• हाइकिङ एक समग्र व्यायाम

  •  

    हङकङको नेपाली समुदायमा हाइकिङ गर्नेहरुको संख्या पछिल्लो दशकमा उल्लेख्य मात्रामा बढ्दो छ ।

    त्यो भन्दा अघि नेपाली समुदाय व्यक्तिगत स्वास्थ्य र खानपानमा अत्यन्त अन्जान र लापर्वाह थियो । हरेक आइतबार वा छुट्टीको दिनमा अव्यवस्थित ढंगले पोलेको बोसोयुक्त अस्वस्थ्यकर मासु, बेहिसाब रक्सी लगायत खैनी चुरोटको सेवन साथै काम र आरामको तादत्म्यता नभएर धेरै दीर्घरोगी बने । कतिले अकालमा ज्यान गुमाए । पछिल्लो समयमा चेतनाको सञ्चार हुँदै गएको छ । यताका दिनहरुमा स्वास्थ्यसम्बन्धी सावधानी र रोगबाट बच्ने उपायको चासो र खोजी हुन थाल्यो । कुनै व्यक्तिको खानपान, स्वास्थ्य, जीवनयापनको मापन धेरै हदसम्म उसको शारीरिक बनावटबाट नै आँकलन गर्न सकिन्छ । यसरी हेर्दा आम नेपाली समुदायको शारीरिक नापनक्सा हङकङको स्तरमा दाँज्नयोग्य र प्रेजेन्टेवल छैन । होचो कद, भ्यात्त परेको भुँडी, असहज हाउभाउ, चालढाल हाम्रो शारीरिक पहिचान नै हो । यी सबैको कारक जीवनपद्धतिको ज्ञान, खानपान र दैनिक जीवनको व्यवस्थापन नै हो ।

    खाना शरीरको आवश्यकता अनुसार सन्तुलित खानुपर्ने हो । तर हामी जिब्रोको स्वादका लागि चिल्लो-पिरो-अमिलोका साथै आवश्यकताभन्दा अति धेरै वा भनौं चित्त नबुझेसम्म टन्न खान्छौं । त्यसको परिणाम जवानीमै रोगी बन्छौं र छोटो आयुमै विभिन्न रोगको सिकार बन्छौं ।

    नेपालका एक चर्चित कृषि वैज्ञानिक मदन राई भन्छन्, “हामीले हाम्रो शरीरको विज्ञान बुझ्न सक्यौं भने विना कुनै रोग १५० वर्ष सहजै बाँच्न सकिन्छ ।”

    यसै सन्दर्भमा यो व्यस्त शहरिया जीवनपद्धतिलाई स्वस्थ र तन्दुरुस्त राख्न नियमित हाइकिङ एक उत्तम उपाय हुन सक्छ । आज यो छोटो आलेखमा हाइकिङ किन जाने, केको लागि र यसबाट के फाइदा छ त भन्नेबारे कुरा गर्ने जमर्को गर्ने छु ।

    हाइकिङ किन गर्ने

    -प्रकृति सृष्टिको अनुपम नमूना हो र हामी प्रकृतिको उपज हौं । हामीबीच अन्तरंग सम्बन्ध रहेको छ । यसले गर्दा हामी एक्लै, परिवार वा नजिकका साथीहरुसँगको छोटो प्राकृतिक हाइकिङ यात्राले आफ्नो लागि, परिवारको लागि वा साथीहरुको लागि समय उपलब्ध हुन्छ जसले पारिवारिक र मित्रवत् सम्बन्धहरु अझ नजिक र गाढा बनाउँछ । जीवनलाई सहज र खुसीमय बनाउन सहयोग मिल्छ । मित्रता वा पारिवारिक सम्बन्ध सुधार्न बेला बखतमा उचित हाइकिङको योजना बनाउनुहोस् लाभप्रद हुनेछ ।

