• एउटा चौथीको सत्य कथा

  •  

    हामी यस्तै त हो नि ब्रो…
    १४/१५ वर्षका थियौं । धरान मंगलबारे चौक, हङकङ रोड टोलका अभिभावक बिहानै भेला भएका थिए । उनीहरू हाम्रो कसुरको फैसला गर्न आएका थिए । अघिल्लो रात हामीले कोठेबारीमा उधुम मच्चाएका थियौं । उखु चोर्यौं । मेवा फल्दै गरेको अग्लो रूख खुकुरीले छपक्कै छिनाल्यौं । काँक्राको लहरा फेदैबाट काटेका थियौं । छिमेकी रामचन्द्र दाजुको घरमा पनि उस्तै बिझाइँ थियो । अनि हरिमान राई, नौ मामाको घरमा फलफूल र केराको बोट ढालेका थियौं । यो उपद्रोका मतियार मसमेत ११ भाइ थियौं । तीस वर्षअघि साथी रञ्जनको बुवाको कोठेबारीमा म, राजेश र रोशन यसरी शिर निहुराएर उभिएका थियौं । उपद्रो गिरोहको नाइके बनेर सबैको जिम्मा हामीले लियौं ।

    साथीहरूको छवि उस्तो नराम्रो थिएन । असल र इज्जतदारमा दरिन्थे । तर उटपट्याङ गर्नमा अब्बल । आफ्नै घरमा बिझाइँ गर्न लाउने पनि थिए । लाज हुन्छ भन्ने लाग्यो क्यार उनीहरूको नाम नओकल्ने सल्लाह गरियो । हामी तीन चाहिं डाकुहरूको सरदार बनेर “सबै उपद्रो हामीले गरेका हौं । गल्ती भयो । एक पल्टलाई माफ दिनुस्” भन्न रञ्जनको बाउ, रामचन्द्रको बाउ र नौ मामाको घरमा गएका थियौं । तीन घरै जोडिएकाले पछाडिको कोठेबारी पनि सँगै थियो । अघिल्लो रात त्यो तीन सहित १२ घरमा सोही प्रकृतिको विध्वंश मच्चाएका थियौं । नरिवलको बगैंचामा पनि उत्पात गरेका थियौं ।

    हङकङ रोडका पल्टनिया १७ मामा हक्की स्वभावको हुनुहुन्थ्यो । हक्की र सही कुरा बोल्नुहुन्थ्यो । हामी पनि के कम ! तीनैजना लाहुरेका छोरा । १७ मामा मेरो बाबाको नम्बरी । साथी जयकलाको बुवा । बुवाहरू एकअर्कालाई चिन्ने । नम्बरी र गुरूजीको अजब साइनो । गजब सम्बन्ध । छोरा–भाञ्जा सम्झेर माफी देलान् भनेर हामी क्षमायाचना गर्न तयार थियौं क्यार ! फेरि हामी बाह्रमासे चोर पनि त थिएनौं ।

    साथी रञ्जन एक्लो छोरो । रातभरी घर नआएपछि आमा अत्तालिंदै तीन घर पर्तिर राजेशको घरमा सोध्न आउनुभयो । त्यहाँ हाम्रो चोरीको माल लुकाउने गोदाम बनाएका थियौं । माइजुले घरमा छरिएका उखुका केही लात्रा, रस चुसेर फ्याँकिएका खोस्टा देखिहाल्नुभो । छोरो पनि त्यहिं छ । परेन त फसाद ! अनिदोले मस्तराम केटाहरू रातभरीको रमाइलो एकैछिनमा सक्किगो नि ! चौथीको माल दिनभरी सम्हाल्ने दाउ थियो । तुषारापात भो । त्योभन्दा धेरै त डरले गोटी जमेका थिए । पाङ्ग्रा कामेका थिए ।

    घरमा राजेश, दुई भाइ सागर र पुष्पे अनि दिदी बस्थे । दिदी भने काम विशेषले काठमाडौं जानुभएको थियो । आमाबाबा ब्रुनाईमा हुनुहुन्थ्यो । खासमा राजेशको घर हाम्रो अड्डा थियो । पढ्ने बहानामा आएर खेल्ने, रमाइलो गर्ने गथ्र्याैं । एक किसिमले हाम्रो क्लब थियो । फेरि सबैका लागि प्रिय पनि थियो । त्यो घरले हामीलाई किशोरावस्थाको स्वतन्त्रता दिएको थियो ।

