• तीनपाने : धराने महिमा

  •  

    कसो बाटो भुलेर म फेरी यहाँ भट्टी छेउ आइपुगें
    अब सिधा वा बाङ्गो गरी
    जसो जस्तो गरी भएर यहाँ आइपुगेपछि
    नआउनुथ्यो आइसकेर, भित्रै आइसकेपछि
    साल्दीज्यू, एक ट्वाक चढाउँ कि ?

    उपेन्द्र सुब्बाले रक्सी सम्बन्धी चर्चित कविता ‘साल्दी ज्यू, एक ट्वाक चढाउँ कि ?’ धरानमै बसेर लेखेका हुन् । धरान कविता र रक्सीको उर्वर भूमि नै हो भनेर गौरवले किन नभन्ने ? जहाँको आराध्य पुर्खा बुढासुब्बाले रक्सी नै खान्छ अनि बुढासुब्बाको चिहानमा बरदान माग्ने भक्तजन जतिले रक्सी नै चढाउनु पर्छ । रक्सी चढाएन भने तपाईंको सुनौला माग पूरा नहुन सक्छ । रक्सी माथिको धरानको मैत्रीभावपूर्ण र हृदय खुला छ । उपेन्द्र सुब्बा यसपछि फेरी लेख्छन् ।

    अस्ती पोहोरैदेखि रक्सी छोडुम् त भनेको
    खै परार पनि त्यसै भनियो र,
    रक्सीको बदनाम मात्रै गरियो ।
    त्यो साल त मलाई खुबै लाज भा’थ्यो
    र त आजकल सर्माउँदै पिउँछु ।
    लुकिछिपी पिउँछु ।
    तर पनि कहिलेकाहीं त नपिउँ भन्छु ।
    साथीभाई तर्सिंदै रिसाउँछन् ।
    र, छेवैमा पिंध मात्र यसो फर्काएर
    रिसाउँदै यो त बिग्रियो पो भन्छन् !

    रक्सीको चर्चा गर्ने उपेन्द्र सुब्बाको यो कविता गज्जबकै छ । बारबार सुन्दा पनि हाम्रो आफ्नै बानी जस्तो कविता लेखेर रक्सीको चर्चा ह्वात्तै विश्वमै बढाइदिएका छन् । तर, यसपाला धरान उपमहानगरपालिकाका मेयर तिलक राईभन्दा एक कदम अघि बढेर, उपमेयर त्यसमा पनि ब्राह्मण महिला मञ्जु भण्डारीले अमृत वचन सुनाइन्, “तीनपाने रक्सीलाई ब्राण्डिङ गरिने ।” यो खबर धरान मात्रै नभएर विश्वभर छरिएर रहेका तिनै तीनपाने रक्सीप्रेमीहरुको लागि उत्सव अनि जात्रा जस्तै भयो । त्यसमध्ये म पनि एक उत्सवी हुँ ।

    धरान उपमहानगरपालिकाको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा नीति तथा बजेट तर्जुमा समितिकी संयोजक समेत रहेकी धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको १३० नं. बुँदामा राखेर भाषण नै प्रस्तुत गरिन्, “आदिवासी जनजातिहरूको पुस्तैनीकला र संस्कृतिको रूपमा रुपान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’ लाई पहिचान र प्रवर्द्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिनेछ । यसको लागि सरोकारवाला पक्षहरूसँग समन्वय गरी प्रशोधन र ब्राण्डिङ समेत गरिनेछ ।” नेपालको इतिहासमा तीनपाने रक्सीको लागि यो पहिलो र ऐतिहासिक घोषणा थियो ।

