महाव्याधि र राजनीतिले बन्द गर्यो प्रख्यात रेस्टुरेन्ट
अर्ध‑स्वायत्त चिनियाँ शहरका लागि प्रस्तावित राष्ट्रिय सुरक्षा कानूनविरूद्ध लाखौं हङकङेलीले जुलाई १, २००३ मा विशाल प्रदर्शन गरेका थिए। त्यसैको सम्झनामा झण्डै १५ वर्षअघि ग्रेस माले बारको नाम क्लब ७१ राख्ने निर्णय गरिन् ।
“पाँच लाख हङकङेलीले प्रदर्शन गरेका थिए। आफ्नो अधिकारका लागि उनीहरू उभिएका थिए। हङकङमा भइरहेका घटनाक्रमप्रति उनीहरू सचेत थिए। त्यसैले क्लब ७१ आशावादी थियो,” ग्रेसले भनिन् ।
वर्षौंदेखि ग्रेसको प्रख्यात बारले शहरका प्रो‑डेमोक्रेसी अभियन्ता र बौद्धिक वर्गको प्यास मेटाएको छ । बियरको स्वाद लिदैं उनीहरू स्वतन्त्र बहसमा संलग्न हुन्थे ।
अकस्मात कोरोनाभाइरसको महाव्याधि शुरू भयो । शहरको पश्चिमा शैली स्वतन्त्रतामा ठूलो धक्का पुग्यो । सरकारविरूद्ध पोहोर भएको विशाल प्रदर्शनको प्रतिक्रियास्वरूप राजनीतिक अभिव्यक्तिलाई लक्षित गर्दै बेईजिङस्थित केन्द्रीय सरकारले जूनमा राष्ट्रिय सुरक्षा कानून लागु गर्यो ।
ग्रेसलाई ठूलो समस्या पर्यो । व्यवसाय नै बन्द गर्नुपर्यो ।
कोभिड‑१९ नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गर्यो । महिनौंसम्म बार बन्द गर्नुपर्यो । क्लब ७१ को आर्थिक समस्या बढ्दै गयो । बार सञ्चालन गर्नुको कुनै आर्थिक तुक नै भएको उनले बताइन् । अक्टोबरको अन्त्यदेखि बार बन्द हुँदैछ ।
“गएको ६ महिनामा तीन महिना त बन्दै गर्यौं,” उमेरले उनी ६० को दशक पुगेकी ग्रेसले भनिन्, “हाम्रो व्यवसाय सञ्चालन गर्नु असम्भव छ ।”
भौतिक दुरीको नियमले शहरका बार र रेस्टुरेन्टको क्षमता आधाले घटेको छ । नाफा कमाउन एकदमै कठिन छ ।
“रेस्टुरेन्टको एउटा टेबलमा चार जना बस्न पाइन्छ । बारमा भने दुई जना मात्रै,” उनले भनिन् । रेस्टुरेन्टभन्दा बारलाई कडिकडाउ गरिएको उनले औंल्याइन् ।
बारको अन्तिम दिनहरूमा ग्राहकहरू बढ्न थालेका छन् । उनीहरू पार्कमा भेला हुन्छन् । बेलाबेला बियरको पाइन्ट अर्डर गर्न भित्र पस्छन् । बारका भित्ताहरू रङ्गीन छन् । कला प्रदर्शनी र प्रस्तुतीको विज्ञापनका पोस्टर टाँसिएका छन् । प्रो‑डेमोक्रेसी कलाकृति पनि देख्न पाइन्छ ।
“यो हङकङको यस्तो ठाउँ हो जहाँ मानिसहरू आएर विचार आदान‑प्रदान गर्नसक्छन् । एकअर्कालाई सम्मान गरेसम्म मनमा लागेको कुरा भन्न पाउँछन्, ” ग्रेसले भनिन् ।
बार बन्द हुने खबरले केहि नियमित ग्राहक दुखी छन् । उनीहरूसँग त्यहाँको विशिष्ट वातावरण र विभिन्न व्यक्तिसँग बिताएका सम्झनाहरू छन् ।
“हङकङमा यस्ता बार एकदमै कम छन् । हामी यसलाई सुनसान बार भन्छौं । यहाँ एकअर्कासँग गफ गर्न पाइन्छ,” ४१ वर्षिय क्योङ फुङले भने । उनी हङकङ विद्यार्थी युनियनका पूर्व प्रतिनिधी र बारका वफादार प्याट्रोन हुन् ।
“यो दुर्भाग्यपूर्ण खबर हो,” उनले भने,“यस्तै वातावरण भएको अर्को बार खोज्नुपर्ने भयो ।”
पूर्व विधायक तथा प्रो‑डेमोक्रेसी अभियन्ता ल्योङ क्वोक‑हुङ (लङ हेयर) पनि क्लब ७१ का ग्राहक हुन् । क्लब ७१ को पूर्वज क्लब ६४ मा लङ हेयर ल्योङ नियमित आउँथे । क्लब ६४ पनि ग्रेस माले नै सञ्चालन गरेकी थिइन् । भाडा आकाशिएपछि उनी शेङवानमा सरेकी थिइन् । त्यसपछि बारलाई क्लब ७१ नाम दिएकी हुन् ।
“एकअर्कासँग सम्पर्क र सञ्चार गर्ने यो एउटा केन्द्र हो । बसेर भावी योजनाबारे छलफल गर्ने स्थान हो । त्यसैले यो भेटघाट हुने थलो हो,” ल्योङले भने । उनी बियर पिउनलाई आएका थिए ।
सो बारमा आउने अन्य लोकप्रिय व्यक्तित्वमा गायक डेनिस हो पनि हुन् । प्रो‑डेमोक्रेसी विचारका लागि उनी लोकप्रिय छिन् । चर्चित फिल्मनिर्माता क्रिस्टोफर डोयल पनि यहाँ आउने गर्थे ।
क्लब ७१ बन्द गर्नुपर्दा दु:ख लागे पनि एक तरिकाले राहत अनुभव भएको ग्रेस बताउँछिन् ।
“आर्थिक रूपमा थेग्न सकिनँ,” उनले भनिन्, “ अब अघि बढ्ने बेला भयो। म अरू नै केहि गर्न चाहन्छु ।”
–एपी ।