• मातृभूमि पीडामा पर्दा जसले लगाए मल्हम

  •  

    दुःख सबैलाई थियो र छ । तर आफ्नो दुःख पीडाभन्दा जन्मभूमिको पीडालाई मनमा राख्नेहरुको सदाशयताले सबैलाई उत्प्रेरणा दिन्छ । भनिन्छ; मनमा दुःख छ भने आफूभन्दा पनि दुःखमा बाँचिरहेकाहरुलाई हेर्नुपर्छ । अनि लाग्छ कि; म मात्र एक्लो हैन ।

    कोरोनाले संसार पीडामा थियो र छ । जीवनमा कहिल्यै नसोचेको र नभोगेको अनुभव कोरोना कहरले सबैलाई भोगाउँदैछ । कोरोनाको उद्गमस्थल भनिएको वुहान शहर हङकङभन्दा करिब १ हजार किलोमिटरको दुरीमा छ । ईपिसेन्टर नजिकैबाट मृत्युको भय र कोलाहललाई हङकङले नजिकबाट महशुस गर्यो । विदेशी भूमिमा अर्काको संस्कृति र नियममा बाँधिएर बसिरहँदा यस्ता त्रास र भयभित समाचारले अझै बढी पीडा दिने रहेछ ।

    हङकङले अन्य देशको तुलनामा आफूलाई समयमै संवेदनशील बनायो । संसारमा कोरोना–पीडाको तुलनामा हङकङले आफूलाई सुरक्षित महशुस गरिरहेको छ ।

    हङकङमा रहेका नेपालीहरुको मन त्यतिबेला विचलित भयो, जतिबेला नेपालमा कोरोनाको तीव्र संक्रमण शुरु भयो । विकासको गतिमा आफूलाई भर्खरै उभ्याउँदै गरेको नेपाललाई कोरोनाको जोखिमले यसरी गाँज्यो कि त्यसबाट उठ्न पक्कै अझै केही समय लाग्नेछ । नेपाल यतिबेला लकडाउनमा छ । सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेपछि बाध्य भएर लकडाउन केही खुकुलो पारिए पनि जोखिम कम गर्न सकिएको छैन ।

    नेपालको यो पीडा र संक्रमणको समाचारले हङकङलाई कर्मभूमि बनाएकाहरुको मन स्थिर हुन सकेन । आफ्नो तर्फबाट सकेको सहयोग व्यक्तिगत÷सामुहिक तवरबाट भए । केही पात्रहरु, जसले कोरोना कहरबाट सकसमा परिरहेकाहरुलाई खुलेरै सहयोगको हात बढाए ।

     

    जन्म गाउँलाई १० लाख सहयोग

    मास्टर तुलसीकुमार गुरुङ ।

    “धन मात्र भएर हुँदैन सहयोग गर्न मन चाहिन्छ” यहि भनाईलाई चरितार्थ गरिदिए ग्राण्ड मास्टर तुलसीकुमार गुरुङले ।

    कोभिड–१९ ले नेपाल लकडाउनमा छ, गरेर खानेहरु बाहिर निस्कन पाएका छैनन् । कमाई हुन नसकेपछिको व्यावहारिक कठिनाई दर्दनाक छ । मृत्युको भयसँगै बाँच्नका लागि सकस व्यहोरिरहेका गण्डकी प्रदेश, मादी गाउँपालिका अन्तर्गतका गाउँहरुमा गुरुङले १० लाख रुपैयाँको आर्थिक सहयोग गरेका हुन् ।

    एक कार्यक्रमकाबीच मास्टर गुरुङकी आमा काली गुरुङले वारचौक गाउँका पूर्व प्रधानाध्यापक कृष्णबहादुर गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।

    ग्राण्ड मास्टर तुलसी भन्छन्, “मादी गाउँपालिका अन्तर्गतका गाउँहरु वारचौक, तोगी गाउँ, पुरानो भा चौक, मेन भा चौक मेरो जन्मे–खेलेका गाउँ हुन् । लगभग १९६ घरधुरी रहेको उक्त गाउँमा ५ हजार रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरियो ।”

