• रिगम राई : नेपाली समुदायकी पहिलो महिला वकिल

    रिगम राई । तस्वीरः जगत अम्बु गुरुङ
  •  

    हङकङको नेपाली समुदायमा धेरैजसो महिला कि रेष्टुरेण्टमा, कि त ब्युटी पार्लरमा काम गर्छन्, अनि कोही चाहिं गृहिणी छन् । तर रिगम राई उनीहरूभन्दा फरक क्षेत्रमा छिन् ।

    रिगम हङकङमा नेपाली समुदायकी पहिलो वकिलको रुपमा काम गर्न थालेको धेरै भइसक्यो । उनी विगत एक दशकदेखि यहाँको चाइनिज ल फर्ममा कार्यरत छिन् ।

    उनले यो स्थानमा आफूलाई उभ्याउन धेरै संघर्ष गरेकी छिन् । धेरै हण्डर, ठक्कर खाएकी छिन् । अहिले उनी आफ्ना क्लाइन्टका पक्षमा वकालत गर्न अदालत धाउँछिन् । अन्यायमा परेकाहरूलाई न्यायको पहल गर्छिन् ।

    सानैमा धरानमा पढेकी रिगम ४ कक्षादेखि काठमाडौं, पानीपोखरीको भानुभक्त मेमोरियल स्कूलमा पढिन् । त्यसपछि पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा आर्किटेक्टमा भर्ना भइन् । पढ्दा–पढ्दै हङकङ आइपुगेपछि यतै काम गर्न थालिन् । पढाई अलिक ग्याप भयो ।

    यहाँ आएपछि पनि पढ्नका लागि निकै कोशिस गरेकी हुन् तर आर्किटेक्ट पढ्न गाह्रो हुँदो रहेछ । किताब अंग्रेजीमा भए पनि लेक्चर चाइनिजमा हुँदो रहेछ । त्यसपछि एक वर्ष जति भर्चुअल क्लासमा आईटी पढिन्, राम्रो नतिजा लाएर पास पनि गरिन् । तर, कामको अवसर पाइनन् ।

    बुझ्दै जाँदा कानून विषयको किताब पनि अंग्रेजीमा र पढाइ (लेक्चर) पनि अंग्रेजीमै हुने थाहा पाइन् । अनि, यतै लागिन् ।

    नेपालमा छँदा वकिल बन्छु भन्ने सपनामा पनि सोचेकी थिइनन् उनले । यहाँ चाहिं अरु च्वाइस नभएर यो फिल्डमा लागिन् । तर अहिले यही क्षेत्रमा प्रगति गरिरहेकी छन् । शुरूमा त उनले पनि यहाँ आएर ६/७ वर्ष रेष्टुरेण्टमा काम गरिन् । “यता आएर यस्तो दुःख गर्नुपर्ला भन्ने सोचेकै थिइनँ,” उनी भन्छिन्, “१७/१८ वर्षको उमेरमा काम गर्दा अरुको अर्डर लिनुपर्ने, अरुले खाएको उठाउनुपर्ने । दुःख लाग्यो ।”

    तर उनलाई केही चाहिं गर्नु पर्छ, यसरी हुँदैन भन्ने थियो । त्यसपछि पैसा वचत गरेर पढाइमा लगानी गरिन् । “उता इञ्जिनियरिङ पढेको, यता आएर वेटर काम गर्नुपर्दा साह्रै दुःख लाग्यो । म यस्तो होइन, केही गर्न सक्छु भन्ने मनमा लागिरहन्थ्यो,” उनी सुनाउँछिन् ।

    रिगमका आमा–बुवा उनलाई नेपालमै इञ्जिनियरिङ सकोस् भन्ने चाहन्थे । तर, यता आइसकेपछि उनी फर्किन सकिनन् । शुरूमा त दुःख गर्नुपर्दा बेकारमा आइएछ भन्ने लाग्यो । यहाँ आइहालियो केही गर्न सकिन्छ कि भनेर पढाइलाई निरन्तरता गर्न खोजिन् । परिवारबाट पढाइमा एकदमै सपोर्ट थियो त्यसैले आफूले सफलता पाउन सकेको उनको बुझाइ छ ।

    उनको बुवा–आमाले एसएलसीसम्म पढे । आफूले चाहेजति पढ्न नसके पनि छोराछोरीले केही गरुन् भन्ने चाहन्थे । सन्तानमा उनी र भाइ मात्र थिए । “यहाँ आइसकेपछि आईटी क्षेत्रमा जुनियरमा पनि धेरै काम खोजें तर पाइएन । कमाई नहुने तर खर्च मात्र हुने भयो । त्यसपछि कानूनको डिप्लोमा पढ्न शुरू गरें ।”

    कानून पढ्न संघर्ष

    पढ्न त शुरू गरिन् तर उनमा त्यसबेला कानूनको कुनै ज्ञान थिएन । यसका शब्दहरू डिक्स्नरी हेरेर थाहा पाउँदै गइन् । पढ्न शुरू गरिसकें सक्नै पर्छ भन्ने लक्ष्य राखिन् । डिप्लोमा शुरू गर्दा पहिला गरेको बचतले सजिलो भयो । पछि दुई ठाउँमा काम पनि गरिन् पढाईको फी तिर्नका लागि । त्यो बेला एक वर्षको १२/१३ हजार थियो कलेज फी । पछि २०/२२ हजार भयो । पढाइको फी मात्र ५०/६० हजारसम्म लाग्थ्यो ।

