• एभरेष्ट वेस क्याम्प : अविष्मरणीय अनुभव

  •  

    पहिलो दिनः हङकङबाट काठमाडौं

    ९ डिसेम्बर २०१४ का दिन म र आयरलैण्ड निवासी मार्काेस नेपाल वायुसेवा निगमको नियमित उडानबाट हङकङ–काठमाडौं हुँदै एभरेष्ट वेश क्याम्प प्रस्थान गर्यौं । नेपाली समय रातको ९ बजे हाम्रो जहाज काठमाडौं अवतरण भएको थियो । हामीले हिमालमा लगाउने डाउन ज्याकेट लगायत सम्पूर्ण सामग्री नेपालमै खरिद गर्ने निर्णय गरेका थियौं । हिमालय आईस कम्पनी लि. का प्रबन्ध निर्देशक दाई चन्द्र ईङनामले हाम्रो व्यवस्थापनको जिम्मेवारी लिनुभएको थियो । रोयल सिङ्घी होटलमा पुग्दा रातको १० बजिसकेको थियो । हतार–हतार ब्यागेजहरू रुममा फालेर सपिङको लागि ठमेलतिर लाग्यौं । चन्द्र दाईले चिनजानको पसललाई भनिराख्नुभएको रहेछ । साहु हामीलाई नै पर्खिरहेका रहेछन् । हामीलाई चाहिने लत्ताकपडा किनेर होटलतर्फ लाग्दा रातको ११:३० भइसकेको थियो । सामानहरू मिलाएर रातको १ बजे ओछ्यान ततायौं ।

    दोस्रो दिनः काठमाडौंबाट लुक्ला हुँदै फाक्दिङ

    काठमाडौं–लुक्लाको हाम्रो फ्लाइट बिहान ७ बजेको भएकोले सबेरै एयरपोर्टतिर लाग्यौं । एभरेष्ट बेस क्याम्पको यात्रा निश्चित भएपछि मैले युट्युवमा यो सम्बन्धी भिडियोहरु हेरेको थिएँ । साथै, पहिल्यै पदयात्रा सम्पन्न गरिसकेका पदयात्री साथीहरूलाई पनि सोधेको थिएँ । जसअनुसार, शरीरलाई अभ्यस्त पार्ने हेतुले हङकङमा २-४ पटक ताईमोसानबाट चुनवानसम्म हाईकिङ गरेको थिएँ ।

    जब हामी काठमाडौं–लुक्लाको जहाजमा पस्यौं, ३ दिन अघि मात्र अग्नि एयरको जहाजले लुक्ला विमानस्थलको भित्तामा किस गरेको समाचार फोटो सहित आँखामा नाच्न थाल्यो । करिब ३५ मिनेटको उडाईमा मनोरञ्जनात्मक डाँडापाखा, हिमालहरूलाई घरि तल घरि माथि पार्दै विमान अघि बढिरहेको थियो । लुक्ला पुग्न लागेको जानकारी एयर होस्टेजले गराएपछि भने जहाज नै तल–माथि लागेको आभास हुन थाल्यो । जहाज जब एयरपोर्टतिर सोझियो तब मेरो मन ढुक–ढुक हुन थालेको थियो । यद्यपि, डिसेम्बर ८ का दिन संसारकै दोस्रो खतरा एयरपोर्टमा सकुशल अवतरण गर्दा मन प्रफुल्लित थियो । हाम्रो योजना अनुसार बिहानको खाजा लुक्लामा खाएर सोझै फाक्दिङतिर लाग्यौं । बेलुका ३-४ बजे नै होटल पुग्यौं । हल्का जाडो भएकोले छिट्टै नै ओछ्यानतिर लाग्यौं ।

    तेस्रो दिनः फाक्दिङ–नाम्चे बजार

    बिहान सबेरै उठियो । चिया–नास्ता खाइयो । त्यसपछि लागियो उकालो । निकै रमाइलो भयो यात्रा । खाना खाने ठाउँ पनि राम्रो र व्यवस्थित थियो । दुधकोशीको बाटो भएर पुलहरू तर्दै हिंड्नुपर्ने रहेछ ।

