । त्यस्तै; टुरिष्ट गाइड, जसले पास होल्ड गरेका छन् उनीहरुले पनि ६ महिनासम्म मासिक ५ हजारका दरले पाउने अर्को सब्सिडी छ । कोच, जो नेपाली त कमै छन्, १-२ जना हुनुहुन्छ उहाँहरुलाई वान अफ सब्सिडी १० हजार दिने भनिएको छ ।

    स्वरोजगारलाई पनि वान अफ सब्सिडी दिने भनिएको छ । यो चाहिं ६ महिनाको लागि होइन कि एकैपटक दिने भनिएको छ । त्यति धेरै रकम स्वरोजगारले पाउने जस्तो त म देख्दिनँ तर पाउन चाहिं पाउँछ ।

    हङकङका स्थायी बासिन्दालाई १० हजारका दरले दिने भनेर त वर्षको सुरुमा बजेटमै घोषणा गरेको हो । यस्ता–यस्ता सब्सिडीहरु सरकारले दिइरहेको छ । प्रायः सबै क्षेत्रहरुलाई समेटेको देखिन्छ । जस्तै; रिक्रियशनल सेन्टर, ब्यूटी पार्लर, फिटनेस सेन्टर आदिलाई पनि ५० हजार वान अफ सब्सिडी घोषणा गरेको छ ।

    सब्सिडी आफ्नो ठाउँमा छ । यो बाहेक फ्ट लोनको कुरा पनि आइरहेको छ नि ? यसबारेमा स्पष्ट पारिदिनुस् न !

    पहिले बैंकमा गएर ऋण लिन निकै गाह्रो हुन्थ्यो । विभिन्न प्रक्रिया पुर्याउनुपर्ने झन्झट थियो । अहिले चाहिं सरकारले ६ विलियन डलर ‘ग्यारेण्टेड लोन’ साना तथा मझौला व्यवसायीलाई दिने भनेर एउटा प्याकेज ल्याएको छ । यसमा कस्तो सुविधा छ भने, कामदारहरु भएको कम्पनीलाई ६ महिनाको तलब र ६ महिनाको घरभाडा बराबरको लोन दिन्छ । ग्यारेण्टेड लोन हो यो । तर, एमपीएफ आदि देखाउनुपर्ने शर्त भने छ ।

    स्वरोजगारको हकमा चाहिं, गएको वर्ष (२०१९) मा उसले व्यवसाय गरेको छ र त्यसबाट आम्दानी गरेको छ भने अधिकतम आम्दानी उसले कति गरेको छ, त्यसको योगफल र घरभाडा जोडेर ऋण प्राप्त गर्न सक्दछ । ऊसँग कामदार नै छैन र उसले व्यवसाय गरिरहेको छ भने, त्यसको प्रमाण देखाएर पनि ऋण प्राप्त गर्न सक्छ । कामदार भएको मान्छेले लोन प्राप्त गर्दाखेरी चाहिं कामदारहरुलाई निष्काशन गर्न नपाइने भनेको छ । यो सब्सिडी अन्तर्गत पनि प¥यो र लोनमा पनि छ ।

    लोन अप्लाई गर्दा एकदमै सजिलोसँग गर्न सकिने प्रावधान छ अहिले । हामीले हाम्रा व्यवसायीहरुसम्म अवश्य पनि यो खबर पुर्याउनेछौं । एकदम सस्तो ब्याजदरमा ऋण पाउनु भनेको राम्रो कुरा हो । लगभग २.५ प्रतिशत ब्याजदरमा ग्यारेण्टेड लोन पाइन्छ ।

    लोनको लागि निवेदन दिने त बैंकमा हो तर बैंकले फलानोलाई म ऋण दिन्न भन्न पाउँदैन । जतिसुकै सानो रकम किन नहोस् उसको क्राइटेरियाअनुसार उसले ऋण दिनै पर्छ । सरकारले ‘ग्यारेण्टेड लोन’ भनेर त्यसै भन्न खोजेको होइन । यो लोन कहाँ गएर जम्मा हुन्छ भन्दा, हङकङ मोरगेज कर्पोरेशन लिमिटेड भन्ने सरकारी निकाय छ । यहाँ आएर जम्मा हुन्छ र सरकारले यो सेक्युअर गरेको हुन्छ । जहिले हामीले त्यो लोन लिन्छौं त्यो मितिदेखि लिएर ३ वर्षभित्र चुक्ता गरिसक्नु पर्दछ ब्याजसहित । निवेदन बैंकमा दिनुपर्ने भए पनि ऋण बैंकबाट होइन, सरकारबाट लिने हो ।

