• जातीय अल्पसङ्ख्यक परिवारमा किशोरीको विवाह

  •  

    जून महिन कोभिड‑१९ को सङ्क्रमण व्यापक फैलिरहेको थियो । अबेर राति सामाजिक कार्यकर्ता यु मिउ‑पोको मोबाइल बज्यो । परिवारसहित हङकङ छाडेर पाकिस्तान जाँदै गरेकी १६ वर्षिया किशोरीले सन्देश पठाएकी रहेछिन् ।

    एसएमएसमा बुवाले आफ्नै भतिजासँग १४ वर्षिया बहिनी र उनको जबरजस्ती विवाह गरिदिन लागेको गुनासो गरेकी थिइन् । आफूभन्दा तीन वर्ष जेठो र अपरिचितसँग विवाह गर्ने मन नभएको तर विकल्प पनि नभएको उनले बताइन् ।

    “हङकङमै जन्मेकी र हुर्केकी भएर उहाँहरू म बिग्रिएको भन्नुहुन्छ,” एसएमएसमा लेखिएको थियो ।

    उनी घरमै थुनिएकी थिइन् । प्रतिरोध गर्दा बुवासँग झगडा पर्थ्यो। कुटपीट पनि गर्थे ।

    “आघात पुगेको छ । हारिसकें,” उनले भनिन्। दुवै छोरीको बिहेको तयारी भइरह्यो । “हामी यसलाई परिवर्तन गर्न सक्दैनौं। यो हाम्रो भाग्य हो ।”

    यु छक्क परे । बिहे गरिदिनकै लागि फर्म टुकी उत्कृष्ट विद्यार्थी उनी र बहिनीलाई समेत बुवाले स्कूल जान दिएका थिएनन् । चार छोरी र एक छोरा भएको सो परिवारलाई युले चिन्दथे । आठ वर्षअघि उनीहरू जानुअघि उनले सहयोग गरेका थिए । उनीहरू भाडाको फ्ल्याटमा बस्थे । सरकारको कल्याणकारी भत्तामा गुजारा गर्थे ।

    हङकङको जातीय अल्पसङ्ख्यक समुदायमा हुने जबरजस्ती विवाहका अन्य उदाहरण पनि भएको यु बताउँछन् । एक दशकभन्दा लामो समयदेखि विपन्न परिवारसँग उनले काम गरेका छन् । न्युन‑आय भएका जातीय अल्पसङ्ख्यक परिवारका १५ वा १६ वर्षका बालिका अकस्मात हङकङ छाड्छन् र ६ महिनापछि बिहे गरेर फर्किन्छन् ।

    “लामो समयदेखि यस्तै चलिरहेको छ । यो मुद्दालाई महाव्याधिले झनै गम्भीर बनाएको छ,” युले बताए ।

    जातीय अल्पसङ्ख्यक समूह विशेष गरि दक्षिण एसियालीमाझ जबरजस्ती विवाह पुरानै चलन भएको अन्य सामाजिक कार्यकर्ता र गैरसरकारी संस्था (गैसस) बताउँछन् । कोभिड‑१९ ले विद्यालय बन्द छन् । परिवार पाल्ने धेरैले रोजगार गुमाएका छन् । गुजारा चलाउन गाह्रो भएपछि आर्थिक भार कम गर्न अझ धेरै परिवारले बालविवाहको प्रबन्ध मिलाउन थाले ।

    संयुक्त राष्ट्र संघका अनुसार १८ वर्षका बालबालिकाको विवाह गर्नु बालविवाह हो । एक वा दुवै पक्षको पूर्ण र स्वतन्त्र मञ्जुरी नभई गरिने विवाहलाई जबरजस्ती विवाह भनिन्छ । बालविवाहलाई पनि जबरजस्ती विवाह मानिन्छ । हङकङमा विवाह गर्ने न्युनतम उमेर १६ वर्ष तोकिएको छ । जबरजस्ती विवाहसम्बन्धी कुनै विशेष कानून नभएको वकिलहरू बताउँछन् । तर कुटपीट र धम्की दिएर विवाह गर्न बाध्य पारिए कानूनी उपचार खोज्न सकिने उनीहरू बताउँछन् ।

    सन् २०१६ को मध्यावधि जनसङ्खया अनुसार हङकङमा जातीय अल्पसङ्ख्यकको जनसङ्ख्या ५८४,००० भन्दा धेरै छ । यो भनेको कुल जनसङख्याको आठ प्रतिशत हो । तीमध्ये १४.५ प्रतिशत भारतीय, नेपाली र पाकिस्तानीलगायत दक्षिण एसियाली छन् ।