    सामान्य ढुंगा समेत नबिच्छ्याइएको उकालो बाटो; खच्चड, भरिया र यात्रीहरूसँगै धुलोमा रुमल्लिंदै उक्लिइयो । ५–६ घण्टामा पुगिने नाम्चे बजार रातको ८ बजेतिर पुगियो । बाटोमा डाँफे चरी भेटियो । एकछिन अडिएर हेरें, फोटो खिचें, ऊ मलाई नहेरी आफ्नो तालमा माटो खोस्रिरहेको थियो । हामी नाम्चे बजार पुग्यौं । होटल पहिल्यै बुक गरिएको थियो । एकछिन थकाई मारेर खाना खाने सल्लाह हुँदैथियो मलाई भने केही असजिलो महशुस भयो । जबरजस्त थोरै खाना खाएँ । खाएर बाहिर निस्केको के थिएँ ३ पटक बान्ता भयो । खासमा मलाई लेक (हाई अल्टिच्युड) लागिसकेको रहेछ । सम्झें– अब यहाँभन्दा माथि जान सक्दिन होला । हङकङका साथीहरूले विना खरीको मादल बजाउने भए भनेर दुःख लाग्यो ।

    तातोपानी थर्मसमा राखिदिएर सहयोगी भाई नुरु शेर्पा आफ्नो कोठामा लागे । म भने खुइऽय गर्दै थिएँ । गाईड भाईलाई म यहाँभन्दा माथि जान सक्दिनँ जस्तो छ भनेपछि चन्द्र दाईलाई फोन गर्ने सल्लाह भयो । दाईले सक्दै सकिन्नँ भने भोलि २ जना जानु, २ जना फर्कनु भन्नु भो । त्यही सल्लाह अनुसार सुत्न कोशिस गर्दै ८ हजारसम्मको उचाई थाम्न सक्ने स्लिपिङ ब्यागमा ३,४४० मिटरमै सुलुक्क पसें, त्यसमाथि सिरक पनि ओढियो । बिहानको ३ बजेतिर ब्युझँदा त पसिनाले निथ्रुक्क भिजेको रहेछु । सञ्चो भएको महशुस भइरहेको थियो । निकै भोक लाग्यो । सातु (मकै, भटमास पिसेर बनाइएको) बोकेको थिएँ, तातोपानीको साथमा खाएँ ।

    चौथो दिनः नाम्चे–तेङबुचे

    बिहानको मिरमिरे घाम, खुला आकाश, चारैतिर हेरें– मन नै पग्लिने हिमाल । अझ बढी रोमाञ्चक दृश्यको लोभले परसम्म जाने उत्सुकता पलायो । रमाइलो लाग्दालाग्दै धेरै पर नपुगी फर्कें ।

    यता साथीहरू हिंड्नको लागि तयार भइसकेछन् । मेरो झोला सहयोगी भाई नुरुले बोकिदिने भए । हल्का खाजा–नास्ता गरेर अनि फेरि लाग्यौं उकालो ।

    ज्यानले थाम्ला जस्तो छैन । जति माथि लाग्यो, त्यति नै आँखाले नभ्याउने उकालो ! भाई नुरुसँग म अब जान सक्दिनँ होला के गरौं भनेर ठट्टा गरें । भाईले धेरै यात्रीलाई सगरमाथा लगेको स्मरण गराए । उनले पनि ठट्यौली पारामा ‘दाईलाई बोकेरै भए पनि वेस क्याम्प पुर्याउने जिम्मेवारी मेरो’ भनेर ढाडस दिए । एक पटक भाईले, ‘दाई ऊ माथि हो बाटो’ भन्दा झण्डै ढलें म । विचार गरें– सकेसम्म कोशिस गर्छु नसके फर्कन्छु । कुरा गर्दै, गीत सुन्दै, ठट्टा गर्दै हिंड्दा बाटो काटेको पत्तै भएनछ । अनि पुगियो तेङवुचे । बेलुका खाना खान मन नलागेकोले चाउचाउ खाएर सुतियो ।

