• फ्रन्टलाइनमा कार्यरत एक डाक्टरको अनुभव

  •  

    सुरुवाती दिनहरू
    अप्रिल ८ तारिक बिहान उठ्दा जीउ यसरी दुखेको थियो कि मानौं कसैले लौरोले जीउभरी कुटेको हो । ज्वरो चाहिं मध्यम थियो । लक्षण यसरी शुरु भएको थियो ।

    कोरोनाको बिरामीको चाप अत्यधिक भएको कारण सर्जरी विभागबाट हामी कतिपय डाक्टरहरुलाई मेडिसिन विभागतर्फ खटाइएको थियो । मेरो पोष्टिङ यस्तो वार्डमा प¥यो जहाँ केही बिरामी छाडेर अधिकांश कोभिड–१९ (चलनचल्तीको भाषामा ‘कोरोना’) का बिरामी थिए । म पाँच दिनको शिफ्ट सकेर बिदामा थिएँ । दुई दिनपछि काममा जानुपर्ने थियो । सामान्य दिन हुन्थ्यो भने म आज आफ्नो आउँदो रातिको शिफ्टको लागि भनेर खाना तयार गर्नेतर्फ लाग्ने दिन थियो । बेलायतको जिन्दगी होस् वा जहाँ जाउँ म आफ्नो खाना आफैं बनाएर खाने गर्छु । पकाउन अल्छी लाग्दैन ।

    दिनभरी शरीर दुखिरह्यो, हल्का ज्वरो आइरह्यो । सामान्य दिनझैं रातको खाना खाएँ । सुत्ने बेला दुईवटा पारासिटामोल खाएँ । राति चाहिं अझ गाह्रो भयो । ओढ्ने ओढ्यो चिटचिट पसिना आउने, ओढ्ने फाल्यो शरीर काम्ने (जाडो हुने) ! यो क्रम दुई घण्टा चलिरह्यो, अनि भुसुक्क निदाएछु ।

    अर्काे दिन ९ तारिक मैले सर्जरी र मेडिसिन दुवैतर्फका जनरल म्यानेजरहरुलाई आफ्नो स्वास्थ्यबारे खबर गरें । सर्जरी विभागका म्यानेजरले मेरो थ्रोट र नेसल स्वाब (घाँटी र नाकको नमूना) संकलन र परीक्षण गर्ने व्यवस्था मिलाइदिए । रिपोर्ट नआइञ्जेल काममा नजानु भन्ने सन्देश पाएँ । हरेक दिन जसो आमा र दिदीसँग कुरा हुन्छ मेरो । आज फोनमा बोल्दा आमाले ‘आज आवाज अलिक रुघा लागेको जस्तो सुनियो’ भनेर भन्नुभयो । मैले चाहिं ‘त्यस्तो केही होइन’ भनें । मेरोबारे बढी चिन्ता लिन्छन् भनेर म बारे ख्याल गर्ने र माया गर्नेहरुलाई आफ्नो समस्याबारे त्यति भन्दिनँ । पहिलेबाट नै त्यस्तै स्वभावको छु । आमाको मेरोबारे बुझाई त्यही नै हो । अलिक बढी नै दोहोर्याएर केरकार गर्नु भएपछि ‘हल्का ज्वरो छ’ मात्र भनें ।

    मेरो कुरा आमाले विश्वास गर्नु भए पो त ! हुनतः मलाई पठाइने वार्डमा ‘कस्तो बिरामी हुन्छन् ?’ भनेर सोध्नुभएको थियो । उहाँको जिज्ञासा चाहिं कोरोना सङ्क्रमित बिरामीबारे थियो । मैले म काम गर्ने वार्डको बिरामीहरु कस्ता हुनेछन् भनेर पनि भनेको थिइनँ । तथापि, त्यस वार्डमा कस्ता बिरामी हुनेछन् भनेर मलाई पहिल्यै थाहा थियो । आमाले बेसार, अदुवा, ल्वाङ, मरिच र नुन राखेर पानी उमालेर पिउनु भन्नुभयो । मैले राति त्यसै गरें । अब हरेक दिन मेरो दुईवटा काम हुन गयो– स्वास्थ्यबारे हरेक दिनको अपडेट दिनु र बेसार लगायत मिलाएको तातोपानी पिउनु । लगभग दुई हप्ता यो तरल पदार्थ रातिको मेरो साथी हुन गयो । आमाको माध्यमद्वारा बुवालाई पनि मेरो स्वास्थ्यबारे जानकारी हुने नै भयो ।

