• हङकङ फुटबलमा नेपाली भविष्य

  •  

    नेपाली मुलकी स्नेहा लिम्बू हङकङको फुटबल खेलमा चम्किरहेकी छिन् । हङकङको अण्डर १८ महिला टीमबाट खेलिरहेकी १६ वर्षीया स्नेहाले अन्तर्राष्ट्रिय खेलमा समेत उत्कृष्ट प्रदर्शन गरेर चर्चा कमाइरहेकी छिन् । नेपालीहरुको नाम उँचो बनाइरहेकी छिन् ।

    हङकङ टिमकी स्नेहा लिम्बू (बायाँ) फूटबल मैदानमा । तस्बिर: एससीएमपी ।

    हालै साउथ चाइना मर्निङ पोष्ट पत्रिकाले उनको खेललाई विश्व प्रसिद्ध फुटबल खेलाडी नेइमारसँग तुलना गर्दै ‘हङकङ टीमकी नेइमार’ भन्दै रिपोर्ट प्रकाशित गरेको थियो । उनको परिवारका अनुसार खेल क्षमता देखेर अमेरिकाको एक खेलकुद एकेडेमीले उनलाई छात्रावृत्ति सहितको प्रस्ताव नै पठाइसकेको छ ।

    हङकङमा नेपालीहरु माझ फुटबल क्रेज तत्कालीन ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खा रहँदादेखिकै हो । त्यसबेलादेखि नै ब्रिटिस सेनामा कार्यरत नेपालीहरु क्याम्पभित्र र बाहिर फुटबल खेल्दथे । सन् १९८० मा अवकाश पाएका ब्रिटिस सेनाका पूर्व क्याप्टेन उदयबहादुर गुरुङ सैनिक क्याम्पभित्र मात्र नभएर बाहिरी स्थानीय क्लबहरुदेखि मलेसिया, सिंगापुरसम्म पुगेर खेल्थे ।

    गोर्खा सैनिकहरु हुँदै नेपालीहरुमा आएको फुटबल मोह आज पनि व्यापक छ । उदयबहादुर गुरुङले आफ्ना  छोरा जगदीप गुरुङलाई प्रशिक्षण मात्र दिएनन् सशक्त फुटबल खेलाडी नै बनाए । मामा जगदीपको फुटबल मोह पछ्याउँदै उनका भान्जा समर्पण गुरुङ प्रधान अहिले प्रतिभाशाली खेलाडीको रुपमा उदाएका छन् । यस्तो तीन पुस्ते फुटबल क्रेजबाट पनि यहाँका नेपालीको खेलप्रतिको लगाव थाहा हुन्छ । ८१ वर्षका उदयबहादुर छोरा–नातिको खेल हेर्न अझै पनि फुटबल मैदानमा पुगिरहेका हुन्छन् ।

    तीन पुस्ता: बाजे उदयबहादुर,मामा जगदीप गुरुङका साथ समर्पण गुरुङ प्रधान । तस्बिर अन्य पुरुष खेलाडीकासहित: अनुप प्रधान ।

    अहिले हङकङमा नेपालीहरुको १६ देखि २० वटा जति आफ्नै फुटबल क्लबहरु छन् । जसले वर्षेनी लिग गेमहरुको आयोजनासँगै स्थानीय क्लबहरुसँग खेल्नेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिता जनाउने गरेको छ । राजीव हिराचन अध्यक्ष रहेको हङकङ नेप्लीज फुटबल क्लब एशोसिएशनको सक्रियतामा विभिन्न क्लब र संस्थाहरुले लामो समयदेखि ठूला फुटबल प्रतियोगिताको आयोजना गर्दै आएका छन् ।

    नेपाली क्लबहरु बाहेक हङकङमा ए डिभिजनका १० वटा क्लब रहेका छन् । क्लबहरुबीच लिग र त्यसमाथि प्रिमियर लिग हुन्छ । र, सबैभन्दा माथि हङकङ फुटबल टीम रहेको छ । जसमा लिग र प्रिमियम लिगबाट चुनिएका उत्कृष्ट खेलाडीहरु हुन्छन् । १० वटा क्लबाटै छानिएर २२ जनाको हङकङ फुटबल टीम तयार हुने भएकोले प्रतिस्पर्धा चर्को रहने गरेको छ ।