    पछि चौथीका चोरहरू त्यही घरमा बैठक बसे । तीन जनालाई मात्रै कसुरदार बनाइ कठघरामा उभ्याउने निर्णय सर्वसम्मतिले पारित भो । तीन अर्थात् म (जसकुमार), राजेश र रोशनले माफी मागेपछि भइहाल्छ भन्ने सबैको अनुमान थियो । हामीले पनि सजिलै हुन्छ भन्यौं । दोस्तीको नाममा ‘चोरी पाप’को बोझ पनि उठायौं ।
    अब कोठेबारीको कुरा । हामी तीन जनालाई देख्ने बित्तिकै सत्र मामा रन्किहाल्नुभो । राति काटेको मेवाको बोटको ठुटोनेर पुरयाउनुभयो ।

    “यो मेवाको बोट जस्ताको तस्तै जोड, फटाहाहरू । हैन भने… ।” सत्र मामा कोर्टमार्शलको मुडमा हुनुहुन्थ्यो ।

    राजेश, हाम्रो प्रमुख सरदारले पनि आँट बटुलेर मुख खोल्यो, “कति क्षति भएको हो हामी क्षतिपूर्ति दिन तयार छौं । कति लिनुहुन्छ ?”

    बाबै ∕ निन्याउरो मुख लाएर दुई हात जोडेर, कान समातेर, कुखुरा बनेर माफी दिनुस् हजुर भन्न गएका केटाहरू अकस्मात् राँगा हुनथाले । उपस्थित महानुभावहरूलाई अब केटाहरूले गाउँलेलाई नटेर्ने भए भन्ने पनि लाग्यो होला ।

    कुरा बिग्रियो । महानुभावका स्वर गुञ्जिन थाले ।

    “अब यिनीहरूको बाउलाई भन्नुपर्छ । बाउकै अगाडि यिनीहरूको व्यवस्था गर्नुपर्छ ।”

    चिनेजानेका दिदीहरूको स्वर पनि मिसियो ।

    “तिमीहरू राम्रो भनेको त अर्काको बारीमा चोर्ने ? भाइबहिनीलाई यस्तै हो सिकाउने?”

    ओहो ! हाम्रो त कान बिझ्न थाल्यो । मुटु पनि च्वास्स दुखेजस्तो भो । नभन्दै खबर पनि पठाइहाले । रोशनको बुवा धनप्रसाद लिम्बू (धरान–१७ का पूर्व वडा अध्यक्ष) र मेरो बाबा बुद्धिमान राईलाई लिन केही मेसेञ्जर पुगिहाले । खुच्चिङ भन्नलाई कति हतार !

    हाम्रो त खुट्टा काम्न थालिहाल्यो नि ! मैले बाबाको कुटाइ सम्झिन थालें । केही दिन अघि मात्रै भढार्नी बडीको बगैंचामा चोरलाई आँपको रूखमा बाँधेर दिनभरी कुटेको आँखामा फिल्मजस्तै कुद्न थालिगो त ! चोरले रूँदै गिडगिडाएको पनि सुनेको थिएँ ।

    ‘दिप्साली सार्जन मामाको कुटाइ खानुभन्दा पुलिसको जिम्मा लाइदिनु । बरू जेल जान्छु । सार्जन मामाको कुटाइ खान्नँ ।’

    दिप्साली सार्जन मामा अर्थात् सार्जेन्ट बुद्धिमान राई अर्थात् मेरो बाबा । विष्णुपादुका र धरानको नामुद ‘ठन्के चोर’लाई समेत कालोमोसो दलेर मंगलबारे घुमाएको मलाई मात्रै होइन, धेरैलाई सम्झना होला । सायद त्यसैलाई भन्थे होला केटाहरू बेर्नो टाइट, पादबन्द ।

    राजेश र रोशनको अनुहार उस्तै अँध्यारो । उनीहरूको मनमा के पर्यो होला ? के सोचे होलान् ? कहिल्यै कुरा गरेनौं । यो लेख पढे भने सुनाउलान् कि !