    ९ तारिकको रात पनि अघिल्लो रातझैं पसिना आउने र जाडो हुने भइरह्यो । पारासिटामोल खाएकै थिएँ । १० तारिकको बिहान उठ्दा शरीर दुख्न भने अलिक कम थियो, ज्वरो चाहिं थियो । नमूना संकलन गर्ने समयानुसार नै गएर नमूना दिएँ ।

    बीचका दिनहरू
    काम थालेदेखि नै म अस्पतालको नजिकै कर्मचारीहरुको सुविधाको लागि व्यवस्था गरिएको क्वार्टरमा बस्ने गरेको छु । अहिले अफ्रिकातिरबाट आएका नर्सहरु छिमेकी छन् । पहिले केरला र फिलिपिन्सका नर्सहरु थिए ।

    पहिलेको टोली बाहिर कतै घर खोजेर सरेपछि यो टोली आएको हो । हाम्रो कोठाहरुमा ट्वाइलेट–बाथरुम अट्याच छन्, किचन र डाइनिङ चाहिं साझा । संस्कार र संस्कृति भिन्न भए पनि उनीहरु मिलनसार नै छन् । उनीहरुलाई संक्रमण नसरोस् भनेर म सुरुवातदेखि होसियार थिएँ । सकभर उनीहरु किचनमा नहुँदा खाना खान जान्थें, र म हुँदा आईहाले पनि ईयरफोन कानमा हालेर केही गीत सुनेजसो गरेर आफूलाई व्यस्त भएझैं गरेर बोल्दिनथें ।

    जिउ दुखाई कम हुँदै गएको थियो, हल्का ज्वरो बाँकी थियो । तर, नयाँ समस्या– घाँटी दुख्न शुरु भयो । हल्का घाँटी दुखाई शुरु भएको दोस्रो र तेस्रो दिन असह्य पीडा भयो । थुक निल्दा नै दुख्ने घाँटी, खाना र पानी निल्दा पीडा झनै बढ्थ्यो । नमूना लिएको चौथो दिन, अप्रिल १३ तारिक अकुपेशनल हेल्थबाट फोन आयो । मलाई कोरोनाभाइरसको संक्रमण भएको खबर दिइयो । मैले आफूलाई अचम्म नलागेको कुरा बताएँ । किनकि मेरो लक्षण अनुसार मलाई कोभिड–१९ भएको लख काटिसकेको थिएँ । मैले काममा कहिले फर्किन सक्छु भनेर जिज्ञासा राख्दा, लक्षण शुरु भएको सातौं दिनमा कुनै लक्षण नभए काममा जानसक्ने भनेर जानकारी पाएँ ।

    अन्तका दिनहरू
    अप्रिल १५ तिर घाँटीको समस्या कम हुँदै गएको आभास मिल्यो । तर, फेरि अर्काे समस्या थपियो– स्वाद हराउँदै गएको महसुस भयो । अर्काे दिन त नुनिलो र गुलियो बाहेक अरु स्वाद नै थाहा नपाउने भएँ । केही पनि कुराको गन्ध थाहा नहुने भयो । खाना बनाउँदा मरमसला लगाएर पकाउने बानी छ । त्यतिका मसला लगाएर पकाएको तरकारीको स्वाद नै थाहा नपाउने भइयो । तथापि, आफ्नो स्वास्थ्यको ख्याल राख्दै सन्तुलित आहार खान कुनै कमी गरिनँ । हरेक दिन सुप बनाउँथे, आफ्नो शरीरलाई तरल पदार्थ पनि मज्जाले चाहिन्छ भन्ने हेक्का राखेर सुपमा निक्कै बल गर्थें ।

