• अन्नपूर्ण ट्रेकिङको अर्को नाम नमस्ते ट्रेकिङ

  •  

    हङकङको सानो–तिनो जमघट र व्यायाम वेलनेसमा कसरत गर्दा अन्नपूर्ण बेस क्याम्पबारे गफगाफ हुन्थ्यो । जाने बाटो र कठिनाईको बारेमा पनि कुरा हुन्थ्यो, तर कसैबाट पनि पुष्ट कुरा हुँदैन थियो । मात्र अरे, गरे र मरे भन्ने अपुष्ट कुरासम्म हुन्थ्यो । कारण, हामीमध्ये कोही पनि पुगेका थिएनौं । आफ्नो मनमा चाहिं, हङकङबाट नै बेस क्याम्प पुग्ने भ्रुण तयार भएको थियो । केही ठाउँ घुम्ने र आफन्तहरुसँग भेट गर्ने उद्देश्यले कर्मथलोबाट वंशजको स्थान नेपाल लागियो । तर, जब म पूर्व घरबाट मुक्तिनाथ पुगें, त्यसपछि अचानक अन्नपूर्ण बेस क्याप पुग्ने जोश चल्यो । यही रहरलाई सार्थक बनाउन जीप ड्राईभर, बस चालक र स्थानीयहरूसँग सोधपुछ गर्दा तातोपानीबाट शिखधरा हुँदै घोरेपानीको बाटो जाँदा राम्रो हुन्छ भन्ने सल्लाह पाएँ ।

    त्यसपछि गुगल गरेर हेर्दा त्यहाँबाट पनि जान सकिने भएपछि सोही विचार गरें । मुक्तिनाथबाट जिपमा जोमसोममा आएर पुनः गाडी चढेर राति करिब ९ बजे तातोपानी आएर बसें । होटलमा काम गर्ने भाइहरुलाई तातोपानी नुहाउने र घोरेपानी जाने बाटोको जानकारी लिएर आराम गरें । पर्यटककोसिजन भएकोले हो कि होटल पाउन झण्डै गाह्रो भयो । बिहान ६ बजे नै उठेर तातोपानी कुण्ड खोज्दै गएर करिब ४५ मिनेट तातोपानीमा डुबेर बसें । ७ बजे खाजा–नास्ता खाएर करिब २५ किलोको ब्याक–प्याक बोकेर कालीगण्डकीको झोलुङ्गे पुल पार गरेर तातोपानीबाट घोरेपानीको लागि यात्रा सुरू गरें ।

    मेरो वास्तविक ट्रेकिङ शुरू भएको अवस्था हो । कालीगण्डकीबाट शिखधारा, चित्रे हुँदै २,८६० मिटरको उचाईमा रहेको घोरेपानी पुग्न सकिन्छ । जति उचाई नाप्दै गयो उति नै रमाइला ठाउँहरू आउने रहेछन् । म यही ठाडो उकालोमा असिना–पानीसँग पाउँठेजोरी खेल्दै बेलुका घोरेपानी पुगेको थिएँ । यो ट्रयाकमा चाईनिज यात्रीहरूको चाप अत्यधिक रहेको पाएँ । घोरेपानीमा खान–बस्नको लागि उचित होटलहरू छन् । खान बस्नको बन्दोबस्त गरेर पुनहिलकोबारेमा सोधपुछ गर्दा थाहा भयो त्यहाँबाट करिब १ घण्टा हिंडेर ३,१२० मिटर माथि जानुपर्ने रहेछ र सूर्योदयको लागि भने बिहान ४ः३० मा हिंडिसक्नुपर्ने रहेछ । जाडो भएकोले केही समय आगो तापियो । यही समयमा भरिया भाइबहिनीहरूसँग गफगाफ गरें र मेरो यात्राको बारेमा बताउँदै केही जानकारी पनि लिएँ । साथै पुनहिल कसरी जाने, कति बजे जाने सबै जानकारी लिएँ ।

