• लिम्बूवानको भ्रमपूर्ण ताम्रपत्र

    कान्तिपुरलाई मुकाम गराएर राजाको हैसियतमा पृथ्वीनारायण शाहबाट दिइएको दावी गरिएको ताम्रपत्र । जबकि, पृथ्वीनारायण शाहले कान्तिपुरमाथि विजय वि.सं. १८२५ मा हात पारेका थिए भने यो ताम्रपत्रमा उल्लेखित मिति वि.सं. १८१४ छ ।
  •  

    पृथ्वीनारायण शाहले लिम्बू सुब्बाहरुसँग विजयपुरमा सहमति वा सम्झौता गर्दा उनीहरुको नाममा लालमोहर जारी गरेका थिए । वि.सं. १८३१ मा गोरखालीहरु पहाड खण्ड र तराई खण्ड गरी दुई मुख गरेर लिम्बूवानमा घुसिसकेको अवस्थामा लिम्बू सुुब्बाहरु पनि दुई खालका देखिए । तीमध्ये सुन राय, कुम राय, श्रीजंग राय लगायतका सुब्बाहरुले विजयपुरमा गोरखाली सैन्य अफिसर अभिमानसिंह बस्न्यातमार्फत् गोरखा राज्यसँग सम्झौता गरे ।

    तर योङयाङहाङ राय लगायतले भने गोरखालीहरुसँग सम्झौता गरेनन् । बरु उनीहरुले सिक्किम राज्यलाई केन्द्र सरकार मानेर गोरखालीहरुसँगको युद्ध पछिसम्म जारी राखे । वि.सं. १८४८ मा त लिम्बूहरुले सिक्किम र लेप्चाको सहयोग लिएर चैनपुरमा ठूलै विद्रोह मच्चाए । उनीहरुले केही दिन चैनपुर कब्जामा लिएका थिए । त्यहाँ ठूलो रक्तपात गराएर गोरखालीहरुले चैनपुर फिर्ता लिए । वि.सं. १८५० तिर पनि लिम्बूहरुले सिक्किमका मन्त्रीको सल्लाहमा अशान्ति मच्चाइरहन्छन् भन्ने अर्जी विजयपुरबाट जाँदा काठमाडौंबाट विजयपुरतिर पठाइएको लालमोहरमा ‘हत्तपत्त लिम्बूहरुलाई विश्वासमा लिइनहाल्नू’ भन्ने आदेश परेको पनि पढ्न पाइन्छ ।

    लिम्बूवानको पहाड खण्डबाट सरदार रामकृष्ण कुँवर तथा अमरसिंह थापाको नेतृत्वमा गोरखाली फौज अगाडि बढेको थियो । कोशी नदी तरेर १८३१ साउन ५ गते अभिमानसिंह बस्न्यातको नेतृत्वमा गोरखाली फौज विजयपुर आइपुग्दा त्यहाँका राजा कर्ण सेन र दिवान बुद्धिकर्ण राय श्रीसुन राय लगायतका मन्त्रीहरुलाई राजधानी जिम्मा लगाई उनीहरु विजयपुरबाट पलायन भइसकेका थिए । विजयपुर कुरेर बसेका लिम्बू मन्त्रीहरु सुन राय, कुम राय र श्रीजंग राय राजा कामदत्त सेनको हत्यापछि दिवान बुद्धिकर्ण रायसँग त्यति मिल्दैनथे । सुन राय लगायतका लिम्बू मन्त्रीहरुले आफूहरुलाई हिजो सेन मकुवानी राजाले दिएको अधिकार पूर्ण रुपमा दिने हो भने गोरखालीसँग सम्झौता गर्न तयार रहेको सन्देश पठाए । त्यसका लागि लिम्बू मन्त्रीहरुले अभिमानसिंह बस्न्यातलाई किरिया–कसमै खुवाए ।