    सीमान्तकृत जातीय अल्पसङ्यक समुदायका सदस्यको जीवनस्तर सुधार्नका लागि काम गर्ने जुबिन फाउण्डेशनमा गएको ६ महिनामा जबरजस्ती विवाहसम्बन्धी तीनोटा गुनासो आएका छन् । पोहोर दुईटा मात्रै घटना भएको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शालिनी माहतानीले बताइन् ।

    यो वर्ष फोन गर्ने सबै न्युन‑आय भएका पाकिस्तानी मूलका महिला छन् । हाल उनीहरू १८ वर्ष वा माथिका भए पनि उनीहरूको मगनी पहिले नै भएको थियो ।

    “पढाइ पूरा गर्नलाई विवाहमा ढिलाइ गरेका हुन्,” माहतानीले बताइन् । उनको संस्थाले त्यसरी जबरजस्ती विवाह हुन लागेका बालिकाको कुरा सुन्ने र आश्रय दिने गर्दछ । महाव्याधिका कारण बुवा बेरोजगार भएपछि केहि बालिकाको त्यसरी विवाह हुने भएको माहतानी बताउँछिन् ।

    “छोरीलाई घरमा राखेर हुने आर्थिक भार परिवार वहन गर्न चाहदैन,” उनी भन्छिन् ।

    सेभ द चिल्ड्रेनले यो महिना सार्वजनिक गरेको एउटा प्रतिवेदन अनुसार महाव्याधिको आर्थिक प्रभावले विश्वभर थप पाँच लाखभन्दा धेरै बालिका जबरजस्ती हुने बालविवाहको जोखिममा थपिएका छन् । यसअघि यो वर्ष १२ लाख बालिकाको जबरजस्ती विवाह हुने संस्थाले अनुमान गरेको थियो ।

    दक्षिण एसियाली बालिका बालविवाहको उच्च जोखिममा छन् । त्यसपछि दक्षिण र मध्य अफ्रिका, ल्याटिन अमेरिका र क्यारेबियनमा क्षेत्रमा धेरै जोखिम छ । पूर्वी एसिया, प्रशान्त क्षेत्र, युरोप र मध्य एसिया, मध्यपूर्व र उत्तर अफ्रिकामा पनि जोखिम बढेको छ ।

    “जबरजस्ती विवाह गलत”

    हिना बट ३० वर्ष पुगिन् । पाकिस्तानी मूलकी उनी तेश्रो पुस्ताकी हङकङेली हुन् । ६ वर्षअघि बुवाले मावलीका एक नातेदारसँग विवाह गरिदिन खोज्दा प्रतिरोध गरेको घटना सम्झिदाँ उनी अझै भावुक हुन्छिन् ।

    युनिभर्सिटी अफ हङकङ (एचकेयु) को शिक्षा सङ्कायकी पाठ्यक्रम अधिकृत बटका दुई दाजुभाइ र एक बहिनी छन् । आमाबाबुले पनि छोरी र छोरा दुवैलाई बराबर व्यवहार गर्ने‑गरेको उनले बताइन् । तर २४ वर्ष पुगेपछि बुवाले पाकिस्तानमा रहेका भतिजासँग विवाह गर्ने तयारी थाले । उनी त्यतिबेला एचकेयुमा स्नातकोत्तर गर्दै थिइन् ।

    उनी विवाहका लागि तयार थिइनन् । बुवाले भनेका व्यक्ति पनि उमेरले जेठा थिए। उनको परिवारमा महिलाले सम्मान नपाउने थाहा पाएपछि उनको मन मर्‍यो ।

    बुवाको विचार बदल्न नसकेपछि सन् २०१६ मा उनी चुहाई, ग्वाङदोङमा अङ्ग्रेजी पढाउन गइन् । त्यसपछि कठिन संघर्ष गर्नुपरेको उनी बताउँछिन् ।

     

    “बुवा सङ्कुचित विचारका थिएनन् । मलाई बुझ्नुहुन्थ्यो र सधैं सहयोग गर्नुहुन्थ्यो । अकस्मात मलाई कसरी त्यस्तो व्यवहार गर्नुभयो ? जबरजस्ती विवाह गलत हो,” उनले भने ।

    बुवासँग सम्बन्ध बिग्रियो । समस्याको राम्रो व्यवस्थापन गर्न नसकेकोमा दुख मानिन् । उनलाई ग्लानि अनुभव हुन थाल्यो । निद्राको औषधी खाएर आत्महत्याको प्रयाससमेत गरिन् । साथीले उद्धार गरे र अस्पताल पुगिन् । त्यसपछि मात्रै बुवाले उनलाई रोजेको व्यक्तिसँग विवाह गर्ने सहमति दिए ।