    राहत रकम वितरणलाई सहज र पारदर्शी बनाउनका लागि ईश्वरबहादुर गुरुङको नेतृत्वमा एउटा समिति समेत निर्माण भएको थियो । समितिको लगाव र मेहनतले सबैको हातमा समान रुपमा सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

    सहयोग रकम हस्तान्तरण गर्दै गुरुङकी ममतामयी आमा काली गुरुङ  ।

    अनौठो भाइरसले संसार आतंकित बनिरहेको छ, आफ्नो जन्म गाउँमा मैले सकेको सानो सहयोग गरेको हुँ । आत्मसन्तुष्टि भन्दा ठूलो केहि नहुने रहेछ, जीवनका अधिकांश समय विदेशमा व्यतित गरे पनि मेरो मन र समर्पण जहिल्यै आफ्नै देश र गाउँमा छ ।

    २० वर्ष सेवा गरेर ब्रिटिश आर्मीबाट निवृत्त भइसकेपछि २३ वर्षदेखि निरन्तर हङकङलाई कर्मथलो बनाइरहेका छन् ग्राण्ड मास्टर गुरुङले ।

    हङकङको नेपाली समाजमा स्वच्छ, इमान्दार र कर्मनिष्ठको छवि बनाएका उनी नेप्लिज तेक्वान्दो एशोसिएसन, हङकङका प्रेसिडेन्ट; मितेरी सेवा समिति, पोखराका अध्यक्ष; वी वील राईज फाउन्डेशनका संस्थापक लगायतका विभिन्न सामाजिक संघ–संस्थाहरुमा आबद्ध छन् ।

    खेलकुद र शिक्षामा निरन्तर सहयोगका लागि तयार हुने तुलसीले विभिन्न समयमा खेलाडी र विद्यार्थीलाई व्यक्तिगत र संस्थाको मार्फत् सहयोग गरिरहेका छन् ।

    गुरुङ भन्छन्, “भूकम्पपछि सहयोगको हेतु स्थापना गरिएको वी वील राईज फाउण्डेशनले अहिले शिक्षा, खेलकुदको क्षेत्रमा निरन्तर सहयोगका कार्यक्रम गरिरहेको छ । पर्यटन प्रवद्र्धनका लागि हामीले हाम्रो क्षेत्रबाट प्रयास गरिरहेका छांै । मानवीय सहयोग र आफ्नो देशप्रतिको सदाचारिता एवं

    जिम्मेवारीबाट किमान्त म पछि हट्दिनँ । संसारको जुनसुकै कुनामा बसे पनि नेपाली मन र नेपाली सानको लागि काम गरिरहेको हुन्छु,” उनी थप्छन् ।

    वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै तुलसीले पोखरा र काठमाडौंमा रहेको आफ्नो घरमा १ महिनाको भाडा निःशुल्क गरिदिएका छन् । गुरुङ भन्छन्, “सहयोग सानो नै किन नहोस्, कसैको लागि ठूलो हुन सक्छ । सबैले मानवीयता देखाउने हो भने अवश्य केहि परिवर्तन सम्भव छ ।”

     

    स्वास्थ्य सामग्री प्रदान

    दुर्गा घोताने ‘मिलन’

    सामाजिक काममा सक्रिय दुर्गा घोताने ‘मिलन’ले कोरोनाबाट आक्रान्तित बनिरहेको जन्मभूमिमा सहयोग नगरी बस्न सकेनन् । आफ्नो कमाईबाट निस्वार्थ रुपले जन्मभूमिमा विभिन्न सामाजिक काम गरिरहेका उनले कोरोनाको महामारीबाट बच्नका लागि बाजुङ हेल्थ पोष्टलाई स्वास्थ्य सामग्री र मोदी गाउँपालिका वडा नं ५ लाई मास्क, सेनिटाइजर लगायतका सामग्री प्रदान गरे ।