    यहाँ बस्ने पर्यटकहरू प्रायः सबै पुनहिल जाने भएकोले उनीहरूलाई पछ्याएर जाँदा हुन्छ भन्ने सुझाव पनि दिए । पहिलो पटक अनुभव गरें गाईड र भरियामा पनि धेरै फरक रहेछ । गाईडहरु चम्चे जस्तो पर्यटकको यत्रतत्र घुम्ने, भरिया भारी बिसाएर मस्त गफमा गफिने रहेछन् । पहिलो पटक मेरो साँच्चैको पदयात्रा शुरू भएकोले ज्यान निकै थाकेको थियो, ४ः३० को अर्लाम लगाएर निदाएँ ।

    बिहान उठेर पुनहिलबाट सूर्योदय हेर्ने लालसाले उकालो लागें । करिब आधाउधी पुगेपछि पुनहिलको लागि ईन्ट्री टिकट लिनुपर्ने रहेछ । टिकट लिएर पुनः उकालो लागें । प्रायः पर्यटकहरू समूह–समूहमा हिंड्न थालिसकेका थिए, म पनि उनीहरूसँगै उकालो लागें । करिब ५ः३० मा पुनहिल पुगें । पर्यटकहरू पुग्ने र आउने क्रम जारी थियो । सूर्योदय र केही समय दृश्यावलोकन गरेर म ओरालो झरें । घोरेपानीमा खाजा खाएर करिब ७ः३० बजे पुनः बाटो लागें । रमणीय ठाउँहरू रहिमाल हेर्दै हिंडिरहे ।

    २,६३० मिटरको उचाईमा रहेको टाडापानीमा चियाखाजा खाएर अगाडि बढें । एकजना गज्जबको भरिया भाइसँग गफ गर्दै हिंडियो । बाटो अलिक ओरालो गड्तिर जस्तो भए पनि राम्रो नै थियो । बेलुका चुलेंको रेन्बो होटलमा बास बसें । बेलुका होटलमा केही भरिया भाइहरूसँग गफ गर्दा जति माथि गयो उति बस्ने होटलको समस्या हुन्छ र बाटो पनि अप्ठ्यारो हुन्छ भन्ने कुरा गरे । मन दोधार भयो । एक्लै यात्रा गर्ने कि पोर्टर गाईड लिने भन्ने सोचमा परें । भारी पनि गह्रौं हुन लाग्यो सायद थकाईले पनि हो कि ?

    बिहान खाजा खाने क्रममा होटल मालिक र काम गर्ने भाइले पोर्टर गाईडलाई करिब रू. १५०० दिनको दिए हुने र झोला पनि बोकिदिने, सबै व्यावस्था गरिदिन्छ भनेर सुझाए । ‘ठिकै छ’ भनेर सल्लाह भयो । सोही अनुसार उनीहरूले भाइ रविनलाई घान्द्रुकबाट बोलाए । रविन भाइ र मेरो यात्रा शुरु भयो । तेस्रो दिनको शुरुवात सहज भयो, किनभने ठूलो झोला बोक्नु परेन । दिउँसोको खाना २,१७० मिटरको उचाईमा रहेको झौम्रोङमा खाएर केही थकाई मार्दै वारीबाट नैसिन्हवाको उकालो हेरें, जुन अब मैले चढ्नु थियो ।

    बेलुका करिब २,३०० मिटरको उचाईमा रहेको अपर सिन्वाको सिन्वा होटलमा बसियो । रू. २०० तिरेर तातोपानीमा स्नान गरियो । अर्को २०० रुपैयाँमा वाइफाइ पनि जोडेर केही समय सामाजिक सञ्जालमा जोडिएँ । अनि, बेलुकाको खाना खाएर आराम गरें । बिहान खाजामा गुरूङ रोटी खाएर बाटो लागियो । बाटो उकाली–ओराली हुँदै अगाडि बढिरहेको थियो । बेम्बो भने ठाउँ पनि मनमोहक रहेछ । यहाँ बस्ने–खाने ठाउँ पनि रहेछ । तर खाना यहाँ नखाएर अलिक माथि भाइले चिनेको रेष्टुरेण्टमा खाइयो । यो भर्खर शुरूवात गर्दै गरेको ठाउँ रहेछ । होटल मालिकसँग केहीबेर गफिइयो ।