    पासपोर्टको तगारो

    हङकङ एसएआर पासपोर्ट लिएपछि स्नेहा लिम्बूले हङकङको टीममा आफ्नो क्षमता प्रदर्शन गरिरहेकी छिन् । तर, पासपोर्ट परिवर्तन गर्न नचाहेका पुरुष खेलाडीहरु भने स्थानीय क्लबहरुको लिग, प्रिमियर गेममै सीमित हुँदै आएका छन् ।

    समर्पण गुरुङ प्रधान हङकङ फुटबल क्लब (एचकेएफसी)को अण्डर–१६ टीमका सशक्त खेलाडी हुन् । क्लबहरुबीच हुने अन्तर्राष्ट्रिय अण्डर–१५ को जुनियर टीमबाट खेल्न उनी मलेसिया र स्वीडेनसम्म पुगिसकेका छन् । साउथ चाइना क्लबको टीम छनौटमा परेर ३ महिना प्रशिक्षण पनि लिए । उत्कृष्ट प्रदर्शन गर्दै गएपछि समर्पणलाई प्रशिक्षकले पासपोर्ट परिवर्तन गर्न सुझाव दिए । त्यस्तै अर्को किट्ची क्लबमा लगातार २ वर्ष छनौट खेलमा सहभागी भए तर पासपोर्टकै कारणले छनौटमा परेनन् । पासपोर्ट परिवर्तन गर्नु भनेको हङकङ फुटबल टीमतर्फको ढोका खुला हुनु हो । त्यसैले छोराको खेल भविष्यका लागि समर्पणका बुबा अनुप प्रधानले बाबु–छोराकै पासपोर्ट परिवर्तनको आवेदन दिएका थिए । अध्यागमनबाट निवेदन अप्रुभ पनि भयो तर समर्पणले अनिच्छा जनाए । अनुप भन्छन्, “छोराले ‘कि पछि नेपाल गएर नेपाली टीमबाट खेल्छु, कि बेलायत गएर त्यहाँको अन्तर्राष्ट्रिय क्लबहरुमा खेल्छु । अहिले यहाँको क्लबमै ठिक छ’ भनेपछि पासपोर्ट परिवर्तन गरेनौं । अब त एक वर्षको म्याद पनि सकिसक्यो ।” ब्रिटिस पासपोर्ट वाहक समर्पणका बेलायती साथी लागेनलाई पनि परिवर्तन गर्न भनेपछि उनी खेल छाडेर बेलायततिरै गएका थिए । हङकङ फुटबल क्लबमा भने विदेशीहरु धेरै भएकोले पासपोर्ट परिवर्तनको माग नहुने गरेकोले सजिलो भएको प्रधान बताउँछन् ।

    समर्पणकै जस्तो अनुभव हङकङ फुटबल क्लबको अण्डर १६ का खेलाडी बर्णाड राई र उनको परिवारको छ । अलराउण्डर स्ट्राईकरको रुपमा चम्किरहेका बर्णाड एचकेएफसी अघि काउलन क्रिकेट क्लब (केसीसी)को फुटबल टीमबाट खेल्थे । उनका बुबा खड्गबहादुर राईका अनुसार केसीसीमा खेल्नुअघि नै हङकङ जुनियर टीमको लागि प्रस्ताव गर्दै पासपोर्ट परिवर्तन गर्न सुझाव आएको थियो । भुतपूर्व ब्रिटिस सैनिक रहेका राईले छोराको पासपोर्ट परिवर्तन गर्न चाहेनन् । भन्छन्, “हङकङ नभए बेलायत गएर छोराले फुटबल खेल्छ तर पासपोर्ट परिवर्तन गर्न मन लागेन ।” बेलायतमा भने खेल्नलाई पासपोर्टको तगारो नहुने उनी बताउँछन् । उनले भने, “पासपोर्ट परिवर्तन गरेको भए छोराले ऊ सँगैको २–३ जना चिनियाँ साथीहरु जस्तै यहींको टीममा खेलिरहेको हुन्थ्यो होला ।”

    ‘एक्सपोजर’को खाँचो

    साउथ चाइना फुटबल टीमबाट हङकङको सबैभन्दा माथिल्लो तहको प्रिमियर लिगमा ९ वर्षसम्म लगातार खेलेका पूर्व खेलाडी विकास गुरुङ त्यो समयमा मैत्रीपूर्ण खेल खेल्न हङकङको प्रतिनिधित्व गर्दै अन्यत्र पनि जाने गरेको बताउँछन् ।

    सन् १९९३ तिर हङकङ टीम एसियन कपको फाइनलसम्म पुगे पनि त्यसबेला साउदी अरेबियासँग आफूहरु हारेको उनी सम्झन्छन् ।

