• ‘कुन्साङ काका’ लाई हङकङमा भेट्दा

    बायाँबाट क्रमशः लेखक, ‘कुन्साङ काका’ याने खगेन्द्र संग्रौला, देश सुब्बा र किसन राई ।
  •  

    “हङकङ नेपाली फाउण्डेसनले पारिजात स्मृति दिवसमा यसपाली ‘कुन्साङ काका’लाई बोलाउँदैछ, लु है सहयोग गर्नुपर्छ ।” हङकङका एक मात्र पूर्णकालीन पत्रकार किसन राईले भनेपछि “लौ राम्रै गर्न लागिएछ” भन्दै काकाको बारेमा घोत्लिन थालेछु दुई वर्ष अगाडि ।

    साहित्यको ‘सा’ र राजनीतिको ‘रा’ बुझ्न थालेदेखि नै मैले यिनलाई चिन्न थालेको हो । उमेरले घटीबढी भए पनि विचार र लेखाइसँग पिताजी ‘केवलपुरे किसान’सँग नजिक भएर होला शायद । अझ विगतलाई कोट्याउँदा; हातमा स्मार्ट फोन नहुँदा र नेपाल फोन गर्न पनि मिनेटको आठ डलर लाग्ने त्यो जमानामा शनिबारको कान्तिपुरमा यिनको स्तम्भ हेरेपछि स्ट्यापलर लगाएर फिर्ता दिने छुट दिएका थिए पशुपति स्टोर, हङकङका भाइ घनश्याम ज्ञवालीले । भीआईपी स्टोर, हङकङकी रमा भाउजू (हाल बेलायत)ले “लौ न दीक्षा छोरी, आज कुन्साङ काकाको ‘बेलाको बोली’ आउँछ । एकछिन पसलमा बसिदेऊ, म कम्प्युटरमा हेरेर आउँछु” भनेर भनेको सुनेको दशक नाघिसकेछ ।

    काकाको लेखनशैली र यथार्थपरक अभिव्यक्ति मन पराउने यी दुई प्रतिनिधि पात्र भए पनि शनिबार बिहान छापिएर त्यही दिनको उडानबाट बेलुकी दुकान–दुकान आइपुग्दा ५ हङकङ डलर (करिब ५० रूपैयाँ)मा कान्तिपुर दैनिक किनेर यिनको स्तम्भमा घोत्लिने दर्जनौं पाठकहरु थिए हङकङमा र अझै उत्तिकै छन् ।

    हङकङ एयरपोर्टबाटै किसन राईले फोटो राखिहाले, “लौ काका आइपुगे” भनेर । यिनलाई भेट्ने तिर्खा अझै जाग्यो । संयोग ! गैरआवासीय नेपाली संघ, हङकङले बगैंचा रेष्टुरेण्टमा राखेको कार्यक्रममा काकालाई लिएर किसन आइपुगे । नचिन्नेले को रहेछ यो मझौला कदको, कपाल फुलेको, मोटो चस्मा लगाएको, पातले टाठो बुढो भनेर हेराहेर गरे । यिनलाई चिनेका र पढेका झुण्डहरूले भने झम्टिहाले परिचय गर्न र सेल्फी लिन । म सबैभन्दा पछि मुख उद्याएर पालो पर्खिरहेको थिएँ ।

    चिने–चिने जस्तो गरेर हात मिलाउँदै मेरो मुख हेर्दै गरेका काकाको बोली फुट्न नपाउँदै मैले करिब छ वर्ष अगाडि कान्तिपुरमा छापिएको एउटा लेखको एक वाक्य सुनाएँ ।

    “जनवादी प्रगतिशील कवि ‘केवलपुरे किसान’को पार्थिव शरीरलाई कर्मकाण्डी शैलीमा आर्यघाटमा अन्त्येष्टी गरिरहँदा एमालेका सकलगण मौन मुद्रामा स्वीकृति दिइरहेका थिए ।” परिचय थाहा पाइहाले । “कण्ठै रै’छ यार,” काका खिसिक्क हाँसे । यो लेख हामी तेह्र दिने काममा बस्दै गर्दा पढिएको, जुहारी खेल्न मन लागेन । तपाईंको बुझाइ तथा लेखाइ सही र यथार्थपरक तर वास्तविकता म बताउँला भन्दै गर्दा हङकङको चलनअनुसार खादा, बिल्ला, प्रमुख अतिथि, विशेष अतिथि र दुई शब्दको लागि काका व्यस्त भइहाले ।