    नुनपानीको थिति

    तत्कालीन विजयपुरमा किरात राजप्रतिनिधि भई अभिमानसिंह बस्न्यातमार्फत गोरखाली राजासँग सम्झौता गर्ने लिम्बूमन्त्रीमध्येका एक लिम्बूवान पाँचथर थुम चुङ्जिवा मौजाका श्रीसुन रायका वंशज सुब्बा देवपत्ति रायका भाई कारोबारी विचारसिंह चेम्जोङ लिम्बूले ‘नुनपानीको थिति’बारे गरेको बयान टिपेर इतिहासकार इमानसिंह चेम्जोङले ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (२०५९:९४–९६)मा नुनपानीको थितिबारे यस्तो लेखेका छन्ः

    “विजयपुरका प्रतिनिधिहरु श्रीसुन राय, श्रीफुङ राय र श्रीजंग रायले एउटा ठूलो तामाको खड्कुलोमा सङ्लो पानी खन्याई नुन हाली तामाकै डाडुले घोली अभिमानसिंहलाई घोलिएको पानीबाट नुन झिक्न लगाए । तर बिलिसकेको नुन झिक्न असम्भव छ भन्ने अभिमानसिंहको जवाफ आउँदा किरात प्रतिनिधिहरुले भने, ‘तिमीहरुले हामी किरात वंशलाई तिम्रो वंशमा मिलाउनु भनेको नुन पानीमा बिलिई पानी नै भएजस्तो भई हामी किरात वंश पनि गोरखा वंशमा मिली विली गोरखा वंश हुनु भनेको हो ।”

    उनीहरुले सेन मकुवानीले दिएको थिति बमोजिम आफ्नो थितिमा कुनै प्रकारको गडबडी नगरी आफ्ना पितापुर्खाका पालादेखि पाइखाई ल्याएको थितिबमोजिम जग्गा भोग गर्न दिने हो भने गोरखालीसँग मिल्ने प्रस्ताव गरे । मिलिसकेपछि आफ्नो वंशलाई हेला गरे, थिति बिगारी जग्गा खोसेर लगे, मराउ अपुतालीमा परी नुनपानीमा बिलाई हराएझैं गोरखाली वंशको नाश होस् भनी कसम खान प्रस्ताव गर्दा अभिमानसिंह बस्न्यात लगायतका गोरखा अफिसरहरुले त्यसलाई मान्य गरी किरिया खाई नुनपानी एक–एक मुख पिए । त्यसपछि पृथ्वीनारायण शाहले ती लिम्बू प्रतिनिधिहरुको नाममा एक लालमोहर जारी गरिदिए ।

    यो लालमोहर वि.सं. १८३१ साउन सुदी २२ रोज २ मा जारी भएको भन्ने जुन अहिलेसम्मको मान्यता हो, त्यो भने सही छैन । किनकि तिथि गणनामा सुदी २२ सम्म पुग्दैन । तिथि सार्दाको गल्तीले सुदी २२ हुन पुगेको हो ।

    यस समस्याको निवारणका लागि इतिहासकार शंकरमान राजवंशीले पुरातङ्खव विभागको मुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या ३ (२०२५ वैशाख: २९–३०)मा संक्षेपमा ऐतिहासिक व्याख्यासहित यो लालमोहर छापेका छन् । यसमा लालमोहर जारी गरिएको तिथि वि.सं. १८३१ साउन सुदी १ रोज २ उल्लेख छ । यसलाई मितिमा परिणत गर्दा १८३१ साउन २७ गते सोमबार हुन आउँछ ।

    यसरी लालमोहर जारी गरियो । तर पृथ्वीनारायण शाहले ताम्रपत्र दिएर लिम्बू प्रमुखहरुसँग सम्झौता गरेको अर्को चर्चा पनि छ । सोही ताम्रपत्रबारे सत्यतथ्य उल्लेख गर्ने उद्देश्यले अब त्यसबारे यहाँ चर्चा गरिन्छ ।