    भेट्रान खेलाडी विकास गुरुङ ।

    १५ वर्षको उमेरपछि मात्रै फुटबल खेल्न थालेकोले गर्दा विकासको हङकङ टीममा खेल्नका लागि चाहिने ‘क्याटोगरी’ पुगेन । तर उनले क्लब मार्फत् अन्तर्राष्ट्रिय लिग गेमहरु खेले । हङकङ फुटबल टीमको लागि ७-८ वर्षबाटै क्लबहरु मार्फत् ‘ग्रुमिङ’ भएका खेलाडीहरु क्षमताका आधारमा छनौट गरिन्छ । त्यही भएर धेरै नेपाली युवायुवती राम्रो क्लबमा उत्कृष्ट क्षमता प्रर्दशन गर्दै हङकङ टीमसम्म पुग्न सक्छन् । तर, पछिल्लो समयमा क्षमतावान नेपाली खेलाडीहरुलाई तिनका कोचहरुले  हङकङ एसएआर पासपोर्ट लिनु भन्ने गरेकोले बाटो छेकिएको उनी बताउँछन् । जसले गर्दा नेपाली पासपोर्ट छाड्न नचाहनेहरु क्लब गेममै सीमित हुने गरेका छन् । उनका अनुसार सन् १९९७ अघि खेलाडीहरुमा पासपोर्टको कडाइ थिएन । फुटबल खेलको अन्तर्राष्ट्रिय संगठन फिफाले अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिताको नियम परिवर्तन गर्दै लगेपछि जुन देशबाट सहभागी हुने हो त्यो देशको पासपार्ट अनिवार्य भएको हो । भन्छन्, “पछिल्लो समय हङकङको फुटबल खेलको स्तर बढाउन पनि पर्मानेण्ट आईडी होल्डरवाला प्रतिभाशाली साउथ एसियन, अफ्रिकन, युरोपियन खेलाडीहरुलाई पासपोर्ट परिवर्तन गराएर भए पनि सहभागी गराउन थालेको छ ।” विश्व फुटबलमा नेपालीहरु साउथ एसियन स्तरमा मात्र पुगेकोले अझै स्तर बढाउनुपर्ने उनको सुझाव छ । पहिले एसियन लिगमा उत्कृष्ट ५ मा पर्ने हङकङ अहिले उत्कृष्ट १० मा पनि नभएकोले स्तर बढाउनको लागि पनि राम्रा खेलाडीलाई क्लबहरुले समेत खोजी–खोजी लिने गरेको उनी बताउँछन् ।

    प्रतिभाशाली खेलाडी भए विश्वको जुनै पनि क्लब, देशले लिनसक्ने भएकोले खेल क्षमता देखाउनको लागि ‘एक्सपोजर’ को खाँचो हुन्छ । हङकङमा फुटबल, क्रिकेट, भलिबल सबैमा एक से एक नेपाली खेलाडी भए पनि प्रतिभाको ‘एक्सपोजर’को अभाव रहेको विकासको अनुभव छ । खेल क्षमता देखाउनको लागि हङकङ राम्रो प्लेटफर्म भएको पुराना खेलाडीहरु बताउँछन् । यहाँको नेपाली फुटबल खेलको विकासमा सक्रिय जगदिप गुरुङ व्यावसायिक रुपमै खेललाई अघि बढाउने हो भने पासपोर्ट परिवर्तन गरेर खेले पनि फरक नपर्ने बताउँछन् । उनको भनाईमा हङकङ आफ्नै झण्डा लिएर अन्तर्राष्ट्रिय खेल मञ्चमा प्रस्तुत हुने भएकोले हङकङको टीममा परेका खेलाडीहरुले अन्तर्राष्ट्रिय एक्सपोजर सजिलै पाउँछन् । बेलायत ठूलो र त्यहाँ क्षेत्रगत प्रतिस्पर्धाहरु धेरै हुने भएकोले त्यहाँ खेले पनि राष्ट्रिय टीममा पुग्न सहज छैन । गुरुङका अनुसार आज पासपोर्ट परिवर्तन गरेर यता खेले पनि भोलिको दिनमा संसारको जहाँ पनि गएर खेल्न सकिन्छ । फेरि, नेपाली पासपोर्ट लिएर नेपालकै लागि पनि खेल्न सकिन्छ । उनी भन्छन्, “क्षमतालाई पासपोर्टले रोक्दैन । समयसँगै पासपोर्ट परिवर्तन गर्न सकिन्छ ।”

