• चार्टर फ्लाइटका कथा, उपकथा

  •  

    मे २३ । नेपालको लकडाउनमा परेका हङकङका नेपालीलाई चार्टर फ्लाइटमार्फत ल्याउने प्रतिस्पर्धामा रहेका विभिन्न समूहको स्वार्थ र टकरावले दुई हप्ता हङकङको नेपाली समुदाय अशान्त रह्यो । यस बीचमा पटक–पटक नेपाल एयरलायन्स (आरए) र हिमालय एयरलायन्सका फ्लाइट हुने मिति सार्वजनिक भए तर भएनन् ।

    हिजो साँझ काठमाडौंस्थित हार्बेस्ट ट्राभलमार्फत हिमालय एयरलाइन्सले चार्टर फ्लाइटका लागि हङकङको सम्बन्धित निकायबाट ल्याण्डिङ पर्मिसन नपाएको र उडान रद्द गरिएको रकम जम्मा गर्ने यात्रुहरुलाई म्यासेस पठाइएपछि एक किसिमको तरङ्ग उत्पन्न भएको छ ।

    समुदायमा तरङ्ग उत्पन गर्ने घटना सम्बद्ध कथा र उपकथा यस्तो रहेको छः

    कोरोनाभाइरस (कोभिड–१९)को शुरुवातमा जनवरी २२ देखि सेमी लकडाउन भएसंगै हङकङका सरकारी कार्यालय, विद्यालय, स्टेडियम, स्पोर्ट्स सेन्टर, फिटनेस सेन्टर, पार्कलगायत बन्द भए । चीनसंगको एउटाबाहेक सबै नाका बन्द गरियो । कतिपय कन्सट्रक्सन साइटलगायत नेपाली कामदार रहेका क्षेत्रहरु पनि बन्द भए ।

    यस स्थितिमा कतिपय अभिभावकहरु बालबच्चा लिएर नेपाल बिदा मनाउँन गए । कोभिड–१९ को प्रभाव तीब्र गतिमा फैलन थालेकोले त्यसबाट बच्नको लागि पनि केहीले हङकङ छाडेको अनुमान गर्न सकिन्छ । त्यो भन्दा अगाडि चिनियाँ नयाँ वर्षको विदामा गएकाहरु पनि केही फर्किएका थिएनन् । त्यतिबेलासम्म हङकङ–काठमाडौं हवाई उडान भइरहेको थियो ।

    कोभिड–१९ को प्रभाव भारतमा देखिएसंगै लकडाउन गरियो । त्यसपछि नेपालमा पनि लकडाउन शुरु भयो । मार्च २४ का दिन पहिलो पटक १४ दिनको लागि लकडाउन घोषणा गरिएको थियो । आशा गरिए विपरित दोश्रो र तेश्रो घोषणा हुदै लकडाउनलाई निरन्तरता दिइएको छ ।

    उद्गमस्थल मानिएको उहानमा कोभिड–१९ नियन्त्रणसंगै चीनको अवस्था सामान्य अवस्थामा फर्कन थाल्यो । हङकङमा पनि नयाँ संक्रमितको संख्या घट्ने र उपचारपछि घर फर्कनेको संख्या बढेसंगै सरकारी कार्यालयहरु खुल्न थाले । यही क्रममा लागू गरिएका सामाजिक दूरीको नियममा केही खुकुलो गर्न थालियो । सामाजिक दूरी प्रावधान हटेसंगै बन्द गरिएका बार, ब्युटि पार्लर, मसाज सेन्टरलगायत खुल्न थाले । बाहिर निस्कदा मास्क लगाए पनि मानिसहरु रेष्टुरेण्ट जान थाले ।

    मे २७ देखि क्रमशः विद्यालय खुल्ने सूचना जारी गरियो । नेपाली बढी कार्यरत कन्सट्रक्सन, सेक्युरिटीलगायतका क्षेत्र धमाधम खुल्न शुरु भयो । हङकङ खुल्न शुरु गरे पनि नेपालमा निरन्तर लकडाउन रह्यो । त्यही बीचमा लकडाउनमा परेका अन्य देशका नागरिकहरु चार्टर फ्लाइटमार्फत बाहिरिन थाले ।