    स्वाद पनि बिस्तारै थाहा पाउने हुँदै गएँ, अनि १८ अप्रिलको दिन आफूलाई पूर्ण स्वस्थ्य भएको महसुस गर्दै १९ तारिकको दिनबाट काममा फर्किएँ । कोभिड–१९ सँग लगभग ११ दिनको पौंठेजोरी खेलेर स्वस्थ भएर काममा फर्किन पाउँदा मन चङ्गा भएको थियो । यो रोगको अर्काे मुख्य लक्षण खोकी लाग्ला भन्ने खुब चिन्ता थियो । आफू बस्ने एकोमोडेशनको अरुलाई सर्ला भन्ने चिन्ता मूल थियो । किनकि, खोक्दा नदेखिने स–साना छिटाहरु निस्कन्छन् र यसको माध्यमद्वारा भाइरस छिटो सर्न सक्छ ।

    मेरो कर्मस्थल
    नयाँ वार्डमा खटाइएको पहिलो दिन सबै नौलो थियो । सँगै काम गर्ने टिम नै नयाँ थियो । विश्व स्वाथ्य संगठनले भने अनुसारको गाउन, मास्क, पञ्जा, टोपी, भाइजर र चश्मा थिए । दिन बित्दै जाँदा ती कम हुँदै गए । पीपीईको पूरै सेट नै हुन्नथ्यो । नर्स ईन्चार्जसँग यसबारे गुनासो गर्थें, तर उनीहरु पनि त केही गर्नसक्ने अवस्थामा थिएनन् ।

    एक हदसम्म गुनासो त गर्न सकिन्थ्यो, तर पीपीई छैन भनेर बिरामी नै हेर्न सक्दिनँ भन्न सक्ने अवस्थामा म थिइनँ । कमसेकम मेरो स्वभाव त्यस्तो छैन । सुन्दा बनावटी लाग्ला, म मेरो मनको आनन्दको लागि पनि आफ्नो काम दत्तचित्त भएर गर्ने गर्छु । कतिपय अवस्थामा बिरामीको सेवाको लागि संक्रमित बिरामीहरुको कोठामा छिर्दा उपयुक्त सुरक्षा सामग्री प्रयोग गरिएन होला । मेरो हरेक शिफ्टमा कोही न कोही कोरोना सङ्क्रमित बिरामी बितेका हुन्थे नै । उनीहरुको मृत्युको प्रमाणीकरण गर्नुपर्ने डाक्टरको काम हुन्छ, त्यो काम पनि गर्नुपथ्र्याे । यो दैनिक कर्म हुन थालेको थियो ।

    बिरामी हेरेर आइसकेपछि झोल साबुन पानीले राम्रोसँग दोहोर्याई–तेहर्याई हात धुने गथ्र्याैं । स्यानिटाइजरले पनि हात सफा गर्थ्यौं । यसो गर्नाले हात एकदमै फुस्रो हुन्छ ।

    मेरो मनोभाव
    शुरुको दिन त त्यस्तो केही लागेन तर तेस्रो/चौथो दिन पुग्दा चाहिं मलाई कोरोना संक्रमण भएको हो भन्नेमा पक्का नै भएको थिएँ । ती ११ दिनमा जम्मा–जम्मी एकपटक आफू बस्ने बिल्डिङ बाहिर निस्किएँ, परीक्षणको लागि नमूना दिन भनेर । अरु दिन किचन जानू बाहेक अधिकांश समय आफ्नो कोठाको चार दिवारभित्र बिताएँ । शरीर दुख्न छोडेसँगै योगा गर्न थालें । धेरै पहिलेबाट योगा म्याट किनेर ल्याएर राखेको छु, सामान्यतया समयले भ्याएसम्म हप्ताको ४-५ दिन योगा गर्ने गरेको छु ।

