माझकिरातमा पृथ्वीनारायण शाहको ज्यादती
राज्यविस्तार अभियानका क्रममा पृथ्वीनारायण शाहले अनेकौं अस्त्रहरुको प्रयोग गरे । उनी साम, दाम, दण्ड, भेद सबै प्रकारका अस्त्र प्रयोग गर्थे । उनको यो अभियानका क्रममा प्रायः सबैजसो ठाउँमा उनको निशाना रह्यो ।
यसैक्रममा पूर्वको अभियानमा अभियान शुरु हुनुभन्दा अघि नै उनले माझकिरातभित्रैबाट आफ्ना सहयोगीहरु फेला पारे । चौदण्डीका पुरोहित हरिनन्द पोखरेल तथा काजी स्वरुपसिंह कार्कीजस्ता सहयोगीहरु पाए । माझकिरातको युद्धमा खम्बु राई योद्धाहरुमध्ये हजार जनालाई काटी मारे भने त्यो भन्दा बढी सङ्ख्यामा निहत्था महिला र बालबालिकाहरुको पनि बिजोग गराए । ठूलो निर्दयता देखाइयो ।
माझकिरातलाई मास्ने योजनाअनुसार खार्पाका हरिनन्द पोखरेलले चौदण्डीबाट माटाको डल्लो नै लगेर नुवाकोटमा मुकाम गरेर बसेका पृथ्वीनारायण शाहलाई चढाएका थिए । ‘भारा–फौज खटाई बक्सनु भया नौलखा किरातको मूलुक मधेश पहाड हात गरी ढोकामा छिराउँला’ भन्ने बिन्ती हरिनन्दले बिसाएको इतिहास ज्ञानमणि नेपालको ‘नेपाल निरुपण’ (२०५५:२९७) मा पढ्न पाइन्छ । त्यसबेला पृथ्वीनारायण शाहले बडो प्रशन्नता व्यक्त गर्दै ‘माझकिरातबाट राज्यलक्ष्मी मकहाँ आइन्’ भनी आफ्ना बडामहारानीलाई त्यो माटाको डल्लो पूजा गरेर भण्डारमा राख्न दिएका थिए ।
चौदण्डीमा रहेर सेन राजाले शासन गरे पनि यहाँको शासनमा खम्बुहरुको हात माथि थियो । इतिहास शिरोमणि बाबुराम आचार्यको धारणाअनुसार खम्बुहरुको बाहुल्यता रहेको माझकिरातमा बाहुनहरुले बिर्ता पाएका थिए । छेत्रीहरुलाई राजदरबारमा जागिर मिलेको थियो । तर कर्ण सेनका खम्बु दिवान अजित राय (अगमसिंह राई ?) को अधीनमा रही काम गर्नुपर्दा उनीहरुबीच परस्पर मनमुटाव शुरु भएको थियो । त्यसैले हरिनन्द र स्वरुपसिंह कार्कीले माझकिरात राज्य गोरखालीलाई सुम्पने उद्योगअनुसार चौदण्डीका माटाको डल्लो पृथ्वीनारायण शाहलाई चढाएको आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१:४१७) पढ्दा थाहा पाइन्छ ।
आचार्य (उहीः ४२९–४३०) अनुसार गोरखालीलाई माझकिरात सुम्पन हरिनन्द पोखरेलले धनको ठूलै खोला बगाएका थिए । दक्षिणतिरबाट माझकिरात अम्बल गर्न खटेका अभिमानसिंह बस्न्यात, पारथ भण्डारी लगायतले हरिनन्द पोखरललाई अम्बरपुर (सप्तरी)बाट वि.सं. १८३० फागुन सुदि १५ मा लेखेको पत्रअनुसार पहाडी भेगबाट खट्ने रामकृष्ण कुँवरमार्फत् तीन हजार पाँच सय ५८ रुपैयाँ र दक्षिणबाट खट्ने अभिमानसिंह बस्न्यातमार्फत् सात हजार चार सय ६६ रुपैयाँ गोरखाली सेनालाई खर्च बाँडेका थिए । यो सबै रकम हरिनन्द पोखरेलले जुटाइदिएका थिए । यसवापत् उनलाई ठूलो क्षेत्रफलको जग्गा कुशविर्ता दिइएको पनि पत्रमा उल्लेख छ ।
यसको असर कतिसम्म दूरगामी रह्यो भने, खार्पाली पोखरेलहरुले कुनै समय र अहिले पनि कर्मचारीतन्त्रमा देखाएको उपस्थिति उदाहरणका लागि काफी छ ।
माझकिरातमा खम्बु राईहरुको शासकीय सत्तालाई सदाका लागि अन्त्य गरी त्यस ठाउँमा गोरखाली शासन व्यवस्था कायम गर्न हरिनन्द लगायतका ब्राह्मण क्षत्रिय दत्तचित्त रहे । वि.सं. १८२९ भदौ १३ गते दुधकोसी किनार पुगेका गोरखाली सेनानायकहरु रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्वका गोरखाली फौजलाई रातारात डुङ्गा खोजी उनैले नदी पार गराएका थिए (आचार्य, उहीः४१८) ।
गोरखा–खम्बु युद्ध
गोरखाली र खम्बुहरुबीच ठूलै युद्ध भएको थियो । गोरखाली फौज बन्दुक जस्ता आधुनिक हतियारले सु–सज्जित थिए । उनीहरुको धनको खाँचो पनि हरिनन्द पोखरेलले टारिदिएका थिए । आफ्नै ठाउँका हरिनन्दहरु आफूविरुद्ध लाग्दा खम्बु युवाहरु धनुकाँडजस्ता परम्परागत हतियारले लड्थे ।
‘रेग्मी रिसर्च सेरिज’ वर्ष ४ अङ्क ५ (सन् १९७२ मेः ९४–९५) पढ्दा गोरखालीहरुले माझकिरात हात पार्न गोलाबारुद्धको ठूलै मात्रा प्रयोग गरेको देखिन्छ । पृथ्वीनारायण शाहले फागुन बदी ९ मा लेखेको पत्रअनुसार रामकृष्ण कुँवरलाई २२ जोर लुगा र २५ थान बन्दुक पठाएका थिए । यस्तै कुलुङ, दिङ्ला र पौवामा लडिरहेका अमरसिंह थापालाई माघ बदी ५ मा पठाएको पत्रअनुसार २१ पाथी बारुद, पाँच हजार गोली पठाउँदै फेरि २० पाथी बारुद, ६ हजार पाँच सय २५ गोली, सात सय ५० धातु र नौ सय पत्थर पठाउने आफ्नो योजना रहेको जानकारी गराएका थिए ।
गोरखालीहरुले माझकिरात अम्बल गर्दा त्यहाँको जनधनको निकै ठूलो क्षति गराए । योगी नरहरिनाथद्वारा सम्पादित ‘इतिहास प्रकाश’ भाग १ (२०२२:६) मा पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई माझकिरात विजयबारे वि.सं. १८३० मा लेखेको पत्रमा ‘…अरुण साँध लाग्यो, हजार वैरी काटिए । सये चार वैरी नदीमा वगी मरे । चौध सय जहान वच्चा पकडियो । किरात फत्ते भयो’ परेबाट यस्तो अनुमान लगाउन सकिन्छ ।
जहानबच्चामाथि ज्यादती
पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई लेखेको सोही पत्रअनुसार १४ सय जना जहान (महिला) र बच्चा (बालबालिका) पक्राउ परेका भन्ने स्पष्ट हुन्छ । युद्धबन्दीका रुपमा पक्राउ परेका ती महिला तथा बालबालिकाहरुको अवस्था कस्तो भयो होला भन्ने थाहा पाउन ब्रायन हज्सनको पाण्डुलिपि पढ्दा थाहा हुन्छ । सिरीजङ्गा लिपि र लिम्बू भाषामा लेखिएको भोल्युम ८५ पृ. १३१ को यो पाण्डुलिपिलाई नेपाली भाषामा गरिएको सरलीकरण र अनुवाद कमल तिगेला, भरत तुङघङ र भैरव आङ्लाको ‘गोर्खा–लिम्बू युद्ध’ (२०६९:१६) मा पढ्न पाइन्छ । जो यसप्रकार छः
बाहुन क्षेत्री राजा निस्किए पछि लेखे है । पश्चिमबाट आयो । नेपालमा नेवार मास्यो । त्यसपछि तामाकोशीमा देखियो । खम्बुवानमा वलिङहाङ उलिहाङ बस्दथ्यो । गोर्खासँग लडे । गोर्खाले धेरै मानिस मारिदियो । अरुनपारी पुत्लुङहाङ (याख्खा) यत्हाङ मागे पनि गुहार सघाएनन् । सात वर्ष पुग्दा खम्बुवान सिध्यायो । गोर्खाले । सात वर्ष लडाइ लड्दा स–साना बालबालिकालाई ओखलीमा हाली कुटेर मारे । गर्भवतिहरु छुटाए । छोरा पेटमा भएकोलाई डल्लै निकालेर मारे । गोर्खाले यस्तै ग¥यो ।
हज्सन पाण्डुलिपिमा उल्लेख भएको यो घटना निकै निष्ठुर प्रकृतिको थियो । हज्सन पाण्डुलिपिको अध्ययन गरेर फर्केका इतिहासकार डा. रमेश ढुङ्गेलले पनि त्यतिबेला गोरखाली शासकले राई लिम्बूहरुप्रतिको नीतिमा त्यति उदारता प्रदर्शन नगरेको उल्लेख गरेका छन् । उनले ‘हिमाल’ खबरपत्रिका (२०६२ फागुनः६०–६२)मा उल्लेख गरेअनुसार गोरखालीहरुले कतिसम्म गरे भने पुरुष सन्तान जन्माउने आशङ्कामा गर्भवती महिलाको गर्भ समेत तुहाइदिएको र शिशुहरुलाई ओखलमा हालेर किचिएको भन्ने चर्चा गरिएको समेत स्रोत (हज्सन पाण्डुलिपि)मा फेला पर्यो ।