    -खिन्नता, चिन्ता, तनावले समस्याग्रस्त अवस्थामा प्रकृति समीप यात्रामा निस्किंदा चिन्ता, खिन्नता र उदासीपन घट्नुका साथै आफूभित्रको जिद्दीपनमा कमी आउँछ । दैनिक जीवनका समस्याहरुको हलहरुबारे एकान्तमा एकाग्र भएर स्वच्छ मनले सोचेको खण्डमा धेरै हदसम्म समाधान भेट्टाउन मद्दत हुने कुरामा विज्ञान पनि सहमत छ । ध्यान, उपासना गर्नेहरु शान्त ठाउँ, ठूलो रुखको फेद वा जंगलमा गएर ज्ञान प्राप्त गरेका कथा-कहानी हामीले सुन्दै आएकै हौं ।

    -नियमित हाइकिङ गरेको मानिसको स्मरण शक्ति नगर्नेको दाँजोमा धेरै राम्रो पाइएको खोज अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।

    -हाइकमा हिंड्ने व्यक्तिको शारीरिक व्यायाम, परिश्रमले पाचनक्रियामा सुधार हुन्छ । हिंड्दा कठोर शारीरिक परिश्रमपछि थकान हुने भएकोले शरीरलाई आरामको आवश्यकता पर्ने हुन्छ र राम्रो/गहिरो निन्द्रा लाग्ने हुन्छ । यसबाट सम्पूणर् शरीरले पुनर्ताजगी पाउने र स्मरण शक्ति समेत बढ्ने कुरामा दुईमत छैन ।

    -हाइकिङमा जाँदा प्राकृतिक मनोरम दृश्यहरु र पर्याप्त अक्सिजनको मात्रा मस्तिष्कमा पुगेपछि मन खुसी हुने हुँदा रमाइलो महसुस हुन्छ । सधैं एकोहोरो काम गर्दा थकित भएको शरीर र मन शान्त शितल ठाउँमा विचरण गर्दा खुसी र चंगा हुन्छ । कोलाहल र प्रदुषणबाट पर शान्त शितल हावा, प्रकृतिसँगको मनोरम भेट जस्तै लाग्छ हाइकिङ ।

    -हरियाली रुखपातयुक्त जंगलमा अक्सिजन प्रशस्त प्राप्त गर्न सकिन्छ । हावा; २१∞ अक्सिजन, ७८∞ नाइट्रोजन र १∞ अन्य ग्याँस मिलेर बनेको हुन्छ र त्यही २१∞ अक्सिजन श्वासप्रश्वास हुँदै हाम्रो शरीरमा आपूर्ति हुन्छ । ५ मिनेट अक्सिजन पुगेन भने हाम्रो मस्तिष्कको तुरुन्तै मृत्यु हुन्छ । शरीरको अन्य भागले भन्दा ३ गुणा बढी अक्सिजन मस्तिष्कलाई आवश्यक पर्दछ । हाम्रो शरीर जिवित रहेको मस्तिष्कले निर्देश गरेपछि अंग प्रत्यंगले हर्कत देखाउँछ । हरेक तन्तु, अंगहरुको क्रियाकलाप मस्तिष्कबाट नै परिचालित हुन्छ । जब जब फोक्सोबाट मुटु हुँदै रक्तवाहिनी नसाबाट मस्तिष्कमा पर्याप्त अक्सिजन प्राप्त हुन्छ तब मस्तिष्कले आराम र आनन्दको तरंग अनुभूत गर्छ र मनमा खुसी र आनन्दको महसुस हुन्छ ।

