• गजेन्द्र इस्बोः जो गोर्खाको पक्षमा जीवनभर लडे

    स्वर्गीय गजेन्द्र इस्बो
  •  

    धरानको सामाजिक क्षेत्रमा स्थापित गजेन्द्र विशेषगरी ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूको अधिकारका लागि लड्ने अथक योद्धाका रुपमा परिचित थिए । उनलाई गोर्खाहरूको समान अधिकारका पक्षमा आवाज उठाएबापत चप्पलमा घर फर्काइएको थियो ।

    तेह्रथुमको खाम्लालुङमा ४ असार २०१४ मा जन्मिएका गजेन्द्र धरानको घोपा क्याम्पमा लाहुरे भर्ती भएपछि हङकङ आएर ब्रिटिस सैनिकको तालिम लिएका थिए । हङकङमा सिकेको त्यही सैन्यकलाले उनलाई जीवनभर परिचय दियो र जीवनपर्यन्त पनि भूतपूर्व ब्रिटिस सैनिक स्वर्गीय गजेन्द्रका रुपमा सम्झिइने छन् । उनको नेतृत्व र दृष्टिकोणमा ब्रुनाईदेखि नेपालसम्म भएका गोर्खा समानताका आन्दोलन, नेपालमा भएका सामाजिक, आर्थिक र राजनीतिक विकासका कामले उनलाई सम्झाइरहने छन् । उनी अस्ताए पनि उनले नेतृत्व गरेका गोर्खा सैनिक भवन, गोर्खा स्मृति पार्क, गोर्खा सहकारी, गोर्खा कम्प्लेक्स लगायतले उनलाई सदा जीवन्त बनाइरहने छन् ।

    उनी जनता समाजवादी पार्टीका नेता थिए । गोर्खा र आदिवासी समुदायका अधिकारकर्मी थिए । अनि, धरानका विकासप्रेमी अभिभावक । पछिल्लो समय छालाको क्यान्सर र सुगरसँग लड्दै आएका उनी कोरोनासँग भने पराजित भए ।

    धरानमा भर्ती, हङकङमा तालिम

    खाम्लालुङमा गाउँको दुःखी जीवन, बेरोजगारी समस्या सबै भोगेका गजेन्द्र लाहुर गएका आफन्तहरूको जीवनशैली परिवर्तन भएपछि लाहुर जानैपर्ने सोचमा पुगेका थिए ।

    एकदिन घाँस दाउरा गर्दै गर्दा गाउँबाट पेन्सन थाप्न धरान झर्नेहरू भेटेपछि उनी भर्ती हुन धरान, घोपा क्याम्पमा झरे । घोपा क्याम्पमा आएर भर्तीको लाइनमा उभिएका उनलाई उमेर १५ वर्ष मात्र भएकोले कलिलो छ भनेर फर्काइदिए ।

    बेलायती सैनिकका रूपमा हङकङमा कार्यरत रहँदा गजेन्द्र इस्बाे ।

    त्यसपछि गाउँमै गएर उही मेलापात, घाँस दाउरामा लागे तर जसरी भए पनि काकाहरूको जस्तै सानको जीवन जिउने इच्छा थियो मनमा । त्यसपछि २०३४ सालमा गल्लावाल कृष्णबहादुर लिम्बू भएको ठाउँ सान्थाक्रा पुगे । नाता पनि पर्ने भएकोले उनीसँग ‘म पनि भर्ती जानुपर्‍यो’ भनेर बिन्ती गरे । उनले आफ्नो क्षेत्र नपरे पनि नाताका कारण भर्ती लिए ।

    त्यसपछि जेठ महिनामा एआरओ सेलेक्सन पनि सान्थाक्रामै भयो । उनको नम्बर थियो २२१ । असोजमा घोपा क्याम्प जानुपर्छ भनेर बिदा दिइयो । वर्षाको बेला घरमा गएर खुब काम गरे । काम गर्दागर्दै असोज आयो । उनको पनि धरान घोपा क्याम्पमा सेलेक्सनमा जाने बेला भयो । बिदा गर्न आफन्तहरू भेला भए, आमा दिदीबहिनीले दुध खुवाए, कोहीले जाँड खुवाए ।

    बुवाले कताबाट खोजेर हो कुन्नि ५० रुपैयाँ बाटो खर्च दिए । त्यहाँ अरु आफन्तले १० रुपैयाँ दिए, त्यसपछि उनीसँग ६० रुपैयाँ बाटो खर्च भयो । घरबाट निस्केर त्यस दिन संखुवासभाको गुफापोखरीमा भेला भए । विभिन्न ठाउँका गल्लावालहरूले आ–आफ्ना समूह जम्मा पारेका थिए । एउटा गल्ला बराबर १५/१६ जना थिए । भोलिपल्ट गीत गाउँदै, हल्लाखल्ला गर्दै धनकुटाभन्दा अलि तल झरेर बास बसे । त्यतिबेला हिंडेरै धरान झर्नुपर्ने, गाडी चल्दैनथ्यो । तीन दिनका दिन धरान झरे ।

