• चार्टर फ्लाइटको नाममा यात्रुलाई सास्ती

  •  

    मे १६ । नेपालको लकडाउनमा परेका हङकङका नेपालीलाई चार्टर फ्लाइटमार्फत ल्याउने अस्वस्थ प्रतिस्पर्धामा रहेका ट्राभलहरुले यात्रुमाथि खेलबाड गरिरहेका छन् । यसबाट यात्रुहरु अनावश्यक तनाव र सास्ती भोग्न बाध्य भएका छन् ।

    हङकङ नेपाली ट्राभल कम्युनिटिले १२ मेका दिन पहिलो चार्टर फ्लाइट हुने भने पनि त्यसका लागि तयारी पूरा नभएपछि स्थगित भयो । दोश्रो फ्लाइट १९ मे का दिन हुने भनिएको भए पनि उनीहरुले अहिले पहिलो फ्लाइट २० मेका दिन हुने भनिरहेका छन् । उक्त फ्लाइट पनि हुनेमा शंका रहेको छ ।

    सबै भन्दा बदमासी त कम्युनिटि अन्तर्गतका ट्राभल एजेन्ट र तिनका सब–एजेन्टहरुले गरिरहेका छन् । फ्लाइट हुने टुङ्गो नलागे पनि प्रति यात्रु ६ हजार ५ सय ८० डलरका दरले पैसा संकलन गरिसकेका छन् ।

    एकातिर यो रहेको छ भने अर्कातिर गैर–आवासीय नेपाली संघ–एनआरएनएकी अध्यक्ष राधिका (टीका) गुरुङले काठमाडौंस्थित हार्वेस्ट मुन ट्राभलको मार्केटिङ गर्दै मे २२–२५ का दिन हिमालय एयरलाइन्स (एचनाइन)को पाँच फ्लाइट हुने फेसबुकमा सूचना प्रकाशित गरेकी छन् । उनको स्टाटास हेर्दै अनलाइन मिडियाहरुले समाचार बनाइरहेका छन् ।

    गुरुङको मार्केटिङ स्टाटसमा टिकटको मूल्य नेपाली रु.६३ हजार (हङकङ डलर ४१ सय)मात्र रहेको र कसैलाई बढी पैसा नतिर्न भन्दै हार्वेस्टको लेखा शाखामा र बैंक खाता बाहेक बाहिर आर्थिक कारोबार नगर्न र गरेमा ट्राभल जवाफदेही नहुने उल्लेख गरिएको छ ।

    ट्राभल एजेन्सीको मार्केटिङ गर्ने गरी प्रचारप्रसारमा राधिका (टीका) गुरुङ लागेपछि सामाजिक संस्थाको आवरणमा व्यापार गरिएको आरोप लाग्ने गरी सामाजिक सञ्जाललगायतमा टिकाटिप्पणी देखिएका छन् ।

    हार्वेस्टको टिकट सस्तो हुने भएपछि कम्युनिटि अन्तर्गतका ट्राभल एजेन्सीहरुलाई बुझाइएको रकम फिर्ता लिन थालिएको छ । छोराको टिकटको लागि रकम जम्मा गरेका युवकमान जोशीले भने, “आरएको उड्ने–नउड्ने टुङ्गो भएन र महंगो भएपछि मैले रकम फिर्ता मागेँ । अब हिमालयको टिकट बुक गर्न लागेको छु ।”

    नेपाल सरकारकोतर्फबाट हङकङका नेपालीका लागि चार्टर फ्लाइटको अनुमति दिइएको भए पनि हङकङ सरकारकोतर्फबाट अनुमति प्रदान भइसकेको छैन । यसका लागि कम्युनिटि र हार्वेस्ट मुनकोतर्फबाट आवेदन गरिएको भए पनि सिभिल एभियसन डिपार्टमेन्ट (सीएडी)बाट अनुमति प्राप्त भएको छैन ।

    सीएडीबाट अनुमति प्राप्त गर्नका लागि हार्वेस्ट मुनले चार्टर गर्ने भनिएको एचनाइनलाई भन्दा कम्युनिटिले चार्टर गर्ने नेपाल एयरलायन्स (आरए)लाई सजिलो रहेको छ । आरएको यो सेक्टरमा सेड्युल फ्लाइट भइरहेको छ भने एचनाइनको छैन । नयाँ एयरलायन्सका लागि कुनै पनि ठाउँमा उडान अनुमति लिन स्वभाविक रुपले बढी समय लाग्ने छ ।

    सबै भन्दा मुख्य विषय त के छ भने नेपालबाट चार्टर फ्लाइटमार्फत आउने जो कोहीलाई १४ दिने क्वारेन्टिन सेन्टर अनिवार्य रहेको छ । स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्सन (सीएचपी)ले प्रेस विज्ञप्तिमार्फत पाकिस्तान, भारत, बंगलादेश, नेपाल र दक्षिण अफ्रिकालगायतबाट आउनेलाई अनिवार्य क्वारेन्टिन सेन्टरमा राख्ने जानकारी गराएको छ ।

    चार्टर फ्लाइटमार्फत आउने सयौंलाई क्वारेन्टिन सेन्टरमा राख्न ठूलै तयारी गर्न पर्ने हुन्छ । खाना, बस्नेलगायतका सुविधा उपलब्ध गराउनु पर्ने हुन्छ । केही दिन पहिले त्यसरी नै आइपुगेका पाकिस्तानीहरुले सेन्टरको सुविधामा असन्तुष्टि व्यक्त गरेको समाचार प्रकाशमा आएको थियो ।

    २ हजार जना पाकिस्तानी हङकङ आउने तयारीमा रहे पनि करिव ३ सय जना ल्याइएको र ३ हजार ६ सय भारतीयले तयारी गरे पनि करिव ३ सय जनामात्रै ल्याउन लागिएको उदाहरणले पनि अहिले तयारीमा रहेका सबै नेपालीलाई ल्याउन अनुमति प्राप्त हुन नसक्ने देखिन्छ ।

    यस कारण नेपालबाटै एक हप्ताभित्र १२ सय यात्रुले हङकङ प्रवेश अनुमति पाउनेमा शंका रहेको छ । अहिलेसम्म सार्वजनिक भएका सूचनाका आधारमा आरएको दुई फ्लाइटबाट ५ सय र एननाइनबाट ७ सय यात्रुलाई प्रवेश गराइने तयारी रहेको देखिन्छ । आरएको विमान एयरबस ए३३०-२०० काे सिट क्षमता २५३ र एचनाइनको एयरबस ए३२०-२०० काे १५० रहेको छ ।

    यसरी चार्टर फ्लाइटबाट प्रवेश गर्ने नेपालीमात्र रहेका छैनन् । भोलि एक फ्लाइट भारतबाट रहेको छ । चार्टर गर्ने तयारी ६० वटा भन्दा बढी देशले गरिरहेका छन् । यस हिसाबले नेपालबाट दुई हप्तामा एक फ्लाइट हुने संभावना रहेको छ । चौध दिने क्वारेन्टिन सकिएपछि खालि हुने सेन्टरमा नयाँलाई राखिन सक्छ ।

    नेपालमा लकडाउन हिजोदेखि कडा गरिएको छ । एक जिल्लाबाट अर्को जिल्लाका लागि जारी गरिएका सवारी साधनका पास खारेज गरिएको छ । यस स्थितिमा काठमाडौं बाहिर रहेकाहरुलाई आउन समस्या पर्ने देखिन्छ । चार्टर फ्लाइट हुने भनिएपछि काठमाडौं आएकाहरु पनि फ्लाइट नभए समस्यामा पर्ने देखिन्छ ।

    आरए र एचनाइनको फ्लाइटको लागि राजनैतिक लविङ पनि छुट्टाछुट्टै रुपमा भइरहेका छन् । आरएको लागि रहेको कम्युनिटिले स्थानीय राजनैतिक पार्टी डीएबीमार्फत लविङ गरिरहेको छ । त्यसका लागि हङकङ नेपाली महासंघका पदाधिकारीहरु लागी रहेका देखिन्छन् । एचनाइनका लागि एनआरएनएकी अध्यक्ष नै लकडाउनमा परे पनि लविङमा रहेको उनको फेसबुक स्टाटासले जनाउँछ ।

    अहिलेसम्मको परिस्थितिलाई नियाल्ने हो भने पहिलो फ्लाइट आरएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

  • कमेन्ट गर्नुहोस्