• हङकङेली प्रदर्शनकारीका लागि ताईवान सहि गन्तव्य हो त ?

  •  

    ज्याक च्यानले गएको महिनादेखि ताईपेको विश्वविद्यालयमा पढ्न थालेका छन् । उनी ताईपे भागेको ६ महिनाभन्दा धेरै भएको छ । उमेरले बीसको दशकमा रहेका यी युवालाई पोहोर भएको सरकार विरोधी प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले खोजिरहेको छ । आवश्यक कागजपत्र नभएकोले ताईपेको रेस्टुरेन्टमा गैरकानूनी रूपले काम गर्दै बसे । सातामा उनको कमाई करिब एक सय अमेरिकी डलर मात्रै हुन्थ्यो ।

    त्यसपछि एउटा ईमेल आयो ।

    “विश्वविद्यालय भर्ना भएको खबर आयो,” उनले भने,“अन्य धेरै हङकङेली प्रदर्शनकारी विशेष गरि युवाहरू यहाँका विश्वविद्यालयमा भर्ना भएका छन् ।”

    च्यानको सपना पूरा भयो । पोहोर भएको आन्दोलनपछि दुई सय अभियन्ता ताईवान पुगेको अनुमान छ । अझै कति त्यहाँ बसेका छन् भन्ने प्रष्ट छैन ।

    “ताईवान सरकारले हामीलाई सक्दो सहयोग गरेको छ,” च्यानले भने । उनले स्थायी बसोबासका लागि आवेदन दिएका छन् । स्वीकृत भए कानूनी रूपले काम गर्न पाउनेछन् ।

    पछिल्ला वर्षहरूमा ताईवान हङकङेली प्रदर्शनकारीको लोकप्रिय गन्तव्य बनेको छ । च्यानजस्ता धेरै वैधानिक रूपमै पुग्छन् र त्यहि बस्ने आशा गर्छन् । केहि गैरकानूनी तवरले प्रवेश गर्ने पनि छन् ।

    जून ३० मा बेईजिङले विशेष रूपमा तयार गरिएको राष्ट्रिय सुरक्षा कानून लागु गरेपछि शहरको राजनीतिक अभियन्ता वृत्तमा चिन्ता बढ्यो । नयाँ सुरक्षा कानूनले विखण्डन‚ विद्रोह‚ आतङ्कवाद र विदेशी शक्तिसँग साँठगाँठलाई प्रतिबन्ध गरेको छ । आफूलाई तारो बनाउने हुन् कि भनेर उनीहरू डराए ।

    अन्यले पनि हङकङ छाड्ने विचार गरेका छन् । ताईवान र अन्यत्र बसाइँ सर्नेबारे हङकङेली सोधपुछ गर्ने क्रम बढेको अध्यागमनका परामर्शदाताले बताएका छन् । बेलायत, अष्ट्रेलिया र क्यानडाले देश छाड्न चाहने हङकङेलीलाई स्वागत गर्ने बताएका छन् । आउने वर्षको जनवरीदेखि ब्रिटिश नेशनल (ओभरसिज) राहदानी भएका २९ लाख हङकङेलीले बेलायतमै बस्नका लागि आवेदन दिन पाउनेछन् ।

    हङकङका प्रदर्शनकारीका लागि आकर्षण  बन्दै गरेको ताइवान ।

    ताईवान बस्न ईच्छुकलाई सहयोग गर्न र गैरकानूनी आप्रवासन निरूत्साहित गर्न जुलाईमा ताईपेले ताईवान‑हङकङ सर्भिस एन्ड एक्सचेञ्ज अफिस खोल्यो । अघिल्लो महिना चिनियाँ अधिकारीले ताईवान भागिरहेका १२ जना हङकङेलीलाई समुद्रबाट पक्राउ गर्‍यो । शहरको प्रदर्शनमा सहभागी भएकोले कारवाही हुने डर उनीहरू भागेका हुन् ।

    गएको महिना ताईवानको अर्ध‑सरकारकी सेन्ट्रल न्युज एजेन्सीले अन्य पाँच जना हङकङेली जुलाईमा समातिएको खुलासा गर्‍यो । उनीहरू डुङ्गाबाट प्रवेश गर्न खोजेका थिए । ताईवान भागिरहेकाप्रति सरकारको कथित उदारताप्रति यसले शङ्का उत्पन्न गरेको छ ।