    सरकारले अहिले जुन सब्सिडी दिइरहेको छ, त्यो पछि गएर कुनै तरिकाले फिर्ता लिएला कि भन्ने आशंका देखिन्छ । यसमा तपाईं के भन्नुहुन्छ ?

    यो वर्षको रेभेन्यूमा मात्र हङकङ सरकारलाई १३९.१ विलियन हङकङ डलर घाटा पर्छ भनिएको छ । आउँदा ५ वर्षसम्म पनि के प्रक्षेपण गरिएको छ भने ७.४ देखि १७ मिलियनसम्म प्रतिवर्ष बजेटमा घाटा पर्छ । यसको अर्थ के हो भने त्यो घाटा परिपूर्तिको लागि जहाँबाट सम्भव हुन्छ त्यो असुल गर्नुपर्ने हुन्छ । पहिलेदेखि पनि सीएसएसए, बिजुली, पानी, कर आदिमा सब्सिडी दिने कुरा जति पनि गर्दै आएको, अब आउँदा दिनहरुमा त्यो भोल्युममा दिन्न कि भन्ने शंका छ । जस्तो २० हजारसम्म आम्दानी हुनेले कर तिर्नु नपर्ने भन्ने जुन कुरा छ, अब आउँदा दिनहरुमा त्यो घट्न सक्छ ।

    यसरी नै लिन्छ भन्ने त होइन । सबैले कमाउन थाले, अवस्था पहिलेकै अवस्थामा गयो, यहाँ भएका टुरिजम, होटल–व्यवसाय, बन्द–व्यापार सबै राम्रो भए भनेदेखि त सरकारलाई पनि करबाट धेरै नै आउँछ । यस्तो भयो भने त दिएको सुविधा नघटाउला ।

    अहिले के छ भने सरकारी हाउजिङमा ७५ प्रतिशत भाडा तिर्नु पर्दैन ६ महिनाको लागि । यो घटाउला अथवा नदेला । सीएसएसएमा अहिले ‘एसेट लिमिट’ छैन । परिवारको जतिसुकै आम्दानी किन नहोस्, व्यक्ति जो सीएसएसए खाइरहेको छ, उसलाई ‘एसेट लिमिट’को अवस्था छैन । आउदा दिनमा त्यो हटाउन सक्छ ।

    यसले गर्दा सरकारले भविष्यमा केही गर्ला, तर जनताबाट नै पैसा उठाएर आफ्नो अर्थव्यवस्था सन्तुलनमा ल्याउँछ भन्ने होइन । सरकारका अन्य थुप्रै्र त्यस्ता क्षेत्रहरु छन् । जस्तै, हाउजिङहरुको विकास गर्न सक्छ । अरु थुप्रै क्षेत्रहरुबाट रेभेन्यू संकलन गर्न सक्छ । खाली जग्गाहरु छन्, त्यसलाई उपयोग गर्न सक्छ ।

    नेपाल चेम्बर अफ कमर्शले आफ्ना सदस्य, व्यापारव्यवसायलाई सहयोग हुनेखालको कार्यक्रम नगरेको भन्ने गुनासो छ नि ?