    हुन पनि प्रतिभालाई कुनै पनि देशको ट्याग र पासपोर्टले छेक्न सक्दैन । अफगानिस्तानको फुटबल टीमका धेरै खेलाडी युरोपका क्लबहरुमा खेल्छन् । अरु बेला जर्मनीमा खेल्ने अफगानीहरु अन्तर्राष्ट्रिय खेलमा आफ्नै देशको झण्डा बोकेर खेल्छन् । बेलायतमा परिवारसहित बस्दै आएकी गौरिका सिंहले नेपालको लागि अन्तर्राष्ट्रिय गेममा गोल्ड मेडलहरु दिलाइरहेकी छिन् । १५ वर्ष अघिदेखि निरन्तर फुटबल खेलिरहेका जगदिप भन्छन्, “युरोप, बेलायत, हङकङ जस्तो ठाउँको प्रशिक्षणबाट खारिएका नेपाली खेलाडी हुनु देशकै लागि पनि राम्रो कुरा हो ।”

    विगत १४ वर्षदेखि हङकङमा फुटबल खेलिरहेका ३३ वर्षीय प्रकाश थापा अहिले यहाँको प्रतिष्ठित सिटिजन क्लबको सिनियर टीमबाट खेल्छन् । हङकङका पुराना फुटबलर विकास गुरुङबाट प्रशिक्षण लिंदै लिग गेमहरुमा क्षमता देखाउँदै आएका प्रकाश जति राम्रो खेल खेले पनि अन्त्यमा पासपोर्ट परिवर्तन गरेर अघि बढ्ने कि जति छ त्यतिमै चित्त बुझाएर बस्ने भनेर आफैं निर्णय गर्नुपर्ने अवस्था रहेको बताउँछन् ।

    प्रकाशसँगै सिटिजन क्लबबाट खेल्ने सरोज थापा (२१) अहिले नेपालमा छन् र लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब (एमएमसी)का सशक्त खेलाडीका रुपमा रहेका छन् । सानैमा नेपालमै एन्फा एकेडेमीको जुनियर टीममा खेलेर हङकङ आएपछि पनि उनले खेललाई अघि बढाएका थिए । यहाँको क्लबमा राम्रो प्रदर्शन गरेका उनी नेपालमा सम्पन्न पछिल्लो लिग खेल्न गएपछि फर्केका छैनन् । हङकङका क्लबहरुमा राम्रै खेलिरहेका ओसेल गुरुङ र आशीष राई बेलायत गएर त्यहाँका क्लबहरुमा अण्डर–१८, अण्डर–१६ मा खेलिरहेका छन् ।
    नेपाली समुदायका सुरज गुरुङ हङकङको व्यस्त दैनिकीका बीच पनि फुटबल खेलाडीका रुपमा पहिचान बनाइरहेका छन् ।

    कतिपय युवा खेलाडीहरु यहाँको निर्माण क्षेत्रमा १२ घण्टा काम गरेर फुटबलको लागि समय निकालिरहेका छन् । त्यस्तै मध्येका एक हुन् सुरज गुरुङ । सन् २०१० देखि हङकङ आएर काम गर्न थालेका सुरज सन् २०१३ देखि फुटबल खेल्न थालेका हुन् । शुरुमा अग्रज दाइहरुसँग एम्मेच्योर फुटबल याउ ई लिग डिभिजनमा सेकेण्ड डिभिजनको क्लब हर्टबाट खेल्न थालेका उनले त्यसपछि फस्ट डिभिजनको क्लब मोस्टरमा ट्रायल दिए । “त्यहाँ राम्रो भयो । अनि फस्ट डिभिजनमा खेल्न थालें,” उनी भन्छन्, “त्यसपछि फस्ट डिभिजनकै कोलाइट्समा खेलें । यो क्लब रेलिगेसनमा परेर अहिले सेकेण्ड डिभिजनमा छ ।”
    ठूला क्लबमा खेल्ने नेपाली खेलाडीहरुसँको चिनजानले क्लब गेम खेल्न पाएको उनी बताउँछन् । हङकङ फुटबल क्लबले आयोजना गर्ने प्रतियोगितामा पनि उनी सहभागी थिए । दुई वर्ष अघि विभिन्न देशका सय जना भन्दा बढीबाट विभिन्न चरणमा छनौट भएर अन्तिम १० जनाले खेल्न अवसर पाउने खेलमा नेपाली उनी मात्र थिए । मैदानमा सेन्टर मिड, डिफेन्समा पनि खेल्ने उनी आफ्नो खेललाई कोचहरुले मन पराएर सपोर्ट गर्ने गरेको बताउँछन् ।

    नेपाली लिग र क्लब

    १२ वर्ष अघि सन् २००८ मा स्थापना भएको हङकङ नेपलीज फुटबल क्लब एशोसिएशनले यहाँका खेलाडी र क्लबहरुलाई एक बनाएर खेलकुदलाई गति दिंदै आएको छ । यहाँ प्राफेसनल, एम्याच्योर र भेट्रान गरी नेपालीहरुको तीन समूहमा खेलकुद गतिविधि हुँदै आएको छ ।

    गोर्खा कप, युनलङ कप, मोना कप, बुढासुब्बा गोल्ड कप, ज्योति कप, शिखर कप, धरहरा मेमोरियल कप, यु २१ युथ कप, यु २१ फुटबल टुर्नामेण्ट लगायतका खेल प्रतियोगिताले नेपालीहरुको फुटबल मोहलाई उजगार गरेको छ नै प्रतिभाशाली खेलाडीहरुलाई अवसरको ढोका समेत खोल्दै आएको छ ।

    जोर्डन एफसी, एससीई एफसी, युनलङ नेपलीज एफसी, धरान एफसी, युवा एफसी, गोर्खा ब्वाइज लगायतका डेढ दर्जन नेपाली फुटबल क्लबहरु भए पनि स्थानीय चिनियाँ तथा विदेशी क्लबहरुसँग खेल्दा सबै मिलेर एउटा टीम बनेर खेल्ने गरेका छन् । युवा नेपाली टीमको नेतृत्व ज्ञान बुढा मगरले गर्दै आएका छन् । यसअघि नरेन्द्र लिम्बूको सक्रियतामा हङकङको नेपाली फुटबल टीम बुढासुब्बा गोल्डकप जस्ता नेपालका ठूला गेमहरुमा सहभागी भएको थियो ।

    त्यस्तै यहाँ ३५ वर्ष माथिका भेट्रान फुटबलरहरुको अलग्गै टीम रहेको छ र अलग्गै लिग गेमहरु समेत हुँदै आएका छन् । त्यस्तै हङकङभित्र रहेका विदेशी समुदायकै अन्तर्राष्ट्रिय याउ ई लिगमा गोर्खा इन्टरनेशनल (जीआई) टीममार्फत् सबै क्लबबाट उत्कृष्ट खेलाडीहरु छानेर सहभागिता जनाउने गरिएको छ । जसको नेतृत्व दिपेन आलेले गर्दै आएका छन् ।

    हङकङका नाम चलेका लिग खेल्ने क्लबहरुमा सामान्यतया सदस्य भएर जुनसुकै खेल खेल्न खर्चिलो हुन्छ । हरेक ३ महिनाको २ देखि ४ हजारसम्म हङकङ डलर शुल्क बुझाएर क्लब सदस्य बन्ने र प्रशिक्षण लिन पाइने हुन्छ । तर अधिकांश नेपाली खेलाडी पैसा खर्च गरेर भन्दा पनि आप्mनै क्षमताले राम्रो खेल प्रर्दशन गरेर क्लबमा आबद्ध भएका छन् ।

    हङकङका पुराना खेलाडी विकास गुरुङ खेलकुदमा भविष्य राम्रो भए पनि कडा अनुशासन र निरन्तरता दिन नसक्दा धेरैले बीचैमा छाड्ने गरेको सुनाउँछन् । त्यसमाथि नेपालीहरुमा खेलेर के हुन्छ र ? भन्ने मानसिकताका कारण धेरै प्रतिभाशाली युवाहरुको क्षमता यहाँको निर्माण क्षेत्रमा कामदार तथा कम्पनी र घरहरुमा सुरक्षा गार्डमै सीमित भइरहेको छ ।

    बक्स–१
    छाउँदै नेपाली तन्नेरीहरु

    समर्पण गुरुङ प्रधान, बर्णाड राई, जर्ज लिम्बू, अर्नब राई लगायतका तन्नेरी खेलाडीहरु आफ्नो उमेर समूहका खेलहरुमा छाइरहेका छन् ।