    कुराकानीका क्रममा म हङकङदेखि घुम्न आएको भन्ने थाहा भएपछि उहाँले घान्द्रुक मञ्च, हङकङका अध्यक्ष मिलन गुरूङलाई चिन्नुहुन्छ भनेर सोध्नुभयो । गुरुङ उहाँको सोल्टी हुनुहुँदो रहेछ । मैले चिनेको मित्र हो भनेपछि केही भलाकुसारी भयो । फेरि बाटो लागियो । दोभान र हिमालयन भने ठाउँहरू पार गरेर बेलुका पानोरोमा होटल देउरालीमा बसियो । देउराली ३,२०० मिटरको उचाईमा रहेको छ । खानपिन गरियो । प्रायः लसुनको सुप र अदुवाको चिया नै बढी पिएँ । बिहान खाजा खाएर बाटो लागियो । मौसम ज्यादै सफा र मनोरम थियो ।

    दिउँसोको खाना ३,७०० मिटरको उचाई रहेको माछापुच्छ्रे बेस क्याम्पमा खाइयो । केही समय थकाई मारेर अन्तिम लक्ष्य बेस क्याम्पतिर लागियो । करिब २ बजेतिर ४,१३० मिटरको उचाईमा रहेको अन्नपूर्ण बेस क्याम्पमा पुगें । जब बेसको स्वागत गेटमा पुगें, आँखाले पनि आँशुको स्वागत ग¥यो । मेरो स्वास्थ्यको ज्ञाता, परिवार र साथीभाइको सुझावको विपरित म बेस क्याम्पतिर लागेको थिएँ । खान–बस्नको व्यवस्था मिलाइसकिएको रहेछ । तर, कोठा २ जना कोरियनसँग शेयर गरेर बस्नुपर्ने भयो । बस्ने होटलको अभावले यहाँ यस्तो अवस्था आउने रहेछ । यति माथि पुगेर पनि हिउँसँग भने जम्काभेट हुन सकिरहेको थिएन । चारैतिर नाङ्गो डाँडाहरू मात्र देखिन्थ्यो । करिब ५ बजेतिर अचानक हिउँ पर्न शुरु भयो । हिउँको भरपुर आनन्द लिएँ, साथै केही फोटो, भिडियो लिनुका साथै रमाइलो गरियो ।

    बिहान सूर्याेदयको केही तस्वीर लिएर पहिलेकै बाटो फर्किएँ । बेलुका जोडले हिंडेर अपर सिन्वाह आइपुगियो । दिउँसो करिब २ बजे झिनुडाँडामा आएर बसियो र त्यहाँ रहेको तातोपानीमा डुबुल्की मारियो । यो बाटोमा जति पनि पर्यटकहरू भेटिन्छन्, चाहे उक्लिँदा होस् वा झर्दा होस् सबैले ‘नमस्ते’ भनेर सम्बोधन गरेको पाएँ । यो रूटमा कोरियन, थाई, युरोपियन र फाट्टफुट्ट नेपालीका साथै भारतीयहरू पनि भेटिन्छ । यो ट्रेलमा न्यूनतम आधारभूत भौतिक आवश्यकता सबै पाइन्छ । यो ट्रेलमा आत्मबल दह्रो बनाएर ट्रेकिङ गर्दा हुन्छ, तर यति भन्दाभन्दै पनि पोटर गाईड वा गाईड लिएर जाँदा चाहिं उत्तम हुन्छ भन्ने मेरो बुझाई रह्यो । भोलिपल्ट मेतक्यूबाट जीप बुक गरेको थिएँ, जीप लिएर बुटवल र कालिका मन्दिर घुमेर बेलुका पोखरा बसें । २ दिन थकाई मारेर राराताल जाने योजना बनाएँ ।

    नोट: वाटर प्रुफ ट्रेकिङ जुत्ता, डाउन ज्याकेट, रेनकोट, सानो स्लिपिङ बेग, लठ्ठी, कालो चश्मा, सनब्लक क्रिम र लिपबाम ।

  • कमेन्ट गर्नुहोस्