    -हाइकिङ गर्न तालिमको आवश्यकता हुँदैन । शारीरिक व्यायाम, सुगठित शरीर मजबुत अंग हुनुका साथै अनावश्यक बोसो तौल घटाउन हाइकिङ एउटा उत्तम व्यायाम पनि हो । अन्य व्यायामको तुलनामा सहज, सुलभ र सस्तो पनि हुन्छ । उकालो यात्रामा छिटो छिटो श्वासप्रश्वास गर्दा मुटुको राम्रो व्यायाम हुने हुँदा दैनिक १ घण्टा हिंड्नेलाई मुटु सम्बन्धी रोग लाग्ने जोखिम ३१ प्रतिशत कम हुने कुरा हार्वर्ड विश्वविद्यालयको एक अनुसन्धानले देखाएको छ ।

    -मधुमेह, उच्च रक्तचाप र कोलेस्टोरल भएका बिरामीहरुका लागि त दैनिक ३० मिनेट हाइकिङ अथवा नियमित हिंडडुल मात्र गरे स्वस्थ हुने अचुक उपचार मानिन्छ । चिकित्सकले पनि यस्ता बिरामीहरुलाई नियमित हिंडडुल गर्न सुझाव दिने गर्दछन् । यस्ता रोगहरुबाट हिंडडुल वा हाइकिङले नियन्त्रण साथै छुटकारा नै पाएको उदाहरण प्रशस्त छन् । यस्ता दीर्घरोग लाग्नबाट बच्ने सम्भावना त अझ धेरै हुन्छ ।

    -बुढापाका, बच्चा, अशक्त र अपांग समेत सबैले आफ्नो आवश्यकता अनुसारको हाइकिङ यात्रा तय गर्न सक्छन्, सर्वसुलभ भएकोले सबैको लागि सहज र विना खर्चको व्यायाम पनि हो हाइकिङ ।
    हाइकिङ वा नियमित हिंडडुललाई समग्रमा सम्पूणर् व्यायाम पनि भनिन्छ । उच्च रक्तचाप, कोलेस्टोरल, मोटोपना, मधुमेह जस्ता आम रोगहरुसँग जुझ्न वा छुटकारा पाउन नियमित समयमा निश्चित दुरीको हाइकिङ वा हिंडडुल अचुक उपचार हो भन्ने कुरा २००७ मा गरिएको एक अध्ययनले देखाएको छ ।

    हङकङमा कहाँ गर्ने हाइकिङ

    हङकङमा साना ठूला गरी ३५० भन्दा बढी ट्रेल ट्रयाकहरु पञ्जीकृत छन् । यसरी पञ्जीकृत ट्रेल रुटहरु सरकारले नियमित अनुगमन, मर्मत-सम्भार, व्यवस्थापन गर्ने गर्दछ । यसमा छोटो दुरीको बालबच्चा, बुढापाकाका लागि सहज, फेमिली वाक, अशक्तहरुका लागि ह्वील चीयर समेत लैजान मिल्ने अपांगमैत्री रुटदेखि लामो दुरीका ट्रेलहरु र अप्ठ्यारा भिरको बाटोहरु पनि पर्दछन् । सामान्य यात्रादेखि विश्व प्रसिद्ध ट्रेलहरु पनि छन् । जसमध्ये अन्तर्राष्ट्रिय ट्रेल दौड प्रतियोगिताहरु आयोजना हुने १०० किमीको मेक्लेहोस ट्रेल एक हो । न्यू टेरेटोरीको साइकुङदेखि चुनमुनसम्मको विभिन्न ट्रेल रुटहरु संयोजन गरेर हङकङका पूर्व गभर्नर मुर्रे मेक्लेहोसले सन् १९७० को दशकमा हङकङमा कन्ट्रीपार्क, वन्य आरक्षण क्षेत्रहरुको स्थापना र व्यवस्थापन गरे । उनी स्वयं हाइकिङका सौखिन थिए र यो ट्रेल उनकै नाममा राखिएको हो ।