    धरानपछि प्रदेश नम्बर १ की सांसद उषाकला राई पनि के कम ! उनले घरेलु रक्सीलाई ब्यान्ड गरेर होइन ब्रान्ड बनाएर विदेश निर्यात गर्ने व्यवस्था मिलाउन प्रदेश सभा १ मा लिखित रुपमा माग गरेकी छिन् । प्रदेशसभाको बजेट अधिवेशनको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद राईले घरेलु रक्सीलाई अब सरकारले ‘ब्यान्ड गरेर होइन ब्रान्ड बनाएर’ उत्पादन बढाउनुपर्नेमा जोड दिइन् । अझ उनले विभिन्न सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएर पनि जोडदार आवाज उठाएकी छिन् । उपमेयर भण्डारी र सांसद राई दुई प्रतिनिधि पात्र महिलाले उठाएको तीनपाने रक्सीको महान् यात्रामा, त्यही रक्सीको स्वाद लिएर गाउँघरमा हुर्किएका अविवाहित पुरुष एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई पो ब्राण्ड बनाउन मान्ने हुन् कि होइनन् थाहा छैन । कमसेकम तीनपाने रक्सीको ब्राण्ड बन्ने आवाज धरानबाट उठिसकेपछि तीनपानेका फ्यानहरुले पनि नलजाई तीनपानेभन्दा माथि अरु धेरै पाने नबढाई खाए भने अहिलेको ओली प्रशासनले हताहत नगर्ला भन्ने देख्छु ।

    अझ तीनपाने रक्सीलाई अमेरिकाको सञ्चार संस्था सीएनएनले विश्वको पिउनुपर्ने पेयमध्येमा ४१ नम्बरमा खुलेरै प्रशंसाको साथ राखेको छ । के यो नेपाली तीनपाने रक्सीको लेबल हैन ? विश्वमा पिउनुपर्ने पेय पदार्थमध्ये तीनपाने ४१औं नम्बरमा पर्नु भनेको चानचुने कुरा हो र ? नेपाल सरकारले सीएनएनलाई नबुझेको भने हुँदै होइन । बुझेको हो तर बुझ पचाएर बसेपछि सीएनएनको सात जन्मसम्म कोही नपर्ने ऋषि धमलाको जनताले जान्न चाहेर पनि केही हुनेवाला छैन । नेपाल पुलिसको काम ३३ क्वीन्टल सुन पक्रनु होइन तीन-चार बोतल रक्सी पक्रियो अनि खोल्सामा फालेको फेसबूकमा हाल्यो बस !

    महादेवले पनि चाख्नुपर्‍यो !

    स्वस्थानीमा बाहेक पढेको कथा महेन्द्रमालाको हो । कक्षा आठमा होला । हामीले पढ्नुपर्थ्यो, ‘महादेवले पनि हार्नुपरेछ’ शीर्षकको कथा । जसमा टन्टलापुर घाममा ‘घैया’ रोप्ने किसानलाई जोगीको भेषमा रहेका महादेवले ‘भरे पानी पर्दैन घैया किन रोपेको ?’ भनेर प्रश्न गर्छन् । आफ्नो मेहनतमाथि डुलेर मागी हिंड्ने जोगीले खिल्ली उडाएको देखेर किसानलाई निकै झोक चल्छ । किसानले पनि भरे पानी परेरै छाड्ने अड्डी कस्छन् । अनि महादेवले ‘भरे मरिगए पानी पर्दैन’ भनेर बाजी राखेका थिए । दिनभरी टन्टलापुर घाममा रोपेको घैया भोलि मर्ने दावी गरेका जोगी रुपका महादेवले सारा सृष्टिलाई र पानी पार्ने विष्णु भगवानलाई समेत बसमा पारे । गाँजा खाएर हेर्लास् किसान भनेर सुतेका महादेवको वचन विपरीत अन्ततः राती पानी परेरै छाड्छ । महादेव पनि किसानको लगनशिलताप्रति हार्छन्, किसानको जीत हुन्छ । कथा यत्ति नै हो ।