    म चाहिं मनमनै भन्दै थिएँ, “नकाम गरिस् केटा । अब बाउले सिध्याउने भए ।”

    कोठेबारीबाट यस्सो हेरेको बाबा र धनप्रसाद काका त हातमा लाठी लिएर सुइँसुइँ आउँदै गरेको देखें । पल्टनिया रिस बोकेर परेड खेल्दै आए जस्तो लाग्यो । प्रत्येक लेफ्ट–राइटले मुटुमा ढ्याङ्ग्रो बजाएको थियो ।

    पूर्वकथा

    कविराज मेरो जिग्री, बालसखा । स्कूल पढ्दा र गाउँ चहार्दा मेरो लंगोटिया साथी । एकताका ‘भिखारी’ शीर्षकको कविता लेखेर–पढेर पुरस्कारै जितेका थिए । त्यही भएर आँगनकै साथी प्रदीपले कविलाई ‘ओई भिखारी’ भनेर बोलाउने र जिस्क्याउने गर्थे । कविराजको कविता प्रस्तुत गर्ने शैली पनि गज्जबकै थियो । पूरै भावनामा डुबेर कविता वाचन गर्थे । मानौं उनी आफैं कविताका भुक्तभोगी पात्र हुन् । साथीहरू सबै उनको नक्कल गर्थे । कवि हल्का रिसाउने । कविराज हाम्रो टिमको योजनाकार थिए । उनी ‘मास्तरप्लान’ बनाउँथे । हामी त्यसलाई अन्जाम दिन्थ्यौं । तीस वर्षअघि त्यो रात पनि त्यहि भएको हो ।

    २०४८ साल असारको २७ चौथी तिथिको साँझ खाना खाएर मंगलबारे चोक पुगेको थिएँ । कविराजसँग भेट भो । कविले नयाँ मास्तरप्लान सुनाए ।

    “जस आज चौथी हो । फलफूल चोर्न पाइन्छ । लु जाऊँ ।”

    प्रदीप, रोशन र बरूणले पनि सुनिरहेका थिए । कवि उचाल्दै थिए, “जाऊँ चौथी हान्न ।”

    मैले सोधें, “कसरी थाहा पायौ ? आज चौथी हो भनेर कसले भन्यो ?”

    ती महान् योजनाकारसँग कसरी सक्नु ? कवि दह्रो प्रमाणसहित आएका रहेछन् । त्यो बेला वनारसबाट लामो खालको पात्रो छापिन्थ्यो । पात्रोमा त्यो दिन चौथी भनेर लेखिएको थियो । उसो त चौथी हानेर ल्याएको फलफूल नखाएको हैन तर आफैंले चौथी हान्ने साइत चाहिं कहिल्यै जुरेको थिएन । म जोशमा आएँ । शरीरमा करेन्ट बग्न थाल्यो । त्यो मेरो जीवनकै पहिलो चौथी हुनेवाला थियो । प्रदीप र रोशन जाने भए म पनि जान्छु भनें । उनीहरू पनि तयार भए ।

    तयार त भए तर हतियार थिएन ।

    चौथी काण्डका योजनाकार कविलाई सोध्यौं, “हामीसँग त हतियार छैन ?”

    व्यवस्थापनमा अब्बल कविले तुरून्तै एक हँसिया र दुई खुकुरीको बन्दोबस्त मिलाइहाले । अनि सुरेश, मोहन, डम्बरे, राजेश र राजेशका दुई भाइ पुष्पे र वरुण अनि सागरलाई पनि योजनामा सामेल गराउन सफल भए । अब जम्बो टोली बन्यो ।

    योजना साकार बनाउन रणनीति चाहियो । राजेशको घरमा भेला भयौं । कहाँ, कसरी जाने ? कसको घरमा के–के फलफूल छ ? कसलाई के थाहा छ ? सूचना संकलन गर्यौं । काँक्रा, उखु, नरिवल हाम्रो टार्गेट थियो । अब हामीलाई आफ्नै घरको बारीबाहेक अरूको के थाहा ? हङकङ रोडकै साथी ज्ञाने लिम्बूको बगैंचामा सयभन्दा धेरै नरिवलका बोट थिए । सबैतिर चौथी हानेर अन्तिममा त्यहि बगैंचाको नरिवलको पानी खाएर राजेशकै घरमा सुत्ने योजना बन्यो ।

