• राराको किनारमा भावुक मन

  •  

    अन्नपूर्ण बेस क्याम्पबाट फर्केपछि पोखराको बसाइमा फेवाताल र बेगनासतालमा नौकाबिहार गर्दैगर्दा अनायासै एउटा सोच आयो— यी तालहरुभन्दा ठूलो तालमा नौकाबिहार गर्ने । बाल्यकालमा किताबहरुमा रारातालको सौन्दर्यका बारेमा पढिएको थियो । त्यतिबेलैदेखिको कौतुहल मेट्ने सुवर्ण मौका थियो यो । पोखराबाट नेपालगञ्ज जाने विचार गरी बसपार्कतर्फ लागें । सिण्डिकेट लागू गर्ने र नगर्नेबीचको पिसाईमा पो परियो । बल्लतल्ल बस त भेटियो तर अन्तिम सिट पर्‍यो । बडो सकसका साथ यात्रा गरियो । नेपालको बस यात्रा त्यही माथि अन्तिम सिट ! बेला–बेला गाडी रोकेर ‘बाङ्गे’ भन्दै ड्राइभर–खलासीले रक्सी स्वाट–स्वाट पारेको देख्दा पनि केही भन्न सक्ने अवस्था रहेन । बरु, उनीहरुसँग रारा कसरी जान सकिन्छ भनेर थोरै जानकारी लिने काम गरें । बाँकी गुगलबाट पनि सापट लिएँ । बिहान करिब ९ बजेतिर बस नेपालगञ्ज बसपार्कमा रोकियो ।

    राराको लागि भोलिपल्ट बेलुका ५ बजे मात्र बस छुट्ने रहेछ । टिकट लिएँ रू. २,२०० मा । त्यसपछि एउटा टेम्पो समातेर बागेश्वरीको दर्शन गर्न गएँ अनि चालकलाई स्नेह होटलमा लैजान भनें, जहाँ पहिले नै कोठा बुक गरेको थिएँ । टेम्पो चालकलाई नेपालगञ्जमा घुम्ने उपयुक्त ठाउँबारे सोधेको बागेश्वरीपछि खासै नभएको बरू भारतको रूपैडिया जान सुझाए ।

    स्नेह होटल गज्जब लाग्यो । यो होटल उद्यमी भवानी राणाको रहेछ । उनको श्रीमानसँग छोटो–मिठो गफ भयो । नुहाई–धुवाई गरेर फ्रेस भएपछि केही समयको आरामपश्चात् रूपैडिया घुमेर आइयो । राराको बसाईको लागि डाँफे होटलमा कोठा बुक गरें ।

    भोलिपल्ट दिउँसो लेट चेकआउट गरी नेपालगञ्ज बसपार्कतर्फ लागें । ५ बजे छुट्नुपर्ने गाडी जाने सुरसार नै गर्दैन त ! ड्राइभर यता हल्लिन्छ उता हल्लिन्छ, कन्डक्टर नै बस मालिक रहेछ प्यासेन्जर तान्न र मालसामान खोज्नमै व्यस्त । बल्लतल्ल बाटो लाग्यो फेरि यता रोक्छ उता रोक्छ ! बडो मुश्किलले १० बजे बड्डीचौर भन्ने ठाउँमा पुगियो । गाडीवालाको खाना खाने जक्शन रहेछ । मैले त नाइट गाडी चढेको छु भन्ने सोचिरहेको थिएँ— हाम्रोतिर नाइट बस चढेर बिहान काठमाडौं झरेजस्तो । के को हुनु नि ! राति १० बजेपछि चलाउन नपाइने सरकारी नियम रहेछ ।