    यसपछि अर्को सुनेको कथा । नशा प्रेमी, गाँजा, भाँङ, धतुरो र विष धरी पिउने उदार भावको महादेव जोगीको भेषमा पृथ्वीलोकमा थिए त्यो बेला । जतिबेला उनी किसानसँग पानी नपर्ने बाजी खेलेर हारेका थिए । अघिल्लो रातको नसाका कारण प्यास लागेका महादेवले एक धनी किसानको घरमा पुगेर पानी मागेछन् । धनी तर लोभी किसानको घरमा दुध, दही, मही प्रशस्त भए पनि पानी नभएको कारण पानी छैन भनेछ । पानीको सट्टा दुध, दही, मही केही अफर गरेनछ । तर दुध, दही, प्रशस्त भएको शिवजीको दिव्यज्ञानले थाहा पाउँछ । तिर्खाएका महादेव त्यसपछि त्यही गाउँको एक गरिब किसानको घरमा पुगेछन् । त्यहाँ पनि पानी त थिएन तर अघिल्लो दिन पारेको रक्सी भने रहेछ । जोगीरुपी महादेवलाई त्यो घरको किसानले रक्सीको अफर गरेछ । जोगीले हुन्छ भनेछन् । जोगी बनेका महादेवले दुई गिलास रक्सी खाइसकेपछि रक्सी दिने किसानलाई आशीर्वाद दिएर गएछन् । त्यहीबेलादेखि नै रक्सी र दुधमा फरक चरित्र देखिएको रे ! दुध स्वास्थ्यको लागि जति राम्रो भए पनि खाने मान्छेको घर–घरमा उधारो नपुर्‍याई धरै छैन । स्वास्थ्यमा हानी गर्ने भए पनि रक्सी जहाँ बनाए पनि बनाएकै ठाउँबाट उपभोक्ताले हाताहाती पैसा तिरेर लैजाने गर्छन् । तीनपाने रक्सीको स्वादमा महादेव पनि आफैं हायलकायल भएपछि अहिले पनि रक्सीको अर्थ विशेष लाग्ने भैगयो ।

    यो पौराणिक कथा भए पनि र अहिले नेपालको सरकारमा नास्तिक कम्युनिष्टहरु भएता पनि धर्मभीरु जसरी सीतालाई प्रताडित गर्ने पुरुष रामको राज्य नेपाल नै हो भनेर ब्रह्माण्ड नै हल्लाउने गरी डाँको छाडेर हल्लीखल्ली गरिरहेका छन् । अब यति भएपछि शिवजीसँग चलेको यो रक्सीको गशिपको पनि पुष्टी खोज्नु पर्छ कि पदैन ?

    पाखाली ब्राण्ड अर्थात् विष्णुपादुका ब्राण्ड

    चार नम्बर दिप्सा, भोटेछाप, भोजपुरबाट मंगलबारे, धरानमा चार दशक अघि बसोबास सरेपछि जबदेखि मैले होश सम्हालें, धरानमा लाग्ने हाटहरुको आकर्षण रक्सी र मासु नै हो । अझ मैले धरानको बसाईंमा विष्णुपादुका (हाल धरान २० नम्बर वडा)तिरबाट ल्याएको कोदो र खुदीको रक्सीको व्यापार मंगलबारेमा नै बसेर देख्न पाएँ । सयौंको संख्यामा रक्सीका घैलाहरु धरान, मंगलबारे आउँथे । उनीहरुको आर्थिक उपार्जनमा मर्चा र त्यसबाट उत्पादित रक्सीको आम्दानीमा नेपाली राज्यस्तरको देन भएको हुँदै होइन । धरान आउने रक्सीको स्रोत आदिवासी ज्ञानबाट आर्जन भएको हो । रक्सी आदिवासीहरुको निजी ज्ञान हो भनेर बुझ्न मलाई धेरै समय लाग्यो । विष्णुपादुका गाविसका कैयौैं साथीहरु थिए र अहिले पनि छन् । हाइस्कूल पढ्न धरान–११ को पञ्चायत स्कूल र पब्लिक हाइस्कूल आउँथे । ती साथीहरुको खाने–बस्ने अनि पढ्ने आर्थिक स्रोत भनेकै आमाले बनाएको घरको रक्सी थियो । उनीहरु राम्रो शिक्षा लिएर आज देश र समाजको सेवामा समर्पित छन् ।

    हामी त्यसलाई हियाएर ‘पाखाली रक्सी’, ‘डढुवा’ अझ तल्लो भाषमा ‘विष्णुपादुका डिष्टिलरी’ नामले हेपेर भन्थ्यौं । अझ बान्तवा राईहरुको रक्सी बनाउने बाहुल्यता रहेको हुँदा राई भाषामा “ओकोची” (ओकोची अर्थ यिनीहरु) ब्रान्ड भनेर पनि पहिचान स्थापित थियो । सस्तो, राम्रो र चाँडो लाग्ने ब्राण्डलाई घरभित्रै बदनाम गरेर हामी गज्जबले हँसिमजाक गरी नै रहेका थियौैं । सरकारको एक पैसा पनि लगानी नभई तयार भएको यो तीनपाने रक्सीको अर्गानिक रसायनको महत्वलाई नबुझ्ने हामी पनि महान् नै हौं । धरानमा जो नयाँ थानेदार आउँछ उसको पहिलो काम भनेको रक्सीको बेचबिखनलाई रोक्नु नै हुन्थ्यो । जुन विष्णुपादुकाका रक्सी उत्पादन गरेर जीवनयापन गर्नेहरुका लागि दशा शुरु हुन्थ्यो । तर यसको महत्वको पहिचान नै हुन सकेको थिएन । भर्खरै धरानले यसको पहिचान गर्‍यो । आहा ! अलिकति भए पनि तीनपाने रक्सीको इज्जत बढ्यो ।

