• फ्रान्स र रूस उच्च जोखिमको सूचीमा

    याउमातेस्थित अस्थाई परीक्षण केन्द्र ।
  •  

    अक्टुबर १६ । हङकङले फ्रान्स र रूसलाई कोभिड‑१९ को उच्च जोखिम भएको देशको सूचिमा राख्ने भएको छ । दुई देशबाट आउने यात्रुले कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेश गर्नुपर्नेछ । हङकङ आएर होटेलमा क्वारेन्टिन बस्नुपर्नेछ ।

    भारतको नयाँ दिल्ली र चेन्नईबाट आउने विमानलाई १४ दिनका लागि निषेध गरिएको छ । त्यहाँबाट आएका दुई एयरलाइन्सले थुप्रै सङ्क्रमित यात्रु भित्र्याएपछि अधिकारीले यस्तो निर्णय गरेका हुन् ।

    आज हङकङमा सात जना सङ्क्रमित फेला परे । मानसिक रोगी बस्ने डोर्मिटरीमा कार्यरत एक सामाजिक कामदारलाई मात्रै स्थानीय सङ्क्रमण भएको पाइयो । ती व्यक्तिसँग सम्पर्कमा आएका कम्तिमा १४ जना क्वारेन्टिनमा राखिएको छ ।

    विदेशबाट सङ्क्रमण नभित्रियोस् भनेर मार्च अन्तिमदेखि हङकङले अधिकांश पर्यटकका लागि सीमा बन्द गरेको छ । फ्रान्स र रूससँगै हङकङले बेलायत, बंगलादेश, पाकिस्तान, भारत र अमेरिकालगायत १३ देशलाई कोभिड‑१९ को उच्च जोखिममा राखेको छ । भारत र अमेरिका विश्वकै सबैभन्दा प्रभावित राष्ट्र हुन् । दुई देशमा डेढ करोडभन्दा धेरै सङ्क्रमित छन् ।

    फ्रान्समा साढे सात लाखभन्दा धेरै र रूसमा करिब साढे तेह्र लाखलाई कोरोनाभाइरसको सङ्क्रमण भइसकेको छ । नयाँ नियम अक्टोबर २६ देखि लागु हुनेछ ।

    नयाँ दिल्लीबाट उडेको एयर ईन्डिया र चेन्नईबाट भिस्टाराले पाँच‑पाँच जना सङ्क्रमित हङकङ ल्याएका थिए । शनिबारदेखि लागु भएको उडान निषेध अक्टोबर ३० सम्म लागु हुनेछ ।

    आउने यात्रुमध्ये दश जनाभन्दा धेरै प्रारम्भिक परीक्षणमा कोभिड‑१९ पोजिटिभ देखिएको सेन्टर फर हेल्थ प्रोटेक्सनमा सरूवा रोग शाखाका प्रमुख डा. च्वाङ शुक‑क्वानले बताइन् ।

    स्थानीय सामाजिक कामदार शाम शुई पोस्थित लेई चेङ उक हाउसमा काम गर्थे । उनलाई मेन्टल हेल्थ एशोसिएसन अफ हङकङले काममा राखेको हो । त्यहाँ मानसिक रोगबाट निको भइरहेका व्यक्तिलाई राखिन्छ । अहिले त्यहाँ ४१ जना बस्छन् । च्वाङका अनुसार ती २८ वर्षिय कामदार परामर्श सेवा दिन्थे । उनको सङ्क्रमणको श्रोत पत्ता लागेको छैन ।

    “उनी प्राय: कार्यालयमै काम गर्थे । नजिकै डोर्मिटरी छ,” उनले भनिन्, “आवश्यक परेको बेला डोर्मिटरीमा बस्नेहरू उनको कार्यालयमा परामर्शका लागि जाने गर्थे ।”