    समाजसेवी मिलन भन्छन्, कोरोना कहरले संसारै आतंकित बनिरहेको अवस्थामा स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा गरिरहेका स्वास्थ्यकर्मीहरुले नै सुरक्षा उपकरण प्रयोग नगरिरहेको देख्दा मन दुख्यो । आफूले सकेको सहयोग गरें । आफ्नो कमाईबाट केही प्रतिशत सामाजिक सेवामा निरन्तर लगाइरहेको हुन्छु ।

    मिलन फाउन्डेशनको तर्फबाट कार्यवाहक अध्यक्ष देवी गुरुङ र सचिव मदन गुरुङले ५ थान पीपीई, १ हजार थान सर्जिकल पञ्जा, १ हजार थान सर्जिकल मास्क, १२ सय प्रति क्लोन्डर लगायतका स्वास्थ्य सामग्री बाजुङ हेल्थ पोष्ट सानो पाखाका प्रमुख गोकुल अधिकारी र पर्वत मोदी गाउँपालिका वडा नं ५ का अध्यक्ष दलबहादुर मल्ललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

    यसभन्दा अघि पनि मिलन फाउन्डेशनकै सहयोगमा गुरुङले बाजुङ हेल्थ पोष्टलाई करिब ४० हजार बराबरको फोटोकपी मेशीन, ह्वील चेयर, स्ट्रेचर, ब्लडप्रेसर जाँच मेशीन, तापक्रम जाँच मेशीन, सुगर जाँच मेशीन, किडबक्स लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेका थिए ।

    बाजुङ स्वास्थ्य चाैकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै मिलन फाउण्डेसका सदस्यहरु ।

    मिलन फाउन्डेशनले कोरोनाको संक्रमण भइरहेको अवस्थामा आफ्नो ज्यानलाई जोखिममा राख्दै सूचना सम्प्रेषण गरिरहेका तमु सञ्चारकर्मीहरुलाई २३ हजार रुपैयाँ बराबरको सुरक्षा सामग्री प्रदान गर्यो । निरन्तर पत्रकारिता गरिरहेका तमु समुदायका पत्रकारलाई ३१ थान प्रेस ज्याकेट प्रदान गरिएको थियो । फाउन्डेशनका संस्थापक दुर्गा भन्छन्, “मेरो एकल प्रयासले यो सहयोग हस्तान्तरण गरेको हुँ । यसभन्दा बाहेकका आर्थिक, भौतिक सहयोगहरु पनि निरन्तर गरिरहेको छु ।”

    मिलन फाउन्डेशन नेपाल आधिकारिक रुपमा दर्ता गरी सामाजिक सेवामा होमिएका दुर्गा घोताने ‘मिलन’ एक दशकदेखि सक्रिय रुपमा सामाजिक सेवामा छन् । फाउन्डेशन अन्तर्गत मिलन डिजी ईन्टरनेशनल प्रालिको माध्यमले फिल्म निर्माणमा समेत हात हालेका दुर्गाले ‘भेडीगोठाले’ चलचित्र निर्माण गरिसकेका छन् । फाउन्डेशन अन्तर्गत नै मिलन पुस्तकालय, मिलन अन्र्तद्धय डोजाङ खेलकुद विद्यालय, मिलन ट्रष्ट सञ्चालनमा छन् ।

    दुर्गा भन्छन्, “यी सबै सामाजिक सेवाका अवयव हुन् । मिलन फाउन्डेशनमार्फत् जे–जति कामहरु भएका छन् सबै निस्वार्थ रुपमा भएका छन् । मैले मेहनत गरेको केही हिस्सालाई फाउन्डेशनमा लगाएको छु, सबैको माया, साथ र सद्भाव पाएको छु । मिलन डिजी ईन्टरनेशनलबाट गुरुङको मौलिक संस्कार र संस्कृतिलाई जगेर्नासँगै पुस्ता हस्तान्तरणका लागि फिल्म निर्माण गरिरहेको छु । फिल्मबाट कमाएको पैसा पनि फाउन्डेशनकै ट्रष्टमा जम्मा भई निरन्तर सामाजिक कामहरु भएका छन् ।”

    मैले सकेको गरेको छु त्यो भन्दा धेरै मैले सहयोग गरेका ठाउँहरुमा हाँसो र प्रेम पाएको छु, जुन किमार्थ पैसाले किन्न सकिन्न ।