इतिहासकार इमानसिंह चेम्जोङले ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (२०५९:७७)मा उल्लेख गरेअनुसार हज्सन पाण्डुलिपिमा उल्लेख भएका खम्बु राजाहरु वालिङहाङ र उलिङहाङ माझकिरातका आपुङ्गी (स्वतन्त्र) राजा थिए ।
नेपाली इतिहास पढ्दा गोरखाली शासकहरुले विजित तथा आफ्ना विरोधीहरुका छोराहरुलाई मारिदिने गरेको पाइन्छ । कतिपयलाई भने कमाराकमारी बनाउने गरेको देखिन्छ ।
इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’को पूर्णाङ्क ६० (२०४१ माघः३०)मा प्रकाशमा ल्याएको ‘श्री ५ पृथ्वीनारायण शाहले श्रीकृष्ण पाठकलाई लेखेको अप्रकाशित पत्र’ प्रकाशमा ल्याएका छन् । वि.सं. १८२३ भाद्र बदी रोज ५ मा लेखिएको उक्त पत्रमा ‘आगे श्रीकृष्ण पाठकप्रति. भेमसेन कार्कीको रांगो १ सरकारले लगेथ्यो. त्यसको साटो कमरा कमारी १ बक्स्यौं. तांहा वैरिका जानबच्चा पक्रीकन सौंपिदेउ’ भन्ने उल्लेख छ ।
यसबाट पनि पक्राउ परेका वैरीका जहानबच्चालाई कमाराकमारी बनाउने नीति पृथ्वीनारायण शाहको थियो भन्ने स्पष्ट हुन्छ ।
रणबहादुर शाहकालीन एक घटनालाई हेर्दा पक्राउ परेका महिलाहरुलाई राजा तथा काजीहरुले बाँडचुँड लिने गरेको तथ्य खुल्छ । इतिहास शिरोमणि आचार्यले ‘पूर्णिमा’को पूर्णाङ्क ६३ (२०४१ चैतः२०)मा उल्लेख गरेअनुसार गोसाइस्थान नेपाल–चीन युद्धको समय त्यहाँका स्थानीयहरुले राज्यविरुद्ध विद्रोह मच्चाएका थिए । त्यहाँका विद्रोहीहरुलाई काटियो । काटिने मारिने पुरुषका युवती छोरी–बुहारीहरु पक्रिएर ल्याइए । तीमध्ये दासी गराएर केहीलाई रणबहादुर शाहले आफ्नो महलमा राखे । उनीहरुमध्ये केहीलाई आफ्ना भारदार तथा अफिसरहरुलाई बाँडिदिएको आचार्यले उल्लेख गरेका छन् ।
यसबाट माझकिरातमा पक्राउ परेका जहान बच्चाहरुले पनि यस्तै नियति भोग्न बाध्य हुनुपर्यो होला भन्ने अनुमान गर्न सकिन्छ ।
सात वर्ष युद्ध ?
गोरखाली सेना वि.सं. १८२९ को भदौमा दुधकोसी तरे । वि.सं. १८३० साउन बदी ३० मा पृथ्वीनारायण शाहले दश लोहरुङ, थुलुङसिं मझिया, धुपु मझिया लगायतलाई ‘हिजो सेन मकवानीले दिएको भैयाद थापिदिएको’ भनी पठाएको लालमोहर इतिहासकार शिवकुमार श्रेष्ठले ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ (२०६८:११३)मा प्रकाशित छ । यस्तै पृथ्वीनारायण शाहले श्रीजंग राय, श्रीफुङ राय र श्रीजमुन राय लगायतका लिम्बू सुब्बाहरुलाई वि.सं. १८३० वैशाखमा गरिदिएको अर्को लालमोहर श्रेष्ठ (उहीः११४)ले छापेका छन् ।
यसबाट गोरखालीहरु पूरा एक वर्षभन्दा बढी माझकिरातमा युद्ध लडेको देखिन्छ । तर हज्सन पाण्डुलिपिमा भने माझकिरातमा गोरखालीहरु सात वर्ष लडेको उल्लेख गरिएको छ ।
बुझ्नुपर्ने कुरा के छ भने माझकिरातमा युद्ध लडिसकेपछि गोरखालीहरु लिम्बूवानतिर बढे । युद्ध सकिनासाथ कतिपय छुटपुट काम गर्दै र मिलाउँदै, बाँकी रहेको पक्षलाई दमन गर्दै वा फकाउँदै गर्दा गोरखालीलाई माझकिरात पूर्ण रुपमा आफ्नो अधिपत्यमा ल्याइसक्न सात वर्ष लागेको हुनसक्छ ।