    शुरुमा हामीले नगरेकै हो । पछिल्लो पटकको रिटेल सब्सिडीको बेलामा चाहिं हामीले कोही पनि नछुटून् भनेर दोकान–दोकान गएर अवगत गराएकै हो । हाम्रा ३०० जति सदस्यलाई त फोन गरेर यो नछुटाउनुस् है, केही समस्या परे खबर गर्नोस् भनेका छौं । तपाईंले जान्नुभएन भने हामी अप्लाई गरिदिन्छौं । यो–यो इन्फरमेसन पठाउनोस् पनि भन्यौं । म आफैंले पनि ३०-३५ जनाको अप्लाई गरिदिएँ । हाम्रा कमिटीका साथीहरुले पनि सहयोग गर्नुभयो । एकाध छुट भएको हुनसक्छ । शतप्रतिशत हामीले सहयोग गर्यौं त म भन्दिनँ । अहिले पनि सब्सिडीका जति पनि सूचनाहरु छन्, तिनको बारेमा पनि सूचना दिन्छौं । यो कहिलेदेखि शुरु हुन्छ भन्ने थाहा पाएपछि खबर गर्छौं । २-४ जना लिष्टमा पहुँच नभएका हुन सक्छन्, तर करिब करिब हामीले हङकङका नेपाली व्यवसायीको स्थलगत भिजिट गरेका छौं । यिनीहरुको रेकर्ड हामीसँग छ । ५०० भन्दा बढीको फोन रेकर्ड छ हामीसँग ।

    हङकङमा नेपाली बसोबास ३ दशकमा लागेको छ । नेपाली व्यापारव्यवसायको अवस्था कस्तो छ ? चेम्बरको अध्यक्षको नाताले के भन्नुहुन्छ ?

    अहिले व्यवसायी भएका शुरुमा सबैजना कामदारकै रुपमा प्रवेश गर्नुभएको हो । यहाँ आएर अवसर हेरेर कहिंकतै व्यवसाय शुरु भयो अनि हुँदाहुँदै अहिले करिब हजारको संख्यामा व्यवसायीहरु छन् । धेरै ठूलो व्यावसायिक अर्गनाइजेशन वा कर्पोरेसन छ भनेर त म भन्दिनँ । तर पनि, केही साथीहरु आशातीत रुपमा सफल भएका छन् । अरु चाहिं संघर्ष गरिरहेका छन् ।

    व्यवसाय गर्नमा हङकङमा सबैभन्दा गाह्रो भनेको घरभाडा हो । भाडा महंगो छ । स्टाफ राख्नलाई पनि १२÷१५ हजार घटी स्टाफ पाइदैंन । यसले गर्दा अपरेशनलाई धेरै खर्च हुन्छ । त्यस्तै, पूँजी कम भयो भने ठूलो व्यापार गर्न पनि गाह्रो हुन्छ । पहिलो फेजमा आएकालाई आफ्नो घर–व्यवहार मिलाउनलाई ठिकै भयो होला । पछिल्लो पटक चाहिं अब व्यापारउन्मुख भइरहेका छन् नेपालीहरु । र, यसले गति लिन अझै समय लाग्छ । अझै १०-२० वर्ष अलिकति राम्रो पिकअप लिनलाई लाग्छ । हङकङमा कसरी व्यवसाय गरेर सफल भइन्छ भनेर अनुभव लिनलाई अलिकति समय चाहिं लाग्छ ।

    चेम्बरको तर्फबाट नेपाली व्यापारव्यवसाय प्रबद्र्धनका लागि केकस्ता कार्यक्रमहरु गरिराख्नुभएको छ ?

    नयाँ व्यापार–व्यवसाय शुरु गर्दा कसरी गर्नुपर्छ ? पूँजी कसरी व्यवस्थापन गर्नुपर्छ ? कस्तो रिस्क हुन्छ/हुँदैन, घरभाडामा कस्तो खालको सम्झौतापत्र बनाउनुपर्छ भन्ने कुरामा पटक–पटक समन्वय गर्दै आएका छौं । कोरोनाको कारणले, कतिपयले भाडा तिर्न नसकेर लगायतका कारणले छोड्नुपरेको भन्ने खबर पाइएको छ । साना व्यवसायीलाई अबको बाटो झन् कठिन देखिन्छ । यी र यस्ता यावत् विषयमा चेम्बरले बेला–बेलामा गाइडलाइन्स दिने गरेको छ । भेटेर वा सम्पर्क गरेर राय–सुझाव दिने काम गरिरहेका छौं । ठाउँ–ठाउँमा गएर के छ तपाईंको व्यवसायको अवस्था भनेर बुझिरहेका छौं । दैनिकजसो ५-७ जना व्यवसायीसँग मेरो कुरा भइरहेको छ । हामीले गर्ने यहि नै हो । हामीले हाम्रो बुताले भ्याएसम्मको राय, सुझाव, गाइडेन्स दिइ नै रहेका छौं र दिनेछौं पनि ।

    यो विषम परिस्थितिमा व्यापारव्यवसायमा रहेका नेपालीहरुले के गर्नुपर्छ ? तपाईंको सुझाव के छ ?