    चार्टर फ्लाइटमार्फत बाहिरिनेमा विदेशी आवासीय सुविधा (पीआर) भएका नेपाली र नेपाली मूलका विदेशीहरु थिए । यसै क्रममा ग्रीन कार्ड होल्डर नेपाली चलचित्रका नायक सरोज खनाल अमेरिका लागेको समाचार प्रकासमा आयो । त्योसंगै अष्ट्रेलियालगायतका नेपालीहरु पनि फर्किए ।

    यसैबीच हङकङका नेपालीहरु फर्कन र फर्काउन तयारी हुन थाल्यो । हङकङ इमिग्रेसनले नेपाललगायत विभिन्न मुलुकमा रहेका हङकङका बासिन्दाको अनलाइन फारममार्फत तथ्यांक लिन थाल्यो । गैर–आवासीय नेपाली संघ (एनआरएनएर) र हङकङ नेपाली महासंघले पनि यसका लागि पहल गर्न थाल्यो ।

    यी दुई संस्थाले पहल गर्नुमा तिनका अध्यक्षद्वय स्वयं लकडाउनमा पर्नु पनि हो । एनआरएनएकी अध्यक्ष राधिका (टीका) गुरुङ बुबा विमारी भएपछि सपरिवार नेपाल गएकी थिइन् । उपचारकै क्रममा बुबाको निधन भएपछि उनी अलमलमा परेकी थिइन् । महासंघका अध्यक्ष टंक राना पनि बुबाको वार्षिकीलगायतको कामका लागि सपरिवार नेपाल गएका थिए ।

    शुरुवात हेर्ने हो भने राधिका गुरुङको पाइला सकरात्मक नै देखिन्छ । उनले लकडाउनमा परेकाहरुको तथ्यांक संकलन गरेर नेपाल सरकारलाई आरएको नियमित उडानको लागि अनुरोध गरेकी थिइन् । अधिकांशसंग आरएको दुईतर्फी टिकट भएकोले नियमति उडान भएको भए राहत  मिल्ने पनि थियो ।

    एनआरएनएको अध्यक्षको नाताले विभिन्न मन्त्रीसंग उनको सम्पर्क पनि थियो । केही समय अघिमात्र हङकङको स्थानीय समस्याका विषयमा मन्त्रीहरुसंग धारावाहिक भेटघाट भएकोले पनि उनलाई सजिलो भएको थियो । त्यसमाथि उनको भाइ रोहण गुरुङ वैदेशिक रोजगार महासंघको निवर्तमान अध्यक्ष हुन् । सत्तासिन नेपाल कम्युनिष्ट पार्टि निकट रोहणको पनि पार्टी नेताहरुसंग निकट सम्बन्ध रहेको छ ।

    अमेरिका र अष्ट्रेलियालगायतका नेपालीलाई फर्काउन सोही देशको सरकारी प्रयास रहे पनि हङकङ सरकारले त्यो स्तरमा प्रयास गरेको थिएन । अरु देशका नेपाली मूलका विदेशी थिए भने हङकङका अधिकांश विदेशमा रहेका नेपाली छन् । विदेशमा रहेका नेपालीलाई नेपाल ल्याएर सुरक्षा दिनु पर्ने प्रसंगमा हङकङका नेपाली आफै नेपाल पुगेका थिए ।

    यस स्थितिमा हङकङलगायतका नेपालीलाई बाहिरिन दिन नीतिगत निर्णय आवश्यक थियो । त्यसका लागि एनआरएनए केन्द्रले पहल गरिरहेको थियो । त्यसमा राधिका गुरुङको प्रयास होस्टेमा हैंसे भएकै हो । त्यसैको प्रतिफल कोभिड–१९ सम्बन्धी नेपालको उच्चस्तरीय संयन्त्रले हङकङ र जापानका पीआर र वर्किङ भिसा भएकालाई बाहिरिन दिने निर्णय गर्यो ।
    बाहिरिन पाउने भए पनि डोमेस्टिक तथा इन्टरनेशनल फ्लाइट बन्द गरिएको छ । यस स्थितिमा हङकङ र जापानका लागि मात्र सेड्युल फ्लाइट संभव थिएन । यसको लागि चार्टर फ्लाइटको विकल्प रहेको थिएन । जुन खर्चको हिसाबले बोझिलो र रिटर्न टिकट प्रयोग गर्न नमिल्ने भयो ।

    हङकङबाट प्यासेन्जर लान नपाइने र दोहोरो उडान समयको भाडा तिर्न पर्ने भएपछि एक उडानका लागि १० घण्टा बुक गर्न आवश्यक पर्छ । आरएको प्रति घण्टा १८,२०० अमेरिकी डलरले १० घण्टाको लागि नेपाली रुपैयाँ लगभग दुई करोड पर्न आउछ । त्यसमा अन्य खर्च पनि जोडिने भएकोले खर्च अरु बढ्ने देखिन्छ ।

    स्थानीय सत्तासिन पार्टी डेमोक्रेटिक एलायन्स फर प्रोगेस एण्ड बेटरमेन्ट अफ हङकङ–डीएबीसंग निकटता रहेकोले महासंघका अध्यक्ष नेपालमा भए पनि पूर्व अध्यक्ष रीता गुरुङ, सल्लाहकार कूलप्रसाद गुरुङलगायत पनि सक्रिय रहेका थिए । यसै क्रममा प्लेन भाडा यात्रु स्वयंले तिरे पनि डीएबीकै संयोजनमा पाकिस्तानको एक फ्लाइट भयो ।

    काठमाडौं भन्दा पाकिस्तान टाढा भए पनि हङकङ डलर ४ हजार भाडा रहेको थियो । डीएबीले संयोजन गर्ने भएपछि लगभग त्यही रकममा काठमाडौंबाट पनि आउन सक्ने आंकलनमा महासंघको टिम उत्साहित रहेको थियो ।

    एकातिर एनआरएनएकी अध्यक्ष र महासंघको टिम लागि रहेको थियो भने रिटर्न टिकट लिएका यात्रुहरुले ट्राभल एजेन्सीलाई पनि पहल गर्न जोड गरिरहेको थियो । करोडौं बजेट लाग्ने र यो काम संघसंस्थाबाट हुन नसक्ने निक्र्योलमा पुगेका यात्रीहरुले ट्राभल एजेन्सीहरुलाई दबाब नै दिइरहेका थिए ।

    ट्राभल एजेन्सीहरुलाई महासंघको त डर थिएन तर एनआरएनएबाट थियो, चार्टर बुक गरेपछि एनआरएनएको अनुरोधमा सेड्युअल फ्लाइट नै पो होला कि भन्ने । त्यो विषयमा राधिका गुरुङसंग सम्पर्क गर्दा हतार नगर्न भनिएको एजेन्सीहरुको दावी रहेको छ ।

    यसै बेला ग्वान्झाउमा स्वास्थ्य सामग्री लिन हिमालय एयरलायन्सको कार्गो चार्टर फ्लाइट हुने समाचार प्रकासमा आयो । त्यसपछि राधिका गुरुङको नियत खराब हुन थालेको देखिन्छ । उनले यात्रुलाई सहुलियतमा राहत दिन खोजेको दावी गर्दै हिमालय एयरलायन्सको लागि हार्बेस्ट मुन ट्राभलसंग लहसिन थालिन् । महासचिव गोकर्णप्रसाद ढकालका अनुसार यस विषयमा संस्थामा कुनै छलफल भएको छैन र बैठकले पारित पनि गरेको छैन ।

    यसका लागि उनका श्रीमान् प्रकाश पुनको मुख्य भूमिका रहेको देखिन्छ । यसलाई पुष्टि हुने गरी पुन स्वयंले फेसबुक स्टाटस अपडेट गरेका थिए । हार्बेस्ट मुनका राम श्रेष्ठ म्यानपावर कम्पनी सञ्चालक पनि हुन् । प्रकाश पुनको पनि पृष्ठभूमि त्यही रहेको छ ।

    हार्बेस्ट मुनसंग राधिका दम्पत्तिको समूह बनेपछिको योजना अनुसार हिमालयले आउदा यात्रु ल्याउने र फर्कदा ग्वान्झाउबाट कार्गो लिएर जाने बन्यो । त्यसलाई अझ सहज बनाउँनका लागि ग्वान्झाउको सामान कन्टेनरबाट हङकङ ल्याएर डाइरेक्ट फ्लाइट गर्नेसम्मको तयारी रहेको थियो । कार्गोका लागि आउने प्लेनले यात्रु पनि ल्याउन पाएपछि त्यसै पनि सस्तो हुने थियो ।
    यसबाट राधिका गुरुङसहितको हार्बेस्ट समूहलाई दोहोरो फाइदा हुने थियो । एकातिर सस्तो भाडामा यात्रु ल्याएपछि सामाजिक काम र अर्कोतिर कार्गोको लागि आएको प्लेनमा यात्रु ल्याएपछि अतिरिक्त दाम ।

    हिमालयको ग्वान्झाउमा कार्गो फ्लाइट हुने थाहा पाएपछि नमस्ते ट्राभलका मालिकसमेत रहेका महासंघका अध्यक्ष टंक रानाले पनि प्रयास गरेको श्रोतले बताएको छ । उनले कोटेसन मागे पनि हङकङ सेक्टरको लागि अरुले नै बुक गरिसकेको भनेर कोटेसन नै दिइएन ।

    राधिका गुरुङले थाङ्नामा सुताएको थाहा पाएपछि हङकङका नेपाली ट्राभल एजेन्सीहरु तातिएर लागे । उनीहरु हङकङ नेपाली ट्राभल एजेन्सी कम्युनिटि भनेर संगठित नै भए । संगठित हुनु अगाडि उनीहरुको पनि छुट्टै कथा छ । आरए चार्टरका लागि हङकङ डलर झण्डै २ मिलियन रकम जुटाउनु पर्ने थियो ।

    शुरुवातमा सनराइजका राजेन्द्र श्रेष्ठले बुक गर्ने र अरुलाई टिकट बिक्रीको आधारमा कमिशन दिने प्रस्ताव गरेका थिए । एयरपोर्टमा प्रत्येक फ्लाइटका दिन यात्रुलाई सेवा दिने नाममा चेकइन काउण्टरमा भीड लाग्ने सब–एजेन्टहरुको पनि टिकट बेच्न पाउनु पर्ने र त्यो वापत कमिसन दिनु पर्ने प्रस्ताव थियो ।

    धेरै पटकको छलफलपछि नेपालीका ८ वटै ट्राभल एजेन्सीले बराबर कमिसन पाउने सहमतिमा कम्युनिटिको जन्म भएको हो । सब–एजेन्टहरुलाई ट्राभल एजेन्सीले नै कमिसन दिनु पर्ने सहमति भएपछि आरएसंग चार्टर फ्लाइटका लागि एमओयू भएको हो ।

    आरएसंग एमओयू भएपछि हङकङमा उडान अनुमतिको लागि आरए क्षेत्रीय प्रबन्धक नवराज उपाध्यायसंगै कम्युनिटि लागी पर्यो । यस समूहलाई नेपालतर्फको काम हार्बेस्ट समूहको कामले सहयोग पुग्यो । उच्च स्तरीय संयन्त्रमार्फत हङकङका नेपालीलाई नेपाल बाहिरिन अनुमति प्राप्त हुन मुख्य काम थियो ।