    वकिल बनेपछि रिगम ।

    उनी खर्च जुटाउन फुलटाइम काम गर्थिन् अनि पार्टटाइम पढाइ । २ वर्ष डिप्लोमा अनि ३ वर्ष एलएलबी र सीपीई गरी सन् २००४ देखि २००९ मा एलएलबी सकिन् । त्यसपछि २ वर्ष पोष्ट ग्राजुएट गरिन् । त्यसयता सोही ल फर्ममा काम गरिरहेकी छिन् ।

    नेपालको सर्टिफिकेटले एडल्टबाट पढाई शुरू गरेकी हुन् उनले । उनको कक्षामा उनीसहित दुईजना नेपाली केटी थिए । एकजना साथीले बीचमै पढाइ छाडे पनि उनले निरन्तरता दिइन् । उनीसँग पढ्नेहरू अधिकांशले विभिन्न विषयमा डिग्री पाइसकेका थिए । सबै एडल्ट थिए । अनि सहयोगी पनि । अरु साथीहरू आफ्नो कामबाट एक/दुई महिना छुट्टी लिएर पढ्थे तर उनको भने छुट्टी हुँदैनथ्यो, छुट्टी लिए पैसा नआउने चिन्ता हुन्थ्यो । तसर्थ, दुई/तीन महिना अघिदेखि दैनिक दुई/तीन घण्टाका दरले तयारी गर्थिन् ।

    पढाइ सकिएर वकिल बन्दा उनलाई आफ्नो सपना पूरा भए जस्तो महशुस भयो । उनलाई फुलटाइम काम गरेर पढ्दाको दुःख अझै ताजा छ ।

    अहिले वकिलका रुपमा नेपाली समुदायले हौसला दिंदा उनलाई अझै प्रोत्साहन हुन्छ । नेपाली समुदायका लागि पनि केही गर्नुपर्छ भन्ने भावना आउँछ । “पढ्दा आफ्नो लागि जस्तो लाग्थ्यो तर अरुले हौसला दिएपछि आफ्नो समुदायलाई सक्दो सहयोग गरौं भन्ने लाग्दो रहेछ,” उनी भन्छिन् ।

    उनी अभिभावकहरूलाई आफ्ना सन्तानको भविष्यका लागि लगानी गर्न आग्रह गर्छिन् । “अहिलेका केटाकेटीलाई जे पायो त्यही काममा लगाउँदा पैसा त आउँछ तर उनीहरूको भविष्य बनाउने हिसाबले पढाइमा लगानी गर्नु राम्रो हो । पढ्न सक्दिनँ भन्ने होइन, कोसिस गर्ने हो,” उनी आफ्नो अनुभवको आधारमा सल्लाह दिन्छिन् ।

    रिगमले काम गर्ने फर्मले दुर्घटनाका विषयमा बढी हेर्छ भने केही मात्रामा सिभिल केसहरू पनि हेर्छ । कम्पनीमा २/३ जना वकिल र ३/४ जना स्टाफ रहेको रिगम बताउँछिन् । उनका अनुसार फर्ममा निर्माण क्षेत्र, रेष्टुरेण्ट, सडक दुर्घटनाका मुद्दा बढी आउँछन् ।

    नेपाली समुदायबारे

    हङकङमा रहेका नेपालीहरूमा स्थानीय चाइनिजको तुलनामा कानूनी सचेतनाको कमी छ । नेपालीहरू सानो–तिनो चोट लाग्यो भने छाड्दिऊँ भनेर वास्ता नगर्ने तर लोकलहरूमा भने यो हाम्रो अधिकार हो, लड्नुपर्छ भन्ने भावना हुने उनी बताउँछिन् । “नेपालीहरूमा आफ्नो हक अधिकारबारे त्यति धेरै जानकारी छैन,” उनी थप्छिन्, “अपराधमा पनि कसैलाई पुलिसले लग्यो भने वकिल ल्याउन सक्छौ भन्छ तर नेपालीहरूले नबुझेर चाहिदैंन भन्छन् ।”

    उनका अनुसार हङकङमा कुनै केसमा पक्राउ परेको व्यक्तिले मेरो वकिल छ, म ऊसँग कुरा गर्छु भन्न पाउँछ । बाहिर हुने आफन्तले वकिलसँग सम्पर्क गरेर अघि बढ्न सक्छन् । तर, धेरै नेपालीहरू यस विषयमा जानकार नहुँदा सचेत छैनन् । नेपाली संघ–संस्थाहरूले यस्तो सचेतना फैलाए राम्रो हुने रिगमको विचार छ । उनको अनुभवमा नेपालीहरूबीच घरेलु हिंसा भित्रभित्रै समस्याको रुपमा फैलिएको छ तर अधिकांश बाहिर आउँदैन । उनी भन्छिन्, “प्रायः छोरी मान्छेहरूले मलाई सुनाउँछन् । अनि कसरी कानूनी रुपमा अघि बढ्ने भनेर सल्लाह हुँदाहुँदै भित्रभित्रै मिलिसकेको हुन्छ ।”

    नेपाली समुदायमा लागूऔषध, अपराधको समस्या पनि बढ्दै गएको सुनेकी रिगम यो समस्याबाट बच्न बालबालिकालाई परिवारले राम्रोसँग हेरचाह गर्नुपर्ने बताउँछिन् । भन्छिन्, “नानीहरूलाई साथीका रुपमा व्यवहार गर्नुपर्छ । अनि उनीहरूलाई समुदायप्रति उत्तरदायी बनाउनु पर्छ ।”

  • कमेन्ट गर्नुहोस्