    “लु किसनजी ! बुढासँग बसेर पेटभरी कुरा गर्ने रहर छ, मिलाउनु होला ।” “बिग बुद्ध जाँदा मिलाउँला एक दिन,” उनले भने ।

    हङकङको औपचारिक कार्यक्रम भ्याएर बिग बुद्ध घुमाएर ल्याउँदा तुङचुङको केबलकार स्टेसनको फेदैमा पर्खिरहेको थिएँ । काकाका पथ प्रदर्शक थिए उनै किसन राई र हङकङका भयवादी लेखक देश सुब्बा ।


    चिने–चिने जस्तो गरेर हात मिलाउँदै मेरो मुख हेर्दै गरेका काकाको बोली फुट्न नपाउँदै मैले करिब छ वर्ष अगाडि कान्तिपुरमा छापिएको एउटा लेखको एक वाक्य सुनाएँ, “जनवादी प्रगतिशील कवि ‘केवलपुरे किसान’को पार्थिव शरीरलाई कर्मकाण्डी शैलीमा आर्यघाटमा अन्त्येष्टी गरिरहँदा एमालेका सकलगण मौन मुद्रामा स्वीकृति दिइरहेका थिए ।”


    जाडो अलि बढेको थियो । काकाले कफी खाने मनसाय राखे । “लौ हुन्छ, एउटा सानो साइडसिन पछि । हिंड्न सकिन्छ नि ?” “किन नसक्नु यार,” उनले भने । मैले हरेक दिन नाप्ने गरेको थुम्कोको गोरेटो बाटो हुँदै ओरिजनल तुङचुङ पुरानो ऐतिहासिक  माझी गाउँ लिएर गएँ । ल हेर्नुस्, यो पारी झलझलाकार एयरपोर्ट । करिब–करिब नेपालको दुर्गम जिल्लाको जनसंख्या अटाउने गगनचुम्बी बिल्डिङहरू । तपाईंहरू आएको मुख्य शहरसम्म जाने आठ लेनको बाटो । समुन्द्रमाथिको चिङमा पुल, दश वर्षमा बनाएर सिध्याएको । ऊ त्यो पारी समुन्द्रमाथि बन्दै गरेको संसारकै लामो ५५ किलोमिटर हङकङ–मकाउ जुहाइपुल । के गर्नु, हाम्रो देशमा माओको, लेनिनको फोटो अगाडि उभिएर हात मात्रै उठाउने हुन काम गर्ने होइनन् क्यारे ! काठमाडौंका जनताले मेलम्चीको पानी पिउन गाग्री लिएर कुरेको दुई दशक भइसक्यो !

    पिताजीले जीवनको अन्तिम पटक हङकङ आउँदा हरेक पटक यहाँको परिवर्तित विकास देखेर भनेको “छोरा देशको विकास हुन माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ विचारधारासँगै इमान्दारवाद, नैतिकतावाद र अनुशासनवाद पनि चाहिने रहेछ“ सुनाउँदा काकाले असहमति जनाएनन् । समुन्द्रतिर हेरेर लामो सुस्केरा हाल्दै भने, “के कुरा गर्नु यार यिनीहरुको ?”

    अब कफी सपमा कफीको चुस्की र खाजासँगै काकासँग गफिने पालो देश सुब्बालाई दिएँ ।

    घरको लिफ्टको बटम दबाउँदा काकाले आश्चर्य प्रकट गरे, “छयालीसौं तल्ला ? !”