    ताईवानको अध्यागमन अधिकारीका अनुसार सन् २०१८ मा ४,१४८ जनाले बसोबासका लागि अनुमति र १,०९० जनाले स्थानीय बसोबास पाएका छन् । पोहोर यो सङ्ख्या क्रमश: ५,८५८ र १,४७४ पुग्यो । यो वर्ष जनवरीदेखि अगष्टसम्म ४,५९६ जनाले बसोबास र १,०५७ जनाले स्थायी बसोबासको अनुमति पाएका छन् । पछिल्लो समय देश छोडेर जानेमध्ये कति प्रदर्शनकारी थिए, त्यो थाहा छैन ।

    अभियन्ता बने गैरकानूनी कामदार

    मध्य‑रातमा प्रहरी खोज्दै आएपछि च्यान पर्यटक भिसामा ताईवान भागे । त्यतिबेला उनी विदेशमा थिए । घर फर्किनुभन्दा ताईवान जाने निर्णय गरे । साथीभाइको सहयोगले उस्तै अवस्थामा आएका अन्य हङकङेलीसँग बस्न थाले । ताईवान‑हङकङ सर्भिस एन्ड एक्सचेञ्ज अफिसले निकै सहयोग गरेको उनले बताए । तर विवरण खुलाउन चाहेनन् ।

    “मेनल्यान्ड अफेयर्स काउन्सिलले अन्य प्रदर्शनकारीलाई सहयोग गरेको छ,” चीन, हङकङ र मकाउसँग ताईवानको सम्बन्ध व्यवस्थापन गर्ने निकाय उद्धृत गर्दै उनले भने,“ताईवान बस्नका लागि आवेदन दिदाँ कुनै बाधा भएन ।”

    शुरूका केहि महिना कठिना रह्यो । म्यान्डरिनमा पोख्त थिएनन् । कानूनी रूपमा काम पाउन कठिन थियो । बिस्तारै नयाँ जीवनसँग अभ्यस्त हुँदै गए र ताईपे विश्वविद्यालयमा आवेदन दिए । उनी स्थिर भविष्यतर्फ लम्किएका छन् ।

    “कुनै बाधा भएन । मैले अनलाइन आवेदन दिएँ । हङकङमा शिक्षा लिएको प्रमाणपत्र बुझाएँ र केहि जानकारी उपलब्ध गराएँ,” च्यानले भने । उनी आफूलाई कामदार वर्गको बताउँछन् ।

    शान्तिपूर्ण प्रदर्शन अनुत्पादक लागेपछि हिंसाको प्रयोग समर्थन गरेको उनले बताए । तर हङकङले लगाएको आरोपबारे खुलाउन मानेनन् । ताईवानमा रहँदा आफू हङकङेली भएको बताउने गरेको उनले बताए । कसैले सोधे आफ्नो पहिचान नलुकाउने पनि उनले बताए ।

    हङकङका प्रदर्शनकारीका एक ताइवानी समर्थक ।

    उनीजस्तै भिसाको बन्देजका कारण थुप्रै हङकङेली प्रदर्शनकारी गैरकानूनी रूपमै काम गरे । ताईवानको न्युनतम प्रति घण्टा ज्याला ४२ हङकङ डलर छ । हङकङले प्रति घण्टा ३७.५० हङकङ डलर तोकेको छ । त्यसैले खर्च धान्न पर्याप्त भएको उनले बताए ।

    च्यान सन्तुष्ट छन् । ताईवान आउन वैधानिक बाटो नै अपनाउनुपर्ने अभियन्ताहरूलाई सल्लाह दिन्छन् ।

    “वैधानिक रूपले आउनसक्नुहुन्छ भने ताईवान आउनुहोस् । डुङ्गाबाट गैरकानूनी रूपले आउने विचार गर्दै हुनुहुन्छ भने, त्यसो नगर्नुहोस्,” उनले भने ।

