• पट्यारलाग्दो १४ दिने क्वारेन्टिन

    होटल-क्वारेन्टिनमा रहँदा लेखक ।
  •  

    मलाई थाहा थियो अब १४ दिनको लागि बन्द कोठामा जाँदैछु, जब म यूकेको ह्यात्रो एयरपोर्टबाट हङकङतर्फ उड्दै थिएँ । जम्मा ३२० सीट क्षमता भएको प्लेनमा ५०/६० जना त कसो नहोला भन्दै प्लेनभित्र छिर्दा जम्मा १४ जना रहेछौं । रिजर्भझैं लाग्ने त्यो बडेमानको प्लेनमा १३ घण्टा लामो यात्रा गर्दा ३ वटा सीट मिलाएर ओछ्यान अनि न्यानो सिरकको मज्जाले हङकङमा अवतरण गरेको पत्तै पाइएन । बीचबीचमा विमान परिचारिकाले खानेकुरा दिंदा खाने अनि सुत्ने काम भयो ।

    जब हङकङ विमानस्थल ओर्लेर इमिग्रेशनतिर लागें, रेलबाट मात्र निस्केको के–के हो के–के फर्म भर्नुपर्ने ! कहिले एप्स डाउनलोड गर् भन्छ कहिले के । गर्दागर्दै भण्डै ४ घण्टासम्म पर्खने काम भयो । ‘होटल कि होम ?’ भनेर सोध्दा ‘अफकोर्स होम’ भनेर खुशी हुँदै भनियो तर लगभग अन्त्यतिर आइपुग्दा त ‘ल होटल जानु पर्छ’ भन्ने खबर पो दिन्छ बा ! ‘होम क्वारेन्टिन फर्म भरेको छु, घर हुन्छ भनेको छ’ भनेर के भनेको थिएँ ‘होयर आर यु फर्म ?’ सोध्छ । ‘फर्म यूके’ उत्तर दिनासाथ ‘ओ ! यु क्यान स्टे एट होटल फोर्टिन डेज । दिस इज गभरमेण्ट रुल एण्ड रेगुलेशन । अदरवाइज अन मन्थ जेल एण्ड टेन थाउजेन डलर पेनाल्टी’ भनेर इमिग्रेशन हाकिमले भनेपछि कुकुरले पुछार लुकाएझैं लुरुलुरु गाडीमा गएर बसियो ।


    कतिपय साथीहरू मित्रलाई सम्झेर विनासंकोच भेट्न आएको देखें भने कतिपय चाहिं फोनमा कुरा गर्दा पनि सर्ला कि जस्तो गर्ने पाएँ । जेहोस्, साथ र सहयोगको आवश्यकता देखें ।


    गाडी पुग्यो कोइचुङ होटल डोरसेट । हङकङ सरकारले करार गरेको होटल रहेछ क्यार ! घाँटीमा माला लगाइदिएको थियो । मालामा त होटलको रुम नम्बर पो रहेछ । चेक इन गरें । चाबी लिएर रुमतिर लागें ।

    मैले होटल वेष्ट जोर्डनमा बुकिङ गरेको थिएँ, किन यहाँ ल्याइयो, कतै रिपोर्ट पोजेटिभ त आएन ? यूकेमा पनि पीसीआर टेष्ट गरेको थिएँ, निकै डर लाग्यो । कोठामा पसेको आधा घण्टापछि टिङटङ घण्टी बज्यो । को होला भनेर ढोका खोलेको भात पो झुण्डिएको ! खाना ल्याउनेले ढोकामा टिङटङ अनि टाप, पक्का भयो । भित्र ल्याएर खान खोजें घाँटीबाट गए पो ! चिना खाना, शायद हाम्रोतिरको सुँगुरले पनि खान्न थियो होला ! न तातो न पिरो । टिपेर बारीको पाटामा पुर्‍याउनु जस्तो ! रातको ११ बजिसकेको थियो नुहाएर सुतें ।

    दोस्रो दिनः बिहान १० बजे फेरि टिङटङ । ढोका खोल्यो मान्छे छैन, खाजा ढोकाको उही ठाउँमा अडिएको । मन परे पनि नपरे पनि खानै पर्‍यो । १२:०५ मा रुमको घण्टी बज्यो “हलो ! यु ह्याभ टु रेडी, प्लिज ब्रिङ अश किई ।” सामान लिएर झरें काउण्टरमा, चाबी बुझाएँ । अब त घर जान पाइन्छ कि भनेर हङकङ हेल्थ अफिसमा फोन गरें । फेरि भन्छ, “यु क्यान नट गो होम मिस्टर आङबुहाङ । यु ह्याभ टु स्टे एट होटल ।”

    ट्याक्सी लिएर होटल वेष्ट लागें । चेक इन गरेर सधैं खाने ठाउँमा गएर माछा भात हसुरें । बेलुकाको खानामा बैनी रिनाबाट स्वागत भोजन पाएँ । रात बित्दै गयो निन्द्रा लाग्दैन त ! कसो गरुँ के गरुँ सोच्दासोच्दै ३ बज्यो । त्यसपछि चाहिं भुसुक्कै निदाएछु ।

    तेस्रो दिनबाट क्रमशः ११ दिनसम्मः बिहान ११ बजेसम्म सुतेछु । उठेर नित्यकर्म गरें । कफी, चाउचाउ आदि लिएर प्रिय भाइ आइपुग्यो । बाँडेर खायौं । दिउँसोमा साथीहरू भेट्न आए, रमाइलै भयो । घरवाली पनि आइपुगी बेलुका, एकछिन बसी उडीहाली ! जब रात पर्न थाल्छ अनि फेरि एक्लै ! के गरुँ, कसो गरुँ छटपटीले हैरान हुन्छु अनि शुरू हुन्छ शारीरिक व्यायाम । करिब एक घण्टा जति कसरत गर्छु । सोचें– अब ११ दिनसम्म सकरात्मक सोच, आँट, हिम्मत र व्यायाम विना यो पार गर्न सकिन्न । त्यसैले, आफूलाई सम्हाल्दै रुटिङ तयार गरें । रुटिङ अनुसार नियमित काम गर्दै गएँ । जब एक्लो महशुस हुन्थ्यो, तुरुन्तै किताब पढ्ने, लेख लेख्ने, व्यायाम गर्ने, यु ट्युबमा मन भुलाउने गर्थें । ४/५ वटा त नेपाली फिल्म हेरें । जसमध्ये कृष्ण धरावासीद्वारा लिखित ‘झोला’ फिल्मले धेरै रुवायो । चन्द्रशमशेरले वि.सं. १९७७ मा सति प्रथा हटाएकोमा मनमनै धन्यवाद दिएँ ।

    कतिपय साथीहरू मित्रलाई सम्झेर विनासंकोच भेट्न आएको देखें भने कतिपय चाहिं फोनमा कुरा गर्दा पनि सर्ला कि जस्तो गर्ने पाएँ । जेहोस्, साथ र सहयोगको आवश्यकता देखें । मलाई माया गरी खाना ल्याइदिनुहुने प्रियजन/आफन्तजनहरूप्रति नतमस्तक छु । तपाईंहरूको ऋणी छु । यहाँहरूकै माया, प्रेरणा, सकारात्मक सोच र ऊर्जाले नै मलाई हौसला बढाउन मद्दत गर्‍यो । नत्र कैदीझैं लाग्ने पट्यारलाग्दो ठाउँमा एक्लै बस्नु कम्ता सकस थिएन !


    टिङटङ घण्टी बज्यो। को होला भनेर ढोका खोलेको भात पो झुण्डिएको ! खाना ल्याउनेले ढोकामा टिङटङ अनि टाप, पक्का भयो। भित्र ल्याएर खान खोजें घाँटीबाट गए पो ! चिना खाना, न तातो न पिरो ।


    होटलमा बसेको सातौं दिनमा प्राइभेट नम्बरबाट फोन आयो । हङकङ हेल्थबाट होला भन्ने सोच्दै ‘हलो’ मात्र के भनेको थिएँ “दाजु, शंकरको त दुवै किड्नीले काम गर्दैन रे ! म आम्दा हस्पिटल, उर्लाबारीमा छु” भन्ने आवाज पो आउँछ ! स्तब्ध बनायो । जेठो सालोसँग नेपालमा भेटेको भर्खरै मात्र जस्तो लाग्छ । सम्हालिएर भनें, “नरुनु ! सिलिगुडी लैजानु । जति खर्च लाग्छ म गरौंला । छिटो लानू ।” त्यहाँसम्म पुग्नै सक्दैन भनेछन् डाक्टरले । डाक्टरकै सल्लाहअनुसार विराटनगर हस्पिटल पुर्‍याएछन् । त्यहाँ पुगेर इमर्जेन्सीबाट बैनी (शंकरको श्रीमती)ले डाक्टरसँग कुरा गराउनुभयो । मैले केही भन्नै नपाई डाक्टरले १ प्रतिशत मात्र छ । भेन्टिलेटरमा राख्दा दिनको ४५ हजार रुपैयाँ लाग्छ, उपाय हुन्न भने । तत्पश्चात् बैनीसँग कुरा गर्दागर्दै सालोले संसार छोडेछ ।

    कस्तो विडम्बना ! १ वर्ष अघि आमा र त्यसको ९ महिनापछि बाबालाई बिदा दिंदा सालोको सहयोग अपुरणीय थियो । तुरुन्त फेसबुकमा राखें, आफन्तहरूले थाहा पाउन् भनेर । बितेको नलेखी ‘अन्तिम अवस्थामा’ भनेर लेखें । तर, मन मानेन र १० मिनेटपछि स्वर्गबास नै जनाइदिएँ । यता घरवालीको वेपत्ता रोईकराई, म भने बन्द कोठामा ! हे मेरो जिन्दगी ! भन्दै निराश हुनुको विकल्प रहेन ।

    ४१ वर्षको सालो, ३६ वर्षकी बैनी । कठै, ती ८ वर्ष र २ वर्ष ६ महिनाका कलिला नानीहरू ! त्यस रात केही खान मन लागेन । मेरो लागि ल्याएको खानेकुरा ल्याउने भाइलाई नै यी कुरा केही नभनी उसैलाई खान लगाएँ र भोकै सुतें । सुतें त के भन्नु, पल्टिएँ !

    मान्छे भएपछि पर्छ र परेपछि टर्छ भनेझैं उकुसमुकुसपूर्ण १४ दिने बन्द–बसाई साहस र धैर्यताका साथ पूरा गरें ।

    अन्त्यमा; ढिलो–चाँडो तपाईंहरू पनि भोलिका दिनमा यसरी नै १४ दिने क्वारेन्टिनमा बस्न परे या आफन्त परे मेरो अनुभवले सकारात्मक प्रेरणा मिलोस् भनेर यहाँ अनुभव साट्न चाहें ।

  • कमेन्ट गर्नुहोस्