• हङकङ छोडेर बेलायततिर

    अक्टोबर २०२० मा बसाइँ सरेको गणेश गुरूङको परिवार बेलायतको फानब्रोमा ।
  •  

    नेपाली सामाजिक गतिविधिमा सक्रिय तमु ट्यो ह्युल, फियोना जस्ता संस्थाका पूर्व अध्यक्ष तथा व्यवसायी गणेश गुरुङ गत महिना परिवारसहित हङकङ छोडेर बेलायत लागे । यही समयमा बसन्त गुरुङ, रमेश पुन लगायत गुरुङकै चिनजानका धेरै परिवारसहित बेलायत पुगेका छन् ।

    सञ्जीव लामाको परिवार (बायाँ) र तुलसीकुमार गुरुङको परिवार ।

    केही समययता बेलायत बसाइँ सर्ने नेपालीहरूको ताँती लागिरहेको छ । सन् १९९७ जुलाई अघि जन्मने हङकङ आईडीवाहक र तिनका डिपेण्डेन्टहरूले बेलायत आउजाउ र बसोबासको सुविधा पाउँदै आए पनि धेरै बीएनओ पासपोर्टवाहक र बेलायती नागरिक भइसकेका नेपालीहरू पनि हङकङको काम, कमाइसँगै सामाजिक वातावरणमै रमिरहेका थिए । तर केही वर्षयता हङकङमा हुँदै आएको प्रदर्शन र त्यसले पारेको प्रभावले पनि अहिले आएर उतै जान चाहनेहरू बढ्न थालेका छन् । त्यसमाथि बेलायत सरकारले हङकङमा रहेका लगभग ३ लाख ५० हजार बीएनओ पासपोर्टवाहकहरूलाई बेलायतमा स्वागत गर्ने घोषणा गरेपछि यसको प्रभाव अन्य समुदायहरूसँगै नेपालीहरूमा पनि परेको छ ।

    २० वर्ष लामो हङकङ बसाईलाई बिट मार्नुको कारण गणेश गुरुङले “छोराहरूको उच्च शिक्षा” भएको बताए । बेलायतबाट एभरेष्ट खबरसँग कुरा गर्दै भने, “हङकङ छोड्ने मन थिएन तर दुई छोराको पढाइकै लागि परिवारै यता आइयो ।” सांघाइ स्ट्रिट, जोर्डनमा रहेको पसल ‘शुभकामना स्टोर’ बेचेर गुरुङ श्रीमती किना गुरुङ, छोरा प्रतिक (१८) र प्रशान (१६)का साथ बेलायतको फानब्रो पुगेका छन् ।

    परिवारका साथ सन्तोष र ज्योति गुरुङ ।

    बेलायतले हङकङको स्थायी बासिन्दाका वंशज, उनीहरूका सन्तान र उनीहरूका डिपेण्डेन्टलाई समेत लैजान सकिने आश्वासन दिएको छ । ६ महिने भिजिट भिसालाई १ वर्ष बनाउँदै यूके पुगेको एक वर्षमा आईएलआर (इन्फिनिटिभ लिभ टु रिमाइन) अनिश्चित समयसम्म यूके बस्न पाउने अनुमति दिने, अध्ययन गर्न तथा काम गर्न पाउने, आफ्नो डिपेण्डेन्ट साथै लैजान पाउने र त्यसैको आधारमा ५ वर्षपछि ब्रिटिस सिटिजन दिने बेलायतले स्पष्ट पारिसकेको छ । जसको कारण हङकङबाट ठूलो संख्यामा बीएनओ पासपोर्टवाहकहरू परिवारसहित यूके प्रवेश गरिरहेको बताइन्छ ।

    पाइला पछ्याउँदै

    लामो समयदेखि बेलायत बसाइँ सरेर जानेक्रम चल्दै आएको हो । एक दशक अघिदेखि नै सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाएका समाजका अगुवाहरूसमेत हङकङको छोडेर बेलायतबासी बन्दै आएका छन् ।