    अहिले विश्व नै आक्रान्त छ । हामी आक्रान्त छौं । सरकार पनि आक्रान्त छ । सबैलाई असर परेको छ यतिखेर । त्यसकारण, धैर्यता गर्नु शिवाय केही छैन । हामी बन्द–व्यवसाय जो गरिरहेका छौं, यदि यो टिक्ने खालको छैन, लोनलाई पनि धान्न सकिदैंन, योबाट मेरो समय मात्र बर्बाद हुन्छ, यो छाडेर म रोजगार हुनैपर्छ भन्ने अवस्था पनि आउन सक्छ कतिपयलाई । साना–तिना व्यवसायी तथा स्वरोजगारलाई यो अवस्था आउन सक्छ ।

    अहिले त यो २÷४ महिना कोभिड–१९ को प्रभाव परिरहेको बेलामा सरकारले केही मात्रामा राहत दिएको छ । सरकारलाई पनि धन्यवाद दिनैपर्छ । यसका साथसाथै, आफू टिकाउ कसरी हुने, परिवारलाई कसरी आर्थिक संकटबाट जोगाएर राख्ने भनेर ध्यान दिनुप¥यो । त्यसको लागि खर्च कम गर्नुप¥यो । आफूले गरिरहेको कामलाई पनि सुरक्षित राख्नुपर्यो । मनमा धेरै चिन्ता नलिइकन धैर्यता राख्नुपर्यो । विश्व आक्रान्त छ, सबैलाई उस्तै समस्या छ, यो अवस्था मैले पनि स्वीकार्नुपर्छ भन्ने हिसाबले अगाडि बढ्नुपर्दछ ।

    व्यापारव्यवसाय प्रवद्र्धन गर्न र नयाँ प्रवेश गर्न चाहनेलाई कसरी प्रेरित गर्नुहुन्छ ?

    अहिले जसरी हुन्छ आफ्नो व्यवसायलाई टिकाइराखेर भविष्यमा राम्रो हुन्छ है भन्ने धारणा जगाउनु नै मुख्य कुरो हो ।

    नयाँ व्यवसायीको कुरा छ, कतिपय क्षेत्रका लागि सरकारले अर्को प्याकेज पनि ल्याएको छ । जस्तै; टुरिजम, हस्पिटालिटीका क्षेत्रमा, टेक्नोलोजीको क्षेत्रमा, लिगल क्षेत्रमा आदि । यसमा दुईवटा कुरा छ, एउटा– ३० हजार जब क्रियट गर्ने भनिएको छ, प्राइभेट र पब्लिक दुवै क्षेत्रमा । त्यसै अन्तर्गत २५ सय त पुलिस मात्रै भर्ती गर्दैछ । सन् १९९७ पछि अहिले पहिलो पटक यतिका संख्यामा पुलिस भर्ती गर्दैछ ।

    अर्को– कतिपय सेवाका व्यवसायहरु, जस्तै; टेक्नोलोजी, लिगल आदि क्षेत्रमा नयाँ प्रोजेक्ट ल्याएर म यस्तो गर्दैछु, मलाई अस्थायी रुपमा यति स्टाफले काम गर्नुछ, मेरो खर्च यति हुन्छ, म कर्मचारीलाई अरु बढी सीपयुक्त बनाउँछु, त्यसकारणले मलाई फण्डिङ गर्नुप¥यो भनेर व्यवसाय गर्न चाहनेले निवेदन दियो भने अहिले त्यो अवसर पनि सरकारले उपलब्ध गराएको छ । उसको प्रोजेक्टको दायराअनुसार सरकारले सहयोग गर्छु भनेको छ । यो सबैभन्दा बढी लिगल क्षेत्रमा, प्रविधिका क्षेत्रमा लागू हुने देखिन्छ । करिब करिब ३००० ल फर्महरु यसबाट लाभान्वित हुने, ४० हजार भन्दा बढी वर्क फोर्सले यसबाट फाइदा लिने भनिएको छ । यस किसिमको प्याकेजलाई ८ मिलियन हङकङ डलर छुट्याइएको छ ।

    सरकारबाट आएका यस्ता प्याकेजहरुले नेपाली समुदायमा त पहुँच राख्दैन होला ?

