• राजनीतिक प्रयोजनका लागि प्रहरी प्रयोग गरेको आरोप

    अमेरिकी सिनेट विभागकी प्रवक्ता माेर्गन ओर्टगस । तस्बिर:एएफपी ।
  •  

    अघिल्लो साता नेसनल डेमा ८० जनाभन्दा धेरैलाई गिरफ्तार गरिएको घटनालाई अमेरिकाले भर्त्सना गरेको छ । हङकङका अधिकारीले राजनीतिक प्रयोजनका लागि कानून नियामक निकायको प्रयोग गरेको आरोप पनि लगाएको छ ।

    अमेरिकाको स्टेट डिपार्टमेन्टले शनिबार जारी गरेको वक्तव्यमा कडा शब्दको प्रयोग गरिएको छ । शहरको स्वायत्तता नष्ट गर्न चिनियाँ कम्युनिष्ट पार्टीलाई हङकङ सरकारले सहयोग गरेको वाशिङ्टनले बताएको छ ।

    अवैधानिक भेलामा सहभागी भएको र अन्य अभियोगमा संलग्न भएको शङ्कामा दुई दिन अघि ८६ जना गिरफ्तार गरिएका थिए । गणतन्त्र चीनले ७१औं वार्षिकोत्सव मनाएको थियो ।

    सो दिन ६ हजारभन्दा धेरै दङ्गा प्रहरी निगरानीका लागि परिचालन गरिएको थियो । उनीहरूले ठाउँठाउँमा रोडब्लक राखेर आउजाउ गर्नेको खानतलासी गरेका थिए । ठूलो र्‍याली हुन दिन उनीहरू लागिपरेका थिए ।

    “शान्तिपूर्ण सार्वजनिक मत दबाएर हङकङ सरकारले फेरि एक पटक चिनियाँ कम्युनिष्ट पार्टीसँग मिलेमतो गरि हङकङको स्वायत्तता र जनताको स्वतन्त्रता नष्ट गरेको छ,” स्टेट डिपार्टमेन्टकी प्रवक्ता मोर्गन ओर्टागसले भनिन् ।

    “राजनीतिक प्रयोजनका लागि स्थानीय अधिकारीले कानून नियामक निकायको प्रयोग गरेकोमा हामी भर्त्सना गर्दछौं । यो भेला हुन पाउने अधिकार, अभिव्यक्ति स्वतन्त्रताको हकलगायत विधिको शासन र मानवअधिकारको संरक्षणको विपरीत हो ।”

    यो गिरफ्तारीले हङकङको मार्गदर्शक सिद्धान्त ‘एक देश दुई प्रणाली’लाई बेईजिङले पूर्ण रूपमा धराशायी बनाएको उनले बताइन् ।

    तनावग्रस्त अमेरिका‑चीन सम्बन्धमा अग्रपङ्क्तिमा हङकङ छ । गएको बुधबार स्थानीयलाई शरणार्थीको रूपमा प्राथमिकताका साथ पुनर्बसोबासको अनुमति प्रस्ताव गरेको अमेरिकासँग चिनियाँ अधिकारी आक्रोशित छन् ।

    आईतबार कार्यकारी परिषद् सदस्य रोन्नी तोङले राष्ट्रिय सुरक्षा कानूनको प्रतिरक्षामा बोल्दै शहरको स्वतन्त्रताको अवमुल्यन गरेको भन्ने पश्चिमी चासो गलत भएको बताएका छन् ।

    “फरक मत राख्नेहरू विशाल सङ्ख्यामा गिरफ्तार भएका छैनन् । मिडिया बन्द गरिएको छैन,” तोङले एउटा रेडियो कार्यक्रममा भने, “यसको विपरीत, केन्द्र र विशेष प्रशासनिक क्षेत्र सरकार दुवैलाई सार्वजनिक रूपमा, मिडियामा र व्यक्तिगत सामाजिक सञ्जालमा आलोचना गरिएको छ।”

    राष्ट्रिय दिवस (अक्टोबर १)का दिन कजवे बेमा एक समूहलाई गिरफ्तार गर्दै हङकङ प्रहरी । तस्बिर: एससीएमपी ।

    तीन महिनाअघि बेईजिङले हङकङमा जारी गरेको सुरक्षा कानूनले हङकङलाई पुरानै ट्रयाकमा फर्काएको उनले बताए । कोभीड‑१९ का कारणबाहेक सभा, र्‍याली वा अन्य विरोध प्रदर्शन गर्न कुनै अतिरिक्त बन्देज नलगाइएको उनले बताए ।

    न्यु पिपल्स पार्टीकी विधायक युनिस युङले पनि कानूनको पक्षमा बोलेकी छिन् । प्रष्ट रूपमा तयार गरिएको र कानूनको व्याख्या अदालतको जिम्मामा छोड्नुपर्ने उनको तर्क छ ।  आलोचकको भने फरक मत छ ।

    “पृथक्तावादी विचार जगाउने नारा भएका पर्चा वा स्टिकर बोक्नु तिनलाई प्रदर्शन गर्नुजत्तिकै भएको दाबी गर्दै त्यस्ता गतिविधी  कानून अन्तर्गत निषेध गरिएको उनले बताइन् ।

    तर सिभिक पार्टीका नेता एल्भिन योङले नयाँ कानून अन्तर्गत त्यस्ता सामग्री बोक्नेले कानून उल्लङ्घन गरेको प्रहरीले मान्नु अनुचित भएको बताए । सबै विषय अदालतकै जिम्मा लगाउनुभन्दा समाजले नयाँ कानूनको कार्यान्वयन र गएको तीन महिनादेखि भइरहेको प्रक्रिया पनि हेर्नुपर्ने उनले बताए । यो चिन्ताजनक भएको उनी बताउँछन् ।

    –जेफी लाम

     

  • कमेन्ट गर्नुहोस्