    पाँचौ दिनः देङबुचे

    बिहान–दिउँसो सधैं गार्लिक सुप  खाने गरेको थिएँ । नास्ताको साथमा खाएर यात्रालाई निरन्तरता दियौं । जब खम्बु क्षेत्रमा पर्ने बौद्ध गुम्बामा पुग्यौं, जो सारै प्रख्यात छ, मन बडो हर्षित भयो । त्यस क्षेत्रबाट हिमालहरू अमादब्लम, मकालु, पुमरी प्रष्ट देखिने भएकोले धेरैको मन लोभ्याउने रहेछ । गुम्बामा सेवा गर्नुका साथै फोटोहरू लिएर यात्रा अघि बढायौं । अमादब्लम हिमालको बारेमा थोर–बहुत अध्ययन गरेको थिएँ । अमादब्लमको अर्थ जान्न मन थियो, सोधखोज गर्दा– आमाले नानी बोकेको जस्तो देखिने भएकोले भनियो । वास्तविकता अझै प्रष्ट भएन । मलाई लेक लागेको लागेकै थियो तैपनि जसोतसो मनलाई दह्रो बनाएर निरन्तर अघि बढें । हामी दिनको ४ बजे देङबुचे पुग्यौं र हाम्रो समय तालिका अनुसार त्यो रात त्यहिं बस्यौं ।

    छैटौं दिनः डिङबुच्चे–लुवुचे

    निकै जाडो थियो । सधैंझैं बिहानको नित्यकर्म सकेर बाटो लाग्यौं । बाटोमा एकजना बहिनी चौरी गाईको दुध दुहुँदै रहिछन् । १-२ पोज लिनुपर्यो भनेर क्यामेर सोझ्याउँदै थिएँ । आप्पुई, ती बहिनी त ‘किन फोटो खिच्छस्’ भन्दै ढुङ्गाले पो हान्छिन् बा ! अनि, फोटो नखिची बाटो लागियो । जति अघि बढ्यो त्यति नै रमाइलो महशुस हुँदै थियो । हाम्रो टिममा म नै कमजोर थिएँ, सास बढेर गइन्छ कि के हो जस्तो हुन्थ्यो । फेरि; खरी बेगरको मादल बजाउन दिनु पनि भएन !  जसोतसो जाने क्रम रोकिएन । एउटा डाँडा कटेपछि चाहिं अलिक समथर आयो । रुखहरू पनि देखिन छाडे । हिमालै हिमाल । जता हेरे पनि पानारोमाझैं लाग्ने । अझ अगाडि कस्तो होला, कौतुहल लाग्नुको छुट्टै आनन्द ! उकालो चढ्दै, थकित ज्यान बसाउँदै–उठाउँदै मनोरञ्जक दृश्यहरू हेर्दै अघि बढियो ।

    जाडो र लेक लागेकोले बेलुका करैले गन्तव्य पुगें । खाना खाने इच्छा भएन । तातोपानीसँग अलिकति सातु खाएर सुत्न लागेको के थिएँ, बमिटिङ शुरु भयो । बमिट गर्दा–गर्दा पित्त नै सकिएला जस्तो भयो । सहयोगी भाई नुरुले निरन्तर सहयोग गरि नै रहे । रातको २ बजे चाहिं, अब मरिने भइयो, लालाबालाको बिजोक हुनेभो भनेर रुन मन लाग्यो । बेस्सरी रोएँ । हङकङबाट ईन्सुरेन्स त लगेको थिएँ । तर, रातको समयमा हेलिकप्टर मगाउने कुनै उपाय थिएन । मन भारी हुँदै थियो । भाई नुरुले गाईड भाई पनि म जस्तै बान्ता गरिरहेको बताए । अब, हामीलाई लाने भाई नै बिरामी ! पीडामाथि झन् बज्रपात थपिंदै थियो । भाई नुरुले तातोपानी राख्ने बोतलमा तातोपानी राखेर स्लिपिङ ब्यागभित्र लगाएर सुत्न भने र उनले नै त्यसो गरिदिए । तातोको महशुस हुँदै सुतेछु । बिहान उठ्दा पसिनै पसिना— फेरि, ज्यान पनि राम्रो नै छ । सम्झें– अब चाहिं वेस क्याम्प पुग्ने सपना पूरा हुनेछ । विना खरीको मादल बजाउने साथीहरूलाई मसला पुग्ने छैन !

