• एमसीसीको कारण नेपाल विदेशी रणभूमि हुनसक्छ

  •  

    अमेरिकी साम्राज्यवादको घोडामा चार वर्ष अघि ट्रम्प महोदय सवार भएपछि विश्व राजनीतिमा व्यापक फेरबदल भएको छ । विश्व आज दिनानुदिन असुरक्षित बन्दै गइरहेको छ ‘अमेरिका फस्र्ट’ नाराकासाथ उदाएका ट्रम्पले आर्थिक तथा सामरिक शक्ति दुरुपयोग गरिरहेका छन् । सोभियत संघ धराशायी भएयता विश्वमा एकछत्र दादागिरी मच्चाउँदै आएको अमेरिकाले मानवअधिकार र प्रजातन्त्रको नाममा कैयौं राष्ट्रमाथि आक्रमण गरेर लाखौं निर्दाेष नागरिकहरूको हत्या गरिरहेको लामो फेहरिस्त छ । एकध्रुवीय विश्व निर्माण गर्न अमेरिकाले आर्थिक तथा सामरिक दुवै शक्ति खर्च गरिरहेछ । अमेरिकाको एकछत्र दादागिरीको एक मात्र बलियो बाधक राष्ट्र चीनलाई ठान्दछ । तसर्थ छोटो समयमा आर्थिक तथा सामरिक महाशक्तिको रूपमा उदाउन लागेको एशियाली राष्ट्र चीनलाई जसरी पनि रोक्न चाहन्छ । यसको चरम परिणति नै तेस्रो विश्वयुद्ध हुनसक्छ ।

    चीनलाई अगाडि बढ्न नदिने पहिलो रणनीति अन्तरगत आर्थिक रूपमा तहस–नहस पार्न चीनलाई एक्ल्याएर आपूर्ति शृङ्खलाबाट अलग्याउने अमेरिकाको भरमग्दुर प्रयास भइरहेको छ । त्यही डिजाइनमा विगत दुई वर्षदेखि अमेरिकाले चीनसँग व्यापार युद्धको घोषणा गरिसकेको छ । हाल दुवै देश व्यापार युद्धको चरम सीमामा पुगेका छन् भन्दा अतिसयुक्ति नहोला । चीनबाट अमेरिकामा निर्यात् हुने सामग्रीहरूमा २५% कर लगाइरहेको छ । अमेरिकाले चीनबाट सबै अमेरिकी र उसका धुरी राष्ट्रका लगानीकर्ताहरूलाई चीन छोड्न दवाव दिंदै आएको छ । पछिल्लो चरणमा चीनको गेटवेको रूपमा रहेको हङकङमा ‘एक देश दुई व्यवस्था’ समाप्त भएको, हङकङ स्वयत्तता नभएको भन्दै हङकङलाई व्यापार नाकाबन्दी गर्ने भएको छ । चाईना टेक जाईन्ट हुवाईलाई विश्व बजारबाट अलग्याउने नीति अनुरुप हुवाई 5G मोबाइल सुरक्षाको कारण देखाउँदै अमेरिकामा प्रतिबन्ध लगाउने प्रयास भइरहेको छ । उसँग सम्बद्ध राष्ट्रहरूलाई हुवाई प्रतिबन्ध लगाउने दवाव दिंदै आएको छ । हाल आएर अमेरिकाले अन्तर्राष्ट्रिय अमेरिकी डलर व्यापारबाट चीनलाई बाहिर निकाल्ने प्रयत्न गर्दैछ । तर त्यो कार्य अमेरिकालाई नै बढी जोखिम हुने विज्ञहरू बताउँछन् । कोरोना भाइरस रोक्न ट्रम्प असफल भएपछि अमेरिकी जनताको ध्यान अन्यत्र मोड्न चीन र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई दोष थुपरेर पन्छिन खोज्दैछ ।

    दोस्रो रणनीति अन्तरगत चीनमा अशान्ति मच्चाउने अमेरिकाको प्रयास जारी छ । अमेरिकाको यो नीति अगाडि बढाउनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चीनका छिमेकी कमजोर तर सामरिक हिसाबले महत्वपूर्ण राष्ट्र नेपाल, म्यानमार तथा भुटान र चीनभित्रकै ताईवान, हङकङ, तिब्बत र सिन्जियाङ जस्ता राज्यहरूलाई आधार बनाउने प्रयास गर्नेछ ।