    बिहान भएपछि मात्र बाटो लागियो । कर्णाली राजमार्ग; बनेको–भत्केको, बन्दै गरेको मिश्रित सडकमा गाडी गुडिरह्यो । कर्णालीको गडतिरै–गडतिर कर्णाली राजमार्ग बनाइएको रहेछ । माथि हेर्‍यो पहरा तल हेर्‍यो छर्लङ्ग देखिने कर्णाली । घरीघरी त मुटु नै चिसो हुने ! यस्तो लागिरहन्थ्यो– प्रत्येक कुइनेटोमा सडकको अन्त्य । केही समय ड्राईभरको नजिक बसेर सडकको अवस्था हेरें, पछि डरले आफ्नो सिटमा आएर बसें । कालिकोटको मान्माभन्दा अलिक माथि सिन्जा खोलाको गडतिरमा गएर बास बसियो । होटल त होइन गोठ जस्तोमा रात गुजार्नुपर्ने भयो । तैपनि खान–बस्न पाइएको थियो, यसैमा सन्तोष गर्नुपर्ने अवस्था थियो ।
    बस छुट्ने समय बिहान ६ बजे भनिए पनि टायर पञ्चर भएको कारण हिंड्न सकिएन । पञ्चर बनाउने मिस्त्री आउँदा ७ः३० बज्यो अनि ८ बजे गाडी बाटो लाग्यो । २ बजे ताल्चा विमानस्थल पुगियो । यहींबाट रारा जाने सोचले उत्रिएँ । यहाँबाट घोडा चढेर जाने विचार गरेको घोडा पाइएन । अनि, ताल्चाबाट ३ घण्टाको पैदल यात्रा शुरू भयो । बाटो उकालो र ब्याग–प्याकले शुरूमा निकै अत्यायो । राराताल सेनाको ब्यारेकभित्र पर्ने रहेछ । ब्यारेकको चेकपोष्टमा नाम टिपाएँ । सेनाको जवानले नाममा कृष्ण लिम्बू लेखेको देखेछ । “तपाईं पूर्वबाट हो सर ?” भन्यो । त्यसपछि केहीबेर गफगाफ भयो । यो पल्टन पूर्वबाट सर्दै–सर्दै यहाँ आइपुगेको रहेछ । दुर्गम भएकोले यहाँ आउनु भनेको कालापानीमा पुग्नु वा सोसरह मान्ने रहेछन् सेनाहरुले ।

    फेरि बाटो लागें, बाटो अलिक सहज थियो । तेर्साे र धुपी–सल्लाको हरियालीले गर्दा केही उत्साहित भएँ । करिब डेढ घण्टाको हिडाईपछि राराको किनारमा पुगें । मेरो गन्तव्य चाहिं तालको अर्काे किनारामा धमिलो टहराको रूपमा उभिएको थियो । तालको किनारमा सैनिक ब्यारेक पनि भएको हुनाले यहाँ एनटिसीको नेटवर्कले काम गर्छ भन्ने सुनेको थिएँ । मोबाइल अन गरें, फेसबुक हेरें । घर–परिवारको म्यासेज हेरें । करिब ३ दिनदेखि कसैको सम्पर्कमा थिइनँ । सुस्ताउँदै बस्दा अनायसै भावुक भएछु, आँखाबाट आसु खस्यो । ‘म के खोजिरहेको छु ? यो अनकन्टार ठाउँमा परिवार र आफन्तभन्दा टाढा?’ उत्तरलाई थाती राख्दै गन्तव्यमा पुग्न पुनः झोला बोकेर अघि बढें, डाँफे होटलतिर । तालको किनारै किनार बाटो बनाइएको रहेछ । कहिले पानीसँग खेल्दै, कहिले फोटो खिच्दै हिंडिरहें । यति स्वच्छ पानी, विशाल ताल, मनमोहक सल्लाको जंगलले घेरिएर बसेको राराताललाई नजिकबाट नियाल्न पाउँदा आफूलाई भाग्यमानी ठानें । होटल पुगेर कोठा लिएँ, झोला राखेर चिया–खाजा खाएर पुनः तालको किनारमा मन अघाइञ्जेल बसें । यहाँ विदेशीभन्दा आन्तरिक पर्यटक धेरै आउने रहेछन् । जाडो हुने हुँदा आगो ताप्दै शुद्ध जौको रक्सी धेरै चल्ने रहेछ । रक्सी र आगोको तापले गर्दा साँझ आफसेआफ संगीतमय हुने रहेछ ।