     

    सहयोगको आदान–प्रदान

    लाँलीगुरास एशोसिएसन हङकङले ५० हजार प्रति मास्क नेपाल पठाउँने तयारीमा ।

    हङकङमा कोरोनाको तीव्र संक्रमण फैलिरहँदा नेपालमा त्यसको नामोनिशाना थिएन । कोरोना संक्रमण फैलिएसँगै सुरक्षा सामग्रीहरुको प्रचुर अभाव भयो हङकङमा । बजारमा कहिं पनि मास्क, सेनिटाइजर लगायतका सामग्री पाइनै छाड्यो, कहिंकहिं पाइयो भने पनि अत्यधिक चर्को मूल्य । त्यस्तो विषम परिस्थितिमा नेपालमा रहेका आफ्ना साथीभाईलाई सहयोग मागी १० हजारप्रति मास्क एलजी ग्रुप (लाँलीगुरास एशोसिएसन)ले बाँडेको थियो । ग्रुपले नामपिन वाईस्थित चाईनिज वृद्धवृद्धा र पार्कमा नेपाली, फिलिपिनो, ईन्डोनेशियन, स्थानीय चाईनिज लगायतलाई निःशुल्क मास्क वितरण गरेको थियो ।

    अहिले हङकङमा कोरोना कहर केही हदसम्म कम भएको छ भने बन्द गरिएका व्यापार, व्यवसाय र सार्वजनिक स्थलहरु पनि क्रमशः खुल्ने क्रममा छन् । तर कोरोनाको नामोनिशानै नरहेको नेपाल अहिले रेडजोनमा छ । दिनप्रतिदिन कोरोनाको संक्रमणले स्थिति भयावह छ । अन्तर्राष्ट्रिय उडान, नाका सबै बन्द छन् भने मुलुकभित्र लकडाउन घोषणा गरिएको छ । पछिल्लो समय लकडाउन केही कम भए पनि आधिकारिक रुपमा फ्रि हुन सकेको छैन ।

    हङकङमा समस्या पर्दा नेपालबाट मास्कको सहयोग प्रदान गरिएको गुन सम्झँदै एलजी ग्रुपले पनि नेपालमा मास्क, सेनिटाइजर लगायतका सामग्रीहरुको सहयोग प्रदान गर्यो । एलजी ग्रुपसँगै नेप्लिज बडीबिल्डिङ एशोसिएसन, मकाउ; ब्रदरहुड एशोसिएसन, मकाउ; एनआरएनए, मकाउ लगायतको सक्रियतामा ५० हजार पिस मास्क नेपालमा सहयोगरुवरुप प्रदान गरियो ।

    एलजी ग्रुपका सक्रिय सदस्य चेतन गुरुङ भन्छन्, “पीडामा हामी सबै एक हुन जरुरी छ । हामीलाई पर्दा नेपालमा सहयोग माग्यौं, अहिले नेपाल पीडामा छ, हामी कसरी चुप बस्न सक्छौ ?”

    यो सँगै कोभिड–१९ को पीडालाई मल्हम लगाउनका लागि बाग्लुङ ढोरपाटन समाज, हङकङ र अन्य विभिन्न संघसंस्थाहरुले पनि प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरे । र, यो क्रम जारी नै छ ।

    ‘यो मन त मेरो नेपाली हो ।’ संसारको जुनसुकै कुनामा विभिन्न कर्म गर्नका लागि बसे पनि आफ्नो मातृभूमि कसैले बिर्सन सक्दैन । सहयोगको दायरा ठ्याक्कै यस्तै हुनुपर्छ भन्ने हँुदैन तर मानवता र सहयोगीपनको भावना मन भित्रबाट आउनु पर्छ । ढोङ्गी समाजसेवीहरुको भीडमा निस्वार्थ रुपमा आफ्नो तर्फबाट गरिएका यस्ता सहयोगले सबैलाई उत्प्रेरणा प्रदान गर्छ । अनि, भन्न मन लाग्छ— हामी नेपाली, हाम्रो एकता ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad