• बाली, ईण्डोनेशिया : प्रकृति र संस्कृतिको संगम

    किन्तामनी ज्वालामुखी र यस वरपरका दृश्यहरु ।
  •  

    ईण्डोनेशियालाई १७ हजार टापुहरूको देश भनिंदो रहेछ । विशाल क्षेत्रफलमा फैलिएको यो मुलुक उत्तरमा मलेशियासँग जोडिएको छ, पूर्वमा पपुवा न्यु गिनी र दक्षिणमा अष्ट्रेलिया महाद्वीप छ । जनसंख्याको आधारमा संसारकै धेरै ईश्लाम धर्मावलम्बीहरु भएको मुलुक ।

    यसका टापुहरूमध्ये एक सानो टापु बाली हो । सरदर भन्नुपर्दा, नेपालको चारवटा जिल्ला जोड्दा हुने क्षेत्रफल बाली द्वीपको छ । विश्वभरका पर्यटकहरूको ठूलो घुईंचो लाग्ने ठाउँ, आफ्नो अर्थतन्त्रको उच्च हिस्सा यी नै घुमन्तेहरूले गर्ने खर्चबाट बटुल्छ । द्वीपमा भएका मानिसहरूको जनसंख्याको डबल सैलानीहरू वर्षभरीमा घुम्न आइपुग्छन् । तथापि, यो टापुमा हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता छ ।

    घुम्न जाने भन्दाभन्दै एक दशक बित्यो । २००९ सालतिर मलेशिया घुम्न जाँदा हो राजिफ दाजुसँग यो ठाउँ घुम्न जाने सल्लाह भएको, सन् २०१९ मा मौका जुर्यो । चार सहयात्रीहरू आमा, बुवा, फूपू र फुपाजु । दस दिन अगाडिदेखिको तयारी, टिकट काटियो र ट्राभल प्याकेज खरिद गरियो । एक अनन्य मित्रमार्फत् दुबईमा बस्ने पर्लसँग सम्पर्क भयो, पर्ल जो घुमन्तेहरूको आवश्यकता अनुसार ट्राभल प्याकेज मिलाउँछिन्; हामीले पनि आफ्नो रूचि र खर्च अनुसार आफ्नो प्याकेज पायौं— अप्रिल १८ मा पुग्ने, १९, २०, २१ घुम्ने र २२ मा फर्किने ।

    हाम्रो भ्रमण टोली । यो फोटो हाम्रा टुर गाईड फ्रेडीले खिचिदिएका हुन् ।

    १८ अप्रिल, २०१९

    हङकङ एयरलायन्सको मध्य दिनको फ्लाईट, हामी पाँचै जना दश बजे हङकङको चेप लाप कोक स्थित हवाई अड्डा पुग्यौं र १२ बजेर आधी घण्टा कट्दा आकाशमा उडिरहेका थियौं । पाँच घण्टाभन्दा केही बढीको यात्रा आरामदायक नै थियो, कहिलेकाहिं छेउको सिटतिर बसेका भारतीय परिवारका बच्चाहरुले शान्ति भङ्ग गर्दै रहे । संसारकै उत्कृष्टमध्ये एक विमानस्थल नागुरा राई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा बेलुकाको ६ बजिसकेको थियो । यो विमानस्थल बालीको राजधानी देनपेसारमा रहेको छ । विमानबाट ओर्लेर अध्यागमनको औपचारिकता पूरा गरेपछि हाम्रो भेट हाम्रो टुर गाईड फ्रेडीसँग भयो, पूरा नाम– फ्रेडी सिकोने । फ्रेडी हेर्नमा पपुवा प्रान्तका जस्ता देखिन्थे, बहुमत ईण्डोनेशियाली भन्दा फरक बनावट ।

    टुर गाईड सहित गाडी र ड्राईभरको सुविधा पनि हामीलाई उपलब्ध हुने कुरा थियो । त्यो दिनको हाम्रो मुकाम आर्यदता कुटा, सुविधा सम्पन्न पाँचतारे होटल । केहि समयको ट्राफिक जामपछि हामीलाई होटल पुर्याएर फ्रेडीले बिदा लिए, भोलि बिहान साँढे नौ बजे भेट्ने बाचा सहित । त्यसपछि त्यो दिनको बेलुकाको खाना खान हामी नजिकैको रेष्टुराँतिर गयौं । खाना स्थानीय ईण्डोनेशियाली थियो । पैसाको मोल सानो भएको हुनाले एउटा परिकारको एक लाख ईण्डोनेशियन रुपियाँभन्दा धेरै पर्ने रहेछ । सटही दर– एक सय अमेरिकी डलर बराबर चौध लाख सत्तरी हजार ईण्डो रुपियाँ । गएको दिन र फर्किने दिनको खाना आफैंले किनेर खानुपर्ने र घुम्ने तीन दिनको सबै प्याकेज अन्तर्गत ब्रेकफास्ट, लञ्च र डिनर पाइने सहमति थियो । खानामा इकान मुजायर साम्बाल माटा, टेपि सावा ग्रील्ड डक र आयाम बेटुटु खाइयो । केही टहलिएर, होटल आईवरी नुवाईधुवाई सकेर सुस्ताउँदा मध्यरातको १२ बजेको थियो ।

    १९ अप्रिल, २०१९

    बिहान होटलले नै दिएको भव्य बुफे ब्रेकफाष्ट सकेर समयमा नै हामी होटल लब्बी पुग्यौं । ‘एक्जोटिक’ भन्न मिल्ने माछा, समुन्द्री खानेकुरा, फलफुल, मासु, नुडल्स ∕ के के मात्र पो थिएन होला ? हरेक दिन यतिकै भव्य ब्रेकफास्ट दिइएको थियो । गाडी चढेर केही अगाडि मात्र पुगेका थियौं हामीले बाटैभरी मन्दिरहरु देख्न थाल्यौं । बाली द्वीप मात्र होइन, पूरै ईण्डोनेशिया, भियतनाम, थाईल्याण्ड, क्याम्बोडिया लगायत ठूलो भू–भागमा एक समय हिन्दू धर्मको बोलाबाला थियो । यो सदियौं अघिको कुरा हो । समयको खेला, यो धर्म पछि बौद्ध र ईश्लाम धर्मको छायाँमा पर्यो । फ्रेडीका अनुसार, मन्दिरहरु कोही पारिवारिक त कोही सामुदायिक र कोही चाहिं सार्वजनिक हुन्छन् । पारिवारिकमा परिवारको सदस्यहरु मात्र जान मिल्छ ।

    हामी मोमले कपडामा बुट्टा भरिने ठाउँमा पुग्यौं । कालिगढहरु बुट्टा भर्नमा तल्लीन, हेर्दा हातले कुनै जादु गरेझैं देखिन्थ्यो । अर्को ठाउँ, चाँदिको कारीगरी हेर्यौं । फुपाजुले केही महङ्गो चाँदिले बनाएको फ्रेम किन्नुभयो ।

    टेङ्गानुगान झरना ।

    अब गाडी टेङ्गानुगान झरना भएतिर मोडियो । पर्यटकहरु त्यहिं नुहाईरहेका, कोही फोटो खिचिरहेका थिए । त्यहिं नजिकै एक पुजारी परम्परागत पूजा गर्दै थिए । मझौलो आकारको झरना, तर झरेको पानीले ल्याउने बेजोड हावा र त्यही हावासँग आउने पानीका स–साना थोपाहरुले गर्दा झरना छेउ जाँदा सिमसिम पानी परेको अनुभव हुन्थ्यो । दिउँसोको खाना अघि हामीले कफी खेती हेर्यौं । ‘कोपी लुवाक’ भनिने एक प्रकारको महङ्गो कफी हुने रहेछ । नेपालमा पनि पाईने एक बिरालो जस्तो जङ्गली जनावर (नेपालको पहाडी ईलाकातिर ‘काला’ पनि भनेर चिनिने जनावर)ले खाएको पाकेको कफीको चेरीको बाहिरी बोक्रा पचाउँदो रहेछ, तर कफीको भित्री भाग चाहिं नपचेर त्यसको दिसामा कफीको गेडो नै हुनेरहेछ । यो जनावरको बिष्टा जम्मा पारी पखालेर कफीको दानाबाट बन्ने कफीको स्वाद नै विशेष हुने रहेछ, जसलाई स्थानीय भाषामा ‘कोपी लुवाक’ भनिने रहेछ । त्यहाँ नै हामीलाई तेह्र स्वादको चिया र कफीहरु चाख्ने मौका मिल्यो । त्यहिंको पसलमा केही धुप र कफी कोसेली खरिद गर्यौं ।