    नेपाली भाषाको पहिलो स्कूल सञ्चालन गर्दै हङकङ–नेपाली महासंघको समेत नेतृत्व गरिसकेका गणेश इजम, गुरुङ समुदायको अग्रज संस्था तमु ट्यो ह्युलका संस्थापक तथा पूर्व अध्यक्षहरू, भूपू सैनिक क्याप्टेन मनबहादुर गुरुङ, कमल गुरुङ, एकेन्द्र गुरुङ, सामाजिक अभियन्ता तथा हङकङको स्टेजमा उद्घोषिकाको सेलिब्रेटी छवि बनाएकी साहित्यकार लक्ष्मी राई (लारा), नेपाली संघ–संस्थामा सक्रिय बुद्धिबहादुर थापा, साहित्य लेखनमा सक्रिय प्रकाश केसी, कलाकार ध्रुवदत्त, एक्युट कन्सल्टेन्सीका सञ्चालकमध्येका उत्तरमान तिगेला लगायत धेरै सपरिवार बेलायत बसाइँ सरेका छन् ।

    नेपालको चर्चित पप ब्याण्ड नेपथ्यका संस्थापक गायक रविन श्रेष्ठ हङकङ छोडेर बेलायतमा रमाउन थालेको धेरै भइसक्यो । पछिल्लो समय मिक्स मेलोडी ब्याण्डका गायक सञ्जीव लामासमेत स–परिवार उतै पुगेका छन् । नेपाल पत्रकार संघ, हङकङका कोषाध्यक्ष रहेका मिडियाकर्मी, फोटोग्राफर तुलसी रानामगरले पनि बेलायती जीवनको शुरूवात गरिसकेका छन् ।

    ललित आङबुहाङ छोराछोरीसँग (बायाँ) र रविन श्रेष्ठ ।

    गायक रविन श्रेष्ठ शुरूवातका दिनमा नयाँ ठाउँमा स्थापित हुन जहाँ पनि गाह्रो नै हुने बताउँछन् । आफ्ना लागि हङकङ र बेलायत दुवै उत्तिकै प्यारो भएको बताउँदै उनले भने, “मौसम, खाना, साथीभाइसँगको नियमति भेटघाट र जमघट सम्झँदा हङकङ नै फर्कन पाए हुन्थ्यो जस्तो लाग्छ तर अब त्यो सम्भव छैन ।” बेलायतमै रहे पनि बेला–बेला सांगीतिक सिर्जना र गीत रेकर्ड गरिरहेको उनले बताए ।

    त्यस्तै; लेखनमा सक्रिय डा. अनिल राई पनि पछिल्लो समय बेलायत पुगेका छन् ।

    यता र उता

    कोहीले परिवारसहित हङकङलाई ‘गुडबाई’ गरिरहेका छन् भने कसैको आधा परिवार उता पुगेको छ भने आधा परिवार हङकङको काम र कमाइको लागि यतै बसिरहेका छन् ।

    गत १७ सेप्टेम्बरमा श्रीमती, छोरा र छोरीलाई बेलायत उडाएर निर्माण क्षेत्रमा काम गर्दै बसिरहेका सन्तोष बाला भन्छन्, “कमाइ यतै राम्रो भएकोले यता कमाउँदै उता पठाउँदै गर्ने भनेको तर परिवारसँग अलग भएर बस्न गाह्रो हुने रहेछ ।” उनकी श्रीमती नेपाली महिला भलिबल खेलाडी ज्योति गुरुङ, छोरा शुभम र छोरी श्रेया बेलायत पुगिसकेका छन् । बसोबासको बन्दोबस्त मिलाउन सन्तोष श्रीमतीसँग ३ महिना बेलायत बसेर फर्केका थिए ।  ठूलो ठाउँ, धेरै अवसर उता छ भनेर पहिल्यै आफूले परिवारलाई बेलायतमा ‘सेटल’ गराउन चाहे पनि श्रीमतीको हङकङ नछाड्ने जोडले आफू यतै रहेको उनी बताउँछन् । एभरेष्ट खबरसँग भन्छन्, “तर, पछिल्लो समय यताको आन्दोलनले जनजीवन अस्तव्यस्त हुन थालेपछि श्रीमतीको मन पनि परिवर्तन भयो ।”