    यो कोरोनाको महामारी नभएको भए म अप्रिल १९ तारिकमा विवाह बन्धनमा बाँधिने कुरा पक्कापक्की थियो । १९ दिनको छुट्टी मिलाएर हङकङ जानको लागि अप्रिल १५ तारिकबाट बिदा मिलाएको थिएँ, हवाईजहाजको टिकट पनि काटेको थिएँ । लामो छुट्टी मिलाउनको लागि अरु साथीहरुसँग शिफ्ट साट्नुपरेको थियो । लामो छुट्टी मिलाउन आराम नगरी धेरै दिन काम गर्नुपरेको थियो । यो महामारी आएपछि अस्पताल प्रशासनले नयाँ बिदा स्वीकृत गर्न छोड्यो । तर, पहिल्यै स्वीकृत भएको मेरो बिदा हुनाले म अप्रिल १५ तारिकदेखि बिदा बस्न पनि सक्थें । यो महामारीको बेला सेवा गर्न छोडेर छुट्टी बस्न मनले पनि मानेन । एकातर्फ, अस्पतालमा कोरोनाको धेरै बिरामी भर्ना भइरहेका थिए भने अर्काेतर्फ काममा साथीहरु पनि बिरामी भएर आइसोलेसनमा बसेका थिए । यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरुको ठूलो कमी हुन थालेको अवस्था थियो ।

    आमा, दिदी र हुनेवाला जीवनसाथी पनि म आइसोलेसनमा बस्न थालेदेखि नै चिन्तामा भएको थाहा हुन्थ्यो । दिदी चाहिं यूकेमा नै भएको हुनाले मेरो कोरोना संक्रमणबारे भन्ने विचार आयो । त्यो पनि हरेक दिन “कस्तो छस् ? खाना खाइस् कि खाइनस् ? कोरोना जाँच किन नगराएको ?” भन्ने जस्तो प्रश्न सोधेर आमाले झैं केरकार गर्नाले भन्ने विचार गरें । हुनतः आमा र हुनेवाला जीवनसाथीले पनि त्यही कुरा सोध्नुहुन्थ्यो, तर उहाँहरुलाई झनै चिन्ता बढ्ला भनेर भनिनँ । पोजिटिभ रिपोर्ट आएको २-३ दिनपछि दिदीलाई चाहिं यो कुरा सुनाएँ, अनि आमालाई यो खबर नचुहाउन कडा उर्दी दिएँ । यसो गर्नाले साह्रो–गाह्रो परे दिदी–भिनाजुलाई आउन सहज हुन्थ्यो । हङकङतिरका दुई जनालाई त काममा फर्किएको हप्ता दिनपछि मात्र पो मलाई कोरोना संक्रमण भएकोबारे भनें । त्यसपछिको दिनमा बिस्तारै नजिकका आफन्तजनहरुलाई पनि थाहा भयो ।

    घाँटी दुखे पनि वा स्वाद हराउँदा पनि मैले सन्तुलित आहार र स्वस्थ जीवनको रुटिन जारी राखें । हरेक दिन ८-९ घण्टा नियमित सुत्थें, योगा गर्थें, बेसार र अरु जडिबुटी मिसाएर उमालेको पानी पिउँथें, झ्यालको पर्दा खोलेर घाममा बस्थें, प्रशस्त पानी पिउँथें र फलफूल/सागसब्जी खान्थें । सङ्गीत सुन्नु र युट्युब हेर्नू त बसिबियाँलो छँदै थियो । अनलाइन समाचारहरु पढेर पनि समय ब्यतित गरियो । मनमा नकारात्मक कुरा कहिल्यै आएन, आउन दिइनँ ।