    किन्तामनी ज्वालामुखी फुटेर बनेको ज्वालामुखी पहाडमा अझै पनि हरियाली पलाईसकेको छैन । यो ज्वालामुखी अझै पनि सक्रिय छ । वर्षौं अघि भएको ज्वालामुखी विष्फोटको कारण अझै पनि लाभा सेलाएर बनेका ढुङ्गाहरु पहाडभरी प्रशस्त छन् । तथापि, वरिपरीका पहाडहरुबाट आउने चिसो हावाले धरान माथिको भेडेटार सम्झाउँछ ।

    दिनको अन्तिम गन्तव्य उबुद रह्यो । पहाड जस्तो कान्ला भएको जमिनमा गरिएको धान खेती रमणीय थियो । अचम्मको कुरा, बालीको गर्मी मौसमको कारण एकै समयमा कतै धान रोप्दै गरेको, कतै धान पसाएर बाला निस्कँदै गरेको, कतै धान पाकेको र कतै काट्दै गरेको पनि देखियो । एकै समय सबै देखिने ∕ यो हरियालीमा नरिवलका रुखहरु धेरै देखिए । हरियो फाँटहरु कटेर गएपछि उबुद दरबार पुगियो, जहाँ अझै पनि पुराना दरबारहरुलाई जीवन्त राखिएको छ ।

    बेलुकी खाना खाएर भारतीय रेष्टुराँबाट निस्कँदा फ्रेडी बडा शान्त तर चिन्तित भावमा चुरोट पिउँदै गरेको देखेको थिएँ । मानिसहरुको स्वभाव पढ्ने मेरो आफ्नो अनौठो बानी छ । त्यो दिन त केही पनि सोधिनँ । तर, मनमा कुरा खेलिरह्यो ।

    २० अप्रिल, २०१९

    बज्र सण्डी स्मारकः यो स्मारकभित्र एउटा विशेष संग्रहालय छ । यसमा ईशापूर्वको ३००० देखि ईण्डोनेशियाको स्वतन्त्रतासम्मको इतिहासको चित्र वर्णन छ । डच उपनिवेश विरुद्ध कसरी बाली द्वीपका शासक र जनताहरु मिलेर मुकाबिला गरे भनेर देखाउने उनीहरुको गौरवपूर्ण गाथा छ । बालीका राष्ट्रिय नायक आई गुस्ता नागुरा राईले लडाईंको मैदानमा नेदरल्याण्डका डच उपनिवेश विरुद्ध मारागानाको युद्धमा मृत्युसम्म लड्ने प्रतिज्ञा गरेर वीरगती प्राप्त गरेको कथा गौरवका साथ प्रस्तुत गरिएको छ । हजारौं–हजार जनता र बाली द्वीपका शासकहरुले डच साम्राज्यवाद विरुद्ध लडेर आफ्नो प्राणको आहुती दिएको गौरवपूर्ण ईतिहास छ ।

    बज्र सण्डी स्मारक अघि लेखक ।

    फ्रेडी बाली द्वीपका एक अधवैशें स्थानीय हुन् । यात्राको दौरान आज ऊसँग कुरा हुन थाल्यो । आस्थाले क्याथोलिक क्रिश्चियन, त्यहाँका एक धार्मिक अल्पसंख्यक । अघिल्लो दिनको कुरा बुझ्दा नजिक आएको चुनावी परिणामको बारेमा चिन्तित भएको कुरा सुनाए । हामी जानु केही दिन अघि मात्र त्यहाँ राष्ट्रपतीय लगायत सबै चुनाव भएको थियो । राजनीतिक रुपमा सचेत फ्रेडी युवा हुँदा सन् १९९५ ताका तत्कालीन फौजी शासक सुहार्तो विरुद्ध सडक संघर्षमा उत्रिएको कुरा पनि सुनाए । उनी आफू चाहिं युवा छँदा ईण्डोनेशियाका स्वतन्त्रता नायक र प्रथम राष्ट्रपतिका पुत्री मेगावती सुकार्नोपुत्रीका समर्थक भएको सुनाए । मेगावती पनि सन् २००१ देखि २००४ सम्म ईण्डोनेशियाको राष्ट्रपति भइन् । फ्रेडीको कुरा बुझ्दा ऊ समाजमा व्याप्त भ्रष्टाचारको विरोधी भएको बुझियो । त्यतिका मानिसको बलिदानको कारण आफ्नो मुलुकले डच र जापनीजहरुबाट स्वतन्त्रता पाएको भए पनि सुकार्नोको योगदानलाई मात्र प्रचार गरेको देख्दा उनी निरास देखिन्थे । जति संघर्ष गरे पनि नेताहरुले जनताको सपना पूरा गर्न छोडेर आफैं लोभ–लालचमा परेको उनको बुझाई छ ।

