सत्यधर्म मुचुल्का
आदिवासी लिम्बूहरुको सामाजिक तथा सांस्कृतिक विधि–विधानमा छोरी–चेलीको विवाहमा सोतरीत लिने चलन छ । सोतरीत लिने चलन पहिले निकै जटिल थियो । केटी माग्न जाने केटा पक्षले केटीका बुबाआमाले भनेअनुसारको सोतरीत तिर्नुपर्ने प्रचलन थियो । अहिले यो रीतलाई प्रतिकात्मक रुपमा बचाइराखिएको छ ।
केटी पक्षलाई कतिसम्म सोतरीत तिर्नुपथ्र्यो भन्ने इतिहास कोट्याउँदा यो लेखक आफ्नै पुर्खाले गरेको व्यवहारलाई उदाहरणको रुपमा पेश गर्न चाहन्छ ।
यो लेखकले आफ्ना पुर्खाहरुले सुरक्षित राखेका पुराना कागजहरुको अध्ययनका क्रममा वि.सं. १९३२ सालको एउटा कागज फेला पार्यो । यसमा लेखिएको छ– स्वश्ति श्री सम्वत १९३२ साल मिति वैशाष सुदी १४ रोज् ३ मा मेवा षोला जिनुपुं बस्ने सुवा सुभमानको छोरि सुभहांमा भन्याको केटि आठराई हांपांङ् बस्ने भगिवंन्त लिम्बुले स्वास्नि लकि विभाहा गरि दस् लिम्बुको रितामा सोतरित तिर्याको पही (स्वस्तिश्री सम्वत् १९३२ साल मिति वैशाख सुदी १४ मंगलबार मेवाखोला जिनुपुं बस्ने सुब्बा शुभमानकी छोरी शुभहाङ्मा भन्ने केटी आठराई हाङपाङनिवासी भगिवन्त लिम्बुले श्रीमति बनाई विवाह गरी दश लिम्बूको रीतमा रहेर सोतरीत तिरेको बही) ।
यो विवाहमा सोतरीत तिरेको भन्ने स्पष्टै देखिन्छ । बहीमा केटा पक्षले विभिन्न २५ शीर्षकमा ९३ रुपैयाँ १२ आना सोतरीत तिरेको देखिन्छ । त्यो समयमा यो रकम असाध्यै ठूलो रकम हो । यति ठूलो रकम सोतरीत तिरेर विवाह गर्ने व्यक्ति भगिवन्त चाहिं यो लेखकका आफ्नै बराजु हुन् ।
छोरी–चेलीको उच्च महङ्खव राख्ने तथा मातृसत्तात्मक अस्तिङ्खव बोकेको लिम्बू समाजमा ठूलो रकमसहितको सोतरीतले एक ढङ्गको समस्या ल्याएकै थियो । ठूलो मूल्यको सोतरीतलाई नियन्त्रण गरी त्यसमा सीमा निर्धारण गर्ने प्रयास राज्यपक्षले गरेको पनि देखिन्छ । इतिहासकार तथा पूर्वप्रशासक भगिराज इङनामले आफ्नो प्रकाशोन्मुख पुस्तक ‘लिम्बूवानका ऐतिहासिक दस्तावेजहरु’का लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालयको अभिलेखालय शाखाबाट संकलन गरी ल्याउनुभएको वि.सं. १८६६ जेठ वदी ९ रोज ५ को पत्रमा यससम्बन्धी उल्लेख छ । त्यस पत्रमा ‘आगे चैनपुर अम्बलभर लिम्बु याषाके छोरिको सोत रुपैयाँ ५० देषि बढ्ता कसैले नखानु. सोह्र आना हिसाव गरि नगद जिनिसि ज्या हुंछ लिनु. कमाराकमारि सोतमा नलिनु’ भन्ने परेको छ । यसबाट लिम्बू जातिको रीतिस्थिति रहेको सोतरीत अन्तरगतको रकमलाई सरकार लागेरै नियन्त्रण गर्न खोजेको स्पष्ट हुन्छ ।
