• युनलङ आक्रमणको वार्षिकी

    डेमोक्रेटिक पार्टीका विधायक लाम च्युक–तिङ (माइक)लगायत विरोध प्रदर्शनको क्रममा । तस्बिरः एससीएमपी ।
  •  

    जुलाई २१ । युनलङ आक्रमण वार्षिकीको अवसरमा आन्दोलनकारीहरुले प्रदर्शन गर्न खोजे पनि प्रहरीले हस्तक्षेप गरेर केहीलाई गिरफ्तार गरेको छ । क्वाइचिङ जिल्ला पार्षद् रेमन चाउलाई नयाँ राष्ट्रिय सुरक्षा कानून अन्तर्गत र अन्यलाई सामाजिक दूरी नियम उल्लङ्घनको अभियोगमा गिरफ्तार गरिएको छ ।

    जिल्ला पार्षद् चाउले ‘हङकङलाई मुक्त गर, हाम्रो समयको क्रान्ति (लिबरेट हङकङ, रिभोलुसन अफ आवर टायम्स)’ भन्ने चर्चित नारा लेखिएको व्यानर बोकेका थिए । उक्त नारालाई सरकारले विखण्डनकारी नाराको रुपमा व्याख्या गरेको छ । कोभिड–१९ का कारण लगाइएको चारजना भन्दा बढी भेला हुन नपाइने नियम विपरित भेला भएकाहरुलाई गिरफ्तार गरिएको हो ।

    सामाजिक दूरी कायम नगरेको अभियोगमा डेमोक्रेटिक पार्टीका विधायक वु चि–वाई, एण्ड्रू वान र लाम च्युक–तिङलगायतलाई प्रहरीले सजाय सम्बन्धी पूर्जी थमाएको छ । उनीहरुले चारजना भन्दा कम अलग–अलग आए पनि प्रहरीले एकै ठाउँ भेला गराएर अभियोग लगाएको बताएका छन् ।

    प्रदर्शन रोक्न बिहानैदेखि युनलङ रेल स्टेसन, नजिकै रहेको योहो मल र युनलङ बजारको मुख्य क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनकारीहरु भेला हुन थालेपछि प्रहरीले सामाजिक दूरी नियम उल्लङ्घन नगर्न र राष्ट्रिय सुरक्षा कानून विपरित गतिविधि नगर्न सूचना व्यानर प्रदर्शन र माइकिङ गरेको थियो ।

    कडा सुरक्षाबीच पनि प्रदर्शनकारीहरुले चर्चितसहित अन्य नाराबाजी गरेका थिए । सुपुर्दगी विधेयक विधायिका परिषद्मा पेश गर्ने तयारी भएसंगै शुरु भएको आन्दोलनको क्रममा उठाइएको पाँच मागमध्ये विधेयक फिर्ता भए पनि चार माग पूरा नभएको सन्दर्भमा उनीहरुले ‘पाँच माग, एक कम होइन (फाइभ डिमाण्ड्स नट वन लेस)’ नारा लगाउने गरेका छन् ।

    उनीहरुले आन्दोलनका क्रममा भएको प्रदर्शनलाई हुलदंगा भनिएकोमा सच्चाइनु पर्ने, प्रहरी दमनको स्वतन्त्र छानबिन गर्नु पर्ने, दमनमा उत्रिएका प्रहरीलाई कार्वाही गरिनु पर्ने र झुटा मुद्दा खारेज गर्नु पर्ने माग गरिरहेका छन् ।

    यस विषयमा सरकारले तोडफोड र आक्रमणमा उत्रिएको भीडलाई प्रदर्शन भन्न नसकिने, प्रहरी कार्वाहीको विषयमा शिकायत गर्ने सन्यन्त्र ‘कम्प्लेन्स अगेन्स्ट पुलिस अफिस (कापो)’ भएकोले स्वतन्त्र छानबिनको आवश्यक नभएको, प्रहरीले जिम्मेवारी निर्वाह गरेको र कानून बमोजिमको मुद्दा खारेज नहुने बताएको छ ।

    गत वर्ष आजकै दिन सेन्ट्रलमा सम्पन्न सरकार विरोधी प्रदर्शनमा भाग लिएर आउनेहरुलाई केन्द्रित गरी युनलङ रेल स्टेसनमा सेतो बस्त्रधारीको जत्थाले आक्रमण गरेको थियो । उक्त आक्रमणबाट सर्वसाधरणलगायत ४५ जना घाइते भएका थिए । फलामे रड, लाठीले सजिएका जत्थाले रेल र स्टेसनभित्र अन्धाधुन्ध आक्रमण गरेको थियो ।

    घटनाको भिडियो फुटेज र तस्बिरमा नेपालीलगायतका दक्षिण एशियालीहरुको संलग्नता देखिन सकिन्छ । घटनापछि नेपालीलगायत हिन्दी, उर्दूलगायतका भाषामा विभिन्न सूचना सम्प्रेषण भएका थिए ।

    उक्त घटना सम्बन्धमा प्रहरी अनुसन्धानमा घाइतेलगायतले असुन्तुष्टि जनाएका छन् । उनीहरुका अनुसार अनुसन्धान प्रभावकारी रहेको छैन । केहीलाई गिरफ्तार गरिएको भए पनि मुख्य अपराधीलाई पक्राउ नगरिएको उनीहरुको आरोप रहेको छ । घटनाको बारेमा खबर गरे पनि समयमा प्रहरी नआउनुले प्रहरीको मिलोमतो रहेको पनि आन्दोलनकारीहरुले शंका गर्ने गरेका छन् । प्रहरीले भने जनशक्तिको अभावमा समयमा घटनास्थल पुग्न नसकेको बताएको थियो ।

    आन्दोलनकारीहरुले प्रत्येक महिनाको २१ तारिक घटनास्थलमा विरोध प्रदर्शन गर्ने गरेका छन् । दुई दिनअघि पनि वार्षिकीको वार्मअपको रुपमा पनि प्रदर्शन भएको थियो ।

  • कमेन्ट गर्नुहोस्