    बाबा अनुप प्रधान र आमा सन्जीको साथमा मामा जगदिप गुरुङको खेल हेर्न सानैदेखि मैदानमा पुगेका समर्पणले ५ वर्षकै उमेरमा फुटबललाई लात्ती हानेका थिए । यही देखेर छोरालाई सानैमा ईएसएफ क्लबमा भर्ना गरिदिए अनुपले । पछि चेल्सी क्लब हुँदै काउलन फुटबल क्लब (केसीसी)मा भर्ना गरिदिएको उनी बताउँछन् । अहिले हङकङ फुटबल क्लबको अण्डर–१६ टीममा रहेका समर्पणले यस अघि साउथ चाइना क्लबमा छनौट भई ३ महिना प्रशिक्षण लिएका थिए ।

    गत वर्ष स्वीडेनमा उनी हङकङ टीमबाट मीड फिल्डरका रुपमा मैदानमा थिए भने गोल रक्षकमा नेपाली खेलाडी जर्ज लिम्बू । उनीहरुको टीम स्वीडेनमा क्वार्टर फाइनलसम्म पुग्यो भने मलेसियामा हङकङ जुनियर टीम सन् २०१८ को च्याम्पियन नै बन्यो । समर्पण १३ वर्षको हुँदा नै उनलाई अण्डर–२० का खेलाडीहरुको टीममा कोचले सहभागी गराउँथे । समर्पण हाल मिडिल स्कूल टीम केजीभीका कप्तान समेत रहेका छन् । परिवारले समय दिन नसक्दा राम्रो खेलाडीहरु पनि उचित अवसरबाट वञ्चित हुने भएकाले छोराको लागि पर्याप्त समयसँगै अलग्गै प्रशिक्षण समेत दिने गरेको अनुप बताउँछन् । अनुप आफैं स्पोर्टस् फोटोग्राफर भएकोले उनी हरदम छोराको खेलहरुमा फोटो–भिडियोग्राफी गरिरहेका हुन्छन् ।

    एचकेएफसीमा अण्डर–१४ टीमका सशक्त गोलरक्षक जर्ज लिम्बू अहिले किट्ची फुटबल टीममा आबद्ध भएका छन् । मैदानमा फरवार्ड, स्ट्राइकर, डिफेण्डरमा नेपाली खेलाडीहरु छाइरहँदा जर्जले पोष्टमा चुम्बक जस्तै क्षमता प्रदर्शन गरिरहेका हुन्छन् । एचकेएफसीमा अण्डर–१६ मा खेल्दै आएका अर्का खेलाडी अर्नब राई पनि सशक्त खेलाडीका रुपमा छाइरहेका छन् ।

    ९ वर्षकै उमेरमा ब्राजिलियनहरुको क्लब ब्राजिल टप स्कील (बीटीएस)मा आबद्ध भई ३ वर्ष खेलेका बर्णाड राई पनि अहिले एचकेएफसीमा अण्डर–१६ टीममा छन् । काउलन क्रिकेट क्लब (केसीसी)को टीममा समेत एक वर्ष खेलेका उनी मैदानमा अलराउण्डर भए पनि बढी स्ट्राइकरका रुपमा देखिन्छन् । बुबा खड्गबहादुर राई छोराको फुटबलप्रतिको रूचि देखेर नै आफूहरुले प्रोत्साहन गरेको बताउँछन् । कोभिड–१९ का कारण क्लबहरुको गतिविधि बन्द हुनुअघिसम्म उनी महिनाको २ वटासम्म क्लबका खेलहरुमा सहभागी भइरहेका हुन्थे ।

    बक्स–२
    चम्केकी स्नेहा

    नेपाली मुलकी स्नेहा लिम्बू हङकङको फुटबल खेलमा चम्किरहेकी छिन् । हङकङको अण्डर–१८ महिला टीमबाट खेलिरहेकी १६ वर्षीया स्नेहाले अन्तर्राष्ट्रिय खेलहरुमा समेत उत्कृष्ट प्रदर्शन गरेर चर्चा कमाइरहेकी छिन् ।

    हङकङमै जन्मिएकी स्नेहाले फुटबल खेल्न थालेको एक दशक भयो । प्राइमरी लेवलमा पढ्दा खेल्न शुरु गरेकी उनी अहिले व्यावसायिक खेलाडी बन्ने दौडमा छिन् ।

    स्नेहाका बाबा विजय आफैं पनि सानैदेखि फुटबलका सौखिन र नेपालमा हुँदा टोलका खेलाडी थिए । आफू सफल खेलाडी बन्न नसके पनि उनले छोरा सञ्जयलाई खेलाडी बनाउन चाहे । छोरालाई सानैदेखि फुटबल सिकाएर स्कूलको फुटबल टीममा सहभागी गराए । बुबा र भाइको फुटबल मोहले स्नेहालाई पनि तान्यो । तर शुरुमा उनलाई फुटबल केटा मान्छेको खेल जस्तो लाग्थ्यो । भाइले खेल्दा स्नेहा बेञ्चमा बसेर खेल हेरिरहन्थिन् । एकदिन कोच आएर “तिमी किन खेल्दिनौ ? फुटबल कस्तो लाग्छ ?” भनेर सोधे अनि राम्रो लाग्ने भए गल्र्स टीम पनि शुरु गर्ने कुरा गरे ।