    ताम्रपत्रको खोजी

    लिम्बू सुब्बाहरुको नाममा ताम्रपत्र जारी गरिएको चर्चा पहिलेदेखि नै थियो । इमानसिंह चेम्जोङले ‘तसल्ली पत्र’ लेखेकोले पनि त्यो भनेको ताम्रपत्र नै हो भन्ने भान लिम्बूहरुलाई पर्न गयो । ताम्रपत्रको फोटो र त्यहाँ लेखिएको व्यहोरालाई छापेर कसैले कतै–कतै वितरण गरेको पनि अहिले देख्न पाइन्छ । लामो समय कतिपय लिम्बूहरुले यो ताम्रपत्र भनी प्रचारित फोटोलाई आफ्नोतर्फबाट अगाध विश्वास प्रकट गरिरहे ।

    यो ताम्रपत्र सकल अवस्थामा प्राप्त गर्न कुस्त रकम खर्च गर्ने तयारी पनि केही लिम्बू अगुवाहरुले गरेका थिए ।

    राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय समितिको बैठक झापाको शनिश्चरेमा बसेको थियो । पार्टीको बैठकपछि नेताहरु शरणकुमार लिम्बू, बलबहादुर लिम्बू (दिवंगत), सञ्जुहाङ पालुङ्वा (हालः लिम्बूवानका नेता), केपी पालुङ्वा (हालः पार्टीका अध्यक्ष) तथा कमल तिगेला छुट्टै छलफलमा जुटेका थिए । उक्त ताम्रपत्र प्राप्तिका लागि प्रयास गर्नुपर्नेमा उनीहरुको जोड थियो । त्यसमा पनि शरणकुमार लिम्बूको विशेष जोड थियो । डा. कमल तिगेलाका अनुसार यस्तो छलफल २०५६–५७ सालतिर भएको थियो ।

    जोसँग ताम्रपत्र छ, त्यो प्राप्तिपछि उसलाई २०–३० बिगाहासम्म जग्गा दिने र नागरिकता प्रमाणपत्र दिलाउन सक्दो पहल गर्नेसम्मको आँट त्यहाँ गरिएको थियो । ताम्रपत्र दार्जिलिङ, कालेम्पोङतिर कोही कसैसँग छ भन्ने चर्चा भएकोले त्यसतर्फ जान व्यक्ति पनि तोकिएको थियो ।

    जिम्मेवार व्यक्ति त्यसतर्फ गई ताम्रपत्रको खोजी गर्दा ताम्रपत्र बोकी कोही आएनन् । त्यसपछि ताम्रपत्र प्राप्त गर्ने प्रयास स्थगित गरियो । तर पनि कोही कसैले यस ताम्रपत्रको फोटो कहिले काहिं प्रकाशमा ल्याउने गरिरहे ।

    ताम्रपत्र नियाली हेर्दा
    ताम्रपत्रको फोटो झट्ट हेर्दा यसको आकार लिच्छविकालीन शिलालेखजस्तो लाग्छ । ताम्रपत्रको फोटो र छापेर बाँडिएको यसको भाका र जारी गरिएको तिथिलाई त्योबेलाको भाषा र ऐतिहासिकताको कसीमा राखेर हेर्दा ताम्रपत्रको विश्वसनियतामा पुरै प्रश्न उठ्ने ठाउँ रहेको छ । ऐतिहासिकताको आधारमा ताम्रपत्रको शिरदेखि पुछारसम्म मिल्दो तथ्य केही पनि भेटिदैन ।