    अघिल्लो महिना हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ताईवान जाने विमान पर्खिरहेकी १९ वर्षिया केट वोङ रूदै थिइन् । उनले त्यहाँको विश्वविद्यालयमा भर्ना पाएकी थिइन् ।

    “म विमानस्थलमा आधा घण्टासम्म रोएँ । झ्यालतर्फ बसें र हङकङको आकाश हेरें,” उनले भनिन्,“म रोइरहें ।”

    पोहोर भएको आन्दोलनमा आफूले कुनै गैरकानूनी काम नगरेको वोङले बताइन् । प्रहरीले अनुमति दिएको प्रदर्शनमा मात्रै सहभागी उनी बताउँछिन् । पोहोर भएको डिस्ट्रिक्ट काउन्सिल निर्वाचनमा विपक्षी क्याम्पमा उमेदवारको सहायक भएर उनले काम गरिन् । उनीहरूले बहुमतले जिते। अधिकांश बेईजिङ निकट काउन्सिलर हारे ।

    तर उनले हङकङ छाड्ने निधो गरिन् । बेईजिङले राष्ट्रिय सुरक्षा कानून लागु गरेपछि गृहनगर अस्तव्यस्त भएझैं लाग्यो ।

    “हङकङ सुरक्षित छैन,” उनले भनिन्। प्रदर्शनमा भाग लिएका उनका थुप्रै साथीहरू गिरफ्तार भए । १९९७ को हस्तान्तरणपछि जन्मिएकोले उनीसँग बिएन (ओ) राहदानी छैन । त्यसैले उनले ताईवान रोजेकी हुन् ।

    ताईवान, अमेरिका वा अन्यत्रै ?

    पुस्तक बिक्रेता लाम विङ‑की ताईपे बस्ने अर्का हङकङेली हुन् । सन् २०१५ को कजवे बे पुस्तक प्रकरणको केन्द्रमा उनी थिए ।

    लाम विङ‑की ताइवानमा  आफ्नै पुस्तक पसलमा ।

    पुस्तक पसलका उनीसहित अन्य चार सहयोगी रहस्यमयी ढङ्गले हङकङ, चीन र थाइल्यान्डबाट बेपत्ता भए । उनीहरू चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वबारे आलोचनात्मक पुस्तक बिक्री गर्थे । हङकङ फर्किएपछि सीमा पार गर्ने क्रममा चिनियाँ एजेन्टले अपहरण गरेको लामले बताए ।

    उनी पोहोर ताईवान भागे । क्राउडफन्डिङबाट झण्ठै ६० लाख न्यु ताईवान डलर सङ्कल गरे । यो वर्षको अप्रिलमा ताईपेमा उनले पुस्तक पसल खोलेका छन् । उनको डेस्कमाथि “हङकङलाई मुक्ति देऊ, हाम्रो समयको आन्दोलन” प्रदर्शनको नारा राखिएको छ ।

    “म यहाँ हङकङभन्दा राम्रो जीवन बाँचिरहेको छु । अनि यहाँ बस्ने बानी किन नपरोस् ?” ६३ वर्षिय उनले बताए । उनी त्यहि पुस्तक पसलमा बस्छन् । “म हङकङ कहिले फर्कन्न । शहरले भविष्य गुमाइसकेको छ ।”

    ताईवान आएर झण्डै एक वर्षसम्म बेरोजगार भएका थुप्रै हङकङेली थाहा पाएको उनले बताए । बाहिरबाट आएकालाई काम दिने नियम र खस्कदों अर्थतन्त्रले त्यसमा भूमिका खेलेको थियो ।

    “ताईवानका धेरै मानिस हङकङेलीलाई सहयोग गर्छन् । केहिले गर्दैनन्,” लामले भने, “ताईवान सरकारले पनि सार्वजनिक विचार सुन्नुपर्छ। यसले हङकङेलीलाई उच्चतम तहबाट सहयोग पुग्दैन ।”