    मर्चा भर्सेज युनिभर्सिटी

    जाँड बनाउन प्रयोग हुने मर्चा हो । मर्चा बनाउन अहिले मानिसहरु विश्वविद्यालयबाट राम्रै नम्बर लिएर पास भएको हुनुपर्छ । त्यसको रसायनहरुको वैज्ञानिक विश्लेषण नगरी उसले उत्तीर्ण गर्न निकै मुश्किल पर्छ । हाम्रा आदिवासी आमाहरु यहींको वनजंगलमा पाइने औषधीय गुणयुक्त झारपातले मर्चाको निर्माण गर्छन् । उनीहरुले बनाएको मर्चा र मर्चाबाट सिर्जित जाँड र जाँडबाट उत्पादन भएको रक्सीको मिठाससम्म आइपुग्दा कुनै कृतिम रासायनिक पदार्थको मिसावट हुँदैन । यो अर्गानिक छ । तीनपाने ब्राण्डको विश्वविद्यालयका प्राध्यापक जस्ता हाम्रा आमाहरुलाई ‘रक्सीवाल्नी’ वा ‘भट्टीवाल्नी’ भनेर हियाएपछि देशको विकास त कहिले हुनु ? खस भाषाको कखरा नजानेको हाम्रा ‘विश्वविद्यालयका प्राध्यापक’हरु चुपचाप अलमलमा परेकै हुन् । अझै पनि आदिवासी चेलीहरुको यो हजारौं वर्षको पुस्तैनी ज्ञान उनीहरुकै पेवामा सीमित छ । यदि राज्यले उनीहरुको ज्ञानलाई राष्ट्रिय उत्पादनमा ल्याउन पहल गर्ने हो भने पक्कै पनि देशमा यी ‘विश्वविद्यालय’हरुको सम्मान हुने थियो । उनीहरुको ज्ञानले पहिचान पाउने थियो । यो देश त्यसपछि साँच्चिकै आदिवासी महिलाहरुको पेवा हुने थियो ।

    रक्सी र यसको धराने सांस्कृतिक पक्ष

    हाम्रा आराध्यदेव बुढासुब्बा, जसलाई हामी रक्सी नै चढाएर खुशी बनाउँछौं । रक्सी पार्दा बाँकी रहेको कच्चा पदार्थलाई ‘कट’ भनिन्छ । रक्सी पारेर छुट्टिएको कट खाएर घरको खोरमा हुर्किएको सुंगर जति मिठो स्वादको सुंगुर संसारमा कहीं हुन्न । त्यसैले त अहिले पनि काठमाडौंका व्यापारीले धराने सुंगुर भनेर ढाँटेर बेचिरहेको छन् । यदि त्यो सुंगुर धराने हो भने त्यसको पहिलो सर्त रक्सी पार्दा बाँकी रहेको कट खाएको हुनुपर्छ । तोङ्बा तान्दा ३ पानीभन्दा धेरै पानी लाएर तान्यो भने ‘सुंगुर रिसाउला है’ भन्ने त हाम्रो धराने उक्ति नै छ । काठमाडौंको सयौं ठाउँमा ‘धराने सुंगुर’ नाम दिएर सेतो जगर भएको सुंगुरलाई पनि मेहन्दी लगाई–लगाई कालो बनाएर बेचिन्छ । साँच्चै भन्नुपर्दा, शुद्ध धराने सुंगुर त सारमा पिंडालु नै हो । रक्सी पार्दाको कट र तोङ्बा तान्दाको बाँकी छोक्रा सुंगुरले खाएको छैन भने केको धराने सुंगुर ? त्यसैले सुंगुरको महिमा पनि तीनपाने रक्सी र जाँडसँगै जोडिएको छ भन्ने व्यापारीहरुको हेक्का रहोस् !