    ७८ किमीको विल्सन ट्रेल अर्को हाइकिङ गन्तव्य हो । हङकङका पूर्व गभर्नर (१९८७-१९९२) डेभिड विल्सनको नामबाट राखिएको विल्सन ट्रेल खासगरी हङकङ आइलैन्ड, ताईताम, माओनसान, लायनरक, कामसान, सिंग मुन, ताई मो शान, पातसिन लेङ कन्ट्रीपार्कहरुलाई जोडेर स्थानीय प्रकृतिप्रेमी व्यक्ति र संघसंस्थाहरु मिलेर निर्माण गरिएको हो । यो स्टेज १ स्टेन्लीबाट शुरु गरेर स्टेज १० ताई पो पुगेर सकिन्छ । यसका साथै हङकङ ट्रेल र लान्ताउ ट्रेल पनि यहाँका मुख्य ट्रेलहरु हुन् ।

    यी मुख्य ट्रेलहरुमा नियमित रुपमा ट्रेल रनहरुको आयोजना भइआएका छन् । यसमा चर्चित नेपाली धावकहरुले नेपालको प्रतिनिधित्व गर्दै भाग लिइसकेका छन् र ठूला-ठूला प्रतियोगिता जितेका पनि छन् । यसको पछिल्लो उदाहरण हङकङ बस्दै आएका याम नुगो लिम्बू हुन् । उनले गत वर्षको १६८ किमी ४ ट्रेल्स मेक्लेहोस, विल्सन, हङकङ र लान्ताउ समेतको ७२ घण्टाको अल्ट्रा ट्रेल रनमा प्रथम स्थान जितेर विश्वमै प्रसिद्धि कमाए । याम नुगो हङकङमा ‘न्युगो’ नामले चर्चित र प्रिय पनि छन् ।

    मेक्लेहोस, विल्सन, हङकङ र लानताउ ट्रेल मुख्य चार लामो दुरीका ट्रेल हुन् भने अन्य सबै विविध प्रकारका साना, मझौला, सहज र कठोर ट्रेल रुटहरु हङकङको सबै ठाउँमा निर्माण गरिएका छन् ।

    आफ्नो शारीरिक क्षमता, समय, स्थान र परिस्थिति हेरी ट्रेल रुटबारे जानकारी नलिई लापरर्वाह हिंड्दा विपत्मा पर्न सकिन्छ र गम्भीर दुर्घटना पनि हुन सक्छ । पूर्व तयारी, पूणर् जानकारी आवश्यकीय सामग्री जस्तै; मोबाइल फोन, पानी, चकलेट लगायत अन्य खानेकुरा, ब्याट्री ब्याकअप, लट्ठी, सानो फोल्डेवल चक्कु, टर्च लाइट जस्ता आवश्यकीय सामग्री जोहो गरेर हिंड्नु जरुरी छ । विना तयारी वा बन्दोबस्त हिंड्नेहरु गम्भीर दुर्घटना भएको र ज्यान समेत गुमाएको बारम्बार समाचार सुन्नमा आइरहन्छन् । एक्लै हाइकिङ नजानु नै राम्रो, जानै परे सहज र धेरै मानिसहरु हिंड्ने सुरक्षित रुटहरुमा जाँदा राम्रो हुन्छ ।

    अन्त्यमा, हङकङको अग्ला डाँडाहरु द पिक, काउलुन पिक, ताई मो शान पिक, लान्ताउ पिक, क्यासल पिक जस्ता मुख्य डाँडाहरु मनोरम विच लगायत हङकङका मुख्य पर्यटकीय स्थलहरु कुनै न कुनै ट्रेल रुटसँग जोडिएका छन् । यहाँका विभिन्न चुचुराहरुबाट सेरोफेरोका मनोरम दृश्य तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्दै प्रकृतिसँग नजिक रहेर स्वास्थ्यलाभ गर्न मात्र होइन आनन्दमय जीवन यापन गर्न पनि हाइकिङ सहयोगी हुनेछ ।

    जिउन जाने जिन्दगी जिन्दावाद ।

  • कमेन्ट गर्नुहोस्