• ताईवान भागिरहेका स्थानीय अभियन्ता पक्राउ

    हङकङले समुद्री गस्ती बढायो

    चिनियाँ भाषामा दोङ्शा आइल्यान्ड भनिने प्रातस आइल्यान्ड ।
  •  

    अपराधमा संलग्न भएको शङ्का गरिएका व्यक्ति ताईवान भाग्ने गरेको सूचना पाएपछि हङकङले समुद्रमा गस्ती बढाएको छ । अघिल्लो महिना समुद्री मार्गमा पक्राउ परेका थुप्रैलाई फिर्ता गर्न अधिकारीले माग गरेका छन् ।

    मूलभूमि चीनका अधिकारीले बुधबार मत्रै १२ जना हङकङेली अभियन्ता पक्राउ गरेपछि ताईपेले त्यस्ता शङ्कास्पद व्यक्ति गिरफ्तार गरेको खुलेको हो। उनीहरू ताईवान जाँदै थिए। तीमध्ये एक जना विरूद्ध राष्ट्रिय सुरक्षा कानून उल्लङ्घनको मुद्दा छ ।

    गस्ती बढाइएको सूचना पुष्टि गर्ने हङकङ श्रोतले पछिल्लो घटनाले गैरकानूनी ढङ्गले शहरबाट भाग्न खोज्ने स्थानीय संदिग्धहरू निरूत्साहित हुने बताए। ताईवानको समाचारपत्र चाईना टाईम्सले पाँच जना हङकङेली अभियन्तालाई ताईवान कोस्ट गार्डले जुलाईको अन्त्यमा पक्राउ गरेको समाचार छापेको थियो । उनीहरू सवार डुङ्गाको इन्धन सकिएपछि चिनियाँ भाषामा दोङ्शा आइल्यान्ड भनिने प्रातस आइल्यान्डतर्फ तैरिरहेका थिए ।

    समाचार अनुसार पोहोर भएको सामाजिक दङ्गामा संलग्न भएको एक जना प्रहरी अधिकारीलाई दुर्व्यवहार गरेको र हतियार राखेको अभियोग लगाइएका २४ वर्षिय पनि समातिएका छन् । जुलाई २०१९ मा व्यवस्थापिका परिषद्मा बलपूर्वक प्रवेश गरेको अभियोगमा अदालतमा हाजिर नभएका २१ वर्षिय मान का‑किन पनि पक्राउ परेका  छन् । पक्राउ परेका पाँचै जनालाई दक्षिणी ताईवानको काओहसिङ पठाइएको छ । ताईपेस्थित मेनल्यान्ड अफेर्यस काउन्सिलबाट प्रतिक्रिया आउन बाँकी छ ।

    हङकङको सुरक्षा ब्युरोले अन्तरसीमा अपराध विरूद्ध लड्न सम्बन्धित निकायले सहकार्य गर्नुपर्ने बताएको छ । अपराध गरेको स्थानबाट भाग्ने अपराधीलाई भाग्नबाट रोक्नु स्थापित अन्तर्राष्ट्रिय दायित्व भएको ब्युरोले बताएको छ ।

    “हङकङमा भएका अपराधमा संलग्न कोही पनि अपराधीलाई प्रवेश नगर्न र उनीहरूलाई फिर्ता गर्न हामी सबैलाई आग्रह गर्दछौं । हङकङ सरकार उनीहरूलाई फर्काउन र कानून अनुसार कारवाही गर्न तयार छ ।,” ब्युरोले भन्यो ।

    चाईना टाईम्सले जनाए अनुसार मेनल्यानड अफेयर्स काउन्सिलका उपप्रमुख चिउ चुई‑चेङले कुनै प्रतिक्रिया दिएका छैनन् । घटनाले ताईवान सरकारलाई अप्ठ्यारो पार्ने भएकाले उनले प्रतिक्रिया नदिएका हुन् । पाँच जनालाई ताईपेमा बस्न दिए बेईजिङले हङकङमा लागु गरेको राष्ट्रिय सुरक्षा कानूनको उल्लङ्घन हुनेछ । उनीहरूको सुपुर्दगी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले नेतृत्त्व गरेको स्थानीय सरकारको राजनीतिक अडान विरूद्ध हुनजान्छ ।

    ताइवान कोस्ट गार्ड सामुद्रिक गस्तीमा ।

    तर हङकङका कानूनिवद् एरिक च्योङ तात‑मिङ ताईपेले आनाकानी गर्नु कानूनभन्दा पनि राजनीतिक कारण भएको विश्वास गर्छन् ।

    ‘राष्ट्रिय सुरक्षा कानून उल्लङ्घन गरेकोमा हङकङ प्रहरीले समाउलान् भनेर ताईवानका नेता डराउँछन् र? मलाई त त्यस्तो लाग्दैन ।’ उनले भने । गैरकानूनी आप्रवासीलाई स्वदेश फिर्ता गर्न दुई स्थानबीच कुनै सुपुर्दगी प्रबन्ध आवश्यक नहुने भएकाले मूलभूमि र ताईवानले प्रशासकीय प्रबन्धबाटै हङकङेली फिर्ता गर्नसक्ने च्योङले बताए ।