    भाइ रञ्जन कदकाठीमा सानो तर निकै चलाख थियो । भन्यो, “हाम्रो कोठेबारमा उखु र मेवा छ ।”

    “त्यहिंबाट शुरु गरौं,” राजेश र कविले प्रस्ताव गरे ।

    राति त्यस्तै १० बजेको हुँदो हो । फलफूल शिकार गर्न हाम्रो चौथी टोली बाहिर निस्कियो । काम र जिम्मेवारीको बाँडफाँड गरिएको थियो । हामीभन्दा सानाले सीआईडीको काम गर्ने, रेकी गर्ने । ठूला एक्सनमा जाने । रणनीति अनुसार भाइटोली हेरालु, रेकी र सूचना दिने । एक्सनका लागि रोशन, राजेश, कवि, मोहन, सुरेश र म अघि बढ्यौं ।

    हङकङ रोडको झण्डै सात घरको कोठेबारी सोत्तर बनाएपछि हामी हौसियौं क्यार । नजिकै शान्ति चोक र न्यूरोड लाइन पनि बिहान १ बजेसम्ममा चौथी हान्न भ्यायौं । हङकङ रोडकै साथी ज्ञान लिम्बूको नरिवल बगैंचा हाम्रो अन्तिम निशाना बन्यो । २०-२५ वटा नरिवलको काम तमाम ग¥यौं । सकेजति खायौं । नसकेको

    भण्डारण गर्यौं । नरिवलको पानीलाई फ्रिजमा चिसो बनाएर त्यसको आनन्द पनि लियौं । काँक्रा, उखु निकै स्वादले खायौं ।

    निकै सुरवीर अनुभव भएको थियो । योजना मुताविक काम फत्ते गर्न सकेकोमा हामी मख्ख थियौं । कोठेबारीमा भए जति फलफूल टिप्ने र खाने मात्रै हो र ? बोटबिरूवा काट्यौं । केराको बोट त झ्यामझ्याम छिनालेका थियौं । खै कसको घरमा हो, ट्वाइलेटको ढोका खोल्नेबित्तिकै केराको थम्बा ढल्नेगरी पासो थाप्यौं । मिसनबाट प्राप्त भएका फलफूलले विजय उत्सव मनाएपछि केही साथी बिहान चार बजेतिर घर फर्किए । म, रोशन र रञ्जन भने राजेशकै घरमा सुत्यौं ।

    एकलट मात्रै के निदाएथ्यौं, रञ्जनको आमा प्रकट भइहाल्नुभो । छोरा खोज्दै आएको, राति चौथीको बहानामा गरिएको उत्पातको प्रमाण आँगनभरी देखिहाल्नुभयो ।

    हामी यसरी गिरफ्तार भयौं ।

    चौथी हान्नु संस्कृति हो । कसैले विरोध गर्दैन । केही हुँदैन भन्ने हाम्रो बोक्रे बुझाइ त्यहि दिन तोडिएको हो । अझै रमाइलो त के भो भने चोरी गर्ने चौथी त साउन महिनाको २७ गते पो रहेछ ! एक महिना एड्भान्समा चौथी हानिएछ । हाम्रो महान् योजनाकार कविराजको ‘मास्तरप्लान’ र बनारसको पात्रो फेल खायो ।

    हामी बिलखबन्दमा परेका थियौं । फेरि नक्कली चौथीका चोरहरूको मिटिङ बस्यौं ।

    “योजना मेरै हो तर मेरै आफन्तको घरमा चौथी हानियो । सम्बन्ध बिग्रिन्छ । त्यसैले म देखिनुहुन्न,” यति भनेर कवि पन्छिए ।

    अरु पनि हो मा हो थप्दै, अनेक बहाना बनाउँदै पन्छिए । हिजो बाटो देखाउने साथीहरूले बिहान नहुँदै बाटो फेरे । आफन्त नहुने त रोशन, राजेश र म तीन जना मात्रै रहेछौं । राजेशले अन्तिम फैसला गर्यो, “हामी तीन जना मात्रै जाने र सरी भन्ने ।”

    तर त्यसो हुने सकेन । दाजु नरेन्द्रको बुवा सत्र मामाले च्वाट्ट छिनाएको “मेवाको बोट जोड” नभनेको भए ? कलिलो फुच्चे केटो राजेशले छिप्पिएको अभिभावकको चित्त दुखाउने त्यो वचन नलाएको भए ? “परेको व्यहोर्छौं” भनेर फुटानी नलाएको भए ? त्यति मात्रै हो र ! गाउँभरी बदनाम हुनेगरी हामीले चोरेको खबर गरेर हाम्रा डेन्जर बाउहरू नबोलाएको भए ?