    “लेखेको हो तर चिनियाँहरू हामीभन्दा बढी अन्धविश्वासी र संस्कारी हुन्छन् । चार अंकलाई अशुभ मान्छन् । पाँचबाट शुरु गर्छन् । चार, चौध, चौबीस, चौँतीस, चवालीस घटाउँदा चालीस हाराहारी पर्न आउँछ ।”

    “मेरी श्रीमती बेन्जु केवलपुरे किसानको छोरोलाई छयालीस तलैसम्म डोहोर्‍याएर ल्याउने, दाइजोले चाहिं होइन है फेरि । अर्थशास्त्री हुन् यिनी हाम्रो घरकी,” श्रीमतीको परिचय दिंदै मैले भनें । उनले थपिन्, “तपाईंको नाम धेरै सुनेको । म साहित्यकार चाहिं होइन, बरू मेरो भाइ र काका तपाईंका रचना नछुटाइ पढ्छन् । यो छोरी सात वर्षकी ।” “एउटा मात्र ?” काकाले सोधे । “छोरो एक्काइस वर्षको । बेलायतको किङ्स कलेजमा राजनीतिक अर्थशास्त्र पढ्दैछ । मैले आइटी पढ् भनेको हजुरबा र बाउको जीनले होला मानेन ।”

    उनी भान्सातिर लागिन् । काकालाई सोधें, “के पिउँ ? ह्विस्की, वाइन, बियर ।” काकाले भने ह्विस्की तर सिवास घटी पिउन मन लाग्दैन आजकल । म पनि के कम ! त्यही छ हामीसँग । मैले सिवासको बिर्को निमठें । देश र किसनले पनि त्यसैमा सहमति जनाए । मैले चाहिं बियर लिएँ ।

    काकासँग पलेंटी कसियो । कुराको पन्तुरो फुकाउँदै मैले भनें–

    पिताजीको अन्त्येष्टीमा तपाईं र गोविन्द भट्टज्यूलाई छुट्टै बसेको देखेको थिएँ । भट्टज्यू एक हप्तापछि बितिहाल्नुभो । तेह्र दिनको शोकसभामा तपाईंलाई देखिएन । पिताजीको वार्षिकीमा ‘केवलपुरे किसान स्मृतिग्रन्थ’ विमोचनमा छुटाउन नहुने नाममध्ये तपाईंको पनि भनेको थिएँ । प्रकाशक, आयोजकले छुटाए या आउन पाउनु भएन । एउटै वाद मान्ने साहित्यकारहरू पनि गुट, उपगुटदेखि पानी बाराबारसम्म हुँदो रहेछ ! पिताजीलाई माया गर्ने, समान विचार राख्ने जेष्ठ नागरिकमध्ये दुई या तीन जनाबाट मात्र विमोचन गराउने भनेको त झण्डै दर्जन पुग्न लागेका ! भाइ बिमललाई त्यति अनुभव थिएन । म छोटो समय मिलाएर काठमाडौं गएको थिएँ ।

    जेहोस्, पिताजीलाई आदर्श मान्ने छोराको नाताले पण्डितलाई बोलाएर लगाइने सप्ताह वा श्राद्धभन्दा एउटा स्मृतिग्रन्थ प्रकाशन गर्न पाएकोमा टीमको कमीकमजोरीप्रति गुनासो राखिएन ।

    वास्तवमा कर्मकाण्डी अन्त्येष्टि कसैको बहकाउमा थिएन । भाइ, बहिनी, दिदी, इष्टमित्रको मन राखिदिनै पर्‍यो । अक्सर मनबाट भन्दा भोटको लागि, पार्टीको लागि देखावटी आधुनिक अन्त्येष्टी गर्नेहरूलाई मैलेभन्दा तपाईंले धेरै नजिकबाट नियाल्नु भएको छ । बरू २००८ सालमा स्व. श्यामप्रसाद शर्माको नेतृत्वमा खोलिएको प्रगतिशील लेखक संघको सदस्य बाहेक जीवनभर कुनै पार्टीको सदस्य नबनी जनताको पक्षमा लेखिरहने पिताजीले आफ्नो मृत्युपछि छोराहरूले कुनै पार्टीको झण्डा ओढाउन नदिऊन् र आफ्नो शरीरलाई जिउँदो छउञ्जेल वास्ता नगर्ने प्रज्ञा भवनमा नराखून् भन्ने इच्छामा चाहिं  हामी सजग थियौं । तत्कालीन एमालेको पार्टी नेता झलनाथ खनालका निजी सहायकले कमरेड खनाल अन्त्येष्टीमा आएर पार्टीको झण्डा ओढाउन चाहनुहुन्छ भनेर भाइ बिमललाई फोन आएको थियो । “कमरेड फूल लिएर आउनुभए राम्रो” बिमलले जवाफ दिएथ्यो । उहाँले त्यही गर्नुभयो ।


