• १२ हङकङेलीलाई लिएर अमेरिका र चीनबीच विवाद

    फिर्ता ल्याउन सरकार गुहार्दै परिवार

    पत्रकार सम्मेलनमा सम्बन्धित परिवारका सदस्यहरु ।
  •  

    १२ सेप्टेम्बर । ताईवानतर्फ भागेको भनिएका १२ जना हङकङेलीलाई चीनले हिरासतमा लिएको घटनाले चीन र अमेरिकाबीच कुटनीतिक विवाद चुलिएको छ । सम्बन्धित परिवारले उनीहरूलाई फिर्ता ल्याएर सुनुवाई गर्न स्थानीय सरकारसँग आग्रह गरेका छन् । परिवार पहिलो पटक सार्वजनिक भएका हुन् ।

    हिरासतमा राखिएका व्यक्तिले चाहेको वकिल राख्न नपाएकोमा चिन्ता व्यक्त गर्दै अमेरिकाका शीर्ष कुटनीतिज्ञ माइक पोम्पियोले वक्तव्य जारी गरे । केहि घण्टापछि हङकङस्थित बेईजिङको विदेश मामिला हेर्ने कार्यालयले अमेरिकी नेतालाई शहरको मामिलामा हस्तक्षेप बन्द गर्न भनेको छ ।

    घटनाबारे प्रतिक्रिया दिने पोम्पियो पहिलो अमेरकी अधिकारी हुन् । अगष्ट २३ मा चाईना कोस्ट गार्डले ती १२ जना सवार स्पिडबोट नियन्त्रणमा लिएको थियो । गैरकानूनी रूपमा सीमा पार गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये एक जना १६ वर्षिय छन् । उनीहरूको अवस्था वा लगाइएको आरोपबारे चिनियाँ अधिकारीले जानकारी नदिएको पोम्पियोले आरोप लगाएका छन् । सेक्रेटरी अफ स्टेट पोम्पियोले क्यारी लामको नेतृत्त्वमाथि पनि प्रश्न गरेका छन् ।

    अमेरिकाका शीर्ष कुटनीतिज्ञ माइक पोम्पियो ।

    “हङकङवासीको अधिकार सुरक्षा गर्ने कार्यकारी प्रमुख लामको प्रतिबद्धता शब्दमा मात्रै सीमित नहोस् भन्ने हामी चाहन्छौं‚” वक्तव्य जारी गरेपछि उनले ट्विट गरे ।

    प्रतिक्रियामा हङकङस्थित अफिस अफ द कमिशनर अफ द मिनिस्ट्री अफ फोरेन अफेयर्सले कडा वक्तव्य जारी गर्दै हङकङ र चीनको आन्तरिक मामिलामा केहि अमेरिकी नेताले हस्तक्षेप गरेको आरोप लगायो ।

    “उनीहरू अन्य देशको आन्तरिक मामिलामा अस्वभाविक चासो देखाउँछन् र मनमानी ढङ्गले हस्तक्षेप गर्छन् । तर आफ्नै देशको गम्भीर समस्या नदेखेझैं गर्छन्‚” वक्तव्यमा भनिएको छ ।

    अमेरिका र चीनको सम्बन्ध यस अघि नै समस्यामा छ । घटनाले विवाद झनै बढाएको छ ।

    उता प्रियजनले चीनमा भोग्नुपरेको समस्या समाधान गर्न पक्राउ परेका ६ जनाको परिवारले पहिलो पटक प्रेस सम्मेलन गरेका छन् । अनुहार छोपेर सार्वजनिक भएका परिवारजनले १२ जनासँग आफैंले वा वकिलमार्फत् सम्पर्क गर्ने प्रयास तीन सातादेखि असफल भएको बताए ।

    ली जी‑यीन २९ वर्षिय सर्वेक्षककी आमा हुन् । शेन्जेनको यान्तियानको हिरासत केन्द्रमा आफूले नियुक्त गरेको वकिललाई छोरासँग भेट्न नदिइएको उनले बताइन् । भनिए जसरी नै आवश्यक कागजपत्र नोटरी गराएर वकिल त्यहाँ पुगेको उनले बताइन् । अधिकारीहरू लीले दुई जना वकिल नियुक्त गरेको बताउँछन् ।

    सेन्झेनको यान्तिन जिल्ला बन्दीगृह ।

    “मलाई विश्वास छ । मेरो छोराले यस्तो गरेको छैन । चीनमा हाम्रो कोही छैन । हामीले चिनेजानेको पनि कोही छैनन्‚” उनले भनिन् ।

    हिरासतमा राखिएका तीन जनाले दैनिक औपधी सेवन गर्नुपर्ने विधायक एड्डी चु होइ‑डिकले बताए । उनी सम्बन्धित परिवारलाई सहयोग गरिरहेका छन् । तीमध्ये एक महिलालाई डिप्रेसन छ । तीस वर्षिय ताङ काइ‑यीनले दम र छालाको समस्याका कारण दैनिक औषधी खानुपर्ने आमाले बताइन् । छोरा हराउँदा साथमा ‍औषधी नलगेको उनेले बताइन् ।

    “राति सुत्न सक्दिनँ । औषधी छैन भनेर चिन्ता लागिरहन्छ‚” रूँदै भन्छिन्‚“ ऊ मर्‍यो कि बाँच्यो‚ कृपया बताइदिनुस् ।”