    अजङ्गको गरुडा बिष्णु केनकाना मूर्ति । यो मूर्ति संयुक्त राज्य अमेरिकाको ‘स्ट्याचु अफ लिबर्टी’ भन्दा पनि अग्लो छ ।

    गरुडा विष्णु केनकाना सांस्कृतिक पार्कः यो ठाउँमा हिन्दूहरुका भगवान विष्णु र उनको बाहन गरुडका ठूला मुर्तिहरु राखिएका छन् । यो पार्कमा अवस्थित गरुडा विष्णु केनकाना मूर्ति १२२ मिटर अग्लो छ जुन संयुक्त राज्य अमेरिकामा अवस्थित स्ट्याचु अफ लिबर्टीभन्दा पनि अग्लो हो । सन् २०१८ मा यो मूर्तिको अनावरण ईण्डोनेशियाका राष्ट्रपति जोको विडोडोले गरेका हुन् । हावाईजहाज ल्याण्ड गर्ने बेला एक झ्यालबाट अजङ्गको मूर्ति जस्तो देखेको थिएँ । यो त्यहि मूर्ति रहेछ ।

    उलुवातु मन्दिर र सेरोफेरो । यसको दक्षिणतर्फ कञ्चन नीलो पानी भएको विशाल हिन्द महासागर छ ।

    उलुवातु मन्दिरः बालीको संस्कृति अनुसार समुद्रप्रति समर्पित यो मन्दिरमा हिन्दू देव शिवको आराधना गरिन्छ । समुन्द्रसँग जोडिएको एउटा डाँडामा रहेको यो मन्दिरभित्र मूर्तिहरु भने छैनन् । यसको दक्षिणमा विशाल हिन्द महासागरको कञ्चन नीलो पानी देख्न सकिन्छ । बेलुकीपख यही मन्दिर परिसरमा देखाइने ‘केसक नृत्य’ ले सबैको मन आनन्दित तुल्याउँछ । हिन्दू मिथक रामायणमा राम–सीताको वनबासको बेला रावणले गरेको सीता हरण नै यो नृत्यको मुख्य कथा हो । कम्मरमाथि नाङ्गो शरीर रहेका नर्तकहरुको भिडको बीचमा राम, लक्ष्मण, सीता, हनुमान, रावण, जटायु आदिको प्रस्तुति कथा अनुसार गरिन्छ । नर्तकहरुले ‘स्याक–स्याक’ गर्दै आवाज निकाल्दछन्, आगो र बत्तीको उत्तम प्रयोगले यो एक हेर्नैपर्ने नाटक हुन जान्छ ।

    २१ अप्रिल, २०१९

    ताना लटः यो पनि समुन्द्रप्रति समर्पित बालीनिज हिन्दू मन्दिर हो । ‘देवा बरुना’ यो मन्दिरका मुख्य देवता हुन् । यो बाली द्वीपमा अवस्थित समुद्रप्रति समर्पित सात मन्दिरमध्ये एक हो । समुन्द्रबाट आउने सफा पानीको छाल यो मन्दिरसम्म आइपुग्दछ र त्यो पानीले पर्यटकहरुको खुट्टा पनि भिजाउँदछ ।

    हिजोको दिनबाट फ्रेडी अलिक खुलेर कुरा गर्ने भएका छन् । उनको सन्तानमा एक मात्र छोरी भएको सुनाए जो विश्वविद्यालयमा अध्ययनरत छिन् । राष्ट्रपति जोको विडोडो उनलाई मन पर्छ, तर राष्ट्रपति गलत मानिसहरुको घेरामा रहेको कुरा बताए । युवा जोश हुँदा सामिल भएको आन्दोलनको बारे बिस्तृत सुनाए । उहिलेको परिवर्तनको लागि लडेको त्यो जोशमा केही कमी आए पनि, परिवर्तनको भोक अझै उनमा देख्न सकिन्छ । एउटा सामान्य झोला बोकेर बिहानै हामीलाई लिन होटलको लब्बीमा समयमा आउनु उनको विशेषता हो । समयको खुब ख्याल गर्छन् । गाडीभित्र भएको माईक्रोफोनमा बोलेर हामीलाई बीच–बीचमा देखिने कुराहरुको बारेमा बताउँछन् । कुरैकुरामा हाम्रो टोली समयको एकदम ख्याल गर्ने खाले रहेको सुनाउन भ्याए । उनले हामी सभ्य घुमन्तेहरु भएको सुनाउँदा गर्व लाग्यो । अझ ‘नेपालीहरु हौं’ भनेर चिनाउन पाउँदा हर्ष लाग्यो । भारतीय पर्यटकहरु समयको ख्याल नगर्ने र खानेकुरामा पनि किचकिचे हुने अनुभव सुनाए । हाम्रा ड्राईभर फ्रेडीझैं अंग्रेजी बोल्न जान्दैनन्, तर उनको हाँसो देख्दा उनी निकै मिजासिला होलान् भन्ने लख काट्न सकिन्छ । बोलिने भाषा मात्र संवाद गर्ने एक उपाय पक्कै पनि होइन । व्यक्तिको शारीरिक हाउभाउले पनि त धेरै कुरा बुझ्न सकिन्छ ।