    किरातीहरुमा संस्कारको आ–आफ्नै  तौरतरिका रहेको छ । जन्मदा होस् वा मर्दा–पर्दा होस् । स्वागतमा होस वा बिदामा । यसकोे सहज चलन छ । माइत होस् वा ससुराली जाँदा होस् या आउँदा कोसेलीमा यो छुट्नु हुँदै हुन्न । झगडा पनि गराउँछ यसले ‘ख्याल–ख्यालमा चार इन्च’ भन्ने त उखानै छ । झगडापछि मिलाउँदा पनि यही राखेर शिर उभाइन्छ । एकैछिनको होस् वा वर्षौंसम्मको रिसइबी समाप्तिको न्यायिक छानविनपछि लागू हुने पहिलो धारा नै तीनपाने हो । अझ विवाहको मगनीमा होस्, यही तीनपाने रक्सी खाएपछि कुरा छिनिएको मानिन्छ । विवाहमा पनि माइतदेखि साइतसम्म यही नभई हुँदैन । यसरी सामाजिक मूल्य र मान्यतामा सहजता पाइसकेको रक्सीलाई राज्यको नीति र नियमभन्दा बाहिर राख्दा ती चलाउने जातिहरु निश्चित रुपमा असामाजिक र अराजक बनाइए । यसका प्रयोगकर्ता बाहिरबाट फर्मुला ल्याएर बनाइएका स्तरहीन, आयातीत रक्सीहरुमा जबर्जस्ती खुशी हुने दिन आए । एउटा किराती उखान छ नि, ‘मुखलाई बाग्चासीप (सुंगुरलाई दिने चारो) छैन पिंधलाई विदेशी रक्सी ?’ यसैलाई भन्छ कि त !

    रक्सीको अर्थतन्त्रलाई हेर्दा

    “नेपालको एक अध्ययन अनुसार आयातीत, स्वदेशी वियर र रक्सीको कारोबारी बजार वार्षिक ४० अर्बभन्दा बढीको छ । घरमा उत्पादन हुने र उत्पादनको उपभोगको बजारलाई मान्ने हो भने एक खर्बभन्दा बढी छ ।” (२४ फागुन २०७३ को कान्तिपुरमा फणिलाल नेपाल) यसरी हेर्ने हो भने पनि तीनपाने घरेलु मदिरा वार्षिक ६० अर्बको कारोबार रहेछ । जहाँ रक्सी आदिवासी जनजातिहरुको सांस्कृतिक उत्पादनको आर्थिक दर्शन पनि हो । हाल देशमा ३० लाख हाराहारीमा मदिराप्रेमीहरु रहेको तथ्य पनि उल्लेख गरिएको छ । नेपालमा ५२ वटा भन्दा बढी रक्सी बनाउने उद्योग छन् । नेपालले मदिरा उत्पादन तथा आयातबाट विभिन्न शुल्कमा राजश्व असुल गर्दै आएको छ । त्यसमध्ये अन्तःशुल्कतर्फको मदिराबाट मात्र वार्षिक रु. २५ अर्बभन्दा धेरै राजश्व उठ्छ ।

    जनतालाई सुख, समृद्धिमा लैजाने सपना बहुराष्ट्रिय कम्पनी नेपाल भित्र्याएर होइन नेपालका आदिवासी रैथाने सीप र कलालाई उजागर गरेर पूरा हुन्छ । रैथाने सीप र कलालाई आवश्यक नीति–नियम र कानून लागू गरेर व्यवस्थित गर्ने हो भने अहिले कोरियाबाट आउने जस्तो डिब्बावान ब्राण्ड ‘छ्याङ’ले प्रवेश नै पाउँदैन । नेपाल सरकारले माने पो ! केही वर्षपछि कोरियाले नै तीनपाने पनि ब्राण्ड बनाउन बेर लाउँदैन । तब पनि यिनका एकजातीय चश्मा कहिले खोल्ने हो भनेर ठूलै बहस हुनु पर्छ ।