    ताम्रपत्रको शिरदेखि मध्यभाग हुँदै पुछारतिरको विषयमा यहाँ विवेचना गरिन्छ ।

    त्यो समय कुनै पनि राजाले मोहर जारी गर्दा सबैभन्दा माथिल्लो भागमा आफूले पूज्दै आएको देवी–देवताको नाम लिने गर्थे । सेनहरुको मोहरमा ‘श्री लक्ष्मीनारायण’ उल्लेख भएको पाइन्छ । मल्लहरुको मोहरमा ‘श्री पशुपतिनाथ’ र शाह राजाको मोहरमा ‘श्रीदुर्गा !’ वा ‘दुर्गा सहाय !’ लेखिएकोे पाइन्छ । पृथ्वीनारायण शाहले नुवाकोटबाट जारी गरेको कुनै–कुनै मोहरमा त्यहाँको प्रशिद्ध शक्तिपीठकी देवी ‘श्रीभैरवी’ पनि उल्लेख गरेको पाइन्छ ।

    तर शाहवंशीय राजा पृथ्वीनारायण शाहको नाममा जारी भएको भनी प्रचारित यस ताम्रपत्रमा सबैभन्दा माथि बायाँ भागमा ‘श्रीरामजी’, बीचमा राजाको नाम उल्लेख भएको मोहरजस्तो गोलो र दायाँ भागमा ‘श्री पशुपतिजी’ उल्लेख छ । यसबाट पनि यो ताम्रपत्रको विश्वसनियतामा समस्या देखिन्छ ।

    फेरि पुछारतिरको भागमा पृथ्वीनारायण शाहले हस्ताक्षर गरेजस्तो गरी ‘पृथ्वीनारायण’ भन्ने लेखिएको देखिन्छ । तर राजाको ताम्रपत्र या मोहरहरुमा यस्तो हस्ताक्षर गर्ने चलनै थिएन । मोहरको अग्रभागमा राजाको प्रशस्ती राख्ने गरिएको पाइन्छ ।
    बीचमा सँस्कृत भाषाको ‘प्रथम ताम्रम् पत्रम्’ उल्लेख गरेर ताम्रपत्रको मूल भाका शुरु गरिएको छ । यसमा उल्लेख गरिएको भाकाको सानो अँश यस्तो छः

    “राजरजौटा नमासिने तिमी किरातेसोर अगि १० पुस्ता चक्रवर्ति सम्राट हो । अघि चिन तिब्बत र अरु १० पुस्ता राजा वंसाहरुबाट पनि अनादिकालदेखि तम्रो वंशमा लीपी दि आयाको मैले जान्याको हेरेको बोल कबोल गरी सदासदाको लागि बक्सेको हुँ । तम्रो राजपाट पीछे खोसेमा सुरज चन्द्र आकासको तेत्तिस कोटी देवता र पातालको नाग नगिनी पृथ्वीमा मानी पुजी लिएका देवी देवताले मेरो पनि पुरै सदा राजपाट रिस्ता नाता वंश भंग भषम पारोस्…”

    माथि उल्लेखित भाकाको भाषा आधुनिक देखिन्छ । पृथ्वीनारायण शाहको पालाको त के उनीभन्दा ६ पुस्तापछिका राजा सुरेन्द्रविक्रम शाहको समयका लालमोहरहरुमा पनि यति आधुनिक भाषा प्रवेश भइसकेको थिएन ।

    उदाहरणका लागि लिम्बूवानको युद्धमा लड्न पुगेका गोरखाली सेनानायक अभिमानसिंह बस्न्यात लगायतलाई पृथ्वीनारायण शाहले लेखेको पत्रको सानो अँश उल्लेख गरौं । इतिहास शिरोमणि बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१:४३१–४३२)मा छापिएको वि.सं. १८३१ असोज वदी ३० रोज ४ को लालमोहरको भाकाको सानो अँश यस्तो छः

    “आशीष पूर्वक पत्र मिदं. ञायां कुसल ताहां कुसल चाहिये. आगे ञाहांको समाचार भलो छ. उप्रान्त पत्र आयो अर्थ मालुम भयो. चौदंड महा गढि तुल्याउको विस्तार औ कुर्हिलाबाट फौज हिड्याको हो. तिनै मुषले गन्र्या काजको चाडो…”