    स्नेहालाई खासमा टेनिस खेलाडी बन्न मन पथ्र्यो । तर उनले टेनिस पनि खेलेकी भने थिइनन् । एकदिन उनका बुबा र भाइ कम्प्युटरमा मेस्सी, रोनाल्डोहरुका भिडिओ हेर्दै थिए । स्नेहाले पनि ती भिडियो हेरिन् । उनी भन्छिन्, “उनीहरुको फुटबल स्कील हेर्दा, गोल हुँदाको इमोसन, क्रस गर्दाको क्षण आदिले मलाई पनि टच ग¥यो । त्यसबेलादेखि मलाई पनि फुटबल खेल्न मन पर्‍यो ।”

    शुरुमा फुटबल खेल्दा स्नेहालाई मज्जा लाग्यो । एकदम एक्साइटमेन्ट भयो । उनका बुबाले जहिले पनि ग्राउण्डमा भाइ र स्नेहालाई फुटबल खेलाउन लैजान्थे । कसरी बल हान्ने भनेर सिकाउँथे । त्यहींबाट फुटबल खेल्न थालिन् स्नेहा ।

    स्कूलबाट खेल्न थालेपछि उनी यही क्षेत्रमा ध्यान दिएर लागिन् । उनको पहिलो सार्वजनिक खेल चाहिं अल हङकङ फाइभ ए साइड थियो । त्यो खेलमा उनले धेरै सोलो गोल गरिन् । उनलाई सपोर्ट गर्न खेलस्थलमा पुगेका उनका बाबा, आमा विष्णु र भाइ पनि खुसी भए ।

    त्यही बेलामा हङकङ महिला फुटबल टीमका कोचले उनको खेल नियालिरहेका रहेछन् । उनले स्नेहालाई फोन नम्बर दिए सम्पर्कका लागि । यो खबर उनले घरमा सुनाइन् तर उनका बाबा–आमाले पत्याएनन् ।

    स्नेहालाई कोचले हङकङ टीममा बोलाए । हङकङ टीममा उनी सहभागी हुँदा महिला टीम भर्खर विकास हुँदै थियो । अण्डर–१४ को टीम मात्र थियो । उनी त्यसबेला ८ वर्षकी थिइन् । त्यहाँ पुग्दा उनले अरु ५ जना साथी पनि त्यही उमेरका भेटिन् । बाँकी अरु चाहिं १३÷१४ वर्षसम्मका थिए । शुरुमा ट्रेनिङ गर्दा स्नेहालाई केही गल्ती हुन्छ कि भनेर खुब डर लाग्यो रे । भन्छिन्, “तर टीमका साथीहरु सहयोगी थिए । अनि साथीहरुलाई सोध्थें, कसरी गर्ने भनेर । उनीहरुले बताइदिन्थे । म त्यही अनुसार गर्थें । नत्र उनीहरुले जे गर्छन् त्यही कपी गर्थें ।”

    बाबा र आमाकासाथ स्नेहा लिम्बू । तस्बिर आवरणसहित बिक्रम गुरुङ (ज्याप स्टुडियो) ।

    स्नेहाको पहिलो इन्टरनेशनल गेम चाहिं युथ गर्ल इन्टरनेशनल इन्भाइटेशनल टुर्नामेन्ट अण्डर–१४ थियो २०१७ मा । त्यतिबेला मङ्गोलिया, लाहोस, थाइल्यान्डसँग खेलेको थियो टीमले । “मलाई शुरुमै खेलमा राखिएको थियो । म एकदम ह्यापी भएँ ।” उनी भन्छिन्, “काउलुन बे पार्कमा भएको थियो गेम, धेरै मान्छे हेर्न आएका थिए । बाबा, ममी र भाइ पनि मलाई सपोर्ट गर्न आउनुभएको थियो ।”

    युथ गर्ल इन्टरनेशनल इन्भाइटेशनल टुर्नामेन्टको शुरुदेखि तीन वर्ष लगातार खेलिसकेकी स्नेहाले केही समयअघि मंगोलियामा एएफसी पनि खेलिन् । त्यसपछि अण्डर–१६ राउण्ड वान खेलिन् भने भर्खरै सिनियर टीमको लागि टर्किस इन्टरनेशनल कप पनि खेलिन् । यसअन्तर्गत उनी खेल्नका लागि मङ्गोलिया, टर्की, भियतनाम लगायतका देश पुगेकी छिन् ।

    हङकङको टीमबाट स्ट्राइकर खेल्ने स्नेहा क्लब सिटिजनका लागि चाहिं मिडफिल्ड वा लेफ्ट विनका रुपमा खेल्छिन् ।

    अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म हङकङका लागि ७ गोल गरिसकेकी छिन् उनले । “अस्ति भर्खर टर्कीको लागि पनि फस्र्ट गोल हानें । त्यसबेला एकदमै खुसी लाग्यो,” उनी हर्ष व्यक्त गर्छिन् । उनको टीमले धेरैवटा अन्तर्राष्ट्रिय खेल जितेको छ ।

    हङकङ टीमकी ‘नेइमार’

    स्नेहाको खेल कलाबारे चाइनिज मिडियाहरुले महत्वका साथ समाचार लेख्ने गरेका छन् । हालै साउथ चाइना मर्निङ पोष्टले उनलाई हङकङ फुटबल टीमको ‘नेइमार’ भनेर लेख्यो । स्नेहा भन्छिन्, “नेइमार मेरो आइडल हुन् । मलाई मिडियाले नेइमार भनेर लेख्दा धेरै खुसी लाग्यो ।”

    स्नेहा आफैंलाई पनि सानोमा सोलो गोल गर्दा नेइमारले जस्तो खेल्थें भन्ने लाग्छ । उनी नेइमार, मेस्सी, रोनाल्डोका खेलहरु हेर्छिन् । नेइमारको स्कील उनलाई बढी मन पर्छ । नेइमारले अरुलाई पनि मनोरञ्जन दिंदै गोल हान्ने कला उनलाई विशेष लाग्छ । स्नेहा भिडियो हेरेर पनि खेल टेक्निक सिक्छिन् । उनका साथीहरुले पनि कुनै नयाँ टेक्निक थाहा पाए भन्छन् । स्नेहा सुनाउँछिन्, “कोचहरुले पनि टीमका अरु साथीभन्दा अलि स्कीलफुल छौ । तिम्रोे टेक्निक राम्रो छ भन्नुहुन्छ ।”

    चाइनिज मिडियाहरुले समेत उनको चर्चा गर्न थालेपछि हङकङको नेपाली समुदायले पनि उनलाई चिन्न थालेको छ । नेपाली समुदायले सपोर्ट गर्दा उनलाई आफू अझै जिम्मेवार बनेर खेल्नु पर्छ भन्ने लाग्छ । उनले नेपाली समुदायमा त खेलेकी छैनन् । तर नेपालबाट बोलाए जाने मन छ । ६ वर्षको उमेरमा नेपाल गएकी उनलाई नेपालमा होली खेलेको याद छ । त्यसपछि भने जाने अवसर जुरेको छैन ।

    नेपाल जान नपाए पनि उनी नेपाली महिला टीमका खेलहरु हेर्छिन् । उनलाई सविता भण्डारीको खेल मन पर्छ । उनी भन्छिन्, “अस्ति हङकङसँग पनि खेल्नु भएको थियो । हेड गोल हान्नुभएको थियो । कस्तो रोनाल्डोले जस्तो हान्नुभयो । नेपाली वुमन टीमको खेल राम्रो लाग्छ ।”

    उनी खेलमा यति प्रगति गर्न भाइ, बुबा अनि ममीको सपोर्टले सहयोग पुगेको बताउँछिन् । खेल क्षेत्रमा लाग्न चाहनेहरुलाई सपोर्ट गरिदिन पनि उनी अभिभावकहरुसँग आग्रह गर्छिन् । भन्छिन्, “मलाई पनि परिवारको सपोर्ट नभएको भए यहाँ पुग्न सक्दिनथें ।” स्नेहाका आमा–बाबा विजय र विष्णु छोरीको प्रगतिले दंग छन् । भन्छन्, “यही उमेरमा राम्रो गरिरहेकी छ अझै यो भन्दा माथि पुगेको देख्न चाहन्छौं ।”

    हङकङ टिमकासाथ स्नेहा लिम्बू पहिलो लहरमा बायाँबाट दोश्रो । तस्बिर: एससीएमपी ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad