• हङकङ राम्रो कि बेलायत ?

    हङकङमा साथीहरूसँग लेखक ।
  •  

    बेलायत र हङकङलाई एक अर्कासँग तुलना गर्दाखेरी मैले दुईवटा पाटोबाट गर्न खोजेको छु । एक; बेलायत हङकङभन्दा राम्रो किन ? र दोस्रो; हङकङ बेलायतभन्दा राम्रो किन ?

    मेरो बुझाइ र अनुभवको हिसाबले सबैभन्दा पहिला हङकङभन्दा बेलायत किन राम्रो ? भन्नेमा जान चाहन्छु ।

    हङकङभन्दा बेलायत उच्च शिक्षा अध्ययनको अवसरका हिसाबले एकदमै राम्रो छ । हङकङमा अहिले पनि हाम्रा नेपालीहरुले युनिभर्सिटी पाउनका लागि एकदमै स्ट्रगल गर्नु परेको स्थिति छ । तर यूकेमा त्यस्तो छैन ।

    हङकङमा त्यस्तो हुनुको कारण चाहिं, जनसंख्याको आधारमा युनिभर्सिटीहरु कम हुनु हो । सात/आठ वटा मात्र छन् । तर यूकेमा युनिभर्सिटीहरु अधिक मात्रामा उपलब्ध छन् । यहाँ १ सय २६ भन्दा बढी युनिभर्सिटीहरु छन् । त्यसले गर्दाखेरी हरेक वर्ष सयौं नेपालीका छोराछोरीले युनिभर्सिटी प्रवेश पाइरहेका हुन्छन् र ग्राजुएट भइरहेका हुन्छन् । तर हङकङमा चाहिं युनिभर्सिटीमा अवसर पाउँदाखेरी पनि समाचार बनिनुपर्ने स्थिति छ ।


    उच्च शिक्षा अध्ययन, पेशागत काम र बसोबासका लागि बेलायत राम्रो छ भने नेपालीलाई सुहाउँदो हावापानी, सामाजिक जमघट र कमाईको हिसाबले हङकङ राम्रो छ ।


    अर्को कुरा, रोजगार वा पेशागत अवसरका हिसाबले हङकङभन्दा यूके अलि राम्रो हो । रोजगारका हिसाबले; योग्य छन् भने नेपालीहरुले यहाँ जुनसुकै क्षेत्रमा पनि मज्जाले जमेर बस्न सक्छन् । जस्तो कि; धेरै नेपालीहरु यहाँ बैंकमा म्यानेजर छन् । ट्याक्सी ड्राईभर, बस ड्राइभरदेखि लिएर उच्च तहमा छन् ।

    निजी क्षेत्रमा मात्र नभएर सरकारी क्षेत्रमा पनि नेपालीहरुको उपस्थिति छ । बेलायत आर्मीमा त पहिलादेखि नै हो तर अहिले प्रहरीमा पनि नेपालीहरु तल्लो तहदेखि अफिसरसम्म छन् । महिला प्रहरीहरु पनि छन् ।

    वकिलहरु पनि थुप्रै छन् । अहिले १८ जना त नेपाली सोलिसिटर छौं यूकेमा । सरकारी वकिल पनि छन् नेपाली । त्यति मात्र नभएर न्यायाधीशहरु पनि छन् तर उनीहरु आफ्नो समुदायमा प्रचारमा आउन चाहदैंनन् ।

    नेपालीहरु हङकङमा कन्स्ट्रक्सन, सेक्युरिटी गार्ड र फुड एण्ड वेभरेज आदिमा मात्र सीमित भइरहेको अवस्था छ तर यूकेमा त्यस्तो छैन ।

    आजभन्दा आठ वर्ष अघि यहाँका डक्टरहरुको एसोसिएसनमा नेपाली डक्टरहरु कति छन् भनेर सोध्दा ६ सय जति छन् भन्थे अहिले आएर यूकेमा प्राक्टिसिङ डाक्टरहरुको संख्या एक हजारभन्दा बढी नै छ । नर्सहरु त हजारौं छन् नेपाली ।

    ठ्याक्कै यही अवस्था हङकङमा छ त ? वा, भविष्यमा सम्भव छ त ? छैन । किन हुँदैन भन्दा एक त सानो ठाउँ, अर्को त्यहाँको भाषाको कारण र अर्को चाइनिजहरुले हामीलाई जतिसुकै एउटै अनुहार देखे पनि यिनीहरु नेपाली हो भन्ने एकखालको इन्डाइरेक्ट डिस्क्रिमिनेशन छ र त्यो रहिरहन्छ ।

    तर यूकेमा त्यस्तो छैन । यो रियल्ली मल्टिनेशनल कन्ट्री भएकोले यहाँ त्यस्तो खालको भेदभाव छैन । यदि त्यस्तो भेदभाव भएको भए अहिले सरकारको उच्च पदहरुमा हेर्ने हो भने प्रधानमन्त्रीभन्दा दोस्रो वरियतामा अर्थमन्त्री रिसी सुनाक इन्डियन छन् । तेस्रो तहमा गृहमन्त्री प्रिति पटेल छन् । अब निकट भविष्यमा यहाँ प्रधानमन्त्री समेत पाकिस्तानी वा इन्डियनमुलको हुने सम्भावना देखिन्छ । यसले यूके मल्टिनेशनल हो भन्ने पुष्टि हुन्छ ।

    यूकेमा साथीहरूसँग तिगेला ।

    पेशागत मात्र नभएर राजनीतिक र प्रशासनिक हिसाबले पनि हङकङभन्दा यूके राम्रो छ । नेपालीहरुले हङकङमा पनि पहिलादेखि नै राजनीतिमा चाख लिंदै आएका छन् तर पनि अहिलेसम्म काउन्सिलरको पोष्ट एकादुईले मात्र जितेका छन् तर यूकेमा ८/९ जना काउसिलरहरु नेपाली छन् । त्यसमध्ये दुईजना त डेपुटी मेयर पनि भइसक्नुभएको छ । निकट भविष्यमा नेपालीहरु सांसद हुने सम्भावना पनि प्रशस्तै छ ।

    अर्को कुरा; सामाजिक सुरक्षाको सुविधा लगायत यूकेमा हङकङको तुलनामा धेरै राम्रो छ । जस्तो कि, एनएचएस (राष्ट्रिय स्वास्थ्य सेवा), पेन्सन, बेरोजगार भत्तासम्म यहाँ हङकङभन्दा राम्रो छ ।

    वास्तवमा भन्ने हो भने बुढेसकालका लागि चाहिं हङकङभन्दा यूके धेरै राम्रो छ । यहाँ ६५ वर्ष पुगेपछि राज्यले भत्ता दिन्छ । यहाँ हङकङमा जस्तो दादागिरी, डनवाद, हप्ता उठाउने, मादक पदार्थ दुर्व्यसन जस्ता गतिविधिहरु न्यून छन्, छैन नै भन्दा पनि हुन्छ । यहाँ दादागिरी, फलाना डन भन्ने सुकेकै छैन । सामान्य आपराधिक क्रियाकलाप त हुन्छ नै तर पनि हङकङमा जस्तो चाहिं छैन ।

    प्रायः आफैंले गाडी चलाउनुपर्ने स्थिति हुन्छ, मादक पदार्थ सेवन गरेर सावरी हाँक्नु यहाँको कानूनमा गम्भीर अपराध हो । त्यसैले त्यस्तो अवस्था छैन ।

    हङकङमा जस्तो वायु प्रदुषण, ध्वनि प्रदुषण, लाइट प्रदुषण यहाँ छैन । हङकङमा चाहिं घना बस्ती भएका कारण हावा पनि सफा छैन । एकदमै धेरै ध्वनि प्रदुषण छ हङकङमा । तर यूकेमा ठाउँ फराकिलो छ, शान्त छ, राति पूरै अँध्यारो हुन्छ ।

    हङकङ किन राम्रो ?

    हावापानीका हिसाबले हङकङ नेपालीहरुका लागि एकदमै उपयुक्त छ । हङकङ नेपाल जस्तै गर्मी ठाउँ हो तर यूकेमा एकदमै जाडो हुन्छ ।

    त्यस्तै; आम्दानीको लागि हङकङ एकदमै राम्रो छ । यहाँ महँगीको हिसाबले आम्दानी बढी छ तर यूकेमा महँगीको हिसाबमा कमाई कम्ती छ । यहाँको कमाईले महिना मेन्टेन गर्न ठिक्क हुन्छ ।

    परिवारसँग ।

    ठूलो ठाउँ भएकोले यूकेमा आफन्तहरु टाढा–टाढा बसेका हुन्छन् त्यसैले भेटघाट गर्न असहज छ । तर, हङकङमा भेटघाटका लागि सहज छ । सानो ठाउँ भएकोले साथीभाई भेटघाट गर्न सजिलो छ । यूकेमा तुरुन्तै जमघट गर्न सम्भव हुँदैन ।

    हङकङमा घना बस्ती भएकोले रेष्टुरेण्ट, सपिङ मलहरु नजिकै छन् तर यूकेमा टाढा जानुपर्ने हुन्छ । हङकङलाई मैले बढी मिस गर्ने भनेको चाहिं– साथीभाईहरु भेट भइहाल्ने, जे खान मन लागे पनि जताततै विभिन्न खाले रेष्टुरेण्ट हुने, जे किन्न मन लागे पनि विभिन्न खाले पसलहरु पाइने । विशेषगरी फ्रेस फ्रुट, भेजिटेवल, सी–फुडहरु प्रशस्त, सहज र सस्तो मूल्यमा उपलब्ध हुन्छ । तर यूकेमा त्यति सजिलै उपलब्ध हुँदैन ।

    क्वालिटी लाइफको कुरा गर्दा; अग्लो घरमा बस्ने, भीडभाडमा सपिङ गर्ने, प्रशस्त पैसा भएर घुम्ने, डुल्ने, रेष्टुरेण्टमा खाने आदिलाई क्वालिटी लाइफ ठान्छौं हामी । तर त्यो गलत रहेछ ।

    क्वालिटी लाइफ भन्ने बित्तिकै बस्न फराकिलो ठाउँ चाहियो, आराम गर्न पर्याप्त समय चाहियो, स्वच्छ हावा लिन पाउनुपर्‍यो, सफा पानी पिउन पाउनुपर्‍यो । अनि सुत्ने बेलामा ध्वनि प्रदुषणरहित वातावरण चाहियो । तर, यी चिज हङकङमा छैन । त्यो क्वालिटी हङकङमा भन्दा यूकेमा उत्तम छ । मैले हङकङ र यूकेको तुलना अहिले यतिमै सीमित राखें ।

    लामो समयको हङकङ बसोबासपछि एक दशक अघि बेलायत बसाइँ सरेका तिगेला नेपाली सोलिसिटर हुन् ।

  • कमेन्ट गर्नुहोस्