    मध्य दिनमा मोबाईलमा समाचार पढ्दा दक्षिण एसियाली मुलुक श्रीलंकामा ईशाई धर्मावलम्बीहरुको पवित्र चाड ईष्टर मनाउन चर्चमा भेला भएकाहरुलाई निशाना बनाएर केही अतिवादीहरुले बम विष्फोट गराउँदा सयौंको हताहती भएको खबर पढेर स्तब्ध भएँ । यही विषयमा फ्रेडीसँग कुरा गर्दा सन् २००२ को बाली बम हमलाको कुरा निस्कियो ।

    उलुन दानु मन्दिर र ब्राटन ताल । यहाँका मन्दिरहरू प्यगोडा शैलीमा निर्मित छन् ।

    उलुन दानु मन्दिरः ब्राटन तालले घेरिएको यो मन्दिर शिवमा आस्था राख्नेहरु जाने रहेछन् । सन् १६३३ मा बनेको यो मन्दिरमा पानी, ताल र नदिकी देवी दानुप्रति समर्पित छ । यो तालको एक कुनामा रहेको ११ तले मन्दिर शिव र पार्वतीको लागि बनाइएको हो । यो मन्दिर एक ‘मास्टरपिश’ नै हो । सुन्दर तालमा नौका विहार गरिरहेका पर्यटकहरु देखिन्छन् । ब्राटन तालको पानी सिंचाईमा पनि प्रयोग हुने रहेछ ।

    टामन आयु, मेङ्गी गाउँः पुरानो राजखान्दानको महल, सोह्रौं शताब्दीमा बनेको मन्दिर, धानकी देवीको मूर्ति, तलाउ र ठूल–ठूला हरिया चौर र बगैंचाले अति नै सुन्दर बनाएको छ यो ठाउँ । ‘पेलिङ्घी मेरु’ बालीमा रहेका मन्दिरहरुमध्ये मुख्य मानिन्छ । प्यागोडा शैलीमा बनाइने यसले सुमेरु पर्वतलाई जनाउँदछ ।

    टामन आयु, मेङ्गी गाउँ । पुरानो राजखान्दानको दरबार रहेको यो क्षेत्र बिबिसीको चर्चित कार्यक्रम ‘अराउण्ड द वल्र्ड ईन ८० गार्डन्स’ मा पनि देखाइएको थियो ।

    अप्रिल २२, २०१९

    आज फर्किने दिन । टिकट बेलुकाको थियो । आज आराम गर्ने दिन पनि थियो । आमा, बुवा, फुपु र फुपाजु चाहिं आराम गर्नुहुने भयो । आफूलाई चाहिं घुम्न पुगेकै थिएन । ‘गो जेक’ भन्ने पैसा तिरेर घुमाउने स्कुटर सेवा हुने थाहा पाएको थिएँ । एउटा राइडरलाई होटल नजिक भेटें, अनि घुम्ने ठाउँको बारे बताएपछि दाम मिल्यो ।