    ताईवान सरकारले हङकङेलीका लागि सक्दो गरेको उनी बताउँछन् । राष्ट्रिय सुरक्षा कानूनबारे आलोचनात्मक रहेको अमेरिकाले पनि हङकङेलीलाई सजिलो गरि बसोबास मिलाउनुपर्ने उनको आग्रह छ । अघिल्लो महिना अमेरिकी प्रतिनिधी मण्डलका एक सदस्यलाई हङकङेली अभियन्तालाई देशमा बस्नदिनेबारे विचार गर्न उनले बताए । आर्थिक वृद्धि, उर्जा र वातावरणका लागि अमेरिकाका अन्डरसेक्रेटरी किथ क्राचले प्रतिनिधी मण्डलको नेतृत्त्व गरेका थिए ।

    “हङकङका प्रदर्शनकारीले ताईवानलाई ट्रान्सफर स्टेशनको रूपमा हेर्नसक्छन् । त्यसपछि अमेरिकालगायत अन्यत्रै जाने विकल्प हुनुपर्छ,” उनले भने ।

    लामले अन्य तीन निर्वासित हङकङेलीसँग मिलेर हेभन असिस्टेन्स नामक समूह गठन गरेका छन् । ताईवान आउन चाहनेलाई उनीहरू सहयोग गर्न चाहन्छन्। कोरोनाभाइरस प्रकोपका कारण अन्तर्राष्ट्रिय आगन्तुकको प्रवेशमा ताईवान सरकारले रोक लगाएको छ ।

    तर ताईवान सबैको पहिलो रोजाइँ होइन । राजनीतिक माहौलका कारण हङकङ छाड्न लागेका ३२ वर्षिय इन्जिनियर बेलायत जान चाहन्छन् ।

    “म ताईवान गएँ भने पनि बेईजिङको प्रभावबाट टाढिन सक्दिनँ,” उनले भने ।

    कठिन परिस्थिति

    हङकङ सरकारको विरोधमा भएको प्रदर्शनमा समर्थन गरेकै कारण ताईवानका राष्ट्रपति चाइ इङ‑वेनले जनवरी विशाल जित हात पारिन् । तर हङकङेलीका लागि खासै काम गर्न नसकेको भन्दै उनको आलोचना भएको छ ।

    ताईवानका राष्ट्रपति चाइ इङ‑वेन ।

    हङकङेलीको आवश्यकता सम्बोधन गर्न सरकार निष्क्रिय भएको कुओमिन्ताङको कल्चर एन्ड कम्युनिकेसन्स कमिटीका उपाध्यक्ष चेङ चाउ‑सिनले बताए । कुनै समय यो ताईवानको प्रभावशाली राजनीतिक दल थियो ।

    “उनीहरू हामीकहाँ आएपछि अप्ठयारो मान्यौंजस्तो लाग्छ । त्यसैले उनीहरूलाई हामीले कतै लुकाएर राख्यौं, ” उनले भने, “उनीहरूको अधिकार ग्यारेन्टी गर्ने कानून नभएकोले हङकङेलीहरू यहाँ गैरकानूनी पहिचान लिएर बस्नुपर्छ ।”

    बेई लिङ ताईवानमा बस्ने चिनियाँ हुन् । चीनबाट भाग्नेलाई उनी सहयोग गर्छन्। ताईवानमा शरणार्थीसम्बन्धी कानून नभएको उनी बताउँछन् ।

    “विभिन्न राजनीतिक दलबाट कानून पारित गराउन बृहत् सहयोग आवश्यक पर्छ । अझै धेरै काम बाँकी छ,” उनले भने।

    सन् २०१८ मा चिनियाँ अभियन्ता लिउ चिङलियान र यान केफेन ताईपेको ताउयुआन विमानस्थल आए । तर शरणार्थी व्यवस्थापनसम्बन्धी कानून नभएकाले उनीहरू विमानस्थलमै चार महिना अड्किए । संयुक्त राष्ट्र सङ्घको शरणार्थीसम्बन्धी काम गर्ने निकाय पनि यहाँ छैन ।

    अन्तत: दुवैलाई ताईवान प्रवेश गर्द दिइयो । बेईले प्रबन्ध मिलाएको आश्रयस्थलमा थुप्रै महिना बिताए । त्यसपछि उनीहरू क्यानडा गए ।

    “हङकङेली पहिले नै निकै भाग्यमानी छन्,” बेईले भने, “विश्वका कुनै पनि देशले गैरकानूनी रूपमा मानिस भित्र्याएर राख्नुपर्छ भनेर माग गर्न सकिदैन ।”

