• चार्टर फ्लाइटको ब्रह्मलुट

  •  

    लकडाउनको कारण नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द रहेको छ । नियमित उडान बन्द रहे पनि चार्टर फ्लाइट भने भइरहेका छन् । चार्टर फ्लाइटका टिकट हङकङबासी नेपालीले वन वेको लागि १ लाख ८० हजार रुपैयाँसम्म तिर्न बाध्य छन् । चार्टर टिकटको चर्को मूल्य भएको गुनासोपछि सरकारले हङकङको वन वेको ६० हजार रुपैयाँ (अमेरिकी डलर ५५०) तोकेको छ । तर त्यो मूल्यमा कसैले पनि उड्न पाएका छैनन् ।

    अहिलेसम्म नेपाल एयरलायन्सका चार न्यारो र एक वाइड बडी गरी पाँच चार्टर फ्लाइट भएका छन् । न्यारो बडी काठमाडौंस्थित हार्वेस्ट मुन ट्राभल र वाइड बडी हङकङको सनराइज ट्राभलले चार्टर गरेको हो । सनराइजले टिकटको लागि करिब १ लाख (हङकङ डलर ६,५८०) लिएको छ भने हार्वेस्टले ८५ हजार रुपैयाँ । कतिपय यात्रुले तोकिएको मूल्य भन्दा ३० हजार रुपैयाँसम्म बढी तिरेको पाइएको छ । यस सेक्टरमा एकतर्फी भाडा बढीमा ४० हजार रुपैयाँ रहेको छ ।

    हार्वेस्टको पहिलो फ्लाइटमा आउने याउमातेका रामबहादुर गुरुङ (नाम परिवर्तन)ले हङकङकै दलालमार्फत १ लाख १५ हजार बुझाएको बताए । उनले भने, ‘परेपछि पैसाको मुख हेरेर नहुने रहेछ । जसरी पनि छिटो आउनु थियो, ३० हजार बढी तिरेपछि टिकट पाइयो । मेरो गुनासो छैन तर मजस्ता धेरै छन् बढी रकम बुझाउने ।’

    मलेशिया हुदै आउनेले १ लाख ८० हजारसम्म बुझाएको पाइएको छ । युनलङकी माया लामा (नाम परिवर्तन)ले क्वालालम्पुरसम्म हिमालय एयरलाइन्स र त्यहाँबाट हङकङ ड्रागन एयरलायन्सको लागि त्यति रकम तिरेकी हुन् ।

    नेपाल एयरलायन्सका क्षेत्रीय प्रबन्धक नवराज उपाध्यायका अनुसार पाँच उडानमार्फत लगभग ९ सय जना हङकङ अवतरण गरेका छन् । हार्वेस्टको दुई न्यारो र सनराइजको दुई वाइड बडीका लागि सम्झौता भइसकेको उनी बताउँछन् । उनले भने, ‘हङकङको सम्बन्धित निकायको अनुमति प्राप्त हुनासाथ उडान हुनेछ ।’

    चार्टर फ्लाइटमा फर्कने क्रममा काठमाडौंमा एनआरएनए, हङकङ अध्यक्ष र राधिका गुरुङ (अघिल्लो लहरमा दाँयाबाट दोश्रा) लगायत । फेसबुकबाट ।

    प्रबन्धक उपाध्यायले अगष्टको पहिलो हप्तामा उडान हुने अपेक्षा गरे पनि हङकङको अवस्थाले उनको अपेक्षा पूरा हुनेमा शंका उत्पन्न गराएको छ । यो आलेख तयार पारिरहँदा यहाँ दैनिक तीन अंकमा नयाँ संक्रमित फेला परिरहेका छन् । स्वास्थ्य विभागले यही संख्यामा वृद्धि भए संक्रमितको उपचार गर्न साधन र स्रोत पर्याप्त हुन नसक्ने आंकलन गरिरहेको छ ।

    तीन हजार भन्दा बढी संक्रमितको संख्या पुगेपछि अगष्टको पहिलो दिनदेखि चेकलापकोकस्थित एशियावल्र्ड एक्स्पोमा सार्वजनिक अस्पताल शुरु गर्ने सरकारको तयारी रहेको छ ।

    कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङका अनुसार सेक्युरिटी ब्युरोमा हङकङ प्रवेशका लागि आवेदन गर्नेको संख्या अभैm पनि दुई हजारको हाराहारीमा रहेको छ । काठमाडौं–हङकङ सिधै उडान नभएपछि काठमाडौं–क्वालालम्पुर–हङकङ उडानबाट दुई पटक गरेर ८०–९० जना आएको बुझिएको छ ।