    सातौं दिनः लुवुचे–गोरक सेप

    बिहानको खाजामा सुप र हट लेमन खाएर बाटो लागियो । जता फक्र्याे उतै हिमाल, मनमोहक दृश्य । मलाई यति फूर्ति आएछ कि, पत्तै नपाई लेक लाग्ने, थकाई लाग्ने हराएछ । सबैभन्दा तन्दुरुस्त र फूर्तिलो मै भएछु । लिम्बू गीतमा भिडियो सुटिङ गर्नसम्म भ्याइयो । भाग्यले पनि साथ दिएछ– मौसम एकदम राम्रो थियो । उकालो–ओरालो–तेर्साे बाटोमा नाँच्दै, गाउँदै, रमाइलो गर्दै पत्तै नपाई गोरक सेप पुगिएछ । १२ बजे खाजा–नास्ता खायौं । म भने खानभन्दा हेर्नमै उत्सुक थिएँ ।

    एभरेष्ट वेस क्याम्पमा बस्ने–खाने व्यवस्था नभएकोले पुगेर फर्कनुपर्ने थियो । हल्का हावा चल्नु नियमित जस्तै रहेछ । बाटो तेर्साे तर हिउँमाथि हिंड्नुपर्ने भएकोले होशियारीका साथ अघि बढ्यौं ।

    पर्यटकहरूलाई ओसार–पसार गर्न ४÷५ वटा हेलिकप्टर तँछाड–मछाड गरेर उडिरहेका थिए । तर, म भने सगरमाथाको फेदमा पुग्न पाउँदा निकै गौरवान्वित भएको थिएँ । मनमा दरिलो आँट, हिम्मत र कोशिस हुने हो भने जीवनमा सफलता पाउन सकिने रहेछ भनेर जान्ने अवसर पाएँ । त्यस्तै; मान्छे आँट, हिम्मत र साहसले नै चुचुरोमा पुग्दो रहेछ भन्ने अड्कल गरें तर आफूले चाहिं कल्पनासम्म गर्न सकिनँ ।

    एभरेष्ट वेस क्याम्प पुग्न लाग्दा हावा यस्तो आउने रहेछ कि त्यो हावाको वेगले ढुङ्गाहरू हल्लेर झर्ने रहेछन् । हिउँ पहिरो गएको भिडियोमा हेरेको थिएँ, आँखा अगाडि नै देख्दा अचम्म लाग्यो । हामी पनि ढुङ्गा छल्दै वेस क्याम्प पुग्न सफल भयौं ।

    घाम लागेको थियो, मसँग जाने मित्र खुशीले लुगाहरू खोलेर फोटो खिच्न तम्स्यो । म लगायत सहयोगी भाईहरूले यसरी हुन्न भोलि समस्या हुन सक्छ भनेर सल्लाह के दिएका थियौं, माइनस १२ डिग्रीमा बसेको मान्छे हो भनेर गफ दिन थाल्यो । म भने एउटा ढुङ्गामा आफ्नो नाम, मिति र कम्पनीको नाम लेख्दै थिएँ । मेरो छेउमा आएर ‘मेरो जिउमा तिम्रो कम्पनीको नाम लेख, म फोटो खिच्न र लान लालायित छु’ भन्यो । लौ हुन्छ भन्दै उसको छातीमा अंग्रेजीबाट ‘अल्फा ट्राभल’ लेखिदिएँ ।

    हामी त्यहाँ ४०-४५ मिनेट जति फोटो खिच्दै रमाइलो गर्दै बस्यौं । हामीसँगै अस्ट्रेलियाका नागरिकहरू पनि थिए । उनीहरूले क्रिकेट ब्याट बोकेका थिए । ब्याटमा लेखिएको नाम ठ्याक्कै थाहा भएन, बिर्सें । मलाई कौतुहलता जाग्यो, “किन तिमीले यो ब्याट यहाँ लिएर आयौ ?” मेरो जिज्ञाशालाई उसले लामो सास फेर्दै, “तिमीले सुन्यौ अस्ट्रेलियामा एकजना क्रिकेट खेलाडी खेल्दाखेल्दै देवशान भएको ?” मैले कता–कता सुनेको भन्न के खोज्दै थिएँ, “हाम्रो मित्र हो । हामी उसको खेललाई उच्च सम्मान दिन यहाँ आएका हौं” भन्दा मन हर्षविभोर भयो– साथीको लागि यस्ता महान् काम पनि हुँदा रहेछन् ।