    हरेक दिन संसारभर मात्र होइन बेलायतमा नै पनि हजारौं मान्छेको ज्यान गएको समाचार आएर भयावह स्थिति हुँदा पनि मेरो मनमा कोरोनाको कारण मृत्युको भय कहिल्यै आएन । यसलाई सजिलै पराजित गर्न सक्छु भन्ने आत्मबल बढ्दै गयो । यो आत्मबल भन्ने कुरा पनि ठूलो हुँदो रहेछ, परेर थाहा हुने रहेछ । नजिकका आफन्तजनको साथ र दृढ ईच्छाशक्तिको कमाल जो छ ! धन्य छु यसको कारण अस्पताल भर्ना हुनु परेन  ।

    कोरोनाले उदाङ्गो पारेको परिदृश्य
    धनी र गरिबबीचको खाडल बढिरहेको अवस्थामा कोरोनाको महामारीले विश्वलाई च्यापेसँगै त्यो खाल्डो झनै स्पष्ट भएको छ । मुठ्ठीभर पूँजीपतिहरुले चलाएको यो विश्व अर्थतन्त्र एक यथार्थ हो । त्यसमाथि केही वर्षदेखि दक्षिणपन्थ हावी भएको विश्व राजनीति छ । लकडाउन लगाउन नै रोग फैलिनबाट रोक्नको लागि एक अचुक उपाय हो भनेर जान्दा–जान्दै लकडाउन गर्न ढिलो गरियो । राजनीतिमा प्रभाव राख्ने पूँजीपतिहरुको व्यापारमा घाटा हुने भयले ढिलो गरी गरिएको लकडाउनको कारण यो महामारीको डढेलो फैलिसकेको थियो । अहिले त्यसको पुष्टि हुँदैछ ।

    मानवको ज्यानभन्दा पैसा ठूलो जस्तो अवस्था देखियो । संसारभर पीपीई जस्ता सुरक्षा सामग्री नपाएर कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको ज्यान गइरह्यो । अविकसित मुलुकहरुको त अवस्था नाजुक थियो नै, विकसित भनिएका युरोप र अमेरिकामा पनि समस्या फरक थिएन । स्वास्थ्य कर्मचारीहरु ‘पीपीई चाहियो’ भनेर हारगुहार गरिरहेका थिए, तर उनीहरुको रोदन सुन्न सरोकारवालाहरुलाई फुर्सद थिएन । बरु, स्वास्थ्यकर्मीहरुको सेवाको सम्मानको लागि भन्दै संसारभर कतै थपडी मार्ने, कतै घण्टी बजाउने, कतै मैनबत्ती बाल्ने, कतै हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने र फाइटर प्लेन उडाउने कामहरु सरकारको निर्देशनमा भए । यी स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन छोडेर भावनामा बगाउने पपुलिष्ट कामहरु थिए । यस्तो काम अझै जारी छ ।

    पक्कै पनि यसको शुरुवात चीनमा भएको हो । आजको आधुनिक समाजमा अझै खुल्न हिच्किचाउने चीनले यो रोगको शुरुवाती दिनहरुमा विश्वबाट लुकाएको कुराहरु निस्कँदैछ । यो रोगबारे चिनियाँ सामाजिक सञ्जालमा खबर दिने डाक्टरलाई प्रहरी प्रशासन लगाएर धम्काउने काम भयो । यो सरासर गलत थियो । शुरुवातमा नै यस रोगको फैलावट रोक्नु र विश्वलाई यसको खतराबारे सही सूचना दिनु भूमण्डलीकरणको आजको युगमा उसको दायित्व हुन्थ्यो, जसमा ऊ नराम्ररी चुक्यो ।

    दक्षिणपन्थी ‘साँढे’ मा सवार संयुक्त राज्य अमेरिकाका महामहिम ट्रम्पले शुरुका दिनमा कोरोनालाई खेलाँचीको रुपमा लिए । आवश्यक तयारी गर्नबाट चुके । अमेरिकी जनता अहिले यसको चपेटामा परेका छन्, त्यहाँ दैनिक हजारौं मानिस मर्दैछन्, त्यति नै संख्यामा बिरामीको संख्या बढ्दो छ । ट्रम्प चाहिं पपुलिज्मको नशा चढाउनको लागि अहिले आएर चीनले यो भाइरस ल्याबमा बनाएर संसारमा फैलाएको भनेर हाँस्यास्पद हौवा पिट्दैछन् ! कहिले यसलाई ‘वुहान भाइरस’ भन्छन् त कहिले ‘चाईनिज भाइरस’ । यी अरबपति राष्ट्रपतिलाई जे–जसो तिकडम गरेर भए पनि आशन्न राष्ट्रपति चुनाव जितेर आफ्नो दोस्रो कार्यकाल पक्का गर्ने धुन मात्र छ । यिनलाई आफ्नो जनता अकालमा कोरोनाको शिकार हुनुपरेकोमा कुनै चिन्ता नै छैन । यो भाइरसको उपचार गर्न डिटोल जस्ता एन्टिसेप्टिक सुईको माध्यमद्वारा शरीरमा दिनुपर्छ भन्ने जस्ता शरीरलाई नै खतरा हुने विज्ञानले पनि प्रमाणित नगरेको उपाय सुझाउँछन् ! अहिले आफ्नो गल्ती मानेर प्रायश्चित गर्नु र माफ माग्नु अनि यस महामारीलाई रोक्नको लागि कदम चाल्न छोडेर अझ पत्रकार र उनका विरोधीहरुको उछितो काड्नुमा नै उनको दिनचर्या बितेको छ । ब्राजिलियन राष्ट्रपति जायर बोल्सानारो, भारतीय प्रम मोदी आदि यसैको सिको गर्न तल्लिन छन् । दक्षिण अमेरिकामा ब्राजिल सबैभन्दा नराम्ररी प्रभावित छ जहाँ हरेक दिन सयौंले ज्यान गुमाउँदैछन् । अनि भारतमा यो संख्या दिनानुदिन बढ्दो छ ।

    गरीबको कोही नहुने रहेछ भनेर प्रमाणित हुँदैछ । भारत र खाडी देशहरुमा आफ्नो दश नङ्ग्रा खियाई पैसा कमाएर नेपाल पठाई नेपालको अर्थतन्त्रमा प्रमुख योगदान दिने नागरिकहरुलाई सरकारले उचित व्यवस्थापन गर्न हेलचेक्य्राईं गरिरहेको छ । हिंडेर वा धेरै दुःख गरेर सिमानामा नै आइपुगेका आफ्ना नागरिकलाई क्वारेन्टाइनको उचित व्यवस्था गरेर, निश्चित समय राखेर, कोरोनाको जाँच गरी स्वस्थ व्यक्तिलाई घरसम्म पुर्याउने र रोगबाट पीडितलाई उचित उपचार गर्नु सरकारको दायित्व हुन जान्छ । खाडी मुलुकमा दुःख पाएका आफ्ना नागरिकलाई चार्टर फ्लाईट गरेर भए पनि देश फर्काउनु सरकारको काम हो । सरकार देखिने र सुनिने भनेको संकटको बेला नै हो । सरकारको मूल्यांकन संकटको बेला उसले गर्ने निर्णयहरुबाट नै हुन्छ । आशा गरौं यी कामहरु चाँडै हुनेछन् । सचेत जनताले पनि सामाजिक सञ्जालमा यो महामारीसम्बन्धी अनर्गल प्रचार गर्नुहुन्न । नचाहिंदो अनर्गल प्रचारले समाजमा नकारात्मक असर पर्दछ ।