    यस्तो पुरानै उच्चारणका भाषा पृथ्वीनारायण शाहको पालामा प्रयोग हुने भएकोले माथि उल्लेखित ताम्रपत्रको भाषामा अर्को थप विश्वासको सङ्कट पैदा हुन पुगेको छ ।

    ताम्रपत्रमा जारी तिथि मिति र ताम्रपत्र पठाइएको मुकाम हेर्दा त्यसले झन् यो ताम्रपत्रको ऐतिहासिकतामा पूर्ण शंका उत्पन्न गराउँछ ।

    वि.सं. १८१४ को अवस्था
    यो ताम्रपत्र हेर्दा पृथ्वीनारायण शाहको नामबाट वि.सं. १८१४ श्रावण सुदी १८ रोज २ मा ताम्रपत्र जारी भएको देखिन्छ । मुकाम कान्तिपुरी भवन लेखिएकोले यो ताम्रपत्र कान्तिपुरबाट अर्थात् कान्तिपुरका राजा पृथ्वीनारायण शाहबाट जारी भएको देखिन्छ । ताम्रपत्रमा उल्लेख भएजस्तो के पृथ्वीनारायण शाहले वि.सं. १८१४ साउनमा कान्तिपुर जितिसकेका थिए ? त्यो बेला कान्तिपुर त के पृथ्वीनारायण शाहले कीर्तिपुर पनि जित्न सकेका थिएनन् ।

    पुरातङ्खव विभागको मुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या २२ (२०२९ माघः१२) अनुसार पृथ्वीनारायण शाहले वि.सं. १८१४ जेठ १९ गते कीर्तिपुरमा हमला गरेका थिए । तर उनको विश्वसनीय भारदार कालु पाँडेसहित धेरै सैन्यजवानको त्यो युद्धमा हताहत भएपछि उनले आफ्ना सैन्यलाई युद्धस्थलबाट फिर्ता गरी पुतुवारहरु अनि जयकृष्ण थापाको पिठ्यू चढेर पृथ्वीनारायण शाह दहचोक फर्केका थिए । त्यहाँ पनि नबसी उनले नुवाकोट पुगी दम लिएका थिए ।

    तीन चोटी हमला गर्दा बल्ल वि.सं. १८२२ चैत ३ गते गोरखालीले कीर्तिपुर हात पारेको आचार्य (उहीः३०६)ले उल्लेख गरेका छन् । ‘पूर्णिमा’ पूर्णाङ्क ५० (२०३८ भाद्रः१६) अनुसार पृथ्वीनारायण शाहले वि.सं. १८२५ असोज १३ गते कान्तिपुर हात पारेका हुन् ।

    पृथ्वीनारायण शाहले कान्तिपुर जित्नुभन्दा ११ वर्षअघि कान्तिपुरलाई नै मुकाम गराएर कोही कसैलाई कान्तिपुर समेतको राजाको हैसियतले ताम्रपत्र दिएका थिए भनेर पत्याउने मुर्खता गर्नु बौद्धिकरुपमा जोखिमपूर्ण हुनेछ ।

    फेरि वि.सं. १८१४ साउनको पात्रो हेर्दा त्यो महिना सुदी अर्थात् शुक्ल पक्ष चतुदर्शीमा टुङ्गिएर एकचोटी कृष्ण प्रतिपदा शुरु भएको छ ।

    यो ताम्रपत्रको नक्कलका रुपमा छापेर वितरण गरिएको कागजमा एउटा चारपाटे र एउटा गोलो छाप पनि लागेको छ । त्यसमा अंग्रेजीमा दार्जिलिङ शब्द परेको छ । यसअनुसार यो भ्रमपूर्ण ताम्रपत्र दार्जिलिङतिरबाटै उत्पादन हुन पुगेको देखिन्छ ।

    त्यसैले यो ताम्रपत्रलाई एउटा भ्रमको खेतीका रुपमा प्रयोग गरिएको साधनका रुपमा लिन सकिन्छ ।

  • कमेन्ट गर्नुहोस्