    त्यो हाम्रो बिठ्याइँ चुपचाप सकिन्थ्यो । तर त्यसो भएन ।

    अनि अन्तिममा के हुनु र ? डर लाग्यो । ज्यान जोगाउनु थियो । हामी तीन जना भाग्यौं । रोशन र मेरो बाबा आई नपुग्दै तीन जना टाप कस्यौं । एउटा अन्जान यात्रामा ।

    आकाश खसेको टेन्सन

    त्यो बेमौसमको चौथीले हाम्रो मन–मुटु र दिमागमा ठूलै भुइँचालो ल्याएको थियो । हामी डराएका थियौं । थुप्रै अनिर्णित योजनाहरू थिए । बेचैनी थियो । बदनाम भएका थियौं ।

    मलाई बाबाको कुटाइको डर थियो । जेठा दाजु साने (दिवश)ले खुत्रुके फुटाएर ५० रूपैयाँ चोरेको थाहा पाएर बाबाले मंगलबारे, बरगाछीको रूखको हाँगामा झुण्ड्याएर, गाउँलेको भीडमा साह्रै भकुर्नुभएको थियो । मैले झलझली सम्झें ।

    त्यो दिन बाबाले भन्नुभएको अझै सम्झिन्छु—

    “आफ्नै छोरालाई त यसरी कुटें भनें अरु कसैले चोरी गरेको थाहा पाएँ भने के हालत गर्छु होला ?” बाबाको रिस र कुटाइलाई सहन नसकेर साने दाजुलाई आमाले कानेपोखरी, जहदामा बाजेबोजुकोमा पठाउनुभयो । दाजुले त्यहिंबाट हाइस्कूल पूरा गर्नुभयो । बाबाकै डरले म र रोशन दुवै जना भागेका थियौं ।

    घरबाट भागेर हामीले ट्याम्के चोकका दाजु जसकुमारको घरमा शरण लियौं । दिनभरी उहाँकै कोठामा बस्यौं । त्यहि क्रममा समस्याबाट उम्कन अनेक योजनाहरू बन्ने र भत्किने क्रम चलिरह्यो । रोशनले घर नजाने निर्णय ग¥यो । म घरै जाने भएँ । मेरो कुनै विकल्प थिएन । म हारेको खेलाडी जस्तै थिएँ ।

    यो घटनाले राजेश, म र रोशन भित्रैदेखि हल्लिएका थियौं । रोशनको अनुहारमा देखेको डरले म झनै डराएको थिएँ । ऊ काठमाडौंमा आफन्तकोमा बस्ने योजना बुन्न थाल्यो । भागेर उतै बस्ने, उतै पढ्ने उसको मनस्थिति बनिरहेको थियो । आमाले लाइदिएको सुनको औंठी बेचेर काठमाडौं जाने रट लगाइरहेको थियो । राजेश चाहिं जे पर्ला त्यहि टर्ला भनेर चौथीको क्षतिपूर्ति बुझाउने मुडमा थियो । रोशनलाई सहयोग पनि गरिरहेको थियो ।

    मेरो त जाने ठाउँ कहिं थिएन । कता जानु ? साँझ परेपछि घर जाने निर्णय गरें । साँझ घर फर्किएँ । बाबा खुकुरी लिएर पर्खिरहनुभएको रहेछ । शायद, त्यस दिन बाबाको आदर्शलाई मैले खरानी बनाएको थिएँ ।

    बाबा खुकुरी उज्याएर गाली गर्दै मतिर आउनुभयो । म तर्सिएँ । भागें । तर, घरको संघार भने नाँघिन । घर वरिपरी कुदें । म अघिअघि, बाबा पछिपछि । यसरी नै १५ फन्को लगायौं क्यार ।