लिम्बू संस्कृतिमा मासु, जाँडरक्सी, सोतरीत आदिको व्यापक प्रचलन चलिरहेको बेला साङ्खिवक अध्यात्ममार्फत् लिम्बूवानमा सामाजिक सुधारको अभियान चलाउने एक व्यक्ति निस्के । उनी हुन् फाल्गुनन्द ।
इलाम जिल्लाको इभाङको चुक्चिनाम्वामा वि.सं. १९४२ कात्तिक २५ गते साधारण किसान परिवारका जगनवाज र हंसमतिका कोखबाट जन्मेका नरध्वज लिङ्देन कालान्तरमा आध्यात्मिक क्षेत्रमा फाल्गुनन्दको नामले प्रशिद्ध भए । उनकी आमाको कोखबाट जन्मेकाहरु जन्मनासाथ वा कलिलै उमेरमा देहान्त हुने गरेकोमा उनलाई भने फलामजस्तो बलियो बनाई उनको दीर्घजीवनका लागि आमाबाबुले फलामको कल्ली र चुरा लगाइदिएर बोलाउने नाम पनि ‘फलामसिंह’ राखिदिएका थिए । उनले सानै उमेरमा मातृवियोग व्यहोर्नुपर्यो ।
घरको कमजोर आर्थिक अवस्थाबाट मुक्ति पाउन उनी ज्याला मजदुरी गर्दै भुटानसम्म पुगे । त्यसबेला ब्रिटिश गोरखा रेजिमेन्टमा काम गर्ने आफ्ना माहिला दाजुलाई भेट्न बर्मा पुग्दा त्यहिंबाट वि.सं. १९६४ मा उनी लाहुर भर्तीमा पनि लागे । सैनिक सेवामा रहँदा पनि उनको तनमन आध्यात्मिकतातिरै आकर्षित हुन्थ्यो । कोठामा पूजापाठ, ध्यान, जपतप गरिरहेकै हुन्थे । उनको कोठामा दियो, कलश, पूजाको थाली तथा धुपधुँवार नियमित हुन्थ्यो । उनलाई पल्टनिया साथीहरुले ‘ध्यानी बाबा’ भनी सम्बोधन गर्थे ।
उनी लाहुर भर्ती लागेको केही वर्षपछि नै विश्वभर अशान्तिको कालो बादल मडारियो । शान्तिप्रिय फाल्गुनन्द पनि एक सैनिकको रुपमा पहिलो विश्वयुद्धमा होमिनुपर्यो । तर उनले युद्ध रुचाएनन् र आठ वर्षे लाहुरे जीवन परित्याग गर्ने निर्णय गरे । त्यसपछि स्वदेश तथा सिक्किम, भुटान आदि ठाउँतिर घुम्दै–डुल्दै उनी निर्लिप्त भई आध्यात्मिक जागरणमार्फत् समाज सुधारको मार्गमा लागे ।
उनी जोसमनि पथबाट प्रभावित थिए । जोसमनि सम्प्रदायकै अनुयायी शशिधरबाट उनले नयाँ आध्यात्मिक नाम पाए । उनी नरध्वज, फलामसिंह हुँदै फाल्गुनन्द कहलाए ।
त्यो बेला जोसमनि सम्प्रदायको प्रभाव व्यापक थियो । जहानियाँ हुकुमी निरङ्कुश शासक जङ्गबहादुर राणाविरुद्ध सशस्त्र सङ्घर्षको आह्वान गर्ने नेपालका प्रथम सहिद लखन थापा मगर पनि जोसमनि सम्प्रदायकै प्रभावमा थिए ।
फाल्गुनन्दले आफ्नो भेषभूषामा शीरमा शिरवन्दी र गलाका कण्डा लगाएको देखिन्छ । दुवै कानमा यर्लिङ लगाउँथे । लिम्बू समाजको यो स्त्री भेषभूषा हो । उनले यसो गर्नुको मुख्य कारण आफूलाई युमाको प्रतिक ठान्थे । युमा लिम्बूहरुको आराध्यदेवी हुन् ।
लिम्बूहरुले फक्लाङ्लुङ (कुम्भकर्ण) हिमाललाई आफ्नो चोःलुङ (पवित्र ठाउँ) मान्ने गरेका छन् । त्यहाँ उनले आफ्ना भक्तजनहरुका साथ तीर्थ यात्रा चलाए । तीर्थयात्रीका लागि धर्मशाला पाटी बनाउन लगाए ।