    चीनलाई चारैतिरबाट घेर्ने क्रममा चीनको आन्तरिक मामलामा प्रत्यक्ष हस्तक्षेप गर्दै आएको छ । पश्चिमबाट सिन्जियाङका मुसलमान पृथकतावादीहरूलाई उकासिरहेको छ । पूर्वबाट ताईवान र हङकङका चीनविरोधी शक्तिहरूसँग मिलेर चीनको केन्द्रीय सत्ता ढाल्ने प्रयत्न भइरहेको छ ।

    चीन विरोधी गतिविधि गरिरहेका हङकङका पृथकतावादी तथा आतंककारी गतिविधिहरूलाई रोक्न चीनले हङकङको लागि सुरक्षा कानून ल्याएपछि चीनविरुद्ध खुला गतिविधि गर्न तथा विदेशी हस्तक्षेप गर्न हङकङबाट नपाउने भएपछि अमेरिकाले हङकङलाई व्यापार नाकाबन्दी गर्ने घोषणा गरिसकेको छ । हङकङलाई नियन्त्रण गर्न र निगरानी राख्न अमेरिकाले छुट्टै कानून बनाएको छ भने हङकङका चीनविरोधी शक्तिहरूसँग प्रत्यक्ष हातेमालो गर्दै चीनको आन्तरिक मामलामा प्रत्यक्ष हस्तक्षेप गरिरहेको छ ।

    मुसलमानहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पले चीनको सिन्जियाङ प्रान्तका पृथकतावादी मुसलमानहरूलाई प्रजातन्त्रवादी भन्दै उक्साइरहेको छ । पूर्वका हङकङ र ताईवानका पृथकतावादीहरूलाई मानवाधिकार र प्रजातन्त्रको नाममा पूरै शक्ति लगाएर सहयोग गरिरहेको छ । चीनका यी कमजोर राज्यहरूबाट चिनियाँ कम्युनिष्ट पार्टीविरुद्ध आगो सल्काएर पूरै देशमा डढेलो लगाउने नीति अख्तियार गरेको छ । दक्षिण चीन सागर मामलामा भियतनाम, फिलिपिन्स लगायतका चीनको छिमेकी राष्ट्रहरूलाई चीनविरुद्ध संगठित गराउने प्रयास जारी छ । दुईवटा जङ्गी बेडाहरू त्यस क्षेत्रमा युद्ध तयारी अवस्थामा राखेको छ ।

    चीनलाई घेर्ने क्रममा दक्षिण–पश्चिमतिरबाट तिब्बतियन पृथकतावादीहरूलाई पूर्ण रूपमा उपयोग गर्ने बाटो हेरिरहेको छ । ‘स्वतन्त्र तिब्बत’को उपयोग गर्ने सपना नेपाल बाहेक अन्य कुनै मुलुकबाट पूरा हुन सक्दैन । ‘स्वतन्त्र तिब्बत’ गतिविधिलाई उकास्न अमेरिका नेपाल छिर्ने अवसर खोजिरहेको छ । एमसीसी अमेरिकाको लागि नेपाल छिर्ने सुवर्ण अवसर हो । भुटान भारतको पूर्ण अधिनस्त भएकोले भारतको सहमतिबेगर भुटानले चीनविरोधी गतिविधि गर्न दिने छैन । म्यानमार चीनकै सहयोगी राज्य भएकोले म्यानमारबाट अमेरिका छिर्न सक्ने सम्भावना कम छ । भारत तथा पाकिस्तानसँग अमेरिकाको बेग्लै किसिमको सामरिक तथा आर्थिक सम्बन्ध छ । पाकिस्तान–चीन सम्बन्ध गाढा भएकोले पाकिस्तानबाट चीनविरोधी गतिविधि सञ्चालन गर्न गाह्रो छ । भारत–अमेरिकको सम्बन्ध त्यति भरपर्दाे छैन तथापि चीनको कारण भारत अमेरिकासँग गठबन्धन गर्न पुगेको छ । भारतलगायत त्यस क्षेत्रका राष्ट्रहरूलाई लिएर अमेरिकाले ईण्डो प्यासिफिक रणनीति अन्तरगत चीनविरुद्ध मोर्चा बनाइरहेको छ ।नेपाललाई पनि यहि चीनविरोधी नीतिको मोर्चामा समाधिस्त गर्न चाहन्छ । नेपालको एमसीसी प्याकेज ईण्डो प्यासिफिक रणनीतिको एक अङ्ग हो भनेर कयौं चोटी अमेरिकी अधिकारीहरूले भनिरहेका छन्, कयौं जनरलहरूमा छापिएको छ ।

    भारत र चीनको सीमा विवादका कारण सम्बन्ध सुमधुर छैन । तथापि १.४ अर्ब जनसंख्या भएको छिमेकी व्यापारिक साझेदार चीनको विरोधमा भारतको भूमि अमेरिकालाई प्रयोग गर्न दिने छैन । अब चीनको दक्षिणमा एउटै मात्र देश नेपाल बाँकी रह्यो । जहाँ लोभी–पापीहरूले राज्य चलाउँछन् भन्ने कुरा अमेरिकालाई राम्ररी थाहा छ । एमसीसी वा त्यस्तै बहनामा सामरिक र आर्थिक दुवै हिसाबले कमजोर नेपालमा छिर्नसके नेपालको भूमिबाट चीनका विरुद्ध प्रभावकारी भूमिका खेल्न सक्ने आँकलन अमेरिकाको छ । नेपालको दलाई लामाका दलालहरूमार्फत् चीनविरोधी गतिविधि बेलाबखत हुँदै आएको परिप्रेक्ष्यमा यो गतिविधिलाई उचाईमा पुर्याएर समाजवादी आईडियोलोजी विरुद्ध नेपालबाट चीनतर्फ अमेरिकन आईडियोलोजी फ्याँक्ने अस्त्र निर्माण गर्नेछ । किनभने, नेपालमा १९६० देखि नै स्वतन्त्र तिब्बत समूहले अखडा जमाइरहेका छन् ।

    सन् ६० को दशकमा सीआईएको प्रत्यक्ष सहयोगमा तिब्बतीयन खम्पाहरूले नेपालको मुस्ताङलाई आधार बनाएर चिनियाँ सेनामाथि गुरिल्ला युद्ध गरेका थिए । पछि नेपाली सेनाले त्यो विद्रोह दबाउनुपरेको थियो । त्यसलाई ‘खम्पा विद्रोह’ भन्ने गरिएको छ । हाल तिब्बतीयन शरणार्थीहरू हजारौंको संख्यामा नेपालमा छन् । नेपालको उत्तरी सीमाना पूरै तिब्बतसँग जोडिएकोले नेपालको भूमि प्रयोग गरेर पूरै तिब्बत अशान्त बनाउन सक्छन् । एमसीसी पास भएपछि विकासको नाममा अमेरिकाले ल्याएका सामग्रीहरू नेपाली सुरक्षाकर्मीले चेक नगर्ने भनिएको छ । यसरी चेक नगरी आएका बाकसभित्र के आउँछन् त्यो नेपाल सरकार र नेपाली जनतालाई थाहा हुने छैन । ती बाकसहरूमा अत्याधुनिक हतियार र हतियारका पार्टपुर्जादेखि आणविक अस्त्रसम्म आउने छन् । शर्तरहित बस्न सक्ने अमेरिकन एमसीसी कर्मचारी, उनीहरूले गरेको अपराधको छनविन र सजायँ नेपालले गर्न नपाएपछि जनशक्तिको नाममा सेनाहरू भित्रिने छन् । ती सेनाको सपोर्टमा तिब्बतमा आतंक मच्चाउने छन् । जुन कुरा नेपाली सुरक्षाको काबुभन्दा बाहिर जान सक्छ । नेपाल अमेरिका र चीनबीचको एक बफर जोन बन्नेछ, शितयुद्धकालीन जर्मनीको बर्लिन शहर जस्तै ।

    शान्ति स्थापना गर्न त्यतिखेर अन्तर्राष्ट्रिय सहयोग गुहार गरिनेछ । देशमा शान्ति सेनाको नामले विदेशी सेनाहरूको परेड स्थल हुन सक्छ । चीनले भिटो प्रयोग गरेर त्यो कार्य रोक्न सक्यो भने पनि एमसीसीको नाममा भित्रिएका अवैध अमेरिकन सेनाले आफ्नो गतिविधि बढाउँदै लग्ने छन् । नेपालको भूमि प्रयोग गरेर अमेरिकाको सहयोगमा ‘स्वतन्त्र तिब्बत’ लडाकुहरूले चिनियाँ जनसेनामाथि आक्रमण गर्नेछन् वा गुरिल्लायुद्ध शुरु गर्ने छन् । नेपालको भूमि प्रयोग गरेर चीनलाई आक्रमण गरिरहँदा चीन चुप लागेर बस्नेवाला छैन । त्यतिबेला विद्रोहीको नेपाल बेसहरूमा चीनले आक्रमण गर्न सक्नेछ ।

    सुरक्षाको कारण देखाउँदै सार्वभौम राष्ट्रहरूमा अमेरिकाले कयौं देशहरूमा आक्रमण गरेको नजिर छ । इरानको सेना प्रमुख इराकमा मरेको छ । इराक, अफगानिस्तान, सिरिया, लिबिया लगायतका अन्य सार्वभौम राष्ट्रहरूमा आक्रमण गरेर लाखौं निर्दाेष नागरिक, आईमाई–केटाकेटी र वृद्धहरूको हत्या गरिसकेको छ । नेपालस्थित ती चीनविरोधी बेसहरूमा चीनले पनि आक्रमण नगर्ला भन्ने अवस्था रहँदैन । आधार सुरक्षाको लागि अमेरिकाले सैन्य र सैन्य सामग्री नेपालमा गोप्य रूपले थुपार्दै जानेछ । नेपालको भूमि चीन र अमेरिकाको रणभूमि बन्नेछ । यो युद्धमा भारत र पाकिस्तान तथा अन्य मुलुक तानिए भने स्थिति भयावह हुनेछ । आणविक हतियारसहितको तेस्रो विश्वयुद्ध शुरु हुनसक्छ ।

    एमसीसीको म्याद ५ वर्षको भए पनि र परियोजना सकिएपछि पनि कुनै न कुनै बाहनामा अमेरिकाले नेपाल छोड्ने छैन । इराकमा प्रवेश गरेका अमेरिकी सेना इराकको संसदले अमेरिकी सेना नराख्ने निर्णय गर्दा पनि नगएको एक वर्षभित्रको ताजा नजिर छ । अमेरिकीहरू कुनै न कुनै बहनामा नेपालमा रहिरहने छन् । विश्वका अन्यत्र ठाउँमा प्रायः प्राकृतिक खनिज सम्पदा समाप्त भइरहेको अवस्थामा अमेरिका तथा विश्वको आँखा नेपालतिर फर्किरहेको छ । नेपालमा युरेनियमको खानी छ भन्ने अड्कल गरिएको छ । आधुनिक हतियार निर्माण गर्न र कारखाना चलाउन, बिजुली निकाल्न युरेनियम अति महत्वपूर्ण ऊर्जा हो । यी अमूल्य खनिज पदार्थ प्राप्त गर्ने होडबाजीमा शक्ति राष्ट्रहरूको झडप हुनसक्ने सम्भावना पनि उतिक्कै छ ।

    अमेरिका प्रवेश गरेको हालसम्मको कुनै पनि राष्ट्रले शान्तिले श्वास फेर्न पाएको छैन । उसले हस्तक्षेप गरेका हरेक राष्ट्र आज द्वन्द्वमा फसेका छन् । इराक, सिरिया, लिबिया, अफगानिस्तान, कोरिया कुनै राष्ट्रमा शान्ति छैन । एमसीसीमार्फत् अमेरिका नेपाल छिर्नु भनेको कुखुराको खोरमा मल्साप्रो छिर्नु जस्तै हो, जसले सबै कुखुरा नष्ट गरेर छोड्छ । त्यसैले एमसीसी खारेज गरियोस् ।

  • कमेन्ट गर्नुहोस्