    आदिवासी ज्ञान सबैभन्दा पुरानो प्रमाणित ज्ञानको भण्डार हो । पुस्तौंदेखि अनुभवहरु आफैंमा परीक्षण हुँदै सत्य सावित भएर पुस्तान्तरण भएर आएका हुन्छन् । जे भए पनि आदिवासी ज्ञानको भण्डारलाई कसरी उत्पादन गर्ने भन्ने सवालमा स्थापित अनुसन्धान, विधि र पद्धती निर्माण हुन सकेको छैन । इन्द्र याम्फुको एक आदिवासी ज्ञान र अनुसन्धानको विधिमाथि सोधमा लेखिएको छ, “आदिवासीहरुको स्थापित मूल्य–मान्यताहरु, मिथक भनाई, लोककथा, गीत, उक्ति, विश्वास, अनुभव आदि सबैमा ज्ञान लुकेको हुन्छ । ती आदिवासी सिद्धान्त हुन् जो दर्शनहरुभन्दा हजारौं वर्ष पहिलेदेखि प्रमाणित भएर आएका तथ्य हुन् ।” तर पनि नेपालकै योग दर्शनमा बाँचेको भारतीय पप योग बाबाको पहिलो दर्शनमा रहेको गाईको गोबर र मूत्रभन्दा आदिवासीको वैज्ञानिक दर्शन जो नेपालको लागि महान हुनै सकेन ।

    नेपालको सरकार भने आदिवासी ज्ञानले सिञ्चित ‘तीनपाने रक्सी’लाई हियाउँछ र हेला गर्दै आदिवासीहरुको बौद्धिक ज्ञानले सिंचिएको रक्सीलाई महिला घरेलु हिंसाको अर्को पाटोको रुपमा देखेर नष्ट गर्छ । विदेशी आयातीत महंगा रक्सीलाई स्वागत गर्छ । मानौं, विदेशी रक्सीहरु महिला समानताका प्रतीक हुन् । मानौं, पीएम ओलीले पिएको ‘होली वाइन’ हो । पिउँदा सबै असमानता गुटुङटुङ हटी जाने ।

    नेपालको राज्यस्तरमा नेपालीको भोजमा आएर नेपाली तीनपाने ह्वीस्की अर्थात् अर्गानिक वाइन नेपाली कुटनीतिक स्वागतको लागि भोजभतेरमा समावेश नगराउञ्जेल यसको महानतालाई झेल्न रक्सीले मात्रै सक्दैन । हरेक कुटनीतिक भेलामा नेपाली स्वादकै ‘तीनपाने रक्सीको सगुन’ को रुपमा तीनपाने कोदोको रक्सीले विदेशी पाहुनालाई स्वागत गर्न नपाएसम्म ओलीको नजरमा ‘खोई खोला सुक्यो’ भने जस्तो मात्रै हो । तर पनि धरानकी उममेयर मञ्जु भण्डारी र क्षेत्र नम्बर एककी सांसद उषाकला राईले उठाएको सवाललाई अहिले भने कोटी–कोटी आदिवासी सलाम !

    अन्त्यमा जाँदाजाँदै

    सन् १६०० को पहिलो दशकमै बेलायतीहरु अमेरिका भित्रिएका हुन् । आजभन्दा ४ सय वर्ष अघि (सन् १६२०) मा बेलायतीहरु प्लीमाउथ म्यासाचुसेटमा ‘मेफ्लावर’ नामक जहाज चढेर १०२ जना ६६ दिन लगाएर नर्थ अमेरिका आएका थिए । नोभेम्बर १६२० मा आएका नवआगन्तुक अंग्रेजहरुलाई जाडो, भोक, विषालु खाना र नयाँ रोगले आधिभन्दा धेरै मरेर सकिन लाग्दा अमेरिकी आदिवासी (रेड इण्डियन)हरुले उराठिलो बालुवामा मकै, आलु र फर्सी खेती गर्न कसरी सकिन्छ भनेर सिकाए । जहाँ रेड इण्डियनहरुले हजारौं वर्षदेखि सिकेको ज्ञान थियो । मरुभूमी जस्तो बालुवामा मारेको माछा राखेर माटो मलिलो बनाउन सकिन्छ भनेर दिव्यज्ञान दिए । अमेरिकाको रैथाने क्षेत्रमा बाँच्ने तरिका अमेरिकी रेड इण्डियनहरुले त्यही वर्ष सिकाएका थिए । आदिवासी ज्ञानले क्याप्टेन जोन स्मीथसहित रहेका ५३ जना बाँचे । सन् १६२१ मा बाँच्न सिकाउने ‘आदिवासी रेड इण्डियन’सँग उनीहरुले नोभेम्बरको तीन दिनसम्म धन्यवाद उत्सव मनाए । त्यही उत्सवलाई आजकल अमेरिकामा ‘थ्याङ्स गिभिङ डे’ भनेर राष्ट्रिय उत्सव मनाइन्छ । उक्त दिन अमेरिकीहरु यो देश महान् बनाउनमा आदिवासी रेड इण्डियनको विशेष भूमिका रहेको भन्दै रेड इण्डियनहरुलाई सम्मान गर्छन् । त्यही म्यासाचुसेटमा बाँचेकाहरुले आधुनिक अमेरिकाको सुरुवात गरेका थिए । अहिले पनि प्लीमाउथ म्यासाचुसेटलाई सांस्कृतिक र रीतिरिवाजको अमेरिकीहरुको ‘पहिलो घर’ को रुपमा इतिहासकारहरुले उल्लेख गर्ने गरेका छन् ।

    जोन स्मीथसहित बाँचेको ५३ जनाको टीमलाई आदिवासी रेड इण्डियनहरुको आदिवासी ज्ञानले नबचाएको भए ‘जेम्सटाउन भर्जिनिया’ बेलायती स्थायी बसोबासको कोलोनी बन्थ्यो कि बन्दैनथ्यो थाहा छैन । अमेरिकालाई आजको विश्व शक्तिशाली राष्ट्र भनेर भनिन्थ्यो कि भनिन्नथ्यो त्यो पनि थाहा छैन ।

    राष्ट्रको मौलिकता आदिवासीमा निहित छ । नत्र त नेपालमा वाराणसीको क्यालेण्डरमा हुर्किएको झड्केलो संस्कृतिलाई नेपालको ओरिजिनल भन्न कहाँ पाइन्छ ?

    आदिवासीहरुको यही लगनशीलता र धोका नदिने प्रवृत्तिलाई थाहा पाएका हाम्रा नेताहरुले पार्टी बलियो बनाउन सांस्कृतिक अधिकार र राज्यको कुरा गरेर १० वर्ष जनयुद्ध सफलतापूर्वक लडेको देखेकै हो । १७ हजार जनताको बलिदान भएकै हो । अहिले कोरोनाको महामारीमा देश होइन आफैं बलियो बन्न उनीहरु कसरी कसरत गरिरहेका छन् त्यो थाहा नपाउने को होला, संसारमा !

    आदिवासी ज्ञानले धर्तीका धेरै लोपोन्मुख सभ्यतालाई बचाउन मद्दत गरेको तथ्यलाई नकार्न सकिदैंन । यस लेखमा नेपालको धेरै आदिवासी ज्ञानमध्ये एउटा; जो अन्नबाट, विभिन्न प्राकृतिक जडिबुटी प्रयोग गरेर बनाउँने रक्सीका बारेमा चर्चा गरें । यो तीनपाने रक्सीको पनि लेबल होस् । ‘रेड लेबल’देखि ‘ब्लु लेबल’सम्म चाख्न पाऊँ जय बुढासुब्बा भन्दै, उपेन्द्र सुब्बाको सांस्कृतिक विम्बमा रक्सीको प्रयोग गरिएको चर्चित कविताबाट बिट मारियो ।

    यो महान् यात्रा कहिलेबाट शुरु भयो ।
    साल सम्वत् यकिन थाहा नभए पनि
    पर पर सम्झी ल्याउँदा चुथ्रोघारीदेखि सिरुवारीसम्म
    ढुलमुल ढुलमुल धमिलो सम्झना आउँछ ।
    बेस्सरी मुटु दुःखेको निहुँ अमिलो सम्झना आउँछ ।
    यति मात्र सम्झना छ, हेर्दाहेर्दै घाम निभेको हो ।
    म घाम पर्खेर वर्षौं सुतिरहें अचेत अवस्थामा
    मेरो आमाले बुढासुब्बालाई एक बोतल रक्सी चढाउनुभएछ
    र पो म ब्युझिएँ ।
    म ब्युझिंदा घाम फेरि अस्ताउन लागेको थियो ।
    छोड्दिऊँ यस्ता झ्याउ कुरा
    साल्दीज्यू, अर्को एक ट्वाक थपुँ कि !

    हालः न्यूयोर्क, ज्याक्सन हाइट

  • कमेन्ट गर्नुहोस्