• आलोचना पछि मेनुको भाषा परिवर्तन

  •  

    जुन ५ । क्वारेन्टिनमा रहेका नेपालीका लागि उपलब्ध गराइएको खानाको मेनुमा व्यापक आलोचना भएपछि परिवर्तन गरिएको छ । पहिलो दिन उपलब्ध गराइएको हिन्दू मिल ‘मिट’ र ‘भेजिटेरियन’ भनेर उल्लेख गरिएको खानाको मेनुको फोटो सामाजिक सञ्जालमा राख्दै खिसिटिउरी भएको थियो ।

    ‘के हो हिन्दू मिल भनेको ?’, ‘८० प्रतिशत गुरुङ नै आएका होलान्, हिन्दू मिल रे !’, ‘सम्पूर्ण नेपाली हिन्दू होइनन्’, ‘हङकङका नेपाली दुई प्रतिशत मात्र हिन्दू रहेकोमा यो मेनु कस्ले तयार गरेको हो ?’ जस्ता स्टाटस र प्रतिक्रियाहरु देखिएका थिए । विभिन्न परिकारका फोटो राखेर कुन खाना हो हिन्दू, मुस्लिम, क्रिश्चियन ? प्रश्न पनि रहेका थिए ।

    खिसीटिउरीबाट शुरु भएको क्रियाकलाप गम्भीर बहसमा पुगेको थियो । धर्म निरपेक्ष राष्ट्र नेपालबाट आएकाहरुका लागि धर्म निरपेक्ष हङकङमा खानाको मेनु धर्मको आधारमा तयार गरिएकोमा व्यापक आलोचना भएको थियो ।

    सामाजिक सञ्जालको बहसका विषयमा विभिन्न गैर–सरकारी संस्था र स्थानीय राजनीतिक पार्टिका लागि काम गर्ने कर्मचारीहरुले धार्मिक जस्तो सम्वेदनशील विषय भएकोले सम्बन्धित निकायमा शिकायत गर्ने उल्लेख गरेका देखिन्थे ।

    केही नेपालीहरुले बिफ(गाई–गोरु) खादैनन्, त्यही कुरोलाई इङ्गित गर्न तयार गरिएको मेनुमा भाषागत कमजोरीका कारण त्रुटी हुन गएको अनुमान गर्न सकिन्छ । हिन्दूले सामान्यतय बिफको अलावा पोर्क(सुँगुर) पनि खादैनन् तर बिफ नखाने नेपालीले सुँगुर खाने गरेका छन् ।

    मेनुको भाषाको बारेमा आलोचना भए पनि खानाको बारे क्वारेन्टिनमा रहनेले प्रशंसा गरेका छन् । खानाको मात्र होइन अन्य सेवा सुविधाको पनि प्रशंसा गर्दै नेपाल सरकारलाई गाली गरिएका छन् । जुन १ का दिन चार्टर फ्लाइटमार्फत नेपालबाट आएका ५ सय ८७ जना सातिनस्थित चुन येउङ स्टेटमा १४ दिने क्वारेन्टिनमा रहेका छन् ।

  • कमेन्ट गर्नुहोस्