• चार्टर फ्लाइटः समाचारभित्रका समाचार

  •  

    मे ३० । नेपालको लकडाउनमा परेका हङकङका नेपालीलाई चार्टर फ्लाइटमार्फत उडाउन प्रतिस्पर्धामा रहेका दुवै समूहका तीन प्लेन जुन २ को बिहान ३ बजे करिव १५ मिनेटको फरकमा हङकङ ओर्लने निश्चित भएको छ ।

    दुवै समूहले प्यासेन्जरलाई टिकट उपलब्ध गराएकोले उडान निश्चित भएको हो । यस भन्दा अघि दुवै समूहले पटक–पटक उडानको मिति सार्वजनिक गरेको भए पनि टिकट जारी हुन सकेको थिएन ।

    काठमाडौंस्थित हार्भेस्ट मुन ट्राभलले स्वास्थ्य सामग्री लिन ग्वान्झाउ आउने हिमालय एयरलायन्सको काग्रो चार्टर प्लेनमा नै प्यासेन्जर उडाउन गरेको प्रयास असफल भएपछि नेपाल एयरलायन्स (आरए)कै न्यारो बडी चार्टर गरेको छ ।

    हार्भेस्टको दुई न्यारो बडी (एयरबस ए३२०–२००) र हङकङ नेपाली ट्राभल एजेन्ट कम्युनिटिको एक वाइड बडी (एयरबस ए३३०–२००) रहने छ । हार्भेस्टको टिकट दर रु.८५,००० रहेको छ भने कम्युनिटिको हङकङ डलर ६,५८० ।

    यो त भयो समाचार, समाचारभित्रको समाचार यस्तो छः

    यस भन्दा अगाडिको समाचारमा लेखिएको थियो कि आरएको उडानमा अवरोध पुर्याएर हिमालयको उडान गराउँन आरएकै कर्मचारीलगायत लागेका छन् । उक्त समाचारलाई पुष्टि गर्ने तथ्य हार्भेस्टको इन्ट्रि आरएमा भएपछि देखिएको छ । यसबाट के भन्छ सकिन्छ भने आरए धरायसी बनाउँने अरु कोही नभएर त्यही भित्रै छन् ।

    जब चार्टर फ्लाइटको तयारी हुन थाल्यो, कम्युनिटिले आरएसंग कोटेसन माग्यो । त्यो बेलाको कोटेसन अनुसार न्यारो बडीको भाडा प्रति घण्टा ११,६२० अमेरिकी डलर रहेको थियो । तर अहिले हार्भेस्टलाई प्रति घण्टा ८,७४० मा दिइएको छ । उसले ९ घण्टा ४५ मिनेटको लागि बुक गरेको छ ।

    यसलाई हेर्दा अहिलेको सटही दर अनुसार दुईवटा न्यारो बडी चार्टर फ्लाइटमा नेपाल एयरलायन्सलाई झण्डै ६७ लाख ४० हजार घाटा लागेको छ । क्षेत्रीय प्रबन्धक नवराज उपाध्यायले भने नयाँ रेट हार्भेस्टको लागिमात्र नभएर जो कोहीको लागि रहेको बताएका छन् ।

    बजारको मूल्य माग र पूर्तिमा भर पर्छ । कम्युनिटिलाई कोटेसनमा दिइएकै (वाइड बडी प्रति घण्टा १८,१०० अमेरिकी डलर) दरमा उडान हुन गइरहेको छ भने घटाउनु पर्ने आवश्यकता थिएन ।

    सबैलाई थाहा भएकै हो कि चार्टर फ्लाइट यो भन्दा अघि नै भइसक्नु पर्ने हो । ट्राभलले भनेकैलाई आधार मान्ने हो भने त दुई हप्ता अघि नै र हङकङ विमानस्थलको सूचना अनुसार नै पनि एक हप्ता अघि फ्लाइट हुनु पर्ने थियो । तर भएन, यसभित्र पनि अर्को समाचार रहेको छ ।

    कम्युनिटि समूह हङकङमा सक्रिय रह्यो । यताको सबै काम पूरा गर्यो तर नेपालमा शून्य, हार्भेस्ट समूहको ठ्याक्क उल्टो । कम्युनिटि समूह आफै लागेको थियो भने हार्भेस्ट समूह हङकङकाे लागि नेपाल सरकारको विभिन्न निकायलाई परिचालन गरिरहेको थियो ।

    कम्युनिटिलाई लाग्यो हङकङमा अनुमति पाएपछि नेपाल त केही होइन, हार्भेस्टले सोच्यो नेपालको सरकारी निकाय नै परिचालन गरिएको छ हङकङमा कसो नहोला त ! नेपालको काम गर्ने तरिका नै के छ भने मन्त्रालय होस् कि विभागमा, आफै फाइल बोकेर कुद्नुपर्छ । फाइलसंगै के गर्नु पर्छ त्यो त सबैलाई थाहा भएकै हो । कम्युनिटिको त्यो गर्ने मान्छे भर पर्दो भएन ।

    हार्भेस्टले सोच्यो नेपाल सरकारले भने पछि हङकङको नेपाल सरकार परिचालन भइहाल्छ । नेपालको सरकार भए पनि हङकङमा हो नि ! फाइलसंगै के गर्नु पर्छ, त्यो चाहिँ नगरे पछि हुन्छ त ? त्यही पनि लाखौंको कारोबारमा, कम्तिमा इशारा त हुन पर्यो नि !

    नेपाल सरकारबाट हङकङ सरकारको सम्बन्धित निकायमा फायइल नै पुगेन । नेपालमाजस्तो फाइल बोक्ने नै चाहिँ नभए पनि कम्प्युटरको माउस क्लिक गर्ने र फोन घुमाउने त कोही चाहिन्थ्यो ।

    अन्तिममा कम्युनिटिका लागि नेपालमा रहेका जगत शाह कुदे फाइल बोकेर मन्त्रालय र विभाग अनि हार्भेस्टले इशारा गर्यो हङकङतिर मार्केटिङ एजेन्टमार्फत । कार्यकाल सकेर फर्कन लागेका कन्सुल जनरलले कुरो बुझे । यति भएपछि दुवै समूहको फ्लाइट नहुने त कुरै भएन ।

  • कमेन्ट गर्नुहोस्