आध्यात्मिकतासँगै उनले लिम्बू समाजमा ल्याएको सुधारको पाटो निकै महत्वपूर्ण छ । सोतरीत, जाँड–रक्सी, मासुमांस तथा फजुल खर्चले लिम्बू समाज दिनदिनै आमोदप्रमोदी हुनपुग्दा उनीहरुको आर्थिक जीवन कमजोर हुँदै गएको अवस्थामा थियो । अर्कोतिर समाजमा शान्ति पनि भंग भइरहेको थियो । त्यसैले उनले समाजलाई सात्विक पथतिर डोर्याउँदै समाजका अगुवा तथा भद्रभलाद्मीहरु राखेर सामाजिक सुधारको संहितालाई लिपिबद्ध गर्ने निर्णय गरे । यसका लागि उनले १७ थुम १० लिम्बूवानका सुब्बा, अमाली सुब्बा राखी वि.सं. १९८८ वैशाख २४ गते पाँचथरको लेब्रेकुटीमा चुम्लुङ (सभा)को आयोजना गरे । त्यहीं उनले समाज सुधारका लागि भद्रभलाद्मीहरुलाई साक्षी राखेर एक मुचुल्का उठाउन लगाए । यसैलाई भनिन्छ, ‘सत्यधर्म मुचुल्का’ ।
सत्यधर्म मुचुल्कामा लिम्बू समाजलाई डो¥याउने सात बुँदामा अनुशासनका मार्गहरु छन् । तीन हुन्ः
१. छोरी–चेलीको सोतरीत नखानु, नलिनू ।
२. शुद्धाई (बर्खान्त) मा बली नदिनू ।
३. परिवारका सदस्यको मृत्यु हुँदा ९ दिन बारन गरी १० दिनमा शुद्ध हुनू ।
४. सुत्केरी २२ दिनपछि चोख्याउनू ।
५. सुँगुर, कुखुरा नखानू ।
६. इष्टमित्र, कुल–कुटुम्ब आउँदा, भेटघाट हुँदा मदमांस प्रयोग नगर्नू, र;
७. बर्खान्त गर्दा फलफूल, नैवद्य र अदुवा चढाउनु ।
फाल्गुनन्दले भद्रभलाद्मीहरूलाई साक्षी राखेर उठाउन लगाएको मुचुल्का । जुन ‘सत्यधर्म मुचुल्का’ भनेर चिनिन्छ ।
सत्यधर्म मुचुल्कामा माथि उल्लेख भएको बुँदामध्ये सुत्केरी हुँदा २२ दिनपछि मात्र चोख्याउने नियम भने त्यति व्यावहारिक देखिदैंन । लिम्बूहरुले तीन–चार दिनमै सुत्केरी चोख्याएको पाइन्छ । यस्तै घरका परिवारका कुनै सदस्यको मृत्यु हुँदा महिलाको तीन दिन र पुरुषको चार दिन मात्र जुठो बार्ने चलन प्रचलित छ । यो चलन सत्यधर्म मुचुल्कामा उल्लेख भएको संहिताभन्दा व्यावहारिक र उदार रहेको छ ।
आज यही सत्यधर्म मुचुल्कामा आधारित भएर लिम्बू समाजमा सुधार आएको छ । परम्परागत मार्ग पछ्याएर युमा–थेवाको सेवा गर्ने प्रकृतिपूजक लिम्बूहरुले जाँडरक्सी तथा काटमार विधि अपनाए पनि उनीहरुले पहिलेजस्तो फजुलखर्चलाई न्यून गर्दै लैजाने प्रयत्न गरिरहेका छन् । सोतरीत लिने चलनलाई पनि प्रतिकात्मक रुपमा मात्रै जारी राखेका छन् । यसलाई पनि सत्यधर्म मुचुल्काले उठाएको सामाजिक संहिताले प्रभाव पारेको ठान्न सकिन्छ ।
यसरी आध्यात्मिक दर्शनबाट समाजसुधारको पाटोमा महङ्खवपूर्ण योगदान गर्ने महागुरु फाल्गुनन्दविरुद्ध दुई पटक उजुरी परेको थियो । उनले अड्डा–अदालत पनि धाउनुपरेको थियो ।