    लकडाउनपछि हङकङबाट मकाउका ६३ जना गरी ८२ जना नेपाल गएका छन् । मकाउबाट जागिर सकिएकाहरु फर्किएका हुन् भने हङकङका अधिकांश गैरकानूनी रुपमा बसिरहेकाहरुलाई स्थानीय सरकारले डिपोर्ट गरेका र अत्यावश्यक काम भएकाहरु रहेको कावा कन्सुल जनरल गुरुङले बताएका छन् ।

    उनका अनुसार नेपाल जानका लागि मकाउबाट २१, क्रुजका कामदार १५ र हङकङका २० जनाले आवेदन गरेका छन् । आवेदन सम्बन्धित निकायबाट स्वीकृत भएमा उडानको अनुमति दिइने छ ।

    चार्टर फ्लाइटको पृष्ठभूमि
    सन् २०१९ को डिसेम्बरदेखि देखापरेको कोरानाभाइरसले महामारीको रुप लिएपछि चीनको वुहानमा लकडाउन गरिएको थियो । जनवरी अन्तिमदेखि फाट्टफुट्ट देखापरेको हङकङमा फेब्रुअरी ४ का दिन पहिलो बिरामीको मृत्यु भयो । चिनियाँ नयाँ वर्षको बिदा सकिएर खुल्दानखुल्दै शैक्षिक संस्थाहरु बन्द गरिएका थिए । संक्रमितको संख्या ५० नाघेपछि सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न लगाइयो । मुलभूमि चीनसँगको सेन्झेन वे बाहेक सबै नाका बन्द गरियो ।

    यस बेलासम्म नेपालमा स्थिति सामान्य थियो । शैक्षिक संस्था बन्द रहेकोले संक्रमणबाट बच्नको लागि केटाकेटी लिएर नेपाल जानेको संख्या उल्लेख्य रहेको थियो । अप्रिलको मध्यतिर स्थिति यस्तो बन्यो कि चीन र हङकङ सामान्य हुन थाले भने नेपालमा संक्रमितको संख्या बढ्न थाल्यो । संक्रमित बढेसँगै भारतमा लकडाउन गरियो । भारतबाट आउनेको संख्या बढेपछि नेपालमा पनि लकडाउन भयो ।

    एक महिनापछि मार्चमा हङकङका कर्मचारी कार्यालय फर्किए । लगभग छ महिना बन्द रहेको शैक्षिक संस्था खुल्ने सूचना प्रकाशित भयो । त्यसपछि नेपाल गएकाहरु फर्कन चाहे तर लकडाउनका कारण हवाई मार्गसमेत बन्द रहेको थियो । प्रायले दोहोरो टिकट त्यो पनि नेपाल एयरलायन्स (आरए)को लिएर गएका थिए । लकडाउनमा परेकाहरुमा प्रतिनिधिमूलक संस्था गैर–आवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष राधिका गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानालगायत रहेका थिए ।

    यसै क्रममा राधिका गुरुङले आरएको उडान गराउन नेपाल सरकारलाई दवाव दिन भन्दै नाम संकलन गरेकी थिइन् । उनले नियमित उडानको लागि अनुरोध गरे पनि त्यो हुन सकेन । अर्कोतिर हङकङका नेपाली ट्राभल एजेन्सीहरुलाई पनि प्यासेन्जरले उडानको लागि के–कसो गर्न सकिन्छ भनेर सोधखोज गरिरहेका थिए । नेपाल सरकारले हङकङ र जापानलगायतका देशका नेपालीलाई फर्कनको लागि चार्टर फ्लाइटको अनुमति दिएपछि स्थानीय ट्राभल एजेन्सीहरु ‘हङकङ नेप्लिज ट्राभल एजेन्सी कम्युनिटी‘ बनाएर सनराइज ट्राभलको नाममा चार्टरको तयारीमा लागे ।

    चार्टर फ्लाइटको विकल्प नरहेको अवस्थामा राधिका गुरुङ र कम्युनिटी मिलेर चार्टर गरेको भए सहज वातावरण हुने थियो तर उनीहरु मिल्न सकेनन् । यस विषयमा उनीहरुले एक–अर्कालाई आरोप लगाउने गरेका छन् । सनराइजका राजेन्द्र श्रेष्ठ चार्टर उडानको लागि सहजीकरण र सहयोग गर्न अध्यक्ष राधिका गुरुङलाई अनुरोध गरेको बताउँछन् ।