    यो मेरो कथा एक प्रतिनिधि घटना मात्र हो । यस्तै कथा धेरै स्वास्थ्यकर्मीको छ । लाखौं यस्ता छन् जो आफ्नो कार्यक्षेत्रमा हुँदा संक्रमणमा परेका छन् । कतिपय यो रोगको कारण ज्यान गुमाउन पुगेका छन् । धेरैजना आफू संक्रमणको चपेटामा परेर निको भई आफ्नो कर्मक्षेत्रमा फर्किएर बिरामीको सेवामा लागेका छन् । निष्ठापूर्वक मानव सेवामा समर्पित हुँदाहुँदै आफ्नो ज्यान गुमाउन पुगेका हजारौं स्वास्थ्य कर्मचारीहरुप्रति श्रद्धापूर्वक नमन गर्न चाहन्छु ।

    मानव र प्रकृतिको बीच सामञ्जस्यता
    पछिल्लो चरणमा आएको कोभिड–१९, ईबोला भाइरस लगायत महामारी चमेरा लगायत जनावरबाट फैलिएको प्रमाणहरु वैज्ञानिकहरुले दिएका छन् । मानव जातिले अमूल्य प्राकृतिक स्रोत–साधनमाथि असीमित दोहन गर्नाले नै अवस्था यहाँसम्म आइपुगेको हो । यो महामारीबाट मुक्त भएपछिका दिनहरुमा प्रकृतिप्रति हाम्रो सम्मान बढ्ने आशा गरौं । मानव लोभकै कारण अप्राकृतिक क्रियाकलापहरुको कारण बारम्बार मानव सभ्यताले यसको मूल्य चुकाएको छ । विश्लेषकहरुले प्रि–कोराना (कोराना–पूर्व) र पोष्ट–कोरोना (कोरोना–पछि) भनेर संसारको इतिहास लेखिनेछ भनेर पनि भन्न थालेका छन् ।

    विश्व नै लगभग लकडाउनमा रहेको अवस्थामा हामीमध्ये धेरैले गहिरिएर प्रकृतिको महताबारे सोच्ने मौका अवश्य पाएका छौं । महामारीको कारण कतिपय हामीले आफ्नो परिवारसँग लामो समय सँगै बसेर परिवारको महत्वबारे फरक तरिकाले बुझ्ने मौका पाएका छौं । आजको व्यस्त दुनियाँमा यस्तो मौका यसअघि शायदै हामीले पाएका थियौं । के यो कोरोनाको महासंकट सकिएपछि हामी यो अघि जस्तो थियौं त्यस्तै रहौंला वा फरक हुनेछौं ? प्रश्न गम्भीर छ । पक्कै पनि हामीले प्रकृति र यसमा रम्ने हरेक जीवलाई अझ बढी सम्मानको दृष्टिले हेर्नेछौं, परिवारलाई अझ महत्व दिनेछौं ।

    अन्तमा, पहिले भान्जा–भान्जी भेट्न र दिदीले पकाएको मीठो खान हरेक महिना जसो दिदी–भिनाजुको घर जाने म पछिल्लो दुई महिना बढी भयो गएको छैन । फुपूहरु, मामा, काका–काकी, भाई–बहिनीहरु, आफन्तजन भेट्न गइरहने मेरो रुटिन फेरिएको छ । भेट्न जान मन नलागेको होइन । यो महामारीको अवस्था र आफू काम गर्ने वार्डभरी कोभिडका बिरामी हुनाले ममार्फत् अरुलाई सर्ने खतरा भएको कारण म आफंै नगएको हो । यस रोगमाथि मैले विजय प्राप्त गरेको पनि लगभग १ महिना भयो । मेरो काम उत्तिकै जोश र जाँगरको साथ गर्दैछु । जीवनका योजनाहरु केही पर धकेलिएका छन् । ती चाँडै पूरा हुने नै छन् । हिम्मत अझ दृढ भएको छ । आशा गरौं यो महासंकट छिट्टै सकिनेछ र हामी पनि सामान्य जीवन–यापनमा फर्किनेछौं ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad