• विरोध प्रदर्शनमा कम्तिमा २८९ जना गिरफ्तार

  •  

    बेईजिङले लागु गरेको विधायन र व्यवस्थापिका निर्वाचन एक वर्ष स्थगित गर्ने सरकारको निर्णय विरूद्ध हङकङमा विरोध प्रदर्शन भइरहेको छ। कोरोनाभाइरस सङ्कटका कारण सरकारले व्यस्थापिकाको निर्वाचन एक वर्ष सार्ने निर्णय गरेको छ ।

    हिजो आइतबार काउलुनका सडकबाट कम्तिमा पनि २८९ जना प्रदर्शनकारी समातिएका छन्। साँझसम्म प्रहरी बाक्लै संख्यामा तैनाथ थिए । प्रदर्शनकारी तितरबितर पार्न प्रहरीले पेप्पर स्प्रे र पेप्पर बल प्रयोग गरेका थिए। अज्ञात अभियन्ताले ५० हजार प्रदर्शनकारी परिचालन गर्ने उद्देश्यले अनलाइन कल गरेपछि स्थानीय समूह‑समूहमा भेला भएका थिए ।

    जोर्डन वरपर प्रदर्शनकारी सानो समूहमा भेला भएका थिए। बिस्तारै मोङकोक र याउमातेइमा ओइरिएका थिए ।

    मोङकोकमा प्रहरीले करिब पाँच बजेतिर प्रदर्शनकारीलाई पेप्पर बलले प्रहार गर्‍यो। उनीहरू हङकङलाई मुक्ति देऊ‚ हाम्रो समयको आन्दोलन भन्दै नारा लगाइरहेका थिए। नजिकै प्रहरीले बैजनी रङ्गको झण्डा उठाएर चेतावनी दियो । सुरक्षा कानून उल्लङ्घन गरे पक्राउ पर्ने उनीहरूले चेतावनी दिदैं थिए ।

    सादा पोशाकमा आएका प्रहरीले पेप्पर स्प्रे छर्किन र प्रदर्शनकारीलाई भुइँमा लडाउन थालेपछि स्थिति गम्भीर बन्यो। बेटन बोकेका प्रहरी अरू प्रदर्शनकारीमाथि जाइलागे। प्रदर्शनकारीले पनि पानीका बोतल फ्याँकेका थिए ।

    जोर्डनको एमटीआर स्टेशन नजिकै चिनियाँ शासनबाट शहरलाई स्वतन्त्र बनाउनुपर्ने नारा लगाइएको थियो । राति नौ बजेसम्म हङकङको स्वतन्त्रता प्रवर्द्धन गर्ने नारा लगाएका राष्ट्रिय सुरक्षा कानून उल्लङ्घन गरेको आशङ्कामा एक महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।

    गैरकानूनी भेला गरेको शङ्कामा थप २७० जना पक्राउ परेका छन् । सार्वजनिक स्थलमा खलल पुर्‍याएको भन्दै पाँच पुरूष‚ परिचयपत्र प्रस्तुत गर्न नसकेकोमा थप पाँच जनालाई प्रहरीले गिरफ्तार गरेको छ । अन्यलाई प्रहरीलाई हातपात गरेको‚ प्रहरीलाई ड्युटी गर्न अवरोध गरेको आरोपमा समातिएको छ ।

    सडक रोकेर बसेका प्रहरीलाई हर्न बजाउने एउटा बस चालकलाई पनि पक्राउ गरिएको छ । तिव्र गतिमा लापरवाही ढङ्गले प्रहरी नजिकै बस चलाएको भन्दै समातिएको प्रहरीले जनाएको छ । दुईभन्दा धेरै व्यक्ति भेला हुन नपाउने कोरोनाभाइरससम्बन्धी भौतिक दुरीको नियम उल्लङ्घन गरेको भन्दै बाइस जनालाई जरिवाना समेत गराइएको छ ।

    निर्वाचन पछि सारेको विरोधमा जोर्डनस्थित इटन होटेलबाहिर ब्यानर प्रदर्शन गरेको भन्दै लिग अफ सोसल डेमोक्र्याट्सका अभियन्ता लङ हेयर ल्योङ क्वोक‑हुङ‚ राफायल वोङ हो‑मिङ र फिगो च्यान हो‑वुन पक्राउ परेका छन् ।

    “मतदान गर्ने मेरो अधिकार चाहियो। निर्वाचन पछि सार्ने सरकार धिक्कार छ‚” ल्योङले भने ।

    प्रहरीले उनीहरूलाई अनाधिकृत भेलामा सहभागी भएको आरोप लगाएको छ । उनीहरूलाई पछ्याउने करिब तीस जना पत्रकार देखाउँदै उनीहरू गैरकानूनी कार्यक्रममा सहभागी भएको प्रहरीको भनाइ छ ।

    तीन जनालाई प्रहरीले गाडीमा राखेर लग्यो। च्यानको फेसबुक पेजमा तीन जना गिरफ्तार भएको बताइएको छ ।

    वेस्ट काउलुनमा पानीको फोहोरा र बख्तरबन्द गाडीसहित दुई हजार प्रहरी खटाउने प्रहरी श्रोतले जनाएको थियो ।  तर उनीहरूलाई परिचालन गरिएन ।

    अर्को कार्यकालका लागि हङकङवासीले विधायकको निर्वाचनमा आइतबार मतदान गर्नुपर्ने थियो । तर सरकारले जुलाई अन्तिममा निर्वाचन गर्ने जनाएको छ । कोरोनाभाइरस प्रकोपका कारण सार्वजनिक स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको सरकारले बताएको छ ।

    आलोचकहरुले यसलाई राजनीतिक स्वार्थले प्रेरित भएको बताएका छन् । विपक्षी दल ७० सिट भएको व्यवस्थापिकामा बहुमत ल्याउने आशमा थिए । पोहोर डिस्ट्रिक्ट काउन्सिलको मतदानमा संस्थापन पक्षलाई हराएकोले उनीहरू उत्साहित थिए ।

    प्रहरी परिचालन गरिएमा ६३ वर्षिया प्रदर्शनकारीलाई चिन्ता थिएन । आफूलाई यिम बताउने ती महिला चुनाव पछि सारिएकोमा दुखी थिइन् ।

    शहरव्यापी रूपमा स्वेच्छिक कोरोनाभाइरस परीक्षण योजनालाई उद्धृत गर्दै ती महिला सोध्छिन्‚ “मलाई भोट हाल्न किन नदिएको ? मास भाइरस टेस्टिङ गर्न हुने तर निर्वाचनमा सहभागी हुन नपाउने ?”

    “एक महिना पछि सारेको भए हुन्थ्यो । तर त्यसो हुनसकेन। किन ?”

    उमेरले बीसको दशक पूरा गरेकी एक प्रदर्शनकारी भन्छिन्‚ “बाहिर आएर प्रदर्शन गर्ने दबाव भएझैं लाग्छ। राष्ट्रिय सुरक्षा कानून अनुसार कतिबेला प्रहरीले हामीलाई समात्छ थाहा छैन। तर हङकङवासीसँग पछि हट्ने कुनै कारण छैन ।”

    उस्तै उमेरका अर्का प्रदर्शनकारीले पक्राउ पर्ने डर लागे पनि नागरिकको अभिव्यक्ति स्वतन्त्रताको प्रतिरक्षा गर्नु आफ्नो जिम्मेवारी भएको बताए ।

    दिउँसो करिब सवा दुई बजेतिर अभियन्ता जोसुवा वोङ चि‑फुङ इटन होटेलबाहिर देखा परे। प्रदर्शनमा सहभागी हुने कि नहुने भन्ने जिज्ञासामा प्रहरीको संख्या धेरै भएकोले उनले आफू पर्ख र हेरको स्थितिमा रहेको बताए। तर राष्ट्रिय सुरक्षा कानून फिर्ता लिने र निर्वाचन तुरून्तै गराउनुपर्ने लगायत चारवटा माग राख्न चाहेको उनले बताए ।

    “सेप्टेम्बर ६ निर्वाचन हुने दिन कसैले नभुलुन् भन्ने हाम्रो आशा हो । अहिले आएर बेईजिङले ढिलाइ र निर्वाचन नै रद्द गर्‍यो । यो एकदमै अनुपयुक्त छ‚” उनले भने ।

    मोङकोकस्थित लाङहाम प्लेस शपिङ सेन्टरभित्र पनि दर्जनौं व्यक्ति भेला भएर विरोधको नारा लगाए । प्रहरी भित्र प्रवेश नगरे पनि मलबाहिर र वरपर रहेका व्यक्तिको परिचयपत्र जाँचे । रात पर्दा मोङकोकका केही खानतलासी भयो । परिचयपत्र नजाँचि मोबाइल पसलमा रहेकालाई प्रहरीले बाहिर जान दिएनन् ।