    हङकङमा ट्राभल एजेन्टले यात्रुबाट रकम संकलन गरेको एभरेष्ट खबरमा समाचार प्रकाशित भए पछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई फुत्कन नदिनका लागि राधिका गुरुङले हार्बेस्टको खाता नं. दिदै रकम जम्मा गर्न फेसबुकमार्फत उर्दी जारी गरिन् । उर्दीसंगै उनले फेक फ्लाइट नं., मिति र समय पनि सार्वजनिक गरिन् । फेक यस अर्थमा कि फ्लाइट नं. सीएडीले उपलब्ध गराउँछ । जब कि त्यो बेलासम्म सीएडीमा हिमालयको आवेदन नै परेको थिएन ।

    हार्बेस्टको खातामा रकम लगाउने उर्दी जारी भएपछि एक किसिमको हंगामा भयो । इमिग्रेसन, हेल्थ डिपार्टमेन्ट, सेक्युरिटी ब्युरो, सीएडी, एयरपोर्ट अथोरिटि जताततै अनगिन्ती नेपालीले फोन र इमेल गर्न थाले, एभरेष्टकोतर्फबाट पनि गरिएको थियो ।

    हार्बेस्ट समूहलाई लाग्यो हङकङको अनुमति लिने काम नेपाल सरकारको सिफारिसमा सजिलै हुन्छ । त्यसै अनुरुपको स्टाटस राधिका गुरुङले अपडेट गरेकी थिइन् । नेपालको कर्मचारीको ढिलासुस्तीले त्यो काम अघि बढेन । हङकङ इमिग्रेसनको इमेल पत्रले पनि त्यही पुष्टि गर्छ ।

    ६ दिन अघिको इमेल अनुसार नेपाल स्थित चीनियाँ दूतावास, चीनको परराष्ट्र मन्त्रालय र सिभिल एभियसन डिपार्टमेन्ट (सीएडी) हङकङमा हिमालयको उडानको लागि निवेदन वा सिफारिस केही पनि आएको थिएन । नेपाली कन्सुल किरणकुमार गुरुङले पनि नेपाल सरकारकोतर्फबाट कुनै पत्राचार नभएको पुष्टि गरेको थिए ।

    हिमालयको आवेदन आइपुगेपछि विभिन्न डिपार्टमेन्टले आरए, कम्युनिटिलगायतसंग परामर्श गर्यो । स्वभाविक रुपले हङकङ सेड्युल फ्लाइट भइरहेको आरए र हङकङमै दर्ता भएका ट्राभलका समूहलाई सरकारी डिपार्टमेन्टले विश्वास गर्ने भयो ।

    विभिन्न प्रक्रिया चलिरहेको थियो, हार्बेस्टकोतर्फबाट प्रकाश पुनले एक स्टाटस अपडेट गरे । उक्त स्टाटसमा हार्बेस्ट, प्रकाश पुन, राधिका गुरुङ, राम श्रेष्ठको विगतका ठगी काण्ड लगायतका विषयमा कमेन्ट्सहरु देखिए । ती कमेन्टका आधारमा अरुले स्टाटस अपडेट गरे ।

    उक्त गतिविधिले हङकङको सरकारी निकायमा हिमालय एयरलायन्सप्रति नकरात्मक दृष्टिकोण बन्यो जसको कारण उक्त एयरलायन्सले चार्टर फ्लाइटको अनुमति प्राप्त गर्न सकेन । योसंगै लकडाउनमा परेका हङकङका नेपालीका लागि हिमालयको चार्टर फ्लाइटको च्याप्टर क्लोज भएको छ ।

    यो कथाभित्रको उपकथा यस्तो छः जब हिमालयको चार्टर फ्लाइटको तयारी हार्बेस्ट ट्राभलले गर्यो, उसले अनेक तिकडम शुरु गरेको देखिन्छ । हार्बेस्टले सबै भन्दा पहिला एनआरएनएकी अध्यक्ष राधिका गुरुङलाई प्रभावमा पार्यो । किन कि शुरुवातमा उनको नियत खराब देखिएको थिएन ।