    बुवा अहमद रहिल माध्यमिक विद्यालयमा परामर्शदाता हुन् । छोरीको भलो चिताएरै नातेदारसँग विवाह गराइदिन खोजेको उनी बताउँछन् । अहमद हङकङ आउँदा पाँच वर्षका थिए । उनको बुवाले पाकिस्तानकी नातेदारसँग विवाह गराइदिदाँ अहमद २७ वर्षका थिए । उनको इच्छा थिएन तर बुवाले सम्बन्ध तोड्ने धम्की दिएपछि हार माने ।

    जबरजस्ती विवाह गर्नुपरे पनि राम्रो घर बसेको अहमद बताउँछन् । उनी र पत्नि दुवै ५९ वर्ष पुगे ।

    “म बेग्लै बाटो हिँडें । राम्रो पनि भयो । छोरीको पनि जीवन राम्रो होस् भन्ने चाहना थियो,” उनले भने ।

    छोरीले यो वर्षको शुरूमा मोरक्कोका २९ वर्षिय व्यक्तिसम्म विवाह गरिन् । पतिलाई माया गर्ने र आफू गर्भवती भएको पनि उनले सुनाइन् ।

    “आमाबाबु निर्णय गर्छन्, छोराछोरी पछ्याउँछन्”

    पाकिस्तानमा जन्मिएका हङकङका इमाम मुफ्ती मोहम्मद अर्शद पाकिस्तानी समुदायमा जबरजस्ती विवाह हुने गरेको स्वीकार्छन् । तर यस्ता घटना धेरै नहुने र धेरैजसो गाउँबाट आएका कम शिक्षित परिवारमा हुने गरेको उनले बताए । पेशाले क्लर्क इमाम इस्लाममा जबरजस्ती विवाह स्वीकार्य नभएको बताउँछन् ।

    “छोराछोरीको चाहना अनुसार नै विवाह गर्नुपर्छ भनेर सधैं सल्लाह दिन्छु । हाम्रो धर्मले पनि त्यहि सिकाउँछ,” उनले भने ।

    जबरजस्ती विवाहले बालिकामात्रै नभएर बालक र युवा पनि प्रभावित हुन्छन् । आमाबुवाले रोजेको बेहुलीसँग विवाह गर्ने बाध्यता हुन्छ । अधिकांश घटनामा छोराछोरीको विवाह आफन्तसँग गराइन्छ । त्यसो गर्दा पाकिस्तानमा रहेका नातेदारले हङकङमा राम्रो जीवन पाउँछन् भन्ने सोंच हुन्छ । कतिपयले छोराछोरी सानै हुँदा विवाह गरिदिने वाचा गरेका हुन्छन् ।

    एचकेयुकी सहायक प्राध्यापक पुजा कपाईको नेतृत्त्वमा १४ देखि २२ वर्षका २५ जना हङकङेली पाकिस्तानी युवाको अन्तर्वार्ता गरिएको छ । मगनी हुनु र विशेष गरि १४ वा १५ वर्षमै छोरीको विवाह हुनुलाई पाकिस्तानी बालबालिका सामान्य मान्दछन् ।

    सन् २०१७ देखि २०१८ सम्म गरेको अध्ययन अनुसार आमाबाबुले विवाह तय गरेपछि छोराछोरीले परिवारको इज्जतकै लागि पनि निर्णय पछ्याउनुपर्छ । विवाह अस्वीकार गर्दा परिवारको इज्जत जाने र झैझगडा वा विवाद उत्पन्न हुन्छ ।

    भारतीय मूलकी कपाईका अनुसार सो अध्ययन पाकिस्तानी समुदायकेन्द्रित थियो । केहि भारतीय परिवार पनि सहभागी थिए । जबरजस्ती विवाहको अभ्यास र छोराछोरीलाई दिइने विवाहको दबाव पछाडि साँस्कृतिक, शैक्षिक र सामाजिक प्रभाव हुने उनी बताउँछिन् । परिवारले भनेको नमाने विद्यालयबाट झिक्नेसम्म धम्की दिन्छन् । जबरजस्ती हुने विवाहले व्यक्ति, परिवार र समाजमा नकारात्मक प्रभाव पर्ने उनी बताउँछिन् ।

    “सबैभन्दा ठूलो कुरा त छोरीले आफ्नो जीवनको नियन्त्रण गुमाउँछन् । केहिले मनोवैज्ञानिक र शारीरिक दुर्व्यहार पनि सहनुपर्छ,” उनले भनिकन् ।