    हङकङमा ब्रिटिस आर्मी स्वीमिङ पुलमा लाइफगार्ड र व्यापार–व्यवसायमा लामो समय बिताएकी गंगा गुरुङको लागि बेलायत र हङकङ दुवै घर हो । श्रीमान् यता र छोराहरूसहितको परिवार उता भएकोले आउ–जाउ गरिरहने गुरुङ वर्षको ८ महिना बेलायतमै हुन्छिन् । हङकङको मौसम आफ्नो लागि अनुकूल नभएकोले पनि बढी समय बेलायतमा बिताउने गरेको उनी बताउँछिन् । बेलायतमा छोरा बालकृष्ण गुरुङ वकिल र प्रशान्त गुरुङ प्रहरीमा जागिरे र श्रीमान् तेक्वान्दो खेलका हङकङ सरकारका पूर्व–प्रशिक्षक तथा भूतपूर्व ब्रिटिस गोर्खा सैनिक तुलसीकुमार गुरूङ सामाजिक अभियन्ताका रुपमा हङकङ–नेपालमा सक्रिय छन् । युनलङमा मनकामना स्टोर, जोर्डनमा सोल्टी क्लब (हाल कंगन रेष्टुरेण्ट) सञ्चालन गरेर व्यवसायीको समेत पहिचान बनाउन सफल गंगा बेलायतमा धेरैको साताको ५ दिन दैनिक ८ घण्टा काम हुने भएकोले हङकङको तुलनामा आनन्दको पारिवारिक जीवन हुने गरेको बताउँछिन् । उनको भनाइमा लण्डन बाहिरको क्षेत्रमा बसोबास गर्नेहरूका लागि यातायातको असुविधा भए पनि सबैले क्षमताका आधारमा जीवन चलाउन सक्ने काम पाउन गाह्रो छैन । भन्छिन्, “यातायात, सरकारी काम चाँडै हुने र सामाजिक भेटघाट जस्ताको सहजताले हङकङको सम्झना  सधैं आइरहन्छ ।”

    तुलसी रानामगरको परिवारलाई मगर संघको बिदाइ ।

    हङकङको निर्माण क्षेत्रमा १०/१२ घण्टा काम गरेर हुने जस्तो कमाइ यता नहुने गरेकोले बेलायत आएर फेरि हङकङ फर्किनेहरू पनि धेरै छन् । तिनैमध्येका एक हुन् भुवन लिङ्देन । बेलायतबाट फर्केर हङकङको निर्माण क्षेत्रमा काम गरिरहेका उनी पारिवारिक व्यवस्थापनका लागि फेरि उतै फर्कने मनस्थितिमा छन् । भन्छन्, “कोभिड–१९ को असरले कामको अभाव हुन थालेपछि फेरि बेलायत फर्कने योजनामा छु ।”

    गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका पूर्व अध्यक्ष तथा व्यवसायी ललित आङबुहाङले पनि छोरी आस्था (२१) र छोरा निशीहाङलाई बेलायत छोडेर भर्खरै फर्केका छन् । भन्छन्, “छोरा–छोरीलाई बस्ने घर र पढ्ने कलेज खोजेर फर्किएँ । उनीहरू मात्र उता हो । पूरै बसाइँ नै सरेको होइन ।” भविष्यमा पनि हङकङ छोडेर जाने कुनै योजना नभएको तर छोरा–छोरीको रेखदेखको लागि श्रीमती कुमारी वनेमलाई केही समय पठाउन लागेको उनले बताए । बेलायतमा ३५ दिन बसेर फर्केका ललित भन्छन्, “हङकङको समाजमा यसरी घुलेर व्यापार–व्यवसाय गरिरहेको हामी जस्तो मान्छेलाई बेलायतमा गाह्रो हुने रहेछ ।” अत्यधिक जाडो र कमाइले खान र घर धान्न मात्र पुग्ने गरेको बताउँदै उनले थपे, “सामाजिक जीवन शून्यप्रायः छ । पारिवारिक, जातीय र समूहको जमघट बेला–बेला हुने रहेछ । नेपालीहरूको बसोबास टाढा–टाढा भएकोले हङकङ जस्तो सहज छैन बेलायत ।”

  • कमेन्ट गर्नुहोस्