    साँझ जारी गरिएको वक्तव्यमा सरकारले विरोध प्रदर्शनको कडा भर्त्सना गरेको छ । गैरकानूनी रूपमा आयोजना गरिएका यस्ता सभाले कोभिड‑१९ को जोखिम झनै बढाउने सरकारले बताएको छ ।

    राष्ट्रिय सुरक्षाका लागि कानून पारित गर्नु अन्तर्राष्ट्रिय अभ्यास भएको एक सरकारी अधिकारीले बताए । राष्ट्रिय सुरक्षा कानून संवैधानिक‚ उपयुक्त‚ र एक देश‚ दुई प्रणाली अनुसार नै भएको ती अधिकारीले भने ।

    नयाँ सुरक्षा कानूनले विखण्डन‚ विद्रोह‚ आतङ्कवाद र विदेशी शक्तिसँग साँठगाँठलाई प्रतिबन्ध गरेको छ । ती अधिकारीले निर्वाचन पछि सार्नु ठीक भएको बताए । कोभिड‑१९ अहिले नै नहराउने र जाडोमा अर्को प्रकोप आउनसक्ने उनले बताए ।

    शहरमा बेईजिङको सम्पर्क कार्यालयले पनि वक्तव्य जारी गर्दै स्थिरता सुनिश्चित गर्नलाई प्रहरीले निर्णायक भूमिका खेलेको जनाएको छ । निर्वाचन पछि सार्ने सरकारी निर्णय उपयुक्त भएको कार्यालयले जनाएको छ । प्रतिपक्षले सडकमा प्रतिरोध शुरू गरेको आरोप लगाएको छ । कोरोनाभाइरस विरूद्ध हङकङको सङ्घर्षमा बेईजिङको सहयोगलाई राजनीतिकरण गरेको भन्दै उनीहरूको आलोचना पनि गरेको छ । उनीहरूसँग कुनै नैतिकता नै नभएको बताइएको छ ।

    प्रहरीले अन्तिम पटक यति धेरै व्यक्तिलाई जुलाई १ मा पक्राउ गरेको थियो । सुरक्षा कानूनसँग आक्रोशित हजारौंले विरोध प्रदर्शन गरेपछि ३७० जनालाई हिरासतमा लिइएको थियो ।

    टेलिग्राम ग्रुपमा आएको वक्तव्यमा आइतबारका अपरिचित आयोजकले निर्लज्ज सरकारले कुनै विकल्प नदिएकाले नागरिक सडकमै ओर्लिनुपरेको बताए । हेल्थ कोड सिस्टम ल्याउने योजनाबारे असन्तुष्टि देखाउन पनि प्रदर्शन आयोजना गरिएको हो । यस अन्तर्गत हङकङ‚ मूलभूमि चीन र मकाउबीच क्वारेन्टिन नबसी निर्बाधले रूपले आउजाउ गर्न पाइनेछ ।

    यसैबीच १२ वर्षिया बालिकालाई प्रहरीले मोङ कोकस्थित साइयोङचोइ स्ट्रिट साउथमा चार बजेतिर नियन्त्रणमा लिएको भिडियो भाइरल भएको छ । उनी भाग्न खोजेकी थिइन्। तर पुरूष अधिकारीले उनलाई समाते र भुइँमा लडाएर नियन्त्रणमा लिए। सहोदरसहित उनलाई भौतिक दुरीको नियम उल्लङ्घन गरेको भन्दै जरिवाना गराइएको छ । दुवैलाई सामान्य चोट लागेको छ। याउमातेइस्थित क्वोङ वाह हस्पिटलमा उनीहरूको उपचार गराइएको छ।

    दुवै जना रङ किन्न गएको र प्रहरीले उनीहरूलाई रोकेको आमाले बताइन् । जरिवाना स्वरूप प्रति व्यक्ति दुई हजार हङकङ डलर जरिवाना बुझाउनुपर्छ । उनले नबुझाउने र त्यस विरूद्ध उजुरी गर्ने योजना बनाएको बताइन् ।

    प्रहरीले आफ्नो फेसबुक पेजमा करिब सय जना सडकमा भेला भएर चिच्याइरहेको र चेतावनी दिए पनि केही त्यहाँबाट फर्किन नमानेको जनाएको छ । अधिकारीले बालिकालगायत त्यहाँ हस्तक्षेप गरेको हो । बालिका शङ्कास्पद रूपमा भागेको प्रहरीको भनाइ छ । लखेटेर बालिकालाई न्युनतम शक्ति प्रयोग गरेर नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

    -फिला सिउ र च्यान हो‑हिम

  • कमेन्ट गर्नुहोस्