    छोरीको पढाई पूरा गर्न नदिए परिवारभित्र अन्तरपुस्ता गरिबी हुने उनले बताइन् । यसले घर र समाजमा लैङ्गिक रूढिवाद र असमानता झनै बढ्छ। जबरजस्ती विवाह गर्ने महिलाले घरेलु हिंसाको सामना पनि गर्छन् ।

    दासत्व हटाउन काम गर्ने गैर‑नाफामूलक संस्था मिकोङ क्लबका प्रमुख कार्यकारी अधिकृत म्याट फ्राइडम्यानले दक्षिण एसियाका युवा र किशोरकिशोरीको हङकङका परिवारमासमेत जबरजस्ती विवाह हुने गरेको बताए । तथ्याङ्क उपलब्ध नभए पनि गैसससँग अन्तर्क्रिया गर्दा कम उमेरका बेहुला र बेहुलीले शहरमा नयाँ जीवन शुरू गर्दै कठिनाइ भोग्नुपर्ने जानकारी पाएको उनी बताउँछन् ।

    उनीहरू एक्लै हुन्छन् । चुप लाग्न बाध्य हुन्छन् । शारीरिक र भावनात्मक दुर्व्यवहार भोग्नुपर्छ । केहि भने घर वा व्यवसायमा दासजस्तै काम गर्न बाध्य हुने उनी बताउँछन् । त्यसरी काम गरेर उनीहरूले घरमा पैसा पनि पठाउनुपर्छ ।

    “उनीहरूको वैवाहिक परिस्थितीको फाइदा लिइन्छ । उनीहरूको समय र श्रमका लागि र घरेलु कामकाज गराउन जबरजस्ती विवाह गराउने गरिन्छ,” उनले भने ।

    “मानवअधिकारको उल्लङ्घन”

    ब्यारिस्टर अल्बर्ट लुक वाइ‑हुङले हङकङमा जबरजस्ती विवाहसम्बन्धी कुनै विशेष कानून नभएको बताए । तर जबरजस्ती विवाह गराइएका व्यक्तिले प्रहरीलाई खबर गर्नसक्ने र विवाह बदर गराउने प्रक्रिया अघि बढाउन सक्ने उनी बताउँछन् ।

    पारिवारिक कानून विशेषज्ञ बिल्ली कोले कुनै पक्षलाई दबाव दिएर वा दुर्व्यवहार गरेर जबरजस्ती विवाह गरे हङकङ बिल अफ अर्डिनेन्सको धारा १९ उल्लङ्घन हुने बताए । धारा अनुसार दुवै पक्षको पूर्ण र स्वतन्त्र मञ्जुरी नभए विवाह सदर हुँदैन ।

    “त्यसैले जबरजस्ती विवाह गर्नु हङकङले सुरक्षित गरेको मानवअधिकारको गम्भीर उल्लङ्घन हुन्छ,” उनी बताउँछन् । पीडितले विवाह बदर गराउन निवदेन दिनसक्ने पनि उनले बताए ।

    बालिकालाई विद्यालयतहको अध्ययन पूरा गर्न दिनु र उनीहरूको शिक्षाका लागि आर्थिक सहयोग गर्नु अत्यन्तै महत्त्वपूर्ण भएको एचकेयुकी कपाई बताउँछिन् । विद्यालयबाट झिकेर विवाह गराउने अभ्यास पछाडि गरिबी नै प्रमुख कारण भएको उनले बताइन् ।

    जबरजस्ती विवाह हुन लागे कहाँ र कसरी सहयोग लिनेबारे बालबालिकाले जानकारी पाउनु आवश्यक भएको कपाई बताउँछिन् । आमाबाबु पनि शिक्षित हुनुपर्छ । यसो गरे मागी विवाहका लागि बालबालिकालाई बाध्य बनाउने कार्य निरूत्साहित हुनेछ ।

    शिक्षा, कानून र मस्जिदको धर्मोपदेशको कार्यान्वयन गरेर जबरजस्ती विवाह रोक्न सकिने मुफ्ती मोहम्मद अर्शद बताउँछन् ।

    ज्वाइँ खोज्दा झण्डै छोरी नै गुमाएका अहमद रहिल मागी विवाह सफल हुने वा नहुनेबारे दोधार छन् । छोराछोरीको भलो मात्रै चाहेको उनी बताउँछन् । तर अब समय फेरिएको उनले स्वीकारेका छन् ।

    “म छोराछोरी खुशी होऊन् भन्ने चाहन्छु । उनीहरू खुशी छन् भने ठीक छ,” उनले भने ।

     

    -फियोना सुन

  • कमेन्ट गर्नुहोस्