    काकाले कम बोले धेरै सुने । छयालीस साल अघि पिताजीसँग घनिष्ट, प्रजातन्त्रपछि अलि टाढा र गणतन्त्रपछि झन् टाढा भएका राजनेता, उपनेता, साहित्यकार, लेखकहरूको बारेमा सोधें । छोटो तर मन छुने एक वाक्यमा सटिक उत्तर दिए गाँठे यी काकाले ।


    अझ गहिरिएर पिताजीको जीवनको वास्तविकता केलाउँदा प्रोस्टेड क्यान्सरले गलाउँदै लगेपछि डा. सरोज धितालले “अब उपाय छैन कमलजी, बाचुञ्जेल खुशी राख्नु बाहेक” भन्दा पिताजीको जीवन लम्ब्याउन केही तातोपानी लागिहाल्छ कि भन्दै यहाँ ल्याएर उपचार गर्दा करिब एक वर्ष बचायो हङकङले । एकदिन राति घर आइपुग्दा सुत्नुभएको रहेनछ । निधारमा खरानी जस्तो सेतो धर्सो देखें । जिन्दगीभर टीका नलगाउने, पूजा नगर्ने पिताजीले टीका लगाएको देख्दा अचम्म लाग्यो र सोधें । “बुहारीले लगाइदिएकी । केही नभन फेरि सुनिन् भने चित्त दुखाउलिन् । साही सेन्टरबाट ल्याएको विभूति रे ।” “सुतिसके सबै,” मैले भनें । फेरि थप्नुभो, “यस्ता जाबा खरानीले रोग निको हुने भए किन चाहियो आधुनिक विज्ञान, किन चाहियो डक्टर, औषधी !” राति अबेरसम्म बाउ–छोरा गन्थन गर्‍यौं ।

    १३ दिने काममा बस्दै गर्दा कान्तिपुर पल्टाएँ, काकाको लेखमा आँखा टक्क अडिए । (माथिको वाक्य त्यो साँझ फेरि दोहोर्‍याएँ) कतिले तपाईंको लेखबारे आलोचना पनि गरे । केवलपुरे किसानको सिङ्गो जीवनलाई नजिकबाट नियालेको र बुझेको व्यक्तिको यथार्थपरक अभिव्यक्ति भन्ने मलाई लाग्यो । काकाले मुन्टो हल्लाए ।

    काकाले कम बोले धेरै सुने । अब बोल्ने पालो काकालाई पनि दिनुपर्‍यो । छयालीस साल अघि पिताजीसँग घनिष्ट, प्रजातन्त्रपछि अलि टाढा र गणतन्त्रपछि झन् टाढा भएका राजनेता, उपनेता, साहित्यकार, लेखकहरूको बारेमा सोधें । छोटो तर मन छुने एक वाक्यमा सटिक उत्तर दिए गाँठे यी काकाले । विविध पारिवारिक कुराहरु पनि भए ।

    ल है ! यस्तै देख्न सुन्न पाइयोस् सधैं । बाटो नबिराउनोस्, नबेचिनुस्, परिवर्तन नहुनुस् । बस्, लेखिरहनुस् । खानापानपछि काकालाई बिदाइ गर्दै भनें मैले ।

    यस्तो विशेष संयोग जुराइदिने किसन राईलाई पनि धन्यवाद दिएँ ।

    हुनतः काकालाई आजीवन प्रतिपक्षी, गाली शिरोमणि, छुच्चो, नराम्रो मात्रै लेख्ने लेखक भन्नेहरु पनि छन् । मलाई चाहिं जे देख्यो त्यही सोच्ने र लेख्ने निडर, सत्ता र भत्ताको लोभ नगर्ने, यथार्थवादी, आदर्शको जीवन बाँच्ने कलमवीर लाग्छन् कुन्साङ काका । शायद मेरो पनि जीवन जिउने रसायन तत्व मिलेर होला उनीसँग !

  • कमेन्ट गर्नुहोस्