    भाग्दै बाबालाई बुझाउने प्रयास गरें ।

    मैले कुरा बनाएर यस्तै भनें, “बाबा, मैले होइन । अरूले नै हो । म त्यहाँ पढ्न गएको हो । साथीहरूले चोरेर ल्याएपछि मैले पनि खाएँ । मैले केही नभने पनि उनीहरूले भनिहाल्छ नि । अबदेखि यस्तो कहिल्यै गर्दिनँ । म राम्रो बन्छु ।”

    १५ फन्कोले गलेर हो कि छोराको कुरा पत्याएर, बाबाले भन्नुभयो, “रोक, म केही गर्दिनँ ।”

    त्यति भनेर बाबा पनि ठिङ्ग उभिनुभयो । बाबा अडिएपछि सुरक्षित दुरी कायम गरेर मैले आफू निर्दाेष रहेको दलिल पेश गरें । साह्रै मीठो बोलें क्यार, बाबा पग्लिनुभयो । आँखाभरी आँशु पारेर भन्नुभयो, “मेरो शिर निहुराउने काम कहिल्यै नगर । आइन्दा यस्तो गरिस् भने मरिस् ।”

    बाबाले यति भनेपछि मेरो सातो फर्कियो । आमाले खाना पस्किनुभयो । दिनभरीको तनावले भोक हराएको रहेछ । त्यसमाथि रातभरी चौथीको अनिन्द्रा ∕ त्यो दिनको जति मीठो खाना र निन्द्रा जीवनमा कहिल्यै भुल्दिनँ ।

    भोलिपल्ट रोशनको आमा मलाई भेट्न आउनुभयो । रोशन तीन दिनदेखि गायब थियो । उसलाई मैले पनि भेट्टाउन सकिनँ । पाँचौं दिनमा भेटियो । हातको औंठी बेचेर काठमाडौं जाने बसको टिकट पनि काटिसकेको रहेछ । धन्न आमाबाबाले फकाएर ल्याउनुभयो । त्यसपछि, हामी राम्रो बाटो हिड्यौं शायद ∕

    अन्त्य

    देशको राजनीतिमा इमान्दारिता हराउँदै गएको छ । त्यो बेला हामीले नक्कली चौथीमा सक्कली चोरी गरेको इमान्दारितापूर्वक अभिभावकलाई बतायौं । त्यही दिनदेखि हामीले त्यस्तो काम गर्न पनि छोड्यौं । त्यो दिनको पश्चात्ताप फेरि कहिल्यै गर्नु परेन । आजभोलि पनि मंगलबारेका साथीहरूसँग भेट हुँदा उक्त घटनाबारे चर्चा चलिरहन्छ । इमान्दार भए सम्बन्ध पनि दिगो हुँदो रहेछ । हामी सबै बालसखाहरू अहिले पनि उत्तिकै सहज र सरल भएर एक–अर्कासँग प्रस्तुत हुन्छौं । भइरहेका छौं ।

    राजेश जापान बसेको दुई दशक भयो । आफ्नै पहिचान बनाई परिवारसहित जापानमै मौलाइरहेको छ । रोशन सपरिवार हङकङमा आन, बान र शानका साथ रमाइरहेको छ । म पनि परिवारसँगै अमेरिकामा छु । पुरै इमान्दारिताका साथ कोरोनाभाइरसको महाव्याधिमा परिवारसँगै जीवनका पाठ सिक्दै, सिकाउँदै अगाडि बढ्दैछु ।

    ३० वर्ष अघिको नक्कली चौथीको एक महिनापछि

    साउन महिना । सक्कली चौथी पनि आयो । हामी असफल तर दिव्यज्ञान प्राप्त गरिसकेका पूर्व चौथी चोर सदस्यहरू चुपचाप घरमै बस्यौं । भोलिपल्ट थाहा भो— बिजुलीको पोल चढ्ने भ¥याङ लगाई–लगाई गाउँमा नयाँ चौथी हानेछन् । एक जना साथी भाग्दाभाग्दै हात भाँच्चिएको पनि भेटियो । सक्कली चौथीको रात मंगलबारेमा चौथी हान्ने साथीहरूले भनेछन्, “त्यहि पुराना केटाहरूले फेरि चौथी हाने ।”

    एक पटकको चोर सधैंको चोर गाँठे !

  • कमेन्ट गर्नुहोस्