    एम्नेस्टी इन्टरनेशनलको ताईवान कार्यालयकी कार्यकारी निर्देशक चिउ ई‑लिङले मानवअधिकारवादी संस्था र अन्य नागरिक समूहले शरणार्थी कानूनका लागि अभियान सञ्चालन गरिरहेको बताइन् । चाईको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले भविष्यमा शक्ति गुमाए हङकङवासीले पाइरहेको सुविधा परिवर्तन हुने भय छ । मेनल्यान्ड अफेयर्स काउन्सिलले ताईवानमा शरण खोज्नेलाई मासिक २० हजार न्यू ताईवान डलर दिने गरेको उनले बताइन् ।

    शरणार्थी विधेयक मस्यौदा ताईवानको व्यवस्थापिकामा १५ वर्षदेखि पास भएको छैन । चीनसँग तनावपूर्ण सम्बन्ध भएकोले यो मुद्दा संवेदनशील मानिन्छ । चिनियाँ नागरिकलाई ताईवानमा शरणार्थी मान्ने कि नमान्ने भन्ने मुख्य प्रश्न हो किनभने यसले बेईजिङको एक चीन नीतिलाई चुनौती दिनेछ ।

    प्राध्यापक मिल्टन येह मिङ‑देह ताईपेको चाइनिज कल्चर युनिभर्सिटीमा चीन अध्ययन पढाउँछन् । हङकङमा राष्ट्रिय सुरक्षा कानूनको भय रहेसम्म हङकङेलीलाई काम गर्न पढ्नका लागि ताईवानले आकर्षित गर्नसक्ने उनी बताउँछन् । त्यसैले ताईवान स्ट्रेटमा बढ्दो तनावबीच उत्तेजक शरणार्थी विधान ल्याउन उपयुक्त नहुने उनले चेतावनी दिएका छन् । यसले बेईजिङलाई सैन्य गतिविधि वा प्रतिकार बढाउने बहाना मिल्नेछ ।

    हङकङेली प्रदर्शनकारीका लागि सहयोगी ताइपेस्थित एक रेष्टुरेण्ट ।

    “बेईजिङले ताईवानलाई तत्काल आक्रमण गर्ने सम्भावना देख्दिनँ । तर सम्भावित शीत युद्ध वा फरक मतलाई दबाउने चीनको नीतिले कसैलाई फाइदा पुग्दैन,” उनले भने । औपचारिक एक द्वार नीति भएको भए पनि तिब्बती र भियतामीलगायत शरणार्थीको ठूलो सङ्ख्या लिनसक्ने ताईवानको क्षमतालाई उनले प्रश्न गरेका छन् ।

    ताईवानका पूर्व रक्षामन्त्री एन्ड्रयु याङ नियन‑जुले ताईवानको शरणार्थी कानून हङकङेलीलाई सहयोग गर्ने समाधान कहिले नहुने बताए ।

    “हङकङ स्वतन्त्र युद्ध क्षेत्र होइन। चीनको एउटा क्षेत्र हो । त्यसैले त्यहाँबाट भाग्नेलाई कहिले पनि शरणार्थी भनिदैन,” याङले भने ।

    चाई सरकारले विद्यमान संयन्त्रलाई अद्यावधिक वा अध्यागमन कानूनलाई संशोधन गरेर हङकङेलीलाई मानवीय सहयोग गर्नुपर्ने उनको सुझाव छ । तर गैरकानूनी रूपले ताईवान प्रवेश गर्नेलाई उच्चस्तरीय सहयोग दिए तनाव बढ्ने उनको भनाइ छ ।

    “ताईवान, चीन र अमेरिकाले उत्तेजना नियन्त्रण गर्न र गलत निर्णय गर्नुको साटो समाधानमुखी उपाय ल्याउनुपर्छ,” उनले भने ।

    अन्तर्वार्ता दिने व्यक्तिको अनुरोधमा नाम परिवर्तन गरिएको छ ।

    -फिला सिउ, न्याट्ली वोङ, लोरा वेस्टब्रुक

  • कमेन्ट गर्नुहोस्