    अधिकारीहरूले डोर्मिटरीमा बस्ने आठ जना र एक कर्मचारीलाई क्वारेन्टिन गरेका छन् । अक्टोबर १२ मा सँगै साईक्लिङ गएका दुई जना स्वयंसेवक पनि क्वारेन्टिनमा बसेका छन् । उनीसँगै खाना खाएका अन्य तीन र उनको परिवारका सदस्य पनि क्वारेन्टिनमा राख्नुपर्नेछ ।

    नि:सङ्क्रमणका लागि उक्त केन्द्र दुई साता बन्द गरिनेछ । सो अवधिमा डोर्मिटरीमा बस्नेहरू बाहिर जान नपाउने मेन्टल हेल्थ एशोसिएसनले जनाएको छ । डोर्मिटरीमा बस्ने बाँकी सदस्य र कर्मचारीको पनि परीक्षण गरिनेछ । अक्टोबर ११ मा ती कामदार तो क्वा वानस्थित एउटा चर्च पुगेका थिए । त्यहाँबाट पनि नमूना सङ्कलन गरिनेछ ।

    विदेशबाट आएका ६ सङ्क्रमितमध्ये चार जना भारत, एक जना नेपाल र एक जना माल्टाबाट आएका हुन् । शहरमा ५,२२० जना कोभिड‑१९ सङ्क्रमित भेटिएका छन् । मृत्यु हुनेको सङ्ख्या १०५ पुगेको छ ।

    पछिल्लो साता विश्वभरि नै कोभिड‑१९ को अवस्था गम्भीर बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मध्य‑सेप्टेम्बरदेखि रूसमा दैनिक पत्ता लाग्ने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको साता मात्रै दश हजारभन्दा धेरै सङ्क्रमित पत्ता लागेका थिए ।

    फ्रान्समा भने सङ्क्रमितको सङ्ख्या घटबढ हुने क्रममा छ । सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ । यो सातामात्रै २६ हजारभन्दा धेरै सङ्क्रमित फेला परेका छन् । गएको चार सातायता फ्रान्सबाट सात जना र रूसबाट तीन जना हङकङ भित्रिएका छन् ।

    तर आईतबारदेखि ६० प्रतिशत सङ्क्रमण स्थानीय रूपमै फैलिएको हो । अधिकारीहरूले नीजि चिकित्सकलाई कोभिड‑१९ को लक्षण देखिएकालाई ध्यान दिनुपर्ने र उनीहरूको परीक्षण गर्नुपर्ने आग्रह गरेका छन् ।

    सरकारले वान चाई, क्वाई चिङ र काउलुन सिटीको अस्थायी परीक्षण केन्द्र शुक्रबारदेखि बन्द गर्ने बुझिएको छ। तर याउ चिम मोङको एउटा परीक्षण केन्द्र भने आईतबारसम्म खुला हुनेछ ।

    रात्रिजीवन भएका क्षेत्रमा नमूना सङ्कलन गर्न र परीक्षण प्रोत्साहन गर्न सप्ताहन्तभरि एक मोबाईल परीक्षण ट्रक परिचालन गरिनेछ । सो ट्रक शुक्रबार केन्नेडी टाउन, शनिबार प्रिन्स एडवार्ड  र सेन्ट्रलको सोहोमा आईतबार पुग्नेछ ।

    फिलहार्मोनिक अर्केष्ट्राका सदस्यलाई सङ्क्रमण भएपछि स्वास्थ्यविद्ले  सामान्य लक्षण भएका व्यक्तिले पनि परीक्षण गराउनुपर्ने बहस थालेका छन् । अर्केष्ट्राका सदस्यहरूको परीक्षण भइरहेको च्वाङले बताए । तर अक्टोबर ८ र १० मा भएको कार्यक्रममा सहभागी भएका झण्डै १४०० ले स्वेच्छिक परीक्षण गराउनुपर्छ । अधिकारीसँग उनीहरूको नामावली छैन ।

    -एलिजाबेथ च्योङ

  • कमेन्ट गर्नुहोस्