• सयौं विद्यालयबाट विद्यार्थी फिर्ता

  •  

    दुई सय तीस विद्यालयमध्ये ९५ प्रतिशतले केहि महिनायता विद्यार्थी भर्ना फिर्ता भइरहेको जनाएका छन्। अधिकांश चीन वा विदेश गइरहेको सर्वेक्षणमा देखिएको छ ।

    यस्तो हुनुमा पोहोर भएको आन्दोलन र अहिले कोभिड‑१९ महाव्याधि मुख्य कारण भएको धेरैले बताए। हङकङ फेडेरेशन अफ एजुकेसन वर्कर्सले गरेको सर्वेक्षण अनुसार स्वास्थ्य सङ्कटले जारी रहे अझै धेरै विद्यार्थी बाहिरिने ७० प्रतिशत विद्यालय प्रमुखले बताएका छन् ।

    फेब्रुअरीको शुरूमा कोरोनाभाइरसको महाव्याधि देखिएपछि झण्डै ६ महिनादेखि हङकङका विद्यालय बन्द छन्। गर्मीको बिदा हुनुअघि एक महिनाको छोटो अवधिका लागि खुलेका थिए ।

    अधिकांश विद्यालयले यो महिनादेखि अनलाइन कक्षामार्फत् नयाँ शैक्षिक वर्ष शुरू गरेका छन्। सेप्टेम्बर २३ देखि मात्रै भौतिक रूपले कक्षाहरू दुई चरणमा सञ्चालन हुने अपेक्षा गरिएको छ । सीमापारी मूलभूमीबस्ने २७ हजारमध्ये अधिकांशका लागि यो सजिलो हुने छैन। सीमा पार गर्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्छ ।

    सेप्टेम्बर १४ देखि १६ सम्म २३१ ओटा किन्डरगार्टेन‚ प्राईमरी र सेकेन्डरी विद्यालयको सर्वेक्षण गरिएको थियो । करिब ९७ प्रतिशत वा २२३ विद्यालयले फेब्रुअरीदेखि सेप्टेम्बरबीच भर्ना फिर्ता भएको बताए। तीमध्ये २० विद्यालयले सो अवधिमा २१ देखि ५० जना विद्यार्थी फिर्ता भएको बताए। एघार विद्यालयले ५१ जनाभन्दा धेरै विद्यार्थी भर्ना फिर्ता भएको बताए ।

    त्यसरी भर्ना फिर्ता हुने विद्यार्थीहरू मूलभूमीमा अध्ययन गर्ने १२७ विद्यालयले बताए भने ७४ ओटाले उनीहरू विदेश गएर पढ्ने बताए। सीमापारीका विद्यार्थी भएका ९६ विद्यालयमध्ये करिब ६४ ले केहि विद्यार्थी भर्ना फिर्ता भइसकेको बताए। सर्वेक्षणमा निजी र सब्सिडाइज्ड किन्डरगार्टेन‚ सरकारी विद्यालय र सरकारी सहुलियत पाएका संस्था सहभागी थिए ।

    महाव्याधिको समयमा मूलभूमी वा विदेशमा अलपत्र परेकोले धेरै विद्यार्थीले भर्ना फिर्ता गरेको फेडेरेशनका अध्यक्ष वोङ काम‑ल्योङको विश्वास छ। पोहोर भएको विरोध प्रदर्शनपछि शहरको राजनीतिक अस्थिरतालाई लिएर आमाबाबुले चिन्ताका कारण केहिले छोडेको हुनसक्ने उनले बताए ।

    “पोहोर भएको सामाजिक अशान्तिपछि केहि विद्यालयले विद्यार्थी भर्ना फिर्ता हुने समस्या झेलेका थिए । परम्परागत एलिट विद्यालयमा उस्तै समस्या छ‚” उनले भने ।

    यसरी उल्लेखनीय सङ्ख्यामा विद्यार्थीले छोडेका दर्जनौं विद्यालयमा आउने शैक्षिक वर्षको सञ्चालन प्रभावित हुने वोङले बताए ।

    “विशेष गरि ५० भन्दा धेरै विद्यार्थीले छोडेका विद्यालयमा कक्षा घट्न सक्छ । यसले शिक्षकको सङ्ख्या पनि प्रभावित हुनेछ। यो शिक्षा क्षेत्रकै लागि चिन्ताजनक अवस्था हुनसक्छ‚” वोङले भने ।

    “म्युजिकल चेयर” जस्तै विद्यार्थीहरू विद्यालय फेरिरहने परिस्थिती सिर्जना हुनसक्ने फेडेरेशनका उपाध्यक्ष तथा सेकेण्डरी विद्यालयका प्रधानाध्यापक लरेन्स ताङ फेइले बताए । “विदेश जाने कारणले एलिट विद्यालयबाट विद्यार्थी बाहिरन थालेपछि अन्य स्थानीय विद्यालयका विद्यार्थी त्यहाँ जान सक्छन्। यसरी पूरै क्षेत्रमा परिवर्तन हुनसक्छ‚” ताङले भने

    सर्वेक्षणका ९४ प्रतिशत उत्तरदाताले विद्यार्थीहरू अन्य स्थानीय विद्यालय गएको बताए ।

    एकहत्तर ओटा अर्ध‑निजी प्राईमरी र सेकेण्डरी विद्यालयको प्रतिनिधित्व गर्ने हङकङ सब्सिडी स्किम स्कूल्स काउन्सिलका अध्यक्ष डियोन चेनले यो वर्ष विद्यार्थीले भर्ना फिर्ता गर्ने क्रम थोरै बढेको तर उनीहरूको सङ्ख्या धेरै नभएको बताए। प्रत्यक्ष सहुलिय पाउने विद्यार्थीमा भर्नाका लागि प्रतिक्षारत विद्यार्थीको सूचि लामै हुने भएकाले भर्ना सङ्ख्यामा खासै प्रभाव नपर्ने उनले बताए ।

    तर चेनले परिस्थिती गम्भीर हुनसक्ने बताएका छन् ।

    “महाव्याधिको प्रभाव आइसकेको हुनुपर्ने हो। धर अझै धेरै विद्यार्थीले हङकङ छाडेर अन्यत्रै जाने सम्भावना छ। हामी यसको निरन्तर अनुगमन गर्नेछौं ।”

    –च्यान हो‑हिम

  • कमेन्ट गर्नुहोस्