    प्रभावमा नपरेको भए हङकङका ट्राभलहरु (कम्युनिटि)को सम्पर्कमा रहेकी उनले सहुलियत टिकट दरमा उडानको लागि उनीहरुमार्फत नै प्रयास गर्नु पर्ने थियो । हिमालय चार्टर गर्दा सस्तो पर्ने देखिए त्यसका लागि कम्युनिटिमार्फत पहल गर्नु पर्ने थियो । तर उनी त्यसो नगरी कम्युनिटिसंग प्रतिस्पर्धा गर्नेतर्फ लागिन् ।

    हार्बेस्ट समूहले मन्त्रालयलाईसमेत प्रभाव पारेको देखिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई सहजिकरणको लागि लेखेको पत्रमा हचुवाको तालमा उडान मिति तोकिएको छ । मन्त्रालयले पत्र लेख्न अघि उडान हुने मितिको भेरिफाइ गरेको देखिन्न । अनुमति नै नपाएको दिन उडान हुने भनेर उल्लेख गरिएको छ ।

    हार्बेस्टले आरएका केही कर्मचारीमार्फत उपल्लो तहसम्म प्रभाव पारेको देखिन्छ । हङकङ बसेर भर्खरै फर्केका सुमन वैद्य, प्रवीण राजभण्डारीलगायतमार्फतको प्रभावले कम्युनिटिसंग एमओयू गर्न ढिलाई भएको श्रोतको दावी छ । कोटेसन दिन, कोटेसनका टर्म्स एण्ड कण्डिसनमा झुलाउनेलगायतका कार्यमा भएको ढिलाईले त्यसैलाई पुष्टि गर्छ ।

    एमओयू भएर हङकङकोतर्फबाट सम्पूर्ण काम सकिए पनि आरएले टिकट इस्यू गर्न ढिलो गर्यो । १८ मेका दिन एमओयूको काम सकिएको थियो, उच्चस्तरीय समितिले निर्णय गरेर जिल्ला–जिल्लामा चार्टर फ्लाइटका यात्रुलाई सवारी साधनका लागि समन्वय गरिदिन पत्राचार गरिसकेको थियो ।

    यस अवस्थामा आरए व्यवस्थापन हिमालयले अनुमति पाउने र फ्लाइट डिटेल आउने पर्खेर बस्यो । हिजो शुक्रबार हार्बेस्टको म्यासेज आउदा कार्यालय बन्द भइसकेको थियो । आज शनिबार कार्यालय बन्द भएपछि आइतबारको फ्लाइट हुने संभावना सकियो । आईतबार हङकङका कार्यालय बन्द रहन्छन् ।

    कम्युनिटिले २७ मेको लागि तयारी गरिरहेकोले आशा गरौं, त्यो दिन पहिलो चार्टर फ्लाइट हुने छ । अब आरएको विकल्प नरहेको र हङकङको स्थितिलाई हेर्दा अर्को एक फ्लाइटसम्म हुने संभावना रहेकोले दोश्रो फ्लाइटको तयारी शुरु गरेको कम्युनिटिले जनाएको छ ।

    अर्को उपकथा स्थानीय राजनीतिक पार्टीको । लकडाउनमा परेका नेपालीलाई ल्याउनका लागि पहल गर्न संयोजन गर्ने डीएबी नेपाली कन्सुलेट गएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि डेमोक्रेटिक पार्टीकोतर्फबाट याउचिममोङ जिल्लाका नवनिर्वाचित पार्षद् लियो चु र फ्रान्क होसहितको टोली पनि गएको थियो ।

    यहाँका राजनीतिक पार्टी पनि लकडाउनमा परेकालाई उद्दार गरेको जस लिएर आगामी अक्टुबरमा हुने लेजिस्लेटिभ काउन्सिलको चुनावमा नेपाली मत तान्ने ध्याउन्नमा छन् । किन कि लकडाउनमा परेकाहरु अधिकांश मतदाता रहेका छन् ।

  • कमेन्ट गर्नुहोस्