    यस विषयमा राधिका गुरुङको गुनासो छ, “मलाई सोध्दै नसोधी कम्युनिटीले चार्टरको मिति नै सार्वजनिक गरेपछि बाध्य भएर छुट्टै चार्टरको तयारीमा लागेको हुँ । सोधीखोजी गर्ने क्रममा हिमालय एयरलायन्स सस्तो हुने भएपछि त्यता गइयो ।”

    यहाँ के देखिन्छ भने कम्युनिटीलाई लाग्यो राधिका गुरुङले चार्टर गर्न सक्दिनन्, हामीले नै हो गर्ने । हुन पनि आरएको चार्टर गर्नलाई नेपाली दुई करोड भन्दा बढी आवश्यक पर्ने थियो, जुन व्यक्तिबाट सम्भव थिएन ।

    अध्यक्ष राधिका गुरुङ नाम संकलनमा लागेको भए पनि यस विषयमा एनआरएनएमा कुनै छलफलसम्म भएको थिएन । महासचिव गोकर्णप्रसाद ढकालका अनुसार संकलित नामवली कन्सुलेट जनरलमार्पmत् सेक्युरिटी ब्युरोमा पु¥याउने र नेपाल एयरलायन्सको क्षेत्रीय कार्यालयमा सामान्य उडानका लागि अनुरोध गर्ने काम मात्र भएको थियो ।

    हार्वेस्ट मुनको प्रवेश
    राधिका गुरुङ र ट्राभल कम्युनिटीको इगोको कारण हार्वेस्ट मुन ट्राभलको काठमाडौं–हङकङ चार्टर फ्लाइटमा प्रवेश भएको हो । कम्युनिटी अन्तर्गतका ट्राभलहरुलाई लाग्यो कि हामीमार्फत् गएकाहरु अन्त जाँदैनन् । तर, गुरुङले नामवली संकलन गरेकाहरुलाई हिमालयबाट सस्तोमा उडाउने भनेपछि उनैको सम्पर्कमा रहे ।

    यदि राधिका गुरुङले प्यासेन्जरको नामवली उपलब्ध नगराएको भए हार्वेस्ट मुनको यसमा प्रवेश नै हुने थिएन । एक पैसा नलिएको दावी गरे पनि चार्टर गरेवापत् ट्राभललाई प्राप्त हुने पाँच प्रतिशत उनको भागमा परेको स्रोतले बताएको छ ।

    कम्युनिटीले अग्रिम रकम संकलन गरेपछि राधिका गुरुङले पनि ६३ हजारका दरले रकम जम्मा गर्न उर्दी जारी गरेकी थिइन् । उनले बनावटी उडान नम्बर राखेर मितिसहित फेसबुकमा सूचना प्रकाशित गरेकी थिइन् ।

    हिमालय एयरलायन्सले उडान अनुमतिको लागि आवेदन गरे पनि आवश्यकीय प्रावधान पूरा नभएपछि सिभिल एभिएसन डिपार्टमेन्ट (सीएडी) हङकङले अनुमति दिएन । अवस्था यस्तो सिर्जना भयो कि हार्वेस्टले रकम जम्मा गर्नेलाई तीन दिनभित्र फिर्ता लिन सूचना जारी गर्यो ।

    हवाई माफियाको चलखेल
    हिमालय एयरलायन्सले रकम नै फिर्ता लिन सूचना जारी गरेको भए पनि रातारात हवाई माफियाहरुको प्रवेश भएसँगै चलखेल शुरु भयो । प्यासेन्जरबाट हार्वेस्ट मुनको खातामा तीन करोडभन्दा माथि जम्मा भइसकेको थियो । चलखेलमा आरएकै उपल्लो तहको सहभागिता रह्यो । रातारात न्यारो बडीको चार्टर दर प्रतिघण्टा ८ हजार ७ सय ४० कायम गरियो । त्यो भन्दा अघि उक्त दर ११ हजार ६ सय २० थियो ।

    हार्वेस्टलाई चार्टरमा दर घटाइयो भने फर्कंदाको आम्दानी लिन नपाउने अघोषित सम्झौता भयो । शुरुवातका दुई उडानबाट कार्गो लगिएको थियो भने अन्तिम दुई उडानबाट ८२ जना प्यासेन्जरसहित कार्गो गएको छ । प्यासेन्जरबाट टिकट वापत संकलन भएको रकम लुम्बिनी ट्राभलमार्पmत् नेपाल एयरलायन्समा जम्मा भएको छ ।