    भोलिपल्ट बिहान कोदोको रोटी र चिया खाएर स्वच्छ पानीको सबैभन्दा ठूलो तालमा नौकाबिहार गरें । तालको अर्काे छेउमा पुग्दा ८-१० जनाको समूह पनि म सँगै बोटमा चढे । गफगाफ गर्दै जाँदा मोरङ, बेलबारीका भाइहरु रहेछन् । मेरो पनि खेतिपाती त्यता भएको बताएँ । बेलबारीमा मैले पान खाने दोकान वरिपरीका व्यापारीहरु रहेछन्, बेलबारीमा भेट्ने वाचाका साथ छुट्टियौं । उनीहरु होमस्टेमा बस्न लागे भने म होटलमा खाना खान । खाना पश्चात् घोडा चढी मुर्माटप जाने विचार गरें । मुर्माटप राराबाट करिब २ घण्टाको बाटोमा पर्छ । यहाँ हाइकिङ गरेर पनि जान सकिन्छ । विभिन्न प्रकारका गुराँसका फुलहरु देख्न पाइन्छ । यहाँको विशेष चाहिं सेतो गुराँस रहेछ, केही तस्वीर लिएँ । मुर्माटपबाट रारातालको सम्पूर्ण भाग देख्न सकिन्छ साथै सफा मौसममा हिमालय श्रृङ्खला पनि देखिन्छ । रारा पुगेपछि यहाँ चाहिं पुग्नु होला । फर्केपछि होटलको भाइलाई भोलिको लागि ताल्चाबाट सुर्खेतको लागि एअर टिकट मिलाएको जानकारी गराएँ ।

    भोलिपल्ट बिहानै ताल्चा विमानस्थलतिर घोडसवार गरी बाटो लागें । ताल्चा पुगेपछि प्लेन नआउने जानकारी पाएँ । किन हो किन ताल्चामा रोकिन मन लागेन । यसो यताउति बुझ्दा गमगढीबाट नेपालगञ्जको लागि गाडी छुटेको जानकारी पाएँ र रोडतिर दौडिएँ । सुर्खेतसम्मको लागि टिकट लिएर बस पर्खें । करिब २ घण्टापछि बस आयो । बुक गरेको सिट जसोतसो पाएँ । मान्मामा बास बसियो । सदरमुकाम भएकोले राम्रो होटल पाइएला भन्ने आश गरेको त्यस्तो भएन । ड्राइभरको कन्ट्याक्टवाला होटलमा बडो सकसका साथ रात बिताइयो । बिहान हल्ला चल्यो– विप्लव माओवादीले ‘नेपाल बन्द’ गरेको । गस्ती पुलिसहरु पनि हिंड्न थालेको अवस्था थियो । बिहान ८ बजे गाडी हिंड्यो कर्णाली नदीको किनारसम्म । करिब ७ घण्टा यहाँ बसाई प¥यो । बेलुका ५ बजे बन्द खुलेपछि गाडी हिंड्यो । बाटोमा कतै–कतै माओवादीले ढुङ्गा प्रहार पनि गरिरहेका थिए भने एक ठाउँमा त झण्डै बाटो थुनिनेगरी बडेमानको ढुङ्गा माथिबाट खसालिएको रहेछ । बडो मुश्किलले गाडी पास भयो । बाटोभरी मुसलधारे पानी प¥यो, दुःखले राती करिब १ बजे सुर्खेत पुगियो । मेरो गन्तव्य यहाँसम्म मात्र थियो । मध्यरातमा सुर्खेतमा होटल खोज्न शुरू गरें । धन्न यहाँको एउटा होटलको नम्बर भएकोले कल गरें र उनीहरुको डाइरेक्सन पछ्याउँदै होटल पुगें । सुर्खेतमा बिहानको खाजा खाएँ । सुर्खेत घुम्नको लागि एउटा टेम्पो लिएँ । बसपार्क पुगेर धरान जाने बसको टिकट बुक गरें, धन्न अहिले चाहिं राम्रो सिट पाएँ । सुर्खेतको देउती बजै, बुलबुले ताल, काँक्रेबिहार र सुर्खेत बजार घुमें । दिउँसो २ बजे पूर्वतर्फ लागें ।

    नोटः रारा यात्रा गर्नुहुन्छ भने नेपालगञ्जबाट प्लेनमा यात्रा गर्दा उत्तम हुन्छ । एडभेन्चर भने थोरै हुन्छ तर समयको चाहिं वचत हुन्छ ।

  • कमेन्ट गर्नुहोस्