    गैरकानूनी तवरले ताईवान प्रवेश गरि व्यक्तिगत सुरक्षाको जोखिम नलिन सरकारले प्रोत्साहन गरेको चिउले बिहीबार प्रेस सम्मेलनमा बताए । यसरी गैरकानूनी रूपले ताईवान प्रवेश गर्नेलाई कानून अनुसार सजाय हुने पनि चेतावनी दिए। हङकङ र मकाउवासीसम्बन्धी राजनीतिक घटनालाई स्थापित संयन्त्र अन्तर्गत मानवीय सिद्धान्त अनुसार सम्बोधन गरिने उनले बताए। स्थानीयवासीले लोकतन्त्र र स्वतन्त्रताका लागि उठाएको आवाजलाई सम्मान गर्न मूलभूमी र हङकङ सरकारलाई उनले आग्रह गरेका छन् ।

    करिब दुई सय हङकङेली ताईवान भागेका छन्। अधिकांश पर्यटक भिसामा गएका हुन् ।

    बेईजिङ निकट समाचारपत्र ता कुङ पाओले संदिग्धलाई भगाउन अक्युपाई आन्दोलनका सह‑संस्थापक रेभरेन्ड चु यिउ‑मिङले सहयोग गरेको शनिबार आरोप लगाएको छ। उनलाई ताईवानको चि‑नान प्रेस्बिटेरियन चर्चका ह्वाङ चुन्सेङले सहयोग गरेको समाचारपत्रको भनाइ छ ।

    चुले आरोप अस्वीकार गरेका छन्। उनले ह्वाङलाई व्यक्तिगत रूपमा नचिनेको बताए । संदिग्ध भागेको घटनामा आफ्नो कुनै संलग्नता नरहेको पनि उनले प्रष्ट्याएका छन्। पूर्वाग्रह राखेर समाचार छापेको भन्दै कानूनी उपचार खोज्ने अधिकार पनि रहेको उनले बताए ।

    चीन नियन्त्रित समुद्रमा पक्राउ परेका १२ जना हङकङेलीको अवस्था के हुने हो शनिबारसम्म पनि प्रष्ट थिएन । पक्राउ पर्नेमा एन्डी ली पनि छन्। उनलाई हङकङ प्रहरीले यो महिनाको शुरूमा राष्ट्रिय सुरक्षा कानून अन्तर्गत पक्राउ गरेको थियो। मूलभूमिको कानून अनुसार गैरकानूनी आप्रवासीलाई स्वदेश फिर्ता गर्नुअघि एक वर्षसम्म कैद हुन्छ ।

    सबैलाई हाल शेन्जेनको यान्तियानमा राखिएको छ। हङकङ सरकारको श्रोत अनुसार उनीहरूलाई केहि समय मूलभूमीमा राखेर कानूनी कारवाही पूरा गरिनेछ । तर लीको राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दा त्यहाँ सुनुवाई हुने सम्भावना कम भएको उनले बताए ।

    हङकङको २२ औं स्थापना दिवसको दिन विधायिका परिषद् भवन तोडफोड गर्दै प्रदर्शनकारीहरु ।

    कानूनमा उल्लेख भएअनुसार कुनै तीन विशेष परिस्थितीमध्ये एकमा परे राष्ट्रिय सुरक्षा कानून अन्तर्गत लीको मुद्दा मूलभूमीले अघि बढाउनसक्ने बेईजिङ निकट विधायक प्रिस्सिला ल्योङ मेई‑फुनले बताइन् । उनी बेसिक ल समिति सदस्य पनि हुन्।

    विवादास्पद विधायन अन्तर्गत विदेशी तत्त्व संलग्न भएको जटिल मुद्दामा मात्रै जहाँ हङकङ सरकारले आफैं कानून कार्यान्वयन गर्न असमर्थ भएको र राष्ट्रिय सुरक्षामा ठूलो र तत्त्काल खतरा भएको अवस्थामा अफिस फर सेफगार्डिङ नेसनल सेक्युरिटी अफ द सेन्ट्रल पिपल्स गभर्न्मेन्ट इन हङकङले अख्तियारी लिएर पक्राउ परेका व्यक्तिलाई मूलभूमीमा कानूनी मुद्दा अघि बढाउन सकिन्छ ।

    लीको मुद्दाले त्यति उच्च मापदण्ड पूरा नगर्ने कानूनविद् च्योङले बताए। यो व्यवस्था एकदमै थोरै मुद्दामा मात्रै लागु हुने बेईजिङले पनि जोड दिएको छ । विदेशी शक्तिसँग साँठगाँठ गरेको भन्ने आरोप र मुद्दाको सुनुवाईका लागि लीलाई हङकङ फिर्ता पठाउनुपर्ने च्योङले बताएका छन् ।

    -किममी चुङ क्रिस्टी ल्योङ

  • कमेन्ट गर्नुहोस्