    अवश्य पनि हामी क्षेत्रहरु पहिचान गर्छौं । कसले के व्यवसाय गरेको छ । जस्तो, पत्रकारिताकै क्षेत्रको कुरा गरौं, पत्रकारिताको तालीम दिनुपर्यो, पत्रकारिता सिकाउनुपर्यो, मानिसहरुलाई दक्ष पत्रकार बनाउनुपर्यो भने जसले पत्रकारिता गरेको छ, उसले पनि कोशिस गर्न सक्ने भयो । चेम्बरले त्यो कुराको पहिचान गर्छ पहिले, यो कुरा लञ्च भइसकेपछि । अहिले त भाषणमा मात्र सीमित छ । सरकारले जहिले लञ्च गर्छ । यो समयदेखि यस्तो निवेदन शुरु हुन्छ है भन्छ । त्यसपछि हामीले नेपाली समुदायका व्यवसायीहरुलाई क्षेत्र पहिचान गरेर सुसूचित गर्छौं । र, तपाईंले यो प्रयास गर्नुस् भन्छौं।

    हाम्रा कतिपय शिक्षित भाइबहिनीहरु छन्, उनीहरु कन्स्ट्रक्सन, रेष्टुरेण्ट, बार आदि क्षेत्रमा मात्र काम गर्ने नभएर अलिकति एक्जुकेटिभ सेक्टरमा पनि काम गर्न सक्षम छौं है भन्ने उनीहरुमा हिम्मत आउँछ । टे«न्ड ग¥यो भने त उनीहरुको दिमागमा नै परिवर्तन आउँछ । म त यस्तो रहेछु, मैले त यसो गर्नुपर्ने रहेछ भन्ने उनीहरुलाई लाग्नेछ । सोही अनुसार सीप पनि विकास हुनेछ जसले गर्दा उनीहरु नयाँ आइडियाका साथ व्यवसायमा लाग्न सक्ने दक्षता हासिल गर्न सक्दछन् । यो फन्डिङ सरकारले गर्दैछ । यदि हाम्रो नेपाली समुदायमा यस्ता व्यवसायीहरु भेट्यौं भने र म्याचिङ भयो भने चेम्बरले नै सल्लाह दिन्छ । हामी सहयोग पनि गर्छौं त्यसको लागि ।

    अन्त्यमा, चेम्बरका सदस्य तथा अन्य व्यापारव्यवसायीलाई के भन्नुहुन्छ ?

    कोभिड–१९ का सन्दर्भमा जे–जति सब्सिडी छ, त्यसमा केही समस्या भयो भने चेम्बरलाई सम्पर्क गर्नुस् । मलाई सम्पर्क गर्नुस् प्रत्यक्ष । हामी सक्दो सहयोग गर्छौं, सब्सिडी एप्लिकेशन आदि–इत्यादीलाई । र, अर्को कुरा के हो भने यो एकदमै आक्रान्त समय भएको हुनाले तपाईंहरुले विशेषगरी आफ्नो रोजगारलाई सुरक्षित गर्नुस् । सरासर जागिरमा जाने, सरासर घरमा आउने । हुलहुज्जत भएको ठाउँमा नजाने । आफ्ना बच्चाहरु कहाँ छन्, के छन्, कत्तिको सुरक्षित छन्, गु्रपमा हिंडेका छन्/छैनन् ख्याल गर्नुस् । उनीहरुलाई सुरक्षित राख्ने प्रयास गर्नुस् । अहिलेसम्म हङकङमा कोभिड–१९ बाट नेपालीहरु २ जना मात्र संक्रमित छन्, यसलाई यतिमै सीमित राख्दै सबैले आ–आफ्नो स्थानबाट सतर्कता अपनाऔं । हङकङ सरकारले दिएको सम्पूर्ण सुविधाको उपभोग गरौं । आफू पनि सुरक्षित रहौं, जागिर पनि सुरक्षित गरौं ।

  • कमेन्ट गर्नुहोस्