• विश्वविद्यालयको प्रवेश सहज बन्दै

  •  

    हङकङका विश्वविद्यालयमा औसत भर्ना दर घट्दै गएको छ । कानून, मेडिसिनबिजनेसजस्ता विषयमा पहिलो वर्षका विद्यार्थी समेत घटेका छन् । आवेदकको सङ्ख्या घटेकाले भर्ना प्रतिस्पर्धा पनि कम भएको छ ।

    पोस्टले गरेको विश्लेषण अनुसार आठ सरकारी विश्वविद्यालयमध्ये कम्तिमा चारोटाले ‑ चाइनिज युनिभर्सिटी, द युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, सिटी युनिभर्सिटी र लिङनान  युनिभर्सिटी ‑ आधाभन्दा धेरै कोर्षमा अघिल्लो वर्षको तुलनामा कम भर्ना लिएका छन् ।

    माध्यमिक तहको अध्ययन पूरा गरेका करिब ४५ हजार विद्यार्थीले यो वर्ष विश्वविद्यालयको प्रवेश परीक्षा दिएका थिए । पोहोरको तुलनामा यो ५ प्रतिशत कम हुनुका साथै सन् २०१२ यताकै सबैभन्दा कम विद्यार्थी भर्ना दर पनि हो । सो वर्ष ७० हजारभन्दा धेरैले प्रवेश परीक्षा दिएका थिए ।

    यसरी विद्यार्थी सङ्ख्या घट्नुमा हङकङको घट्दो जन्मदर पनि एउटा कारण हो । विश्वविद्यालयको पहिलो वर्षमा जम्मा १५ हजार विद्यार्थी भर्ना हुने क्रम धेरै वर्षदेखि परिवर्तन भएको छैन । स्थानीय विश्वविद्यालयको अन्डरग्राजुएट कार्यक्रममा भर्ना हुने विद्यार्थीको अनुपात हालसम्मकै उच्च ३७.५ प्रतिशत पुगेको छ ।

    माध्यमिक तह पूरा गरेका विद्यार्थीका लागि विश्वविद्यालयमा भर्ना पाउन सजिलो भए पनि अन्डरग्राजुएटविद्यार्थीको गुणस्तर घट्दै गएको हो कि भन्ने प्रश्न उठेको एउटा विद्यार्थी सहयोग संगठनले जनाएको छ ।

    अर्को वर्ष पनि भर्ना दर घट्ने विज्ञहरो अनुमान छ । सन् २०२१ को विश्वविद्यालय प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थी सङ्ख्या घट्ने मात्रै नभएर बसाइँ सर्ने उद्देश्यले विदेशका विश्वविद्यालयमा पढ्न जानेको सङ्ख्या पनि बढ्नेछ ।

    अधिकांश विश्वविद्यालयले भर्ना सिट सङ्ख्याबारे अग्रिम जानकारी वितरण गरेका छन् । कोभिड‑१९ महाव्याधिका कारण यो वर्ष भर्चुअल भर्ना लिइएको छ ।

     

    तथ्याङ्क अनुसार युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको भर्ना दर सबैभन्दा थोरै छ । त्यहाँ २० मध्ये १७ ओटा शैक्षिक कार्यक्रममा पोहोरको औसत भर्ना सङ्ख्याभन्दा कम छ। ब्यालर अफ साइन्स इन इन्टेग्रेटेड सिस्टम्स एन्ड डिजाइन र वातावरणीय व्यवस्थापन तथा प्रविधीमा सबैभन्दा कम विद्यार्थीले भर्ना लिएका छन् । दुवै डिग्रीको औसत प्रवेश अङ्क क्रमश: ४४ बाट ३९ र ४१ बाट ३६ झरेको छ । विश्वविद्यालयले सञ्चालन गर्ने ग्लोबल बिजनेस एन्ड क्वान्टिटेटिभ फाइनान्सलगायत बढि प्रतिस्पर्धा हुने स्कूल अफ बिजनेस एन्ड म्यानेज्मेन्टमा पनि एकदेखि तीन अङ्कले औसत दर घटेको छ ।

    चाइनिज युनिभर्सिटीले सञ्चालन गर्ने ६२ मध्ये ३३ ओटा शैक्षिक कार्यक्रमको भर्ना दर घटेको छ । मेडिसिन, फार्मेसी र कानूनजस्ता धेरैको रोजाइँमा पर्ने विषयको भर्ना दर एक अङ्कले घटेको छ । विश्वविद्यालयको सातोटा शैक्षिक कार्यक्रमको भर्ना दर बढेको छ । तीमध्ये तीनोटा चिनियाँ भाषा, प्राम्भिक बाल्यकाल र शारीरिक शिक्षालगायत शिक्षा सङ्कायका छन् ।

    सिटी युनिभर्सिटीको ३१ मध्ये कम्तिमा १७ ओटा कार्यक्रममा भर्ना दर घटेको छ । त्यसैगरि लिङनान युनिभर्सिटीको १२ मध्ये सातोटा कार्यक्रमको भर्ना दर घटेको छ ।

    शीर्ष वरियतामा राखिएको युनिभर्सिटी अफ हङकङले भर्ना दर यहि महिनाको अन्त्यतिर खुलाउने अपेक्षा गरिएको छ ।

    पोलिटेक्निक युनिभर्सिटीको ४३ मध्ये २१ ओटा कार्यक्रममा भर्ना दर घटेको छ। ब्याप्टिस्ट युनिभर्सिटीको २० मध्ये सातोटामा भर्ना दर घटेको र १३ मा बढेको छ । एजुकेशन युनिभर्सिटीको २२ ओटा कार्यक्रमध्ये पाँचोटामा भर्ना दर घटेको र दुईटामा बढेको छ ।

    विद्यार्थी सहयोग संस्था होक याउ क्लबका परामर्शदाता ङ पो‑शिङ यो क्रमले केहि विद्यार्थीका लागि समस्या सिर्जना गर्नसक्ने बताउँछन् ।

    “विश्वविद्यालयको भर्ना सङ्ख्या र प्रतिस्पर्धा घटेको छ । यो वर्ष विश्वविद्यालयको जीवनसँग तालमेल मिलाउन धेरै विद्यार्थीलाई कठिनाइ हुनसक्छ । केहिले बीचैमा छाड्न पनि सक्छन्,” ङले भने ।

    विश्वविद्यालयको अध्ययनका लागि धेरै हङकङेली विद्यार्थी अन्यत्रै जान चाहेको भन्ने सुनेकोले त्यहि कारणले भर्ना सङ्ख्या घटेको हुनसक्ने उनले बताए ।

    चाइनिज युनिभर्सिटीमा नयाँ भर्ना भएका च्यानले हाइ‑स्कूलका कम्तिमा ६ जना सहपाठीले चीन वा ताइवानका विश्वविद्यालयमा अध्ययन गर्ने निर्णय गरेको बताए । सरकारको विरोधमा पोहोर भएका प्रदर्शनका कारण चीनमा जन्मिएकाले त्यतै जाने र अन्यले ताइवान वा अन्यत्रै जाने निर्णय गरेको हुनसक्ने १८ वर्षिय च्यान बताउँछन् ।

    समग्र भर्ना दर ओरालो लाग्नु “ठ्याक्कै अनपेक्षित नभएको” युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीकी एक अधिकारीले बताइ न्। विश्वविद्यालय प्रवेश गर्नेहरूको सङ्ख्या लगभग माध्यमिक तहको अध्ययन पूरा गर्ने विद्यार्थी सङ्ख्या सरह रहेको उनले बताइन् ।

    आवेदकको सङ्ख्या र छनोटका आधारमा हुने परिवर्तनका कारण वर्षपिच्छे समग्र भर्ना दर भिन्न हुने चाइनिज युनिभर्सिटीले जनाएको छ। सिटी युनिभर्सिटीले पनि सन् २०२० र २०१९ को भर्ना दर हिसाब गर्न भिन्न मानक प्रयोग गरिएको जनायो ।

    सब्सिडाइज्ड सेकेण्डरी स्कूल्स काउन्सिलका पूर्व अध्यक्ष जेम्स लाम यात‑फुङ घट्दो भर्ना दरले विश्वविद्यालयहरूलाई आफूले सञ्चालन गर्ने कार्यक्रमबारे पुनर्विचार गर्ने र प्रतिस्पर्धा कायम राख्ने अवसर दिएको बताउँछन् ।

    “धेरै उपलब्धि हासिल गर्ने एलिट विद्यार्थी आकर्षित गर्न विश्वविद्यालयलाई अझै धेरै चुनौती हुनसक्छ,” उनले भने,“पाठ्यक्रम डिजाइन र विद्यार्थीको क्यारियरमा पर्ने प्रभावजस्ता क्षेत्र पुनर्मुल्याङ्कन गर्नु अगाडि बढ्ने बाटो हुनसक्छ ।”

    –च्यान हो‑हिम

  • कमेन्ट गर्नुहोस्