    सन् २००२ मा जेमा ईश्लामिया र अल–कायदाद्वारा प्रशिक्षित अतिवादीहरुले कुटा भन्ने स्थानमा आत्मघाती आक्रमण गर्दा विभिन्न राष्ट्रका २०२ जनाको ज्यान जानुका साथै धेरै घाइते भएको समाचार पढेको थिएँ । मानव इतिहासमा नै कालो दिनको सम्झना गरिने यो घटना भएको स्थान पुगेर श्रद्धासुमन चढाएँ । फेरि यस्तो घटना नहोस् भनेर कामना गरें । ‘गो जेक’ चालक निकै फुर्तिलो र राम्रोसँग स्कुटर चलाउने रहेछन् । मलाई फोटो खिच्नको लागि ठाउँ–ठाउँमा स्कुटर रोकिदिए । बाटोभरी महाभारतका पात्रहरुको बडेमानका मूर्तिहरु देखिए । महाभारत मिथकका अनुसार पाण्डवमध्ये माहिला भिमका पुत्र शुरवीर घटोत्कचको वध कर्णले गरेका छन् । त्यहि घटनालाई विशाल मूर्ति बनाएर देखाइएको छ । डच औपनिवेशिक शासकहरु विरुद्ध लडेका र बाली द्वीपका नायक लेफ्टिनेण्ट कर्णेल स्व. आई गुस्ती नागुरा राईको बलिदानको कदर गर्दै बनाइएको भिमकाय मूर्ति पनि देखें । मारागानाको युद्धको दौरानमा उनले मात्र २९ वर्षको उमेरमा सन् १९४६ मा विरगती प्राप्त गरेका थिए ।

    पाण्डवमध्ये माहिला भिमका पुत्र शुरवीर घटोत्कचको वध कर्णले गरेको घटनालाई मूर्तिमार्फत् प्रस्तुत गरिएको ।

    दिउँसोको २ बजेतिर होटल फर्किंदा फ्रेडी हामीलाई लिन आइपुगेका थिए । सबैजना गाडी चढ्यौं र हवाई अड्डातर्फ लाग्यौं । ४ दिनको संगतमा पनि त मित्रताको गहिरो रङ्ग घोलिने रहेछ । छोटो समयमा नै फ्रेडी एक अनन्य मित्रझैं भएका थिए । हामीलाई राम्रोसँग घुमाएकोमा हामीले आफ्नो गच्छे अनुसार फ्रेडी र ड्राईभर दुवैलाई ‘टिप्स’ दियौं । फुपाजु अझै मनकारी हुनुहुन्छ, उहाँले अझै थपेर दिनुभयो । हावाईजहाजतर्फ छुट्टिने बेला फ्रेडी र तीन दिनदेखि हामीलाई गाडीमा सुरक्षित घुमाउने ड्राईभरसँग बिदा भयौं । जाँदा अर्कोपट्टि रहेका बच्चाहरु सहितको भारतीय परिवार यसपाली पछाडिको सिटमा परेछन् । फ्लाईटभरी बच्चाहरुले कोलाहल मच्चाए । एक चिनियाँले अलिक कडा प्रतिक्रिया जनाउँदा बच्चाको बाउ र ती चिनियाँहरुको समूहबीच भनाभन भयो । त्यसपछि अलिक शान्त भयो ।

    बाली द्वीपमा बिताएका ती दिनहरु यो मनको कुनै कुनामा गढेर बसेको छ । घरी–घरी मन हुरुरु भएर फेरी ती सुन्दर ठाउँहरु, ती धान फलेका विशाल खेतका फाँटहरु, केसक नाच, किन्तामनी ज्वालामुखी आदि ठाउँहरु पुग्दछु । त्यो अविष्मरणीय यात्रा भएकै हुनाले त आज वर्ष दिनपछि पनि त्यो भ्रमणबारे लेख्न सकियो ।

    यो संसारमा घुम्न र देख्न असंख्य ठाउँ छन् । विभिन्न जीवन्त संस्कृतिहरु छन् । जीवनमा कति पैसा कमाइयो भन्दा पनि संसार कति देखियो र बुझ्ने प्रयास गरियो भन्ने महत्वपूर्ण हुन्छ रे ! जीवन रहँदै घुमौं ।

    स्थानीय भाषामा ‘लुवाक’ भनिने जनावर । त्यसले खाएर नपचेको कफीको दाना । कफीको दाना भुटेर धुलो कफी बनाउने प्रक्रिया गरिंदै । विभिन्न प्रकारको कफी र चियाहरूको स्वाद लिंदै ।

    ‘केसक नृत्य’ । यो ‘नृत्य नाटक’ जसरी देखाइन्छ । हिन्दू ग्रन्थ रामायणको ‘सिता हरण’ लाई केन्द्रबिन्दुमा राखेर रचिएको यो नाटक र नृत्यले वास्तवमा नै मनोरञ्जन प्रदान गर्दछ ।

    ईण्डोनेशियाली स्वतन्त्रता संग्रामका बाली द्वीपका अमर नायक आई गुस्ता नगुरा राईको स्मारक ।

  • कमेन्ट गर्नुहोस्