• महावाणिज्यदूतावासबाटै गैरकानूनी काम !

  •  

    सन् २००५ जुनदेखि नेपालीलाई हङकङमा रोजगार भिसा प्रतिबन्ध रहेको छ । हङकङमा आवासीय सुविधा (हङकङ आईडी-आइडेन्टिटी कार्ड) नभएको जोकोही नेपाली कुनै रोजगारीमा लागे गैरकानूनी हुनेछ । तर यहाँस्थित नेपाली महावाणिज्यदूतावासबाटै गैरकानूनी काम भइरहेको पाइएको छ ।

    गैरकानुनी रुपमा कार्यरत नेपाली महावाणिज्यदूतावासकी पियन सविता सुवेदी । तस्बिरः जगत गुरुङ ।

    निवर्तमान महावाणिज्यदूत कमलप्रसाद भट्टराईले घरेलु सहयोगीको रुपमा ल्याएका सविता सुवेदीलाई महावाणिज्यदूतावासमा पियन (कार्यालय सहयोगी)को रोजगारीमा लगाएर फर्केका छन् । कुटनीतिक नियोगका कर्मचारीहरुले ल्याएका घरेलु सहयोगीहरु आपैmसँग फर्काउनुपर्ने प्रावधान रहेको छ र यसभन्दा अघिका सबैले फर्काएका छन् ।

    कमलप्रसाद भट्टराई आउनु अघिसम्म हङकङ आईडी होल्डर विष्णु लामिछाने पियन रहेकी थिइन् । उनी बाहेक सवारी चालक भवि राई र एक चिनियाँ स्थानीय कर्मचारीका रुपमा रहेका थिए । उनी आएपछि स्थानीय स्थायी कर्मचारीको व्यवस्था खारेज गर्दै करारमा राख्न शुरु भएको छ ।

    करारको व्यवस्था भएपछि भवि राईले राजीनामा दिए पनि विष्णु लामिछानेले निरन्तरता दिन चाहेकी थिइन् तर भट्टराईले उनलाई निष्कासन गरी सहयोगी सविता सुवेदीलाई घरेलु सहयोगीसहित पियनमा लगाएका हुन् । करारमा केही समय काम गरे पनि अकस्मात् निकालिएको लामिछाने बताउँछिन् ।

    शुरुवातमा राई र लामिछाने पनि नेपालबाटै आएका हुन् । पहिलो महावाणिज्यदूत प्रद्युम्नविक्रम शाहकै पालामा सन् १९९७ देखि भवि राई सवारी चालकको रुपमा रोजगार भिसामा रहेका थिए । त्यो बेला महावाणिज्यदूतावासमा पियनको व्यवस्था थिएन । महावाणिज्यदूत, दुई सहचारी, एक स्थानीय चिनियाँ कर्मचारी र सवारी चालक रहेका थिए ।

    सन् १९९९ को शुरुवातमा फर्किएका शाहले घरेलु सहयोगी विष्णु लामिछानेलाई रोजगार भिसाको व्यवस्था गरी पियनमा नियुक्त गरेका थिए । त्यो बेला नेपालीलाई रोजगार भिसा खुला थियो । लामिछाने र राईले सात वर्ष पूरा भएपछि हङकङ आईडी प्राप्त गरेका हुन् । यहाँको नियम अनुसार घरेलु कामदार बाहेकका रोजगार भिसामा सात वर्ष पूरा भएपछि आईडी आवेदन गर्न सक्ने प्रावधान रहेको छ ।

    सहचारी आनन्द चुहाईकी श्रीमती रञ्जु शर्मा इन्डियन रेष्टुरेन्टमा बियर सर्भ गर्दै । तस्बिर श्रोतः फेसबुक ।

    सहयोगीका रुपमा ल्याइएकालाई गैरकानूनी रोजगारीमा लगाउने वा लाग्न दिने भट्टराई पहिलो नभएको पाइएको छ । उनीभन्दा अघि आएकी कन्सुल सुजनी रानाले पनि सहयोगीलाई गैरकानूनी रुपमा बाहिर काम गर्न दिएकी थिइन् । उनको सहोदर दाजु सागर रानामगर जोर्डनस्थित एक होलसेल पसलमा काम गर्थे । उनी अहिले नेपाल फर्किसकेका छन् ।
    सुजनी रानाभन्दा अघि आएका सहचारी आनन्द चुहाईकी श्रीमती रञ्जु शर्मा पनि गैरकानूनी रोजगारीमा रहेकी थिइन् । जोर्डनस्थित एक इन्डियन रेष्टुरेण्टमा वेट्रेसको रुपमा काम गर्ने उनी श्रीमान्सँगै नेपाल फर्किसकेकी छन् ।

