• तमोरमा हेलिदा मुटु नै हल्लियो

  •  

    नेपालको पूर्वी क्षेत्रमा पनि साहसिक जलयात्रा, पदयात्रा र प्रकृतिले भरिएको पर्यटकीय क्षेत्र प्रचुर मात्रामा भए पनि प्रचार प्रसारको अभावले गुमनाम जस्तो अवस्था छ । यस्तै साहसिक जलयात्राहरूमध्ये उत्तम र लिम्बू समुदायको धेरै मिथक बोकेको तमोर नदी एक हो । यहाँ जलयात्र गर्नको लागि ताप्लेजुङको चाँगेदोभानबाट मुलघाट हुँदै चतरासम्म २ दिन १ रातमा पूरा गर्न सकिन्छ । मुलघाटबाट चतरासम्मको लागि १ दिनको जलयात्रा पनि गर्न सकिन्छ । यसै यात्राको बारेमा मेरो अनुभव यहाँ पस्कने जमर्को गरेको छु ।

    मेरो यात्रा यसरी अगाडि बढ्छ– मुलघाट–घुङुरी–सिम्रापुल–सफायाटार–माझीगाउँ–सिम्ले–त्रिवेणी–बराहक्षेत्र–चतराघाट ।

    तमोरमा र्‍याफ्टिङ हुन्छ भन्ने कुरा धेरै पहिले सुनेको भए पनि जाने चाँजोपाँजो मिलेको थिएन । परदेशबाट फर्केर नातापाता भेट्नमै व्यस्त भइयो । पछिल्लो समय पारिवारिक घुमघामको पनि माहौल बढेकोले धरानबाट तेह्रथुमको तिनजुरे–मिल्केको गुराँस हेर्न जाँदा जब मुलघाटमा तमोर नदी पार गरियो तब मैले यसपटक र्‍याफ्टिङ गरेरै छाड्ने निश्चय गरें । तिनजुरेबाट फर्केपछि तमोरमा हेलिने सोचले गुगल सर्च गरें । धरान र्‍याफ्टिङ भनेर वेबसाइट भेटें । त्यहाँ उल्लेखित नम्बरमा सम्पर्क गरें । र्‍याफ्टिङको बारेमा कुराकानी भयो । म एक्लो भएको जानकारी गराएपछि भोलि एउटा समूह जाँदैछ त्यही समूहमा जाँदा हुन्छ भन्ने कुरा भयो । चौकीबारीबाट र्‍याफ्टिङ अफिस छाताचोकमा गएर पैसा जम्मा गरें । अफिसमा कार्यरत भाइले भोलि बिहान ६:३० बजे यहीं आएर सम्पर्क गर्नू भनेपछि घरतिर लागें । बेलुका धरानमा ठूलो आँधीबेहरीसहित पानी पर्‍यो । अब र्‍याफ्टिङ हुन्न होला जस्तो लागेको थियो त्यसैले बिहानै उठेर फोन गरें । फोन सम्पर्क हुन सकेन । बडो दोधारका साथ छाताचोक पुगें । बल्ल अफिस खोल्ने तर्खर गर्दै रहेछन् भाइले । ‘जाने–नजाने के छ अवस्था ?’ भनेर सोधेको ‘अर्को समूह इटहरीबाट हिंडिसकेको छ, जाने हो’ भन्यो ।