    धरानको रत्नचौकमा त्यसबेला पासाङ होटलमा बस्थे उनीहरू । बाटोमा आउँदा उनले भात पकाउने, बाँड्नेदेखि सबै काम गरे । त्यसबाट गल्लावाल पनि प्रभावित भए । गल्लावालले माथिबाट घ्यू बोकेर आएका रहेछन् । धरान झरेको दिन बेलुका गल्लावालले उनलाई एउटा ठाउँमा हिंड् भनेर साथी लिएर गए । उनी घ्यू बोकेर उनीसँगै गए । त्यो घ्यू एआरओ क्याप्टेन भीमराज राईलाई ल्याइदिएका रहेछन् । त्यहाँ पुगेपछि एआरओसँग चिनाइदिए । क्याम्पका कोठा, बाहिर सबैतिर सफा चिटिक्क देखे । गाउँमा बसेको मान्छे अचम्म पनि लाग्यो उनलाई । त्यसपछि एआरओेले अलिकति रम दिए । गाउँमा रक्सी खान्थे तर त्यस्तो रम कहिल्यै नदेखेको मिठो लाग्यो उनलाई ।

    गफ गर्दागर्दै एआरओले उनलाई ‘भर्तीमा कोशिस गर्नु पास भयौ भने पानासोनिक रेडियो पठाइदिनू’ भनेका थिए । उनले पनि हुन्छ भनिदिए । त्यसबेला ३६६ मोडलको नेशनल पानासोनिक रेडियो साह्रै चर्चित थियो । तर, उनले कहिल्यै रेडियो पठाउन नसकेको बताउँथे । केही वर्षअघि कुराकानीका क्रममा उनले भनेका थिए, ‘अहिले उहाँसँग कार्यक्रममा कहिलेकाहीँ भेट्दा त्यही रेडियोको याद आउँछ । कस्तो–कस्तो लाग्छ । उहाँले बिर्सिनुभयो होला तर म उहाँलाई देख्नेबित्तिकै रेडियो सम्झन्छु ।’ तर, अब उनले पनि त्यो रेडियो सम्झने छैनन् ।

    सेलेक्सनका क्रममा अन्तर्वार्तामा उनलाई सोधियो, “के को लागि भर्ती हुन आइस्, किन आइस् ?” उनलाई पैसाको कुरा गर्न मन लागेन त्यसैले भनिदिए, “लडाइँ गर्न साह्रै मन लागेर भर्ती हुन आएको हुँ ।”

    एक हप्ताको सेलेक्सनमा कसम परेड आफूलाई अचम्म लागेको उनी सुनाउँथे । कसम परेडमा ब्रिटिसको झण्डा छोएर बाबुलाई मार भने पनि मार्छु भन्दै कसम खानुपर्ने रहेछ । एक हप्ता जति यस्तो तालिम दिएपछि उनीहरूलाई काठमाडौं लगियो । बिदा हुने बेलामा एकजना गाउँलेसँग बाबुले ऋण खोजेर पठाएको पचास रुपैयाँ फिर्ता पठाइदिए । काठमाडौंमा भेला गरेपछि प्लेन चार्टर गरेर हङकङ ल्याइयो । हङकङको सेकोङमा मिल्ट्री तालिम सेन्टर थियो । कात्तिक महिनामा त्यहाँ पुग्दा सबै कुरा नौलो थियो उनीहरूलाई । त्यहाँ ९ महिनाको कष्टकर तालिमपछि मैदानमा खटिए उनी ।

    गोर्खा आन्दोलनमा योगदान

    इस्बोले जीवनका ऊर्जाशील १६ वर्ष ब्रिटिसको रक्षाका लागि पसिना बगाए । १० जीआरमा सिपाहीदेखि स्टाफ सार्जेन्टसम्म हुँदा उनले युद्ध त लड्नु परेन तर अवकाशपछि भने ब्रिटिसविरुद्ध समानताको आन्दोलन लडे ।

    पेन्सनपछि पनि भूतपूर्व गोर्खा सैनिकहरूका लागि गोर्खा रिजर्व युनिट (जीआरयू) भन्ने सेक्युरिटी गार्डमा अवसर हुन्छ । इस्बो पनि २०५२ सालमा सुल्तानको गार्ड बन्नका लागि बु्रनाई जीआरयूमा गए ।

    हङकङमा ब्रिटिस सैनिकबीचकौ दौड प्रतियोगितामा गजेन्द्र इस्बो ।

    पल्टनमा ब्रिटिस र गोर्खाली सैनिकबीच असमान व्यवहार खेपेका उनले जीआरयूमा पनि त्यस्तै व्यवहार सहन सकेनन् । एक वर्ष काम गरेपछि सन् १९९६ अक्टोबरमा ब्रुनाई जीआरयूको आन्दोलन शुरू भयो । उनीहरूका चार सूत्रीय माग थिए– समान पेन्सन, भूपूले ब्रिटिसको अनुबन्धित जागिर पाउनुपर्ने, बालबच्चाको पठनपाठनको ग्यारेन्टी र ननपेन्सनरलाई पेन्सन ।

    यता गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)को आन्दोलन अगाडि बढिरहेको थियो । उनीहरूले जीआरयूमा पनि गेसोको समिति गठन गरे । तारको घेराभित्र आन्दोलन शुरू भयो । उनीहरू बु्रनाई सुल्तानको सेक्युरिटी गार्ड भए पनि गतिशील सिपाही जस्तो जंगल तालिममा जानुपर्ने नियम थियो । तालिममा राशन पनि पाइदैंनथ्यो । आफ्नै खर्च हुन्थ्यो । त्यसपछि जंगल जाँदैनौं भनेर उनीहरू आन्दोलित भए ।

    जंगल तालिममा लगे सेवा, सुविधा र पेन्सनको ग्यारेन्टी मागे । आन्दोलन चर्किंदै गयो । चारैतिर आन्दोलन चर्किन थालेपछि गोराले कडाई गर्न थाल्यो । धेरै साथीहरू डराएर हामी त होइनौं भन्दै लुरुक्क परे । तर, इस्बोहरू चाहिं ‘हाम्रो माग सही छ’ भनेर लागे ।

    ‘आन्दोलनको नेतृत्व गर्नेहरू को–को हो ?’ भनेर सोधे गोराले । इस्बोले ‘म पनि हो’ भनेर जवाफ दिए । त्यसपछि नेतृत्व गर्ने उनीसहित ११ जनालाई पक्राउ गरेर ‘जुन पोजिसनमा छन् त्यही पोजिसनमा घर पठाउने’ तयारी भयो । कोही चप्पलमा, कोही भेष्टमा, कोही कम्ब्याटमा थिए । त्यही अवस्थामा घर फिर्ता पठाउन एयरपोर्ट पुर्‍यायो ।

    उनीहरूमाथि त्यस्तो व्यवहार भएपछि अरु गोर्खालीले जीआरयू घेरा हाले । क्याम्पमा गोर्खालीहरूले विद्रोह नै शुरू गरेपछि ठूलो हङ्गामा भयो । गोर्खालीले जीआरयू क्याम्प कब्जा गरे । त्यहाँको हाकिम कर्नेल स्कटसनलाई पनि कब्जामा लिए । धेरै ठाउँमा तोडफोड भयो ।

    त्यसपछि सिभिल पुलिसले अनुसन्धान गरे अनि उनीहरूलाई फर्काउन गोराहरू एयरपोर्टमा पुगे । ११ जनामध्ये अरु घर फर्किए  गजेन्द्र इस्बो, रामनारायण कन्दङ्वा, नरेन्द राई र पुरञ्जन राई उनीहरूसँगै गए ।

    उनीहरू जीआरयूमा पुग्दा गोर्खालीले कमाण्डरलाई टेबलमा उभ्याएका थिए । उनीहरू फर्किएपछि छाडिदिए । त्यसपछि २४ घण्टाभित्र कर्नेल स्कटसनलाई हटाउने घोषणा भयो । जीआरयूको माग अनुसार मलेसियनलाई हाकिम बनाइयो । बन्दुक र जंगल तालिम पनि हट्यो । तर, उनीहरूका विषयमा भने मुद्दा चलाइयो । विद्रोही गोर्खालाई के गर्ने भनेर कमन वेल्थमा कुरा पुग्यो । त्यसपछि अन्य गोर्खाहरू सुल्तानको सेक्युरिटी रहने तर आन्दोलनको नेतृत्व गर्नेलाई बर्खास्त गरेर घर पठाइयो । इस्बोहरूलाई कारबाही गरेर पठाए पनि उनीहरूको आन्दोलनका कारण त्यसपछिकालाई फाइदा भयो ।

    घर फर्किएपछि इस्बो समाजसेवामा लागे । गेसो २०४६ जेठ २७ मा दर्ता भएको थियो, त्यसले २०५१ फागुन १९ देखि सशक्त आन्दोलन थाल्यो । इस्बो पनि त्यतिबेलादेखि नै सक्रिय भए । पछि गेसो फुट्यो । इस्बो बिगेसोमा सक्रिय भए । जहाँ भए पनि उनले गोर्खाहरूको समानताको आन्दोलन जीवनभर गरिरहे । उनी गोर्खाहरूको अधिकारका लागि लड्ने अथक योद्धाका रुपमा नबिर्सिने नाम बनेर रहिरहने छन् ।

    ब्रिटिसले आफ्नो रक्षाका लागि दुस्मनसँग लड्न तालिम दिएर सैनिक बनाए पनि इस्बो अन्ततः ब्रिटिसकै अन्याय विरुद्ध लडे, देश फर्र्किएपछि आफ्नै ठाउँ, समाज र समुदायको विकास, अधिकार, शान्ति र समृद्धिका लागि लडिरहे । उनको भर्तीको कथासँगै अधिकारको लडाइँको गाथा भावी पुस्ताले पनि सम्झिरहने छन् ।

  • कमेन्ट गर्नुहोस्