वि.सं. २००५ कात्तिक २५ गते उनको देहान्त भयो । उनले निर्माण गरेको आध्यात्मिक पथलाई किरात धर्म तथा साहित्य उत्थान संघले संस्थागत रुपमा टेवा पु¥याइरहेको छ । देश–विदेशमा भक्तजनहरुको संख्या पनि ठूलो छ ।
मौखिक रुपमा मात्र प्रचलित लिम्बू मुन्धुमलाई लिपिबद्ध गराउन पनि फाल्गुनन्दको महङ्खवपूर्ण योगदान रहेको छ । मौखिक रुपमा फाल्गुनन्द मुन्धुम फलाक्ने र उनका चेला रन्धोज नेम्वाङ चाहिं काँचो कागजमा बाँसको कलमले लेख्ने गर्थे । इतिहासकार इमानसिंह चेम्जोङले पनि यसैको प्रभावबाट लिम्बू मुन्धुम संकलन तथा प्रकाशनमा ल्याएका हुन् ।
यी अहिंसावादी धर्मगुरुलाई नेपाल सरकारले २०६६ साल मंसीर १६ गते राष्ट्रिय विभूति घोषणा गर्यो ।
फाल्गुनन्दले सुधारवादी पथलाई अपनाएको देखिन्छ । उनले जारी गरेको सत्यधर्म मुचुल्काका सबैजसो बुँदाहरु परम्परागत प्रचलनमा सुधार ल्याउने नै रहेको छ । त्यसैले उनले देखाएको आध्यात्मिक मार्ग किरात धर्मभित्रको अर्को एक पथको रुपमा विकसित हुन पुग्यो ।
धर्मको मुख्य मार्गबाट शाखा मार्गहरु निर्माण भएको देखिन्छ । सनातनी हिन्दुभित्र पनि विष्णुलाई मान्नेहरु ‘वैष्णव’ भए भने शिव वा महेश्वरलाई मान्नेहरु ‘शैव’ भए । शैवभित्र पनि सम्पूर्ण पशु अथवा प्राणी जगतको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता भएकोले संसारका पशु अथवा प्राणी जगतको मालिकका रुपमा शिवलाई मान्नेहरुले उनलाई पशुपति भन्दै ‘पाशुपत’ मार्ग अपनाए । तर रुखसँग हाँगाविगा स्वतन्त्र नभएजस्तै जगत पनि स्वतन्त्र नभएकोले शक्तितङ्खव नै परमतङ्खव र त्यो तङ्खव शिवमा रहेको छ भनी विश्वास गर्ने शैवहरुले ‘शाक्त’ मार्ग अपनाए ।
यस्तै बौद्ध दर्शनमा जन्म र मृत्युको चक्रबाट मुक्त भई सारा दुःखबाट मुक्त हुन अरहत पाउन सकिने विश्वास गर्नेहरु ‘हीनयान’ मार्ग हिंड्न थाले । तर, यो मार्गबाट हिंड्दा आफू मात्रै मुक्त हुने भइयो । यो सानो लक्ष्य भयो । बरु करुणा जगाएर अरुलाई पनि मुक्त गरी यही जन्ममै बुद्धङ्खव प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गर्नेहरुले ‘महायान’ मार्ग निकाले ।
निर्वाण प्राप्त गर्नका लागि तान्त्रिक मार्गबाट छोटो समयमै बुद्धङ्खव प्राप्त गर्न सकिन्छ भन्नेहरुले ‘बज्रयानी’ मार्ग निकाली त्यही मार्गबाट हिंड्न थाले ।
यसरी एउटै दर्शनमा पनि अनेक मार्ग वा पथहरु समय–समयमा विकसित हुने गर्छ । फाल्गुनन्दले देखाएको पनि यस्तै छुट्टै मार्ग वा पथ हो, जो साङ्खिवक र सुधारवादी रहेको छ ।