    त्यो समयका महावाणिज्यदूत महेशप्रसाद दाहालले सहयोगी विनोद हुमागाइँलाई पियनको रुपमा राख्ने प्रयास नगरेका होइनन् । उनी बेलाबेलामा महावाणिज्यदूतावासको सेवा प्रवाह गर्ने कोठामा देखिन्थे । सेवा प्रवाह गर्ने बहानामा सेवाग्राहीलाई दुःख दिने गरेको समाचार एभरेष्टमा प्रकाशन भएको थियो । (हेर्नुस् तस्वीर) त्यसो त विष्णु लामिछानेले पनि सेवाग्राहीसँग अनुचित फाइदा लिने गरेको शिकायत रहेका थिए ।

    महावाणिज्यदूतावासमा पञ्चायतकालमा समेत अनियमितता र बेथिति रहेको देखिन्छ । हङकङका लागि पहिलो वाणिज्यदूत निरञ्जनमान सिंह बस्न्यातले नेपालमा रहेकी श्रीमतीको समेत भत्ता लिने गरेका थिए । (हेर्नुस्; २०५८ पुस महिनाको तत्कालीन शाही नेपाली महावाणिज्यदूतावास हङकङको तलब, भत्ता तथा पारिवारिक भत्ताको विवरण)
    तलब, भत्ता तथा पारिवारिक भत्ताको विवरण अनुसार पहिला बस्न्यातले लिएको श्रीमतीको भत्ता मासिक रुपमा अमेरिकी डलर २०० कट्टा गरिएको छ ।

    गैरकानूनी कार्यले महावाणिज्यदूतावास कमजोर

    कर्मचारीको गैरकानूनी कार्यले गर्दा सिङ्गो महावाणिज्यदूतावास कमजोर बनेको दृष्टान्तहरु रहेका छन् । उक्त कमजोरीका कारण महावाणिज्यदूतावासमा पटक-पटक आक्रमण हुँदा पनि निरीह रहनुको विकल्प रहेको छैन ।

    महेशप्रसाद दाहालको कार्यकालमा घटेको एउटा घटनाका कारण तत्कालीन वाणिज्यदूत मुदिता बज्राचार्य कार्यकाल पूरा नगरी फर्केकी थिइन् । चार वर्षका लागि आएकी उनी एक वर्ष नपुग्दै फर्केपछि सुजनी राना आएकी हुन् ।

    प्रत्यक्षदर्शीका अनुसार उक्त घटनामा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डललाई महावाणिज्यदूत दाहालले आफ्नै कार्यकक्षमा स्वागत गरेका थिए । औपचारिक बैठककै बीचमा उठेको एक विषयउपर परामर्शका लागि वाणिज्यदूत मुदिता बज्राचार्यलाई बोलावट भएपछि परामर्शको क्रममा बज्राचार्यले नियमसंगत नरहेको बताउनेबित्तिकै संघका सचिव विनय शाहले झम्टदै हाकिमकै अगाडि अपशब्द प्रयोग गर्दै नियम विपरितको काम गर्न भन्दै हप्काएका थिए ।

    उक्त घटनामा महावाणिज्यदूत महेशप्रसाद दाहाल निरीह बनेको प्रत्यक्षदर्शीहरु स्मरण गर्छन् । उनी निष्कलङ्क भएको भए यस घटनामा शाहलाई कारवाही गर्न सक्ने थिए तर उनले निरीहता प्रदर्शन बाहेक केही गरेनन् । भनिन्छ नि; फोहोरीलाई अरुको फोहोर देखाउने साहस आउँदैन ।

    उक्त घटनाले प्रताडित मुदिता बज्राचार्य संरक्षकबाट संरक्षकत्व प्राप्त नभएपछि नैतिक रुपले यहाँ बस्न सकिनन् । त्यो बाहेक अरु पनि घटना घटे र अनावश्यक दबाब धान्न नसकेपछि नेपाल फर्कनुको विकल्प नरहेको उनले बताउने गरेकी थिइन् ।

    सुजनी राना र स्याङ्जाली कान्छाबीच घटेको एउटा घटना पनि कम रोचक छैन । कागजातसम्बन्धी काम लिएर गएका कान्छालाई रानाले भनिन्, “यो तपाईंको काम गर्न नियमले मिल्दैन, नियमसंगत कामको लागि मात्र आउनुहोला ।”

    “नियमको कुरा नसिकाउ मलाई”, कान्छाले झ्वाँकिदै हप्काए, “तिम्रो दाइ कुन स्टोरमा काम गर्छ हामीलाई पनि थाहा छ । त्यसो गर्न तिमीलाई कुन नियमले दियो ?”

    ती दुईबीचको संवाद इमिग्रेसन कन्सल्टेन्टबीचमा भाइरल बनेको थियो । प्रत्यक्षदर्शीका अनुसार उक्त समय वाणिज्यदूत सुजनी राना कार्यालयको विषय वैयक्तिक कुरोमा नजोड्नु भन्दै पन्छेकी थिइन् । नैतिक धरातल गुमाएकी रानाबाट त्यसपछि अन्य अवैधानिक कार्य पनि भएको कन्सल्टेन्ट वृत्तमा चर्चा हुने गरेको छ ।

  • कमेन्ट गर्नुहोस्