    आरएप्रति कम्युनिटीको चित्त दुखाई

    नेपाल एयरलायन्सका क्षेत्रीय प्रबन्धक नवराज उपाध्याय (बायाँ) र हङकङ नेपाली ट्राभल एजेन्ट्स कम्युनिटीका प्रतिनिधिहरू ।

    स्थानीय नेपाली ट्राभलहरुले नेपाल एयरलायन्ससँग चित्त दुखाएका छन् । कम्युनिटीका संयोजक राजेन्द्र श्रेष्ठले भने, “‘नेशनल फ्ल्याग क्यारियर’ भनेर शुरुवातदेखि आरएको फेवरमा लागियो तर परेको बेला हामीलाई अन्याय गरियो ।”

    उनका अनुसार चार्टरका लागि सम्झौता गर्न झुलाउने काम भयो । धेरै अगाडिदेखि कोटेसन बमोजिम एमओयू गर्न लम्ब्याउने काम गरियो । त्यसो भएपछि समयमा उडान गर्न नसकिएको र धेरैले दुःख पाएको उनको गुनासो छ । एमओयू गरिसकेपछि न्यारो बडीको दर घटाउनुलाई पनि उनीहरु षडयन्त्र ठान्दछन् ।

    यस विषयमा क्षेत्रीय प्रबन्धक नवराज उपाध्यायले न्यारो बडीको दर हङकङको लागि मात्र नभएर सबैतिरको लागि घटाइएको बताएका छन् । उनका अनुसार चार्टर दर पुनरावलोकन गर्ने क्रममा त्यसो भएको हो । उनले भने, “वाइड बडी भनेपछि हात्ती हो न्यारो बडी बाख्रा । ती दुईमा तुलना हुन सक्दैन । त्यही भएर दरमा फरक परेको हो ।”

     

    ‘एक डलर पनि खाएको छैन’

    नेपालको लकडाउनबाट जति हङकङ आए सजिलो रुपमा आएका होइनन् । प्रक्रिया धेरै लामो भयो । लकडाउनमा बसिरहेको नेपाली जनतालाई सरकारले अर्को देशलाई नेपाली लैजाउ भन्ने कुरा भएन । त्यसैले समस्यामा परिरहेकाहरुले नै आवाज उठाएर सरकारसँग माग गरेकोले सम्भव भएको हो । पहिलो कुरा त; म आफैं लकडाउनमा फँसेको थिएँ । अर्को एनआरएनएको अध्यक्ष भएकोले मेरो दायित्व पनि थियो र फर्कन चाहने धेरैले मलाई फोन गरेर पहल गर्न अनुरोध गरे । त्यसपछि मैले नाम संकलन गर्न शुरु गरेको हुँ । एक हजारभन्दा बढीको नाम संकलन हुँदा ८० प्रतिशत नेपाल एयरलाइन्स र १५ प्रतिशत ड्रागन एयर, ६ प्रतिशत एकतर्फी जानेहरु पाइयो । तर, ती नाम कुनै पनि चार्टर फ्लाईट गर्ने भनेर संकलन गरेको होइन ।

    ९५ प्रतिशत फर्कन चाहनेसँग फर्कने टिकट भएकोले त्यहि टिकटबाट फर्कन पाउनुपर्छ भन्ने एनआरएनएको माग थियो । यति फर्कन चाहन्छन् आउने व्यवस्था मिलाइदिनुप¥यो भनेर हङकङ सरकारलाई निवेदन लेख्यौं भने काटेकै टिकटमा फर्कने पहल गर्न नेपाल सरकारलाई पनि आग्रह ग¥यौं । परराष्ट्र, पर्यटन मन्त्रालय सबैतिर निवेदन दियौं । यता हङकङका विभिन्न ट्राभल एजेन्सीहरुले पनि आप्mना यात्रुहरुको लागि पहल गर्ने नै भए । तर हामीले नाम संकलन गर्दा यो व्यावसायिक काममा एनआरएनएले किन हात हाल्ने भन्ने कुरा आयो । उहाँहरुले आप्mनोमा टिकट काटेको यात्रु आफैं फर्काउने भनेर हो कि के हो एनआरएनएको काममा विवाद देखियो । यसैमा विवाद बढेर हाम्रै उपाध्यक्षको राजीनामा समेत आयो ।

    तर, एनआरएनएले कुनै पनि व्यावसायिक रुपमा यसलाई हेरेकै होइन । जोकोही पनि समस्यामा पर्छन् भने तिनलाई सहयोग र साथ दिने, उद्धारको लागि पहल गर्ने एनआरएनएको दायित्व नै हो । व्यावसायिक साथीहरुले यो एनआरएनएले गर्ने काम नै होइन भनेर आरोप लगाउँछन् भने त्यसलाई कसैले स्वीकार गर्दैन । यहाँका अरु संघसंस्थासँग सहकार्य गरेर अघि बढ्नु पर्दथ्यो भन्ने कुरा पनि आए । तर, यो नेपालमा दर्ता भएको संस्थाले संसारको जहातहीं नेपाली समस्यामा परेमा दुतावाससँग सहकार्य गरेर पहल गर्न सक्छ । त्यही गर्दा अनेक लाञ्छना र आरोप लगाइयो ।

    एनआरएनएले वाणिज्य दुतावासमार्फत् हङकङ सरकारमा पहल र नेपालमा नेपाल सरकारमार्फत् सबै जिल्लामा लकडाउनमा परेकालाई हङकङको टिकट देखाएर राजधानी जान दिने पहल गरिसकेपछि हङकङका विभिन्न ट्राभल एजेन्सीहरुले चार्टर प्mलाईट गर्ने भनिदिए । जबकि, हामी पहिलेकै टिकटमा फर्काउन पहल गरिरहेका थियौं । परराष्ट्र मन्त्रालयमार्फत् पुरानै टिकट या सरकारले चार्टर नै गर्ने भन्ने निर्णय नआउँदै एनआरएनएमाथि आरोप लगाइयो । हामीले नाफा खान खोजेको होइन, चार्टर गर्ने भनेर एनआरएनए, हङकङ र मेरो नामबाट कहिंकतै एक डलर पनि लिएको छैन । एनआरएनए, हङकङले काउण्टर नै खोलेर पैसा लिई नाफा खान खोजेको होइन । नेपालीलाई सहज रुपमा फर्काउन पहल गर्दा नै आरोप लाग्यो । एनआरएनएले ट्राभल खोज्दै जाने होइन । कसरी हामी जाने भनेर उनीहरुले भन्नुप¥यो । हामी चार्टर गर्दैछौं नाम दिनु प¥यो भनेर ट्राभलका मान्छेले फोन गरेर सोध्दा दिइनँ । चार्टर गर्न संस्थाले किन नाम दिने ? । तर, पटक–पटक फोन गरेर कति मान्छे भए ? भनेर सोधिरहेपछि संख्या भनेको थिएँ । त्यसको केही समयमै चार्टरको मितिसहित समाचार नै आयो । र, त्यसले गर्दा फिर्ती टिकट छाडेर हामी पनि चार्टरमा आउन बाध्य भयौं ।

    म माथि आरोप लागेपछि मैले अठोट नै लिएँ कि म आफैं पनि आउनुपर्ने र मेरो साथीभाई आफन्त थिए । त्यसैले मैले आप्mनै लेवलबाट अध्ययन गरेर हिमालय एयरलायन्सले सस्तोमा ल्याउने भएपछि त्यता पहल गरें । पछि आउन नपाउने भएपछि सस्तो भएकोले हार्वेष्ट मुनमा गयौं । हार्वेष्ट मुनले गरे पनि त्यो हामी सबै फर्कन चाहनेहरुको चार्टर हो । अरु १ लाख ५ हजारमा आए हामी ८५ हजारमा आयौं । यो काम मैले नाम र दामको लागि गरेको होइन । दायित्व पूरा गरेको हो । यसमा लाञ्छना पनि आयो तर मैले सानो मन गरेको छैन ।

    हामी सबै एक भएर काम गरेको भए गएको एक महिनामा सबै नेपाली आईसक्थे तर त्यस्तो भएन । हामीले एक–अर्काप्रति आरोप लगाउँदा समस्यामा परेकाहरु समयमै आउन नपाएको सत्य हो । म माथि आरोप लागेकोले मलाई संस्थागत रुपमा जान अप्ठ्यारो भयो । संस्थागत आक्षेप लागेपछि एनआरएनए, हङकङ ब्याक भएको छ । तर व्यक्तिगत सहयोग र आप्mनो ठाउँबाट पहल गरिरहेका छौं ।

    एनआरएनए, हङकङका अध्यक्ष राधिका गुरुङसँग एभरेष्टले गरेको कुराकानीमा आधारित ।

  • कमेन्ट गर्नुहोस्