    अर्काे; विवाह कार्यक्रम पनि हेरियो त्यहाँ । अस्ट्रेलियन केटी र नेपाली शेर्पा केटोको विवाह । एभरेष्ट वेस क्याम्पमा केक काटेर मनाउँदै थिए । कस्तो अचम्म ! के–के इच्छा अनि चाहना । अझ अलिक माथि टेण्टहरू टाँगिएको देखिन्थ्यो । भाई किन टेण्ट टाँगेर बसेको हो, एभरेष्ट जाने हुन् ? भनेर भाईलाई सोधें । खैरेहरू कहाँ चढ्न सक्छन् र दाई ! शेर्पाहरूले बोकेर, हरेक गरेर पुर्याउँछन् भन्दा पो छक्क परें । तैपनि मेरो लागि असम्भव नै थियो ।

    अब फर्कने बेला भयो भनेर गाईड भाईले जानकारी दिनासाथ हामी फर्कियौं । फेरि बाटोमा ढुङ्गा हेर्दै, छल्दै पार गर्यौं । संयोग पनि कस्तो ! हामी बसेको होटल मालिक ताप्लेजुङका शेर्पा रहेछन् । अति खुशी हुँदै बेलुकाको खाना आफ्नो तर्फबाट ख्वाउने प्रस्ताव राख्नुभयो । उहाँको सो प्रस्तावमाथि धन्यवाद दिंदै यस्तो महँगो ठाउँमा जुटाएको खाद्यान्न, दुःखले बनाएको होटलमा ‘फ्रि’ मा खान पाप लाग्ने सोचेर त्यसो नगर्न आग्रह गर्यौं । तैपनि भारी छुट दिनुभयो र त्यसो भए ‘मेड इन ताप्लेजुङ’ तोङ्वा ख्वाउने अर्को प्रस्ताव राख्नुभयो । अनि सगरमाथाको फेदमा रमाइलोसँग ताप्लेजुङे तोङ्वा खाइयो ।

    आठौं दिनः गोरकसेप–काला पत्थर

    रातमा उत्पातै हावा चल्ने रहेछ । यसो बाहिर चिहाएँ, मज्जाले जुन लागेको देखें । बाहिर निस्केर हिमाल हेर्नुपर्यो भनेर बाहिर के निस्केको थिएँ झण्डै हावाले उडाएको ! फेरि भित्रैबाट हेर्ने कोशिस गरें, हावाको वेगले खासै राम्रोसँग देख्न सकिएन ।

    भोलि कालापत्थर जानुपर्ने थियो, बिहान ३:३० मा हिंड्नुपर्ने सम्झँदै सुतें । बिहान हिंड्नु अघि टाउकोमा हेडलाइट, हातमा लठ्ठी बोकेर फेरि नाकै ठोसिने उकालो लागियो । भाईहरूले भनेझैं खैरे आधि बाटो नपुग्दै लेक लागेर अलास–तलास भयो । भाई नुरुले सहयोग गर्दै यात्रा अगाडि बढाए ।

    अन्ततः कालापत्थर चुम्न सफल भइयो । त्यहाँबाट अझ नजिक देखिने रहेछ माउण्ट एभरेष्ट । उसको काँधबाट बिहानीको मिरमिरे घाम उदाउने रहेछ । उदाउँदो घामको किरणसँगै फोटो खिचेर ओरालो लागियो । बाटोभरी बिग्रेको मोडल हुँदै, भिडियो सुटिङ गर्दै माउण्ट एभरेष्ट र कालापत्थरको यात्रा पूरा भयो ।

    ११ बजे पुनः गोरकसेप आइपुग्यौं । जिल्लावासीसँग बिदा मागियो र पूर्व सल्लाह अनुसार नुरुको दिदीको घर नाम्चेमा आएर कुखुरा काटेर, तोङ्वा तानेर रमझम गर्दै यात्रालाई सफलतापूर्वक बिट मारियो ।

  • कमेन्ट गर्नुहोस्