    केही समयपछि गाडी आयो । र्‍याफ्टिङको सामान लादेर लागियो तमोर मुलघाट । अर्को समूहका साथीहरूसँग साधारण परिचय भयो । धरानको जिरो प्वाइन्टबाट नै साथीहरूले तीनपाने तान्न थालिहाले । यस्तो साहसिक जलयात्रामा पनि मादक पदार्थ पिइरहेका थिए । हामी नेपालीलाई मनोरञ्जन लिन पनि मात्नै पर्ने ! भेडेटार पुग्दासम्ममा मौसम सफा भइसकेको थियो । तल तमोर लमतन्न सुतिरहेको थियो । मन खुशी भयो । मुलघाटमा माछा फ्राईसँग अझ थपे साथीहरूले । मैले चाहिं माछा र चिउरा खाएँ । गाइड भाइको ‘सबैजना तयार हुनुहोला, अब जानु पर्छ’ भन्ने उद्घोषपछि  लाग्यौं तमोरतिर । वर्षाले होला तमोर धमिलो थियो भने समूहका साथीहरूको आदतले मेरो मन अमिलो । गाइडहरूले हामीलाई २ समूहमा विभाजन गरे । सुरक्षाको बारेमा जानकारी गराइसकेपछि हाम्रो समूह तमोरमा हेलिन शुरू ग¥यो । जब भिरालो ठाउँ आउँथ्यो बोट बेगसँग पानीको बहाउमा हुत्तिन्थ्यो अनि डरसँगै रमाइलो पनि एकसाथ हुन्थ्यो । अलि लामो समय नदीको तीव्र बहाउमा हुत्तिदा मुटु नै हल्लिदो रहेछ । छिन–छिनमै नदीको बहाउ परिवर्तन हुने भएकोले के हुन्छ भन्ने पत्तो नै नहुने । जतिखेर पनि खुलदुली भइरहने । रोमाञ्च नै रोमाञ्च । नदी वरपरको पहरा र लामा–लामा झोलुङ्गे पुल हेर्दै हाम्रो यात्रा अगाडि बढिरह्यो ।


    जब भिरालो ठाउँ आउँथ्यो बोट बेगसँग पानीको बहाउमा हुत्तिन्थ्यो अनि डरसँगै रमाइलो पनि एकसाथ हुन्थ्यो । अलि लामो समय नदीको तीव्र बहाउमा हुत्तिदा मुटु नै हल्लिदो रहेछ । छिन–छिनमै नदीको बहाउ परिवर्तन हुने भएकोले के हुन्छ भन्ने पत्तो नै नहुने । जतिखेर पनि खुलदुली भइरहने ।


    अलिक समतल र तलाउ परेको ठाउँमा पुगेपछि गाइडले भन्यो, “यहाँ पौडी खेल्नको लागि उपयुक्त छ, लु हाम फाल्नुस् ।” यसो हेरेको विशाल नदी छ । आँटै आएन ! अरू साथीहरू फुत कि फुत हाम फाल्न थालिहाले । अन्त्यमा, म पनि डराइ–डराइ फाल हानें । केही समयको पौडीपश्चात् पुनः अगाडि बढियो । १२ बजे खाजा खाने कुरा भयो । अलिक फराकिलो नदी–किनार रोजियो । वाईवाई, चटपटे, सलाद, चाम्रे र केही पेय पदार्थ अनि उही तीनपाने ।

    लञ्चपछि पुनः शुरू भयो पानीमा बग्ने क्रम । तमोरको खोचैखोच । कतै हरियो फाँट त कतै अत्यासलाग्दो पहरा । कतै तीव्र गतिमा पानीको बहाव त कतै शान्त । जति तल झर्दै गइयो नदीले उति विराट रूप लिंदै गयो । त्रिवेणीपछि त नदी होइन समुन्द्र नै जस्तो पो लाग्न थाल्यो ! ७ वटै नदीको संगम भएर जब सप्तकोशी भयो तब त विशाल जलाशयमा नौका बिहार गरे जस्तो हुन लाग्यो । पुनः सप्तकोशीमा पौडी खेल्ने कुरा भयो । डराइ–डराइ हाम फालियो । त्यसपछि पुनः बोटमा चढेर चतरातिर लागियो । नदीको किनारमा बराहा मन्दिर पनि रहेको छ । कोशीमा बेलाबेलामा स्ट्रिमर पनि चलिरहेको थियो । करिब ३ बजेतिर चतराघाट पुगियो । जलयात्रा टुङ्गियो । गाडीमा सबै सामान राखेर धरान आइयो ।

  • कमेन्ट गर्नुहोस्