• दसैंको फुर्को र शुभकामना सन्देशका बान्की

  •  

    दसैंको मौसम छ, सामाजिक सञ्जाल र सन्देश प्रवाह माध्यममा शुभकामनाका ओइरो लागेका छन् । अधिकांश शुभकामना स्वभाविक लागे पनि कतिपय अस्वभाविक देखिएका छन् । ती शुभकामनामा दसैंका लागि प्रयोग गरिएका फुर्को र बान्की चर्चा गर्न लायकका रहेका छन् ।

    प्रतिनिधिमूलक अस्वभाविक शुभकामना यस्ता रहेका छन्- ‘सम्पूर्ण नेपालीको सबै भन्दा ठूलो/प्रमुख/महान चाड विजयादशमी/दसैंको शुभकामना !’, ‘नेपाली हिन्दूहरुको चाड बडा दसैंको शुभकामना !’, ‘हिन्दूहरुको चाड दसैंको शुभकामना !’ ‘दसैं, तिहार, म्हःपूजा, छठ, उद्यौली, ल्होसारको शुभकामना !’ र ‘मैले दसैं नमनाएको यति वर्ष भएछ, दसैं मान्नेहरुलाई शुभकामना !’

    यस किसिमका शुभकामनाले एकातिर सद्भाव भडकाइ रहेको छ भने अर्कातिर अनावश्यक र अनुत्पादक वहस चलिरहेको छ । ‘शुभकामना’ले सकरात्मक सन्देश प्रवाह गर्न पर्नेमा त्यसमा प्रयोग भइरहेका अनुपयुक्त शब्द, वाक्य, चित्र र तस्बीरले वैमनस्यता उत्पन्न गराइरहेको छ ।

    विविध सांस्कृतिक पक्ष रहेको भए पनि दसैं एक हिन्दू धार्मिक चाड हो भन्नेमा द्विविधा रहेको छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल धर्म निरपेक्ष घोषणाले नेपाल बहुधार्मिक राष्ट्र हो भन्ने प्रमाणित र स्थापित भइसकेको सन्दर्भमा कुनै पनि धार्मिक चाड सम्पूर्ण नेपालीको हुनै सक्दैन । त्यसो भएकोले दसैं सम्पूर्ण नेपालीको चाड होइन । यस सन्दर्भमा ‘सम्पूर्ण नेपालीको सबै भन्दा ठूलो/प्रमुख/महान चाड विजयादशमी/दसैंको शुभकामना !’ भन्नु अस्वभाविक मात्र नभएर धार्मिक अहंकार हो ।

    ‘नेपाली हिन्दूहरुको चाड बडा दसैंको शुभकामना !’ भन्नु पनि असान्दर्भिक हुने छ । पहिलो कुरा त दसैं नेपालका हिन्दूले मात्र मनाउँने गरिएको छैन । मनाउँने तौरतरिका फरक छन् तर संसारभरका हिन्दूहरुले दसैं मनाउँने गरेका छन् । हिजोका नेपाली हिन्दूको कुरा गर्ने हो भने पनि आज नेपाली मूलका भारतीय, बर्मेली, बेलायती, अमेरिकी, चिनियाँलगायतका हिन्दू भइसकेका छन् ।

    सबै भन्दा नकचरो र लबस्तरो शुभकामना यस्तो रहने गरेको छ- ‘दसैं, तिहार, म्हःपूजा, छठ, उद्यौली, ल्होसारको शुभकामना !’ यो चाहिँ दसैंको शुभकामना दिन चाहने तर अरुले के भन्लान् कि भनेर आलोचनाबाट बच्नका लागि औपचारिकता पूरा गर्नहरुले लेख्ने र भन्ने गरेका छन् ।

    कतिपय गैर-हिन्दूहरुले ‘हिन्दूहरुको चाड दसैंको शुभकामना !’ भनेर लेख्ने र भन्ने गरेको पाइन्छ । यसमा पनि एक किसिमको अहंकार झल्कन्छ र हियाएको भान हुन्छ । ‘मैले दसैं नमनाएको यति वर्ष भएछ, दसैं मान्नेहरुलाई शुभकामना !’ भन्नेहरुले त दसैं आफ्नो लागि ठीक नभएर छोडेको र अरुलाई पनि छाड्न वा परित्याग गर भन्ने सन्देश प्रवाह गरिरहेका छन् ।

    शुभकामना सन्देशमा यस किसिमको प्रवृत्ति प्राय नेपालीमा मात्र देखिने गरेको छ । दसैंको सन्दर्भमा मात्र नभएर अन्य चाडबाडमा पनि यस्तै भएको पाइन्छ । राई जातिको महान चाड साकेला, लिम्बू जातिको महान चाड चासोक, मगर जातिको माघी, तामाङ-गुरुङ-शेर्पा जातिको ल्होसार, ….. ।

    नेपालीजन्य बाहेक अन्य चाडपर्वको शुभकामना आदान-प्रदान पनि नेपाली समुदायमा हुने गरेको पाइन्छ । तर बेलायती वा अमेरिकी क्रिसमसको शुभकामना भनेको वा लेखेको पाइन्न । मुसलमानी इदको शुभकामना पनि भनिन्दैन र लेखिन्दैन । ‘ह्याप्पी क्रिसमस !’, इद मुबारक !’ भनिन्छ र लेखिन्छ । यस कारण सामान्य ‘दसैंको शुभकामना !’ मात्र भन्ने र लेख्ने हो कि ?

    शुरुवात, किंवदन्ती र हिजो नेपाल हिन्दू अधिराज्य हुदाको अवस्थालाई चर्चा नगरी भन्नु पर्दा दसैंमा धार्मिकसंगै सांस्कृतिक पक्ष पनि रहेको छ । यसो नहुदो हो त भारतमा मनाइने दसैं भन्दा नेपालमा छुट्टै रहने थिएन । नेपालमा मनाइने दसैंको मौलिकता रहेको छ । भन्नै पर्दा यसमा नेपालका प्रकृतिपूजकका सांस्कृतिक पक्षहरु पनि समेटिएका छन् । नेपालको दसैंमा पिङ थापिन्छ, टीका र जमरा लगाइन्छ, कोसेली आदान-प्रदान हुन्छ ।

    दसैंको सांस्कृतिक पक्षलाई जोड दिने हो भने साझा चाडको रुपमा विकास हुन सक्छ । यसका लागि शुभकामना व्यक्त गर्ने शब्द र वाक्यसंगै चित्र र तस्बिरमा पनि ध्यान दिन आवश्यक छ । शुभकामना सामग्रीमा देवी र राक्षसको चित्र राख्नु भन्दा जमरा-टीका, पिङ र चङ्गा राख्दा उपयुक्त हुन्छ । दसैंलाई कसैले कसैलाई विजय गरी खुसीयाली मनाइएको मिथकमा पनि परिवर्तन गर्न आवश्यक छ । विजयादशमी नभएर दसैंको रुपमा मनाउँदा अझ यसले व्यापकता पाउने छ ।

    बढी सान्दर्भिक चित्र, तस्बिर र शब्द प्रयोग गर्न सके सद्भाव अभिवृद्धि हुने छ । शुभ दसैं !

  • कमेन्ट गर्नुहोस्