    २९ वर्षिय प्राविधीक वोङ वाइ‑यिनकी पत्नि र हिरासतमा राखिएका अन्यका परिवारजनले चीन र स्थानीय सरकारबाट सहयोग नपाएको बताए ।

    “हामीलाई बलजस्तो व्यवहार गरिएको छ। भिन्न‑भिन्न विभागबीच हानथाप गरिन्छ । अहिलेसम्म कुनै ठोस सहयोग पाएका छैनौं‚” उनले भनिन् । सबै १२ जनालाई फिर्ता गरि कानूनी दायरामा ल्याउन लाम प्रशासनसँग उनले अनुरोध गरिन् ।

    १२ जनामध्ये एक जना पोर्चुगलका नागरिक भएको चुले बताए । उनीसँग बेलायती नागरिकको (ओभरिसिज) राहदानी छ । उनको परिवारले पनि हङकङको सम्बन्धित कन्सुलेटबाट सहयोग लिने विश्वास छ ।

    केहिलाई पोहोर भएको सरकार विरोधी प्रदर्शनसँग जोडिएको छ । तीमध्ये एन्डी ली एक हुन् । गत महिना राष्ट्रिय सुरक्षा कानून अन्तर्गत हङकङ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    परिस्थितीबारे जानकारी चिनियाँ श्रोतले जनाए अनुसार चिनियाँ अधिकारीले कम्तिमा तीन जना वकिललाई उनीहरूको सेवाग्राहीले अन्य कानूनी प्रतिनिधी पहिले नै नियुक्त गरिसकेको बताए । दुई जनाले स्थानीय न्याय ब्युरोले मुद्दा फिर्ता लिन चेतावनी दिएको बताए ।

    सबै १२ जनालाई रिहा गर्न व्हाइट हाउसलाई माग गर्दै सेप्टेम्बर २ मा अनलाइन पेटिसन सुरू भयो । दश दिनभित्रै एक लाख तीन हजार चार सय हस्ताक्षर सङ्कलन भएपछि पोम्पियाले प्रतिक्रिया दिए । बिना कुनै अभियोग ३० दिन भन्दा बढी हिरासतमा राख्ने चिनियाँ कानून स्वीकार नभएको पेटिसनका समर्थक बताउँछन् । हिरासतमा राखिएका सबै जनालाई तुरून्तै रिहा गर्न र सुरक्षित हङकङ फर्काउन उनीहरूले माग गरेका छन् ।

    परिचय नखुलाउने शर्तमा १२ मध्ये एकको प्रतिनिधित्व गर्ने वकिलले अमेरिकाको दबावबाट हिरासतमा राखिएका सबैलाई चिनियाँ अधिकारीले पारदर्शी ढङ्गले व्यवहार गर्ने आशा गरेका छन् । अर्का वकिल भने पोम्पियोको प्रतिक्रिया दुई धारे तरबार बताउँछन् । मुद्दासम्बन्धी निर्देशन बेईजिङले दिइरहेको भए स्थानीय अधिकारीलाई राजनीतिक नियुक्तिको प्रयास गर्ने अवसर कम हुने उनलाई डर छ ।

    घटनाको राजनीतिक संवेदनशीलताका कारण पोम्पियोको प्रतिक्रियाले मात्रै बेईजिङ पछि हट्न बाध्य नहुने चीन मामिलाबारे अनुभवी जोनी लाउ युइ‑सिउ बताउँछन् ।

    “अन्तर्राष्ट्रिय र स्थानीय नेताले थप समस्या सिर्जना नगरि यो कार्ड प्रयोग गरेर उनीहरू साँच्चिकै समस्या समाधान गर्न आएको भनेर बेईजिङलाई कसरी विश्वास दिलाउँछन्‚ त्यो महत्त्वपूर्ण छ‚” उनले भने । मूलभूमीले सबै जनालाई फिर्ता पठाउने सम्भावना कम भएको उनी बताउँछन् ।

    मूलभूमीको कानून उल्लङ्घन गरेर गिरफ्तार भएको भए उनीहरूलाई त्यहिको कानून अनुसार व्यवहार गर्नुपर्ने कार्यकारी प्रमुख क्यारी लामले मंगलबार बताएकी थिइन् ।

    चाइना कोस्ट गार्डले १२ जना हङकङेलीलाई पक्राउ गरेको थियो ।

    शहरको अध्यागमन विभागले दश जनाको परिवारले सहयोगको अनुरोध गरेको शनिबार जनाएको छ । उनीहरूको स्वास्थ्य राम्रो भएको र चीनमा कानूनी प्रतिनिधी नियुक्त गरेको अधिकारीले बुझेका छन् ।

    “अध्यागमन विभाग र ग्वाङदोङस्थित हङकङ इकोनोमिक एन्ड ट्रेड अफिसले परिवारजनलाई चीनको कानून र नियमबारे बुझाएको छ‚” वक्तव्यमा भनिएको छ ।

    “कार्यालयले नियुक्त गरेको कुनै हङकङेली संस्थाबाट पनि नि:शुल्क कानूनी परामर्श लिनसक्नेबारे हामीले उनीहरूलाई सम्झाएका छौं ।”

    संयन्त्र अनुसार चिनियाँ अधिकारीलाई स्वास्थ्योपचारको अनुरोध पनि गर्नसक्ने विभागले जनाएको छ। हङकङ सरकारले अवस्थालाई नजिकबाट अनुगमन गर्ने बताएको छ ।

    -न्